२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यचीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन

चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन


चीनमा फेरि कोभिड–१९को महामारी फैलिएको छ । चिनफिङ सरकारले दक्षिणी चीनको प्राविधिक केन्द्र शेन्जेनमा सोमबार कडा लकडाउनको  घोषणा गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । योसँगै सहरका करिब १ करोड ७० लाख जनता अहिले घरमै थुनिन बाध्य छन् । जिल्लामा एकै दिन ६६ जनामा ​​संक्रमण भेटिएपछि स्थानीय प्रशासनले लकडाउनको यो कदम चालेको हो ।

चीनको जिलिन प्रान्तको राजधानी चाङचुनमा शुक्रबारदेखि लकडाउन लगाइएको छ । त्यसपछि यस सहरका ९० लाख मानिसलाई आपतकालीन चेतावनीपछि घरमै बस्न आदेश दिइएको थियो। अर्कोतर्फ करिब पाँच लाख जनसङ्ख्या रहेको शानडोङ प्रान्तको युचेङमा पनि लकडाउनको आदेश दिइएको छ । अर्थात् चीनका कुल तीन सहरमा हाल २,६५,००,००० मानिस घरमै थुनिन बाध्य छन् ।

दुई ठूला चिनियाँ कम्पनी हुवावे र टेन्सेन्टको मुख्य कार्यालय शेन्जेनमा छ। यो सहरले हङकङसँग सिमाना जोडेको छ, जहाँ पहिले नै ठूलो संख्यामा मानिसहरु कोरोनाको लहरबाट संक्रमित भइरहेका छन्। हङकङमा स्थिति अझै बिग्रँदै गएको छ जहाँ अधिकारीहरूले कोभिड-१९ को २७,६४७ नयाँ केस पुष्टि गरेका छन्। हङकङमा कोभिड–१९ का कारण थप ८७ जनाको मृत्यु भएको छ भने यहाँ ३ हजार ७२९ जनाको ज्यान गएको छ

चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिए

चीनमा कोभिड–१९ को दैनिक कोभिड केसको शनिबार अत्यधिक केस पुष्टि भए जुन दुई वर्षयताकै उच्च हो। बेइजिङमा २० जना संक्रमितसहित करिब दुई हजार नयाँ संक्रमित पाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार चिनियाँ मुख्य भूमिमा कोभिड–१९ को स्थानीय सङ्क्रमणका १ हजार ८०७ नयाँ सङ्क्रमण पुष्टि भएको र १३१ जना बिरामी अन्तबाट आएकोजनाएको छ ।

अन्य शहरहरूमा पनि दिशानिर्देश जारी

यसैबीच, सांघाईमा स्कूल-पार्कहरू बन्द छन् भने बेइजिङमा आवासीय क्षेत्रमा प्रवेश निषेध गरिएको छ। नयाँ केसहरू पुष्टि भएपछि, बेइजिङको प्रशासनले मानिसहरूलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ। अत्यावश्यक बाहेक शहर नछाड्न पनि सर्वसाधारणलाई निर्देशन दिइएको छ ।

हङकङको चिनियाँ उपनिवेशमा पछिल्लो एक दिनमा कोभिड संक्रमणबाट ८७ जनाको मृत्यु भएको छ । हालसम्म हङकङमा संक्रमणका कारण ३ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । एकै दिनमा सहरमा २७ हजार ६४७ नयाँ संक्रमित थपिएका छन् । हङकङकी नेतृ क्यारी लामले संक्रमण अझै चरम सीमामा नपुगेको बताएकी छन् ।


क्याटेगोरी : अन्य, विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ