×
२०७७ कात्तिक ३, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलब्याच नं. १ का एक डा. अरुण

ब्याच नं. १ का एक डा. अरुण


थोरैमात्रै अब्बल विद्यार्थीहरु स्वदेशमा बस्ने गर्छन् । नत्र धेरैजसोको गन्तब्य पहिलो विश्वका समृद्ध मुलुकहरु हुने गर्छन् । कुस्त आम्दानी, अवसर र क्षमताअनुसार फैलिन सकिने वातावरणका कारण पनि अब्बलहरुको रोजाइ परदेश हुने गर्छ । थोरै सही । केही अब्बल विद्यार्थीहरु नेपालमै पनि आफ्नो ट्यालेन्ट खर्चिरहेका छन् ।

त्यसैमध्येका एक हुन्—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पहिलो एमबीबीएस ब्याच टपर डा. अरुणकुमार शर्मा । ब्याच नं. एकका एक डा. शर्मा । बुवा मोहनप्रसाद अधिकारी र आमा स्व. अम्बिका अधिकारीको पहिलो सन्तानका रुपमा वि.सं. २०३२ साल असोज फूलपातीका दिन जन्मिएका हुन् । ललितपुरको थसिखेलको मध्यमवर्गीय परिवारमा जन्मिएका उनका बुवा सरकारी जागिरे थिए । आमा बालबच्चाको लालनपालन र घरव्यवहारमै । ‘तीन जना दाजुभाइ दिदीबहिनी हुर्काउनमै उहाँले आफ्नो समय बिताउनुभयो,’ डा. शर्मा सम्झन्छन्, ‘मेरो हजुरआमा पनि हुनुहुन्थ्यो, उहाँले पनि हामीलाई हुर्काउन ठूलो भूमिका खेल्नुभएको हो ।’

सरकारी जागिरको शिलशिलामा बाहिर गैरहनुपर्ने भएकाले उनका बुवा भने प्राय घरमा हुँदैन्थे । तीन भाइबहिनीको शिक्षादीक्षा सुब्बाको जागिरले मात्रै घर नधान्ने भएपछि उनका बुवाले विहान र साँझ पनि काम गर्थे । ‘त्यसरी खर्च जोहो गरेर मलाई बुवाले एमबीबीएस पढाउनुभएको हो,’ डा. शर्मा मध्यवर्गीय परिवारको डाक्टर पढाउँदाको अनुभव बाँडछन् । उनको बाल्यकालमा पनि सामान्य परिवारकै बालबालिकाहरु जसरी नै बितेको थियो । काठमाडौं अहिलेजस्तो क्रंकिटको जंगलमा परिणत भएको थिएन, सानो बस्ती भएको गाउँमा साथीभाइसँग फुटबल र गुच्चा खेल्ने गर्थे । सानो छँदा उनका दुई प्रिय साथी थिए, अहिले जसमध्ये एक जना बेलायत र अर्को क्यानडामा बस्छन् ।

उनको प्रारम्भिक शिक्षा अरनिको उच्च माध्यमिक विद्यालयबाट सुरु भएको हो । त्यहीबाट उनले एसएलसी उत्तीर्ण गरेका हुन् । सुरुमा यो स्कुल महालक्ष्मीस्थानमा थियो, पछि खुमलटारमा सर्‍यो । स्कुलका प्राधानाध्यापक बसन्त गिरी डा. शर्माका पनि अभिभावकजस्तै थिए । ‘सबै विद्यार्थीको पछि पछि लागेर पढाइमा मेहनत गराउनुहुन्थ्यो,’ उनी भन्छन्, ‘सबैको प्रेरणाले पढाइमा मेहनत गर्दै गएँ ।’ त्यो मेहनतको पे अफ पनि उनले पाए, धेरैजसो म छात्रवृत्तिमै पढे । पढाइमा मेहनत गर्ने स्वभावका उनको रुचिको विषय गणित थियो, विस्तारै पछि विज्ञानप्रति पनि उनको लगाव बढ्दैं गयो । नेपाली भने उनलाई अलि गाह्रो लाग्थ्यो, ९—१० कक्षामा पढ्दा नेपाली शिक्षकले लेखनमा जोड दिएपछि उनको त्यसमा पनि सुधार हुँदैं गयो । घरबाट पनि पढ्नका लागि उत्तिकै उत्प्रेरित गरिन्थ्यो । उनले २०४७ सालमा फष्ट डिभिजनमा एसएलसी पास गरेका उनले स्कुल टप पनि गरे । ‘बोर्डको पोजिशनका लागि २—३ नम्बर मात्रै पुगेको थिएन्, मैले राम्रै नम्बर ल्याएको थिए,’ उनी सम्झन्छन् ।

त्यो बेलामा एसएलसी दिएपछि रिजल्ट आउनका लागि लामो समय कुनुपथ्र्यो । कलेज ज्वाइन गर्न पनि त्यतिकै समय लाग्थ्यो । शर्माले त्यही स्कुलमा प्राथमिक तहमा शिक्षक भएर पनि काम गरे । रिजल्ट आएपछि उनी जावलाखेलस्थित सेन्ट जेभियर्स कलेजमा नाइट सिफ्टमा आइएस्सी ज्वाइन गरे । ‘दिउँसो स्कुल पढाउने भएकाले नाइट सिफ्टमा आइएस्सी पढेको हुँ,’ उनले कारण खोले । उनले आइएस्सी दोस्रो वर्षमा पढ्दा बायोलोजी ग्रुपको भएपनि अप्सनल म्याथ पनि लिएका थिए । वि.सं. २०५० सालमा उनले त्यहीबाट आइएस्सी उत्तीर्ण गरे ।

डा. अरूणकुमार शर्मा । तस्वीरहरू: नवराज वाग्ले

त्यही वर्ष धरानले एमबीबीएस पठन-पाठन सुरु गर्दै थियो । डा. शर्माले पनि ट्राइ मारे, नाम निस्किहाल्यो । एमबीबीएसमा नाम निस्केपछि उनी भर्ना भैहाले । त्यही बीचमा शिक्षा मन्त्रालयको जापानको अन्डर ग्राजुयटको मेडिकल छात्रवृत्तिमा पनि नाम निस्कियो । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा पनि इन्ट्रास दिएकाले उनको नाम त्यहाँ पनि निस्कियो । तर, उनी धरानमा एमबीबीएसमा भर्ना भैसकेकाले ती दुवै अवसरलाई छोडिदिए । ‘म भर्ना हुँदाखेरि धरानमा छात्रवृत्तिको सिष्टम थिएन, पहिलो ब्याच भएकाले हामीलाई फीमा सब्सीटाइज थियो,’ उनी सुनाउँछन्, ‘थोरै पैसा तिर्नुपथ्र्यो । तेस्रो, चौथो वर्षमा पुगेपछि त्यहाँ शुल्क वृद्धि भयो । त्यसपछि कलेजले सब्सीटाइज दियो, मैले पनि त्यो पाए ।’

धरानमा एमबीबीएस पहिलो ब्याचको अनुभव कस्तो रह्यो त ? ‘एकदमै रमाइलो भयो, पहिलो ब्याच ३० जनामात्रै थियौं, जति शिक्षक त्यति नै विद्यार्थी थियौं । विद्यार्थी र शिक्षकबीच एकदमै सामीप्यता थियो,’ उनी सम्झन्छन्, ‘प्रशासनका मानिसहरु पनि नयाँ थिए, सबै नयाँ भएकाले नयाँ किसिमको माहौल धरानमा जम्यो ।’ त्यतिबेला धरानमा पुरानो अस्पताल थियो, नयाँ बनिसकेको थिएन । नयाँ संरचनाहरु बन्दैं थिए । बाहिरबाट आउने शिक्षकहरुसँग पनि धरानको पहिलो ब्याचका विद्यार्थीहरुले राम्रो सम्बन्ध बनाए ।

पढाइमा विशेष लगाव राख्ने भएकाले नै सन् १९९९ मा डा. शर्माले धरानको एमबीबीएसको पहिलो ब्याच टपरको इतिहास बनाए । भन्छन्, ‘पढाइमा मेहनत गर्ने बानी थियो । मेडिसिनमा मेहनत गर्‍यो भने नतिजा पनि राम्रो आउँदोरहेछ ।’ अहिले पनि धेरै युवा विद्यार्थीहरु टप गर्ने होडमा हुन्छन् । डा. शर्माको अब्बल नतिजा हात पार्ने फर्मुला के थियो त ? ‘मेडिसिनमा एउटा मात्रै फर्मुला हो—मेहनत । जति मेहनत गर्न सक्यो, जति धेरै कोर्समा भिज्यो । अब्बल हुने तरिका यही मात्रै हो,’ उनी टपर फर्मुला सुनाउँछन्, ‘अरु सर्टकर्ट नै हुँदैन् ।’ अहिलेका विद्यार्थीहरु ग्याजेटप्रेमी बताउँदै उनी धेरैजसो कम्प्युटर, मोबाइल र स्क्रीनमै पढ्ने गरेकाले त्यो पढाइ त्यति गहन नहुने बताउँछन् । ‘जति समय किताबमा, त्यसलाई लेख्ने र मननमा समय खर्च हुन्छ, त्यति नै त्यो दिमागमा स्टोर भएर बस्छ, त्यति स्क्रीनमा पढ्दा हुन्छजस्तो लाग्दैन्,’ उनी अनुभव सुनाउँछन् । उनी अब्बल नतिजा हासिल गर्नका लागि विद्यार्थीहरुलाई किताबमै बढी मेहनत गर्न सुझाव दिन्छन् ।

परीक्षामा आवश्यक पर्ने मुख्य ज्ञान किताबमै हुने बताउँदैं उनी अहिलेका विद्यार्थीहरुमा इलेक्ट्रोनिक्स ग्याजेटमा धेरै भर नपर्न आग्रह गर्छन् । उनको समयमा न अहिलेजस्तो ग्याजेटहरु थिए, न त अहिलेकाजस्तो सन्दर्भ सामाग्रीहरुमाथि पहुँच नै । त्यसैले धेरै समय साथीहरुसँग लाइबेरी बिताउथे, समूहमा बसेर छलफलसहित अध्ययन गर्थे । मेडिसिनमा होस्टेलमा बसेर पढ्ने कुराले पनि फरक पार्ने उनले सुनाए । उनी मेडिसिन पढ्नेले होस्टेलमा र समूहमा बसेर पढ्नुपर्नेमा जोड दिन्छन् । त्यसले प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै समूह बसेर ज्ञानलाई गहन पार्ने उनको अनुभव छ । लाइबेरी नजाने र गुगलमै भर पर्ने परिपाटीलाई कम गर्नुपर्ने डा. शर्मा बताउँछन् ।

धरानबाट सन् १९९९ मा एमबीबीएस सकेपछि उनले एक वर्ष त्यही इन्टर्न गरे । सन् २००० मा इन्टर्न सकेपछि पहिलो ब्याच पनि भएकाले उनका धेरै साथीहरुले त्यही काम गरे । सन् २००२ मा त्रिवि चिकित्सा अध्ययन संस्थान (आईओएम)मा पोष्ट ग्राजुयटमा २ नम्बरमा नाम निकाले । त्यसपछि उनी विशेषता हासिल गर्न काठमाडौं आए । ‘त्यो बेला पोष्ट ग्राजुयट गर्न धरानमा दुई वर्ष काम गरेको हुनुपथ्र्यो भने आइओएममा एक वर्ष,’ डा. शर्मा भन्छन्, ‘आईओएमको परीक्षा पहिले हुने भएकाले परीक्षा दिए, पास भएपछि यहाँ आए ।’ डा. शर्मा आईओएम आएपनि उनका धेरै साथीहरुले धरानबाटै पिजी गरे ।

एमबीबीएस सकेपछि मेडिसिन, पेडियाट्रिक, जनरल मेडिसिन र अब्स्ट्रीक्समा काम गर्ने अवसर पाए । त्यसले उनलाई मेरो रुचि के मा रहेछ भन्ने कुरा स्पष्ट देखायो । ‘सर्जिकल सबस्पेशियालिटी पढदिन भन्ने धारणा बन्यो, त्यो गर्दिन भन्ने भयो,’ उनी पेडियाट्रिक पढ्नुको कारण खोल्छन्, ‘मलाई पेडियाट्रिकसँगै रेडियोलोजीमा पनि रुचि थियो ।’ दुई नम्बरमा नाम निकालेकाले पनि उनले छनोटको दायरा फराकिलो हुन पुग्यो । उनलाई पनि छान्ने भयो अप्ठ्यारो भयो ? रेडियोलोजी पढ्ने उनको चाहना थियो, किनभने त्यसमा धेरै विषयहरुको ज्ञान हासिल गर्न पनि पाइन्थ्यो, आकर्षक पनि थियो । घरबाट रेडियोलोजी पढ्ने भनेर उनी काउन्सिलिङका लागि आईओएम पुगेका थिए । घरबाट निस्कँदा उनका बुवाले बिरामीसँग जोडिने विषय पढ्न सुझाव दिएका थिए । तर, आईओएमको काउन्सिलिङसम्म पुग्दा उनी बिरामीसँग प्रत्यक्ष टप हुने विषय पेडियाट्रिक छान्न पुगे । त्यतिबेला पेडियाट्रिक आफै सब्स्पेशियालिटीको भएकाले पनि उनले त्यो विषय छानेका थिए । सर्जरी, अर्थोपेडिक्सजस्ता विषयहरुको ग्ल्यामरस थियो, पेडियाट्रिक छानेपछि धेरैले अचम्म माने । २००५ को मध्यतिर उनले पेडियाट्रिकमा पोष्ट ग्राजुयट सके ।

दुई महिनाजति रेष्ट गरेपछि डा. शर्मा आईओएममै ‘टिचिङ एसिस्टेन्ट’का रुपमा जागिरे जीवन सुरु गरे । एक वर्षपछि उनी लेक्चररमा पदोन्नतीमा भए । त्रिभुवन युनिभर्सिटीको स्थायी जागिरे हुनका लागि उनले लामो समय पर्खनुपर्‍यो, २०६८ सालमा स्थायी भए । स्थाथी भएको दुई वर्षपछि २०७० सालमा डा. शर्मा आईओएमको एशोसियट प्रोफेसर भए । अहिले पनि उनी आईओएममा एशोसियट प्रोफेसरका रुपमा क्रियाशील छन् । आईओएमको समय कसरी बितिरहेको छ ? भन्छन्, ‘व्यस्त भइन्छ, एकेडेमिक काम एकदमै धेरै हुन्छ,’ उनी सुनाउँछन्, ‘हाम्रोमा पोष्ट ग्राजुयट, अन्डर ग्राजुयट कार्यक्रम पनि भयो । पढाउनका लागि आफै पनि उत्तिकै पढ्नुपर्छ । पोष्ट ग्राजुयट प्रोग्राम भएको ठाउँमा अझ बढी मेहनत गर्नुपर्छ ।’ त्यसबाहेक पेडियाट्रिक वार्डमा बिरामी पनि हेर्छन् । ५ बजेसम्म आईओएमको ड्युटी सकेपछि उनी केही समय बाहिर पनि काम गर्छन् ।

उनको विवाह सन् २००७ मा डा. रन्जना शर्मासँग भएको हो । पोखराकी डा. रन्जना पाटन अस्पतालमा अप्थामोलोजिष्टका रुपमा काम गर्छन् ।

डा. शर्माको फुर्सदको समय के मा बित्छ ? विहानको समयको बालवच्चासँग बिताउँछन् । राति सबै चिकित्सकहरुजस्तै आफ्नो अध्ययनको काम गर्छन् । ‘यो सामान्य रुटिङ हो, सबै डाक्टरहरुले राति नै पढाइ गर्नुपर्छ,’ उनी भन्छन् । शनिबार र पब्लिक होलिडेका दिन बालबच्चासम्म दिन बिताउने, टिभीमा समाचार हेर्ने तथा पारिवारिक भेटघाटमा व्यस्त रहन्छन् । अलि बढी फुर्सद भएमा उनी घुमघाममा निस्कन रुचाउँछन् । सादा जीवन भएका डा. शर्माको पहिरनशैली पनि सिम्पल छ । उनी खानाका पनि उति चुजी छैनन्, दाल, भात र तरकारी उनलाई मन पर्छ । रेष्टुरेन्टको प्रायः खान रुचाउँदैनन् ।

डा. शर्मा धेरैजसो समय काममै इन्जोय गर्छन् । अनुसन्धान उनलाई मनपर्ने काम हो । अहिलेका उनका लागि परिवारको खुसी सबैभन्दा महत्वपूर्ण लाग्छ । ‘बालबच्चा, श्रीमती र बुवा खुशी हुँदा मलाई पनि खुशी लाग्छ,’ उनी सुनाउँछन् । भविष्यमा उनी अनुसन्धानका कामहरुलाई थप व्यवस्थित गर्न चाहन्छन् । ‘अहिले रिसर्चका धेरै प्रोजेक्टहरु चलिरहेका छन्,’ उनी भन्छन्, ‘त्यसबाट हाम्रा बालबालिकालाई पनि केही फाइदा पुग्छ कि ? त्यसबाट केही निस्कन्छ कि ? केही निकाल्न सकियोस्, मैले केही कन्ट्रीब्युट गर्न सकियोस्’ उनी भन्छन्, ‘बालबालिकालाई केही फाइदा पुगोस् ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #आईओएम, #डा. अरुणकुमार शर्मा, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ