×
२०७७ साउन २२, बिहीबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलडा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म

डा. सिद्धार्थको उडानः जनकपुरदेखि मेयो क्लिनिकसम्म


अमेरिकाको रोचेस्टर मिनिसोटामा प्रसिद्ध मेयो क्लिनिकको मुख्यालय छ । मेयोमा ३ हजार बढी चिकित्सक र ९० हजार बढी कर्मचारी कार्यरत छन् । मुख्यालयमात्रै ४० हजार बढीले काम गर्छन् । हेडक्वार्टरका मुख्य दुई ठूला बिल्डिङ छन्—गोण्डा र मेयो । २० तले गोण्डा बिल्डिङको १० औं तलामा ४ वर्षदेखि एक नेपाली युवा हप्ताका पाँच दिन काममा तल्लीन रहन्छन् ।

ती नेपाली हुन्, जनकपुरका ३५ वर्षीय डा. सिद्धार्थ यादव । अहिले उनी मेयो क्लिनिकमा अंकोलोजी फ्याकल्टीका रुपमा कार्यरत छन् । सन् २०१७ जुलाईदेखि हेमाटोलोजी—अंकलोजी फेलोका रुपमा मेयो प्रवेश गरेका हुन्, उनी । सन् २०१९ को जुलाईदेखि जुन २०२० मा उनी हेमाटोलोजी—अंकलोजीको चिफ फेलोको रुपमा रहे । अहिले उनी मेयो क्लिनिक कलेज अफ मेडिसिनको अंकोलोजी एवं मेडिसिनको एसिस्टेन्ट प्रोफेसरका पदमा कार्यरत छन् ।

यी युवा चिकित्सकका मेयो क्लिनिक बित्ने पाँच दिनमध्ये तीन दिन बिरामीसँग बित्छ । दुई दिन एकेडेमिक काममा खटिन्छन् । बिरामी हेर्ने दिन उनी ७ बजे नै मेयो क्लिनिक पुग्छन्, विहानदेखि साँझसम्मै बिरामी हेर्छन । मेयो क्लिनिकमा सकेसम्म बिरामीलाई बढी समय दिनुपर्ने मान्यता छ । नयाँ बिरामीलाई डेढ घण्टासम्म दिइन्छ । ‘कहिलेकाही त तीन घण्टासम्म पनि दिन्छौं, बिरामीले अब मेरो केही छैन नभन्दासम्म हामीले कुरा सुनुपर्छ,’ उनी सुनाउँछन्, ‘बिरामीले आफ्ना सबै जिज्ञाशाको उत्तर पाएर सन्तुष्ट भएर ननिस्केसम्म हामी बसिरहन्छौं ।’ यसरी हेर्दा बिहानदेखि साँझसम्म ८—१० जना नयाँ बिरामी हेर्नुपर्छ । पुरानालाई भने आधा घण्टादेखि ४० मिनेटको समय दिइन्छ । ‘कामको लोड हुँदैन्,’ डा. सिद्धार्थ भन्छन्, ‘तर, नेपालमा त धेरै बिरामी हेर्नुपर्ने बाध्यता छ, त्यसैले म यहाँका डाक्टरलाई मान्छु । यहाँ मज्जासँग डाइग्नोसिस, ट्रिटमेन्ट गर्छु भन्ने समय नै छैन् । त्यो लक्जरी हामीलाई त्यहाँ छ ।’

बाँकी दुई एकेडेमिक दिनमा पनि अफिस पुग्ने समय लगभग उस्तै हुन्छ । तर, फर्किने समय भने अलि फरक । ८ बजेदेखि प्रयोगशालामा बैठक हुन्छ, समसामयिक विषयमा छलफल चल्छ, नयाँ योजना बनाउँछन् । त्यसपछि ल्याब छिर्छन्, त्यहाँ एनालाइज गर्छन्, रिसर्च पेपर लेख्छन् । पूरै दिन अनुसन्धानमै बित्छ । कहिलेकाही कामहरु सक्दा रातको ५—६ पनि बजिसक्छ । कहिलेकाहीँ ग्रान्ट पनि लेखेर बस्नुपर्छ । कहिलेकाही प्रिजेन्टेसन तयार पार्नुपर्छ । रिसर्चप्रतिको उनको लगाव यति छ कि उनी क्लिनिकको दिन पनि साँझ बिहान रिसर्चका काममा तल्लीन रहन्छन् ।

एरिजोना, फ्लोरिडालगायतका अमेरिकाका अन्य धेरै ठाउँमा पनि मेयो क्लिनिक छ । अमेरिकामै पनि धेरैले मेयो क्लिनिकको ‘वर्किङ कल्चर’ को प्रशंशा गरेको सुनिन्छ । यसका पछाडि मेयो क्लिनिकका केही खास विशेषता छन् । यहाँ काम गर्ने चिकित्सकहरु सेतो कोट लगाउँदैनन् । त्यसको कारण हो—चिकित्सक र बिरामीबीच भेदभाव देखाउनु हुँदैन् भन्ने मान्यता ।

हुनत मेयो क्लिनिकको मान्यता नै छ—‘बिरामीको आवश्यकता नै सबै चीज हो ।’ त्यही कारण त्यहाँ एक चिकित्सक वा एक विभागमा आएको बिरामीलाई अर्को चिकित्सक वा विभागमा दौडाइदैंन् । बरु, चिकित्सकहरु नै एक ठाउँमा आएर छलफल चलाउँछन् । कहिलेकाही अंकोलोजीको चिकित्सकलाई सर्जरीको समस्या देखा परेजस्तो लाग्यो भने बिरामीलाई सर्जन कहाँ भेटनलाई पठाइदैन् । बरु, अंकोलोजीमै सर्जनलाई बोलाएर परामर्श गरिन्छ । यसले चिकित्सकहरुको अन्तक्रियामात्रै बढाइरहेको हुँदैन्, बिरामीप्रतिको उनीहरुको अहंम जिम्मेवारीलाई पनि देखाइरहेको हुन्छ । अर्को महत्वपूर्ण कुरा, मेयोका चिकित्सकहरु बिरामीलाई कुरेर समेत बस्ने गर्छन् । सायद संसारका विरलै क्लिनिकहरुमा यति सुन्दर ‘वर्किङ कल्चर’ होला ।

अमेरिकामा विहानदेखि साँझसम्म बिरामी हेर्ने प्राइभेट प्रायक्टिसमा आम्दानी बढी हुन्छ । तर, एकेडेमिक प्रयाक्टिस त्यति धेरै पैसा हुँदैन्, बरु धेरै रिसर्च हुन्छ । ‘अमेरिकामा प्राइभेट प्रायक्टिस गर्नेहरुले धेरै पैसा कमाउँछन्,’ डा. सिद्धार्थ भन्छन्, ‘एकेडेमिक प्रायक्टिस गर्नेहरुले झण्डै त्यसको आधा कमाउँछन् ।’ डा. सिद्धार्थ एकेडेमिक प्रायक्टिस गर्छन्, त्यसैले उनी आधा कमाउनेमा पर्छन् । ‘तर, म अमेरिकामा गएकै रिसर्चका लागि त्यसैमा म एकदमै खुशी छु,’ उनी भन्छन्, ‘मेयोको सुन्दर वर्किङ कल्चरले पनि आनन्द दिइरहेको छ ।’ थोरै भनेपनि उनको वार्षिक आम्दानी झण्डै २ लाखदेखि ३ लाख डलर (२—३ करोड नेपाली रुपैयाँ) हुन्छ । प्राइभेटमा भने ५ लाख डलरसम्म आम्दानी गर्छन् । तर, यसमा पनि झण्डै ४० प्रतिशत जति करमा जाने उनले बताए ।

इन्जिनियर वुवाका चिकित्सक सन्तान

डा. सिद्धार्थको स्थायी ठेगाना जनकपुर हो । बुवा सरकारी इन्जिनियर भएकाले सरुवा भइरहन्थ्यो । त्यही क्रममा उनको जन्म २०४२ सालमा बुटवलमा भएको हो । उनको प्रारम्भिक स्कुलिङ जानकी बोर्डिङ स्कुल जनकपुरबाट भएको हो । पाँच कक्षासम्म त्यहाँ पढेपछि उनका बुवाको सरुवा नेपालगन्जमा भयो । नेपालगन्जको बागेश्वरी स्कुलबाट उनले कक्षा ६ देखि ८ सम्मको अध्ययन पूरा गरे । सिद्धार्थ शिशु सदन हेटौडाबाट उनले २०५६ सालमा एसएलसी फष्ट डिभिजनमा उत्तीर्ण मात्रै गरेनन्, जिल्ला फष्ट पनि भए ।

सानैदेखि डा. सिद्धार्थ पढाइमा तीक्ष्ण थिए । शिक्षाप्रति एकदमै धेरै विश्वास गर्ने अभिभावककै कारण आफूहरुमा त्यसको प्रभाव परेको उनी बताउँछन् । ‘मेहनत गर्दा जे पनि सम्भव छ भन्ने बुवाको धारणा थियो,’ उनी सम्झन्छन्, ‘अहिले पनि म बुवाको आदर्शलाई पछ्याइरहन्छु ।’ बुवाको त्यही आदर्शका कारण उनका दाजुभाइ र दिदीबहिनीहरुमा नै जुन फिल्डमा लागेपछि वेस्ट हुनुपर्छ धारणा विकसित भयो ।

एसएलसीपछि उनी बुढानिलकण्ठमा प्लस टु पढ्न थाले । स्कुल पढ्दा मेकानिकल इन्जिनियर बुवाको काम देखेकाले डा. सिद्धार्थको गाडीसँग एकदमै आकर्षण थियो । ‘बुवा मेकानिकल इन्जिनियर हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘गाडीहरु बनाउनुहुन्थ्यो । त्यही कारण म त्यतिखेर इन्जिनियर नै बन्छुजस्तो लाग्थ्यो ।’ बुढानिलकण्ठ स्कुलमा प्लस टु पढिरहेका बेलाको एक घटनाले उनको इन्जिनियर बन्ने चाहनामा बिराम लगाइदियो । एक पटक शिवपुरी घुम्न जाँदा एक भिक्षुले भनेछन्, ‘डाक्टर पनि भिक्षुजस्तै हो, सेल्फलेस मान्छे । सबैको सेवा गर्नुपर्ने तर सबै कुरा त्याग गर्नु नपर्ने ।’

डा. सिद्धार्थलाई पनि सही लाग्यो । बिरामीको सेवा गर्न पनि पाइने, भिक्षुजस्तो सबै कुरा त्याग गर्न पनि नपर्ने । त्यहीबाट उनको इन्जिनियर बन्ने सपना बदलियो । ‘बुढानिलकण्ठ विद्यार्थीलाई कसरी पढ्ने भन्ने कुरा सिकाउँछ,’ उनी भन्छन्, ‘त्यही कारण अहिलेसम्म पनि ममा आफैले गर्नुपर्छ भन्ने बानी छ ।’ सन् २००२ मा उनले बुढानिलकण्ठबाट प्लस टु उत्तीर्ण गरे । दुई महिनापछि नै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को एमबीबीएस इन्ट्रास भयो । उनले पहिलो प्रयासमै नाम निकाले । पूर्ण छात्रवृत्तिमा नाम निस्किएपछि उनी महाराजगन्जमा एमबीबीएस पढ्न थाले । सन् २००९ मा उनले एमबीबीएस सके । एक वर्ष त्यही इन्टर्न गरे । त्यसपछि उनी त्रिपुरेश्वस्थित काठमाडौं हस्पिटलमा पार्टटाइम काम गर्न थाले । सँगसँगै अमेरिकाको मेडिकल लाइसेन्सिङ परीक्षा ‘युएसएमएलई’का लागि पढाइ पनि अगाडि बढाए ।

‘युएसएमएलई’ पास गरेपछि सन् २०१० मा उनी अमेरिका उडे । सन् २०११ मा उनले ब्युमोन्ट हेल्थ मिचिगनमा इन्टरनल मेडिसिनमा रेजिडेन्सी सुरु गरे । सन् २०१४ मा इन्टरनल मेडिसिनमा रेजिडेन्सी सकाए । रेजिडेन्टमध्येबाट एक—दुई जनालाई ‘चिफ रेजिडेन्ट’का रुपमा छनोट हुन्थ्यो । सन् २०१४ देखि २०१५ सम्म एक वर्ष उनले ब्युमोन्टमै ‘चिफ रेजिडेन्ट’का रुपमा एक वर्ष बिताए । त्यसपछि ब्युमोन्टमै उनले फ्याकल्टीका रुपमा ज्वाइन गरे । त्यहीबेलादेखि उनी क्यान्सर सम्बन्धी अनुसन्धानमा सक्रिय रहे । ब्युमोन्टमै क्यान्सर जेनेटिक सेन्टरमा पनि रिसर्च फ्याकल्टीका रुपमा काम सुरु गरे । इन्टरनल मेडिसिनमा पनि ‘डिरेक्टर अफ रेजिडेन्सी रिसर्च’ का रुपमा पनि काम गरे । ‘रेजिडेन्टहरुले गर्ने सबै अनुसन्धानको निर्देशकका रुपमा पनि काम गरे,’ उनी सुनाउँछन्, ‘यस्तै जिम्मेवारी दुई वर्ष त्यहाँ काम गरे ।’

डा. सिद्धार्थ अनुसन्धानको आफ्नो दायरलाई थप बढाउन चाहन्थे । त्यसैले उनी राम्रो अवसर खोजिरहेका थिए, यतिकैमा मेयो क्लिनिक हेमोटोलोजी—अंकोलोजीमा फेलोसीप पाए । त्यसपछि उनको अमेरिका बसाइँमा मेयो क्लिनिक जोडियो । झण्डै १० वर्ष अमेरिका बिताएका डा. सिद्धार्थको नजरमा अमेरिकी र नेपाली शिक्षा प्रणालीमा के भिन्नता छन् त ? ‘सैद्धान्तिक रुपमा उस्तै हो, स्रोत साधनको कुरा फरक हो,’ भन्छन्, ‘नेपालमा साधन स्रोतका विषयमा धेरै कुरा सोच्नुपर्छ, पर्याप्त साधन स्रोतको अभाव छ । अमेरिकामा काम गर्नेका लागि सबै उपलब्ध छ ।’ नेपालमा बिरामीले पनि महंगा टेष्टहरु अफोर्ड गर्न सक्दैन् । अमेरिकामा भने पढेअनुसार व्यहारिक रुपमा परीक्षण गर्ने सबै स्रोतसाधनहरु उपलब्ध छन् ।

अनुसन्धान प्रेम

डा. सिद्धार्थ अनुसन्धानमा रुचि भएकैले आफू अमेरिका गएको बताउँछन् । ‘म रिसर्चमै रुचि भएकाले अमेरिका गएको हुँ, अहिले पनि रिसर्चमा मेरो बेग्लै लगाव छ,’ उनी भन्छन्, ‘अहिले पनि धेरै रिसर्चमा संलग्न छु ।’ उनले अमेरिका बसाइँका १० वर्षको उपलब्धि पनि रिसर्चका कामलाई मानेका छन् । ‘मैले जति रिसर्चमा एक्स्पटिज हासिल गरे, त्यही उपलब्धि हो,’ डा. सिद्धार्थ भन्छन्, ‘जुन नेपालमा सायद सम्भव हुँदैन्थ्यो होला ।’

क्लिनिकल रिसर्च हुँदै उनी अहिले जेनेटिक ल्याबमा अनुसन्धानमा तल्लीन रहन्छन् । यस्ता ठूला ल्याबहरुमा जेनेटिकहरु विश्लेषण गर्छन् । रिसर्चका लागि आवश्यक पर्ने कम्प्लेक्स ल्याब, डिएनए सिक्वेन्सीङ टेक्नीकहरु अनुभव लिन नेपालमा बसेको भए सायद उनले पाउदैन्थे । उनको अधिकांश समय रिसर्चमै बितिरहेको छ । नेपालमा रहँदा पनि रुचिअनुसार नै उनी रिसर्च गतिविधीमा सहभागी हुन्थे ।

नेपालमा रहँदा सगरमाथा गएर हिमाली क्षेत्रमा लेक लाग्ने विषयमा अनुसन्धान गरेका उनी सुनाउँछन् । अमेरिका पुगेदेखि उनको अनुसन्धान क्यान्सर किन लाग्छ ? भन्ने कुरा पत्ता लगाउनमा केन्द्रित छ । क्यान्सरका विभिन्न कारणमध्ये धुम्रपान पनि एक हो, अरु कारणहरु पनि छन् । तर, कहिलेकाही चुरोट, रक्सी नखाने, नियमित अभ्यास गर्ने, खानपिन राम्रो भएका मानिसलाई पनि क्यान्सर लाग्छ । कसरी ? भन्छन्, ‘जिनेरिक्स (जिनमै) खराबी हुने रहेछ, जसले क्यान्सर हुन सजिलो हुँदोरहेछ । त्यस्तो खालको क्यान्सरको अनुसन्धान गर्दैछौं । ब्रेस्ट क्यान्सरमा पनि १० प्रतिशत यस्तो हुन्छ, जसको जिनमै खराबी हुन्छ । अहिले हाम्रो ध्यान जिनमा भएको खराबी के हो ? के कारणले त्यस्तो हुन्छ भन्ने पत्ता लगाउनेमा छ ।’ त्यस्ता मान्छेलाई कसरी क्यान्सर हुनबाट जोगाउने भन्नेमा अनुसन्धान गर्न लागेको धेरै वर्ष भैसक्यो ।

भावि दिनमा पनि डा. सिद्धार्थ अनुसन्धानलाई नै आफ्नो जीवनको लक्ष्य बनाएर अगाडि बढने सोचमा छन् । गत वर्षमात्रै उनले अमेरिकन क्लिनिकल अंकोलोजी सोसाइटीको ५० हजार डलर राशीको ‘योङ इन्भेष्टीगेटर’को एवार्ड हात पारे । उनले यो रकम प्यानक्रियाज क्यान्सरको अनुसन्धानमा खर्चिए । मेयो क्लिनिकमा गरिएको अनुसन्धानले संसारलाई नै प्रभावित गर्ने भएकाले पनि उनको रुचि बढी अनुसन्धानमा अडकिएको छ । ‘क्यान्सर कसरी निको पार्ने भन्ने कुराले संसारलाई प्रभावित पार्छ,’ उनी भन्छन्, ‘त्यसैले सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ ।’ डा. सिद्धार्थ यो गहन रिसर्चमा काम गर्न पाएको खुशी छन् ।

डा. सिद्धार्थको ३५ वर्षमै हासिल गरेको यो उपलब्धि आफूले नेपालमा पाएको उत्कृष्ट स्कुलिङ र मेहनतको परिणाम मान्छन् । ‘सानैदेखि बुवाआमाले पढ्न र मेहनत गर्न सिकाउनुभयो, यो त्यसैको परिणाम हो,’ उनी भन्छन्, ‘प्लस टु र आईओएममा पढ्दा पनि त्यही सिकियो ।’ उनले अमेरिकामा गएपछि पनि पढ्न र मेहनत गर्ने बानी छोडेनन्, त्यही बानीले अहिले उनलाई युवा उमेरमै मेयो क्लिनिकको फ्याकल्टीमा पुर्‍याएको छ ।

उनको उडानमा ‘मेन्टरसीप’को भूमिका पनि त्यतिकै छ । नेपालमा थोरै लक्की मानिसहरुले मात्रै मेन्टरसीप पाउने गर्छन् । डा. सिद्धार्थलाई आईओएममा पढ्दा डा. वुद्ध बस्न्यातले अनुसन्धानप्रति लगाव बढाउन प्रेरित गरेका थिए । ‘बिरामी हेर्दा तिमी चार जनालाई ठीक पार्छौ,’ डा. बस्न्यातले अनुसन्धानतर्फ मोटिभेट गर्दा भन्ने प्रसंग उनी सम्झिन्छन्, ‘अनुसन्धान गर्दा पत्ता लगाएको कुराले हजारौ एकै पटक प्रभावित पार्छ ।’ त्यही इन्करेजमेन्ट र अमेरिका पुगेपछि उनले भेटेका त्यस्तै अन्य मेन्टरहरुले पनि उनलाई अनुसन्धानबाट अगाडि बढ्न प्रेरणा दिइरहेको छ ।

नेपाली मन

सधैं व्यस्त रहनुपर्ने अमेरिकाका बसाइँँ कति इन्जोयफूल छ ? ‘अमेरिकाको बसाइँ रमाइलो हुँदैंन् । काम चाहिँ रमाइलो हुन्छ,’ मीठो मुस्कान छर्दै उनी बोले, ‘काम गर्न त्यहाँ छुट्टै मजा हुन्छ ।’ मेहनत गर्नेहरुको कामले तारिफ पाउने देश हो अमेरिका । डा. सिद्धार्थको अनुभवमा अमेरिकाका गएका धेरै नेपालीले त्यही कारण प्रगति गरेका छन् ।

अमेरिकामा सबैभन्दा बढी मिस हुने कुरा घरपरिवार नै हो । त्यही ‘नेपाली मन’ले उनलाई बेला—बेलामा नेपाल फर्काइरहन्छ । अमेरिकामा हासिल गरेको ज्ञान नेपालमा कसरी बाँडने भन्नेमा पनि उनी सोचिरहेका छन् । नेपालमा शिक्षण, वीरलगायतका अस्पतालहरुमा अंकलोजी विभाग सुरु भएपनि प्रारम्भिक अवस्थामा छन् । विनयतारा फाउण्डेसनले जनकपुरमा क्यान्सर हस्पिटल स्थापना गरेको छ । अमेरिकामै बस्ने डा. विनय साहसँग मिलेर सिद्धार्थ पनि त्यो प्रोजेक्टमा आवद्ध छन् ।

‘अहिले दुई नम्बर प्रदेशमा एउटा पनि क्यान्सर सेन्टर छैन्,’ उनी भन्छन्, ‘जनकपुरमा यो नै पहिलो क्यान्सर सेन्टर हो ।’ सानो स्केलमा सुरु गरिएको यो क्यान्सर अस्पतालाई कसरी ठूलो बनाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ । अमेरिकामा डा. सिद्धार्थले हासिल गरेको एक्सपटीज जनकपुरमा प्रयोग गर्ने तयारी छ । ‘अहिले जनकपुरमा ५ जना अंकोलोजिष्टहरु हायर गरेर राख्न सम्भव छैन्,’ उनी कारण खोल्छन्, ‘हामी नै अमेरिकाबाट सघाउने तयारीमा छौं ।’ अर्कोतर्फ, निकै महंगो पर्ने क्यान्सरको औषधी अमेरिकन औषधी कम्पनीसँग मिलेर कसरी सहुलियतमा नेपालमा उपलब्ध गराउने भन्नेतर्फ पनि उनले सोचिरहेका छन् ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार