×
२०७७ साउन २३, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइल१० हजार मुटु खेलाएका डा. अनिल

१० हजार मुटु खेलाएका डा. अनिल


मुटु सर्जरीलाई सबैभन्दा संवेदनशील सर्जरी मानिन्छ । मुटु सर्जनका रुपमा काम गर्न थालेको १५ वर्षमै मुटु र रक्तनलीका ६ हजार बढी शल्यक्रिया । अझ समूहमा जोडदा झण्डै १० हजार बढी । मुलुकका दूरदराज वस्तीमा पुगेर ९० हजार बढी मुटु रोगका बिरामीको खोजी । त्यसमध्ये झण्डै ५—७ सयको काठमाडौं नै ल्याएर उपचार र त्यसको व्यवस्थापन । सँगसँगै चिकित्सा अध्यापन । ४२ वर्षीय नेपाली युवा सर्जन डा. अनिल भट्टराईको जीवनका खास हाइलाइट हुन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु सर्जन डा. अनिल त्रिवि चिकित्सा अध्ययन संस्थान (आईओएम)का एशोसियट प्रोफेसर हुन् । विहान साढे ८ बजे नै सुरु हुने उनको दैनिकीमा बिरामी हेर्ने, शल्यक्रिया गर्ने, अध्यापन गराउने, अध्ययन/अनुसन्धानमा खटिने, लेखहरु लेख्ने नियमित ड्युटीहरु छदैंछन् । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महाव्याधिमा पनि सामाजिक दूरी बनाएर उनी बिरामीको उपचारमा फ्रन्टलाइनमै खटिरहेका छन् । त्यसबाहेक उनी बेला—बेलामा छुट्टी निकालेर बिरामी खोज्न कहिले पूर्वी पहाडको ताप्लेजुङ त कहिले पश्चिमी पहाडका कर्णालीका विकट वस्तीहरु चहारिरहन्छन् ।

मुटु सर्जरीलाई आफ्नो प्यासन र उपचारपछि निको भएका बिरामी चेहरामा झल्किने खुशीलाई आफ्नो प्रेरणा मान्ने डा. अनिल २०३४ सालमा पर्वतको मोदी गाउँपालिका दराख जन्मिएका हुन् । बुवा कृष्णप्रसाद भट्टराई र आमा सरिता भट्टराईका चार सन्तानमध्ये उनी जेठा हुन् । मध्यमवर्गीय किसान परिवारमा जन्मिएका उनका बुवा राजनीतिमा संलग्न थिए । उनको बाल्यकाल र प्रारम्भिक शिक्षादीक्षा मामाघरमा भएको हो । बुवा पोलिटिक्स गर्ने भएकाले उनको बुवासँग धेरै भेटघाट हुँदैन्थ्यो । आमा घरमै र आफू मामाघर बस्ने भएकाले उनले बाल्यकालको धेरैजसो समय मावली हजुरबुवा—हजुरआमासँग बिताए ।

डा. अनिलको शिक्षादीक्षा पूर्णेश्वर मावि ग्यादीमा अगाडि बढ्यो । सानो छँदैदेखि मुटुप्रति उनको अनौठो लगाव थियो । जुन कुरा स्कुल जीवनमा घटेको एक घटनाले पनि देखाउँछ । वि.सं. २०४६ सालतिरको कुरा हुनुपर्छ—त्यतिबेला डा. अनिल कक्षा ८ मा पढ्थे । एकदिन विज्ञान विषय पढाउने शिक्षकले मुटुबारे पढाइरहेका बेला भने, ‘भ्यागुताको शरीरबाट मुटु झिकेर बाहिर राख्दा पनि चल्छ ।’ उनलाई अनौठो लाग्यो । बालसुलभ जिज्ञाशाले भ्यागुताको मुटु नहेरी बस्न दिएन । एकजना साथी लिएर उनी नजिकैको पोखरीमा गएर भ्यागुतो समाते । त्यसलाई ब्लेडले चिरेर मुटु निकाले । मुटु निकालेर बाहिर राख्दा पनि चलेको देखेर अचम्मित भए । ‘भ्यागुतो फेरि जीवित हुन्छ भन्ने ठानेर हामीले पुनः त्यो मुटु भ्यागुताको शरीरमा राखेर सिलाइदियौं,’ उनी बाल्यावस्थाको भ्यागुतो सर्जरी कथा खोल्छन्, ‘तर, भ्यागुतो बाँचेन ।’ सानैदेखि पढाइमा अब्बल उनी स्कुलका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन्थे । स्कुलमा छँदा उनको राजनीतिमा पनि उतिकै रुचि थियो ।

१६ वर्षमा रसिया, स्टालिनजस्ता गुरु

वि.सं. २०४९ सालमा उनले पूर्णेश्वर माविबाटै फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका हुन् । सानैदेखि डा. अनिलको रुचि मेडिसिनमा थियो । ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैं एसएलसी लगतै उनले रसियन सरकारले दिने डाक्टरी अध्ययनको छात्रवृत्ति पाए । १६ वर्षको उमेरमै उनी २०४९ (सन् १९९३)मा रसिया गए । ‘एसएलसी लगतै छात्रवृत्ति पाएपछि म रसिया गएँ,’ उनी भन्छन् । रसिया जाँदा नोभेम्बर महिना थियो । सेताम्य हिउँले ढाकिएको सारातोभ चिसोले कठ्याग्रिएको थियो । बाहिर माइनस २०—२२ डिग्री तापक्रम । घरका छतहरु हिउँले ढाँकिएका, पात नै नभएका रुख त मरेजस्तै देखिन्थे ।

‘वीन्टरमा त १० नबजेसम्म उज्यालो नहुने, ४ बजेपछि रात परिहाल्ने । कुहिरो र हिउँउस्तै । एकदमै दुःख भयो,’ उनले रसियामा सुरुवाती दिन सम्झिए, ‘सुरुमा हिउँमा चिप्लिन्छ भन्ने समेत थाहा भएन, कति ठाउँमा चिप्लिए । खानपिन नमिलेर ४—५ दिन खाना नै खाइन्, अण्डा र पाउरोटी मात्रै खाइयो ।’ दुई महिनामै उनलाई नेपाल फर्किन हतारो सुरु भयो । रसियामा केही अगाडि मात्रै कम्युनिष्ट शासन ढलेको थियो, फोनमा पनि सहज पहुँच थिएन । दुई महिनापछि बल्लतल्ल बुवासँग सम्पर्क भयो । उनले भने, ‘बुवा म यहाँ बस्न सक्दिन । फर्किन्छु ।’ बुवाले हकार्दै भने, ‘त्यस्तो राम्रो अवसर छोडेर आउने कुरा गर्छस् । दुःख गर्न सिक्नुपर्छ ।’ विस्तारै समर आयो, जताततै हराभर देखिन थाल्यो । त्यो समरमा रंगिएको युरोपले उनलाई लोभ्याउन थाल्यो ।

तस्वीरः नवराज वाग्ले

सारातोभ रसियाको ठूलै सहर थियो । कम्युनिष्ट शासनका बेला हातहतियार र रकेट निर्माण गर्ने ठाउँ भएकाले बन्द सहर थियो । भोल्गा नदीको किनारमा अवस्थित यो सहर अत्यन्तै रमणीय थियो । ‘सुरुमा त मैले यो समुन्द्र नै रहेछ भन्ठाने,’ डा. अनिल भोल्गा नदीसँगको प्रसंग कोट्याउँछन्, ‘यति ठूलो नदी मैले देखेकै थिएन । घुमघाम गर्न पनि निकै रमाइलो ठाउँ ।’ एयरपोर्ट, रेलवे र हाइवेहरुको अभूतपूर्व विकास भैसकेको थियो । रसिया त्यो बेला नै सिष्टममा पनि ‘ए वान’ नै थियो ।

सारातोभ स्टेट मेडिकल युनिभर्सिटीमा उनको अध्ययन प्रक्रिया अगाडि बढ्यो । ‘सबै रसियन भाषामै पढाइ हुने, रसियन साथीसँगै पढियो,’ उनले एमबीबीएस अनुभव सुनाए, ‘भर्खर कम्युनिष्ट व्यवस्था ढलेकोले होला त्यहाँको प्रशासन निकै कडा थियो, अलिकति शंकालु व्यवहार, खुलेर कुरा नगर्ने एकदमै औपचारिक ।’ तर, त्यहाँको सबैभन्दा राम्रो पक्ष के थियो भने विदेशीलाई उल्कै सम्मान गरिन्थ्यो । ‘विदेशीलाई विशेष खालको सम्मान थियो,’ उनी तत्कालीन रसियाको अनुभव बाँड्छन्, ‘पाहुना व्यवहार गरिन्थ्यो । सबैले दिल खोलेर सहयोग गर्थे ।’

त्यो बेलाको रसियाको ब्युटी के थियो ? ‘त्यहाँको सुन्दर पक्ष अनुशासन नै हो,’ उनले फ्याट्टै भने । उनलाई छाप पारेको एउटा घटनाको प्रसंग पनि कोट्याए । संसारभर जति पनि औषधी ल्याटिन भाषा राखिएको हुन्छ, त्यसैले त्यो भाषा पढेपछि जहाँ गएपनि औषधी चिन्न सकिन्छ । उनको मेडिकल कलेजमा त्यसैलाई मध्यनजर गर्दै ल्याटिन भाषाको एक वर्षको क्लास हुन्थ्यो । त्यसको शिक्षक यति कडा थिए कि क्लासमा पुग्न ५ मिनेट ढिलो भयो भने पनि फर्काइदिन्थे । ती शिक्षकले विद्यार्थीहरुलाई भन्थे, ‘म स्टालिनको शासन झेलेको मान्छे हो । तिमीहरु ५ मिनेट ढिलो गर्ने ? स्टालिन भएको भए झुण्डाइदिन्थ्यो ।’ डा. अनिललाई लाग्छ रसिया बनेको त्यही फलामे अनुशासनले नै हो । ‘उत्तरी छिमेकी देश चीन पनि अनुशासनले नै विकास भएको हो,’ उनी सुनाउँछन्, ‘जति पनि देश विकसित भए, यस्तो समयमा भएकी जुन समय मानिसले अनुशासनलाई एकदम गम्भीरतापूर्वक साथ दिए ।’ उनी एउटा जेनेरेशनले सेक्रीफाइस नगरी अर्को जेनेरेशनले सुख नपाउने बताउँछन् ।

रसियामा एमबीबीएसको पढाइ पूरा गर्ने क्रममा झण्डै साढे ७ वर्ष त्यहाँ बसे । सन् २००० मा उनी एमबीबीएस सकेर नेपाल फर्किए । रसिया बसाइँका क्रममा डा. अनिल एमबीबीएस डिग्रीबाहेक हासिल गरेका कुरा के हुन् ? ‘रुसले धेरै कुरा दियो, दुःख गर्न सिकायो,’ उनी भन्छन्, ‘जीवन के हो, संघर्ष कति गर्नुपर्छ भन्ने कुरा पनि मैले त्यही सिके ।’ गाउँमा जन्मे हुर्के र पढेबढेका डा. अनिलका लागि त्यो बेलाको रसियाको विकास अभूतपूर्व थियो । ‘मस्को हेर्दा त्यस्तै छ, मस्को बाहिर गाउँ—गाउँको अवस्था पनि त्यस्तै छ । ठूला—ठूला भौतिक संरचना, सिष्टम पनि उस्तै विकसित । उनीहरुले त्यो भन्दा २० वर्ष अगाडि नै गरिसकेछन्,’ उनी थप्छन् ।

नेपाल फर्केपछि वीर अस्पतालमा एक वर्ष इन्टर्न गरे । सन् २००१ को अन्तिमतिर उनले मेडिकल अफिसरका रुपमा त्रिवि शिक्षण अस्पतालमा जागिर सुरु गरे । त्यहाँ सन् २००४ को अन्तिमसम्म काम गरे । ‘त्यही बेला पहिलो पटक मैले मानिसको मुटु देखेको हुँ, विएन सिंह भन्ने डा’साब हुनुहुन्थ्यो, उहाँ राम्रो मुटु सर्जन हुनुहुन्थ्यो, उहाँले नै मलाई पहिलो पटक मानिसको मुटु देखाउनुभएको हो,’ अहिलेका व्यस्त मुटु सर्जन पहिलो पटक मुटु देख्दाको अनुभव साटछन् ।

तीन वर्ष शिक्षणमा काम गरेपछि उनी छात्रवृत्ति पाएर सन् २००५ मा पुनः मुटुसम्बन्धी अध्ययन गर्न सारातोभ स्टेट मेडिकल युनिभर्सिटी गए । तीन वर्षमा पिजी सकेपछि उनी मुटुसम्बन्धी एक वर्षको फेलोसिप गर्न रसियाबाटै इटाली पुगे । इटलीको बेरगामोस्थित इन्टरनेशल हार्ट स्कुलमा एक वर्षको फेलोसीप सके । लगतै, उनले पुनः अर्को महत्वपूर्ण छात्रवृत्ति हात पारे । इटलीकै पादोभा युनिभर्सिटीमा तीन वर्षे पिएचडीका लागि छात्रवृत्ति पाए । ‘एकपछि अर्को स्कलरसीप पाए, नत्र हामी नेपालीले कहाँ यति पढ्न सकिन्थ्यो,’ उनी सुनाउँछन्, ‘एमबीबीएसदेखि एउटा मुटुको विशेषज्ञ शल्य चिकित्सक बनाउन झण्डै ५ करोड खर्च गर्नुपर्छ ।’ सन् २०१० देखि २०१३ सम्म पिएचडी अध्ययन सके । त्यसपछि दुई महिना ‘अब्जरभरसीप फेलोसीप’ पाएपछि हार्वर्ड युनिभर्सिटी बोस्टन अमेरिका गए ।

मनमोहनमा अध्यापनदेखि सर्जरीसम्म

हार्वर्डको फेलोसिपी सकिएपछि सन् २०१३ को जुलाईमा डा. अनिल नेपाल फर्किए । नेपाल फर्केपछि उनले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उप—प्राध्यापकका रुपमा जागिर सुरु गरे । उप—प्राध्यापकका रुपमा ६ वर्ष काम गरे । वि.सं. २०७६ कात्तिकमा बढुवा भएर एशोसियट प्रोफेसर भए । अध्यापन कस्तो लागिरहेको छ ? ‘एमबीबीएसलाई वर्षमा तीन चार वटा क्लास लिनुपर्छ, माष्टर्सका विद्यार्थीहरु हामीसँगै काम गर्नुहुन्छ, काम गर्ने सिलसिलामै पढाइ हुन्छ,’ उनी अध्यापन अनुभूति सुनाउँछन्, ‘त्योबाहेक पिएचडीका विद्यार्थीहरु पनि छन्, जसलाई एमसीएच भन्छौं । उहाँलाई पढाउने, सिकाउने हामीले नै हो ।’ डा. अनिलको मुटुप्रति गहन रुचि छ, त्यही कारण उनी यसैमा मज्जा अनुभव गर्छन् ।

कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन (सिटिभिएस सर्जन) भनेको अरु विद्याभन्दा नितान्तै फरक भएको उनी बताउँछन् । ‘पित्तथैलीको अप्रेसन गर्दा बिरामी एकछिनमै होसमा आउँछ, उस्तै परे बिरामी केही बेरमै होसमा आउँछ, वार्डमा सारेर घर गएर सुते हुन्छ, कहिलेकाही मात्रै रियर कप्लिकेसन हुन सक्छ’ डा. अनिल भन्छन्, ‘तर, हाम्रो त कस्तो छ भने अप्रेशन नै गरेपछि पनि हामी राम्रोसँग सुत्न पाइदैंन् । राति पनि समस्या प¥यो भनेर अस्पतालबाट फोन आयो भने २ बजे, ४ बजे नै भएपनि उठेर अस्पताल आउनुपर्छ । हस्पिटलको गाडी समयमा लिन आउन भ्याउँदैंन्, आफ्नै गाडी लिएर आउनुपर्छ ।’ त्यो वापत चिकित्सकहरुले अन्य कुनै शुल्क पनि लिदैनन् । ‘हामी त्यसैमा इन्जोय गरिरहेका छौं,’ यी चिकित्सक सुनिए, ‘हामीलाई त्यसैमा रमाइलो लागिरहेको छ । मान्छेको ज्यान जोगाउँदा एकदमै खुशी लाग्छ ।’

डा. अनिल जिन्दगीका सबै कुराहरु हिसाब—किताबमा मात्रै नचल्ने बताउँछन् । भन्छन्, ‘धेरै कुरा रुचि, प्यासनजस्ता कुराहरुमा पनि निर्भर हुन्छ ।’  सबै चिकित्सकको रुचि सबै बिरामीलाई ठीक पार्न सकियोस भन्ने हुन्छ । तर, कहिलेकाही बिरामीमा कम्प्लिकेन्स आएपछि समस्या पनि फेस गर्नुपर्छ । किन भयो ? कसरी भयो ? बिरामीका आफन्त सन्तुष्ट हुन सक्दैनन्, बुझाउनुपर्छ, त्यसमा बेग्लै झन्झन्ट हुन्छ । तर, चिकित्सकले यी सबै कुरा फेस गर्नैपर्छ । तर, डा. अनिल यी सबै झन्झटबाटमुक्त हुँदैं निको पारेको बिरामीको फर्किएको खुसी सम्झन्छन् र दिल खोलेर मुस्कुराउँछन् ।

बिरामी खोज्न दूरदराजमा

मुटुकै शल्यक्रियामा सक्रिय रहेकाले डा. अनिल मुटुसम्बन्धी उपचारका लागि बेला—बेला देश दौडाहामा पनि निस्कन्छन् । उनको नेतृत्वमा पछिल्ला ५—६ वर्षमा नेपालभर ६५ भन्दा बढी मुटु सम्बन्धी हेल्थ क्याम्प सन्चालन भैसकेका छन् । डोल्पा, मुगु, कालिकोट, दैलेखदेखि ताप्लेजुङका विकट ठाउँसम्म उनी पुगिसकेका छन् ।

‘हामी विशेष गरी कर्णाली प्रदेशमा र दुर्गम ठाउँमा फोकस छौं,’ उनले सुनाए, ‘सुगम ठाउँमा पनि क्याम्पहरु गरिरहेका हुन्छौं ।’ उनको नेतृत्वमा भएका मुटु सम्बन्धी हेल्थ क्याम्पबाट ९० हजार बढी मानिसहरुले उपचार पाएका छन् । यतिमात्र होइन्, त्यसमध्ये ५—७ सय मानिसलाई काठमाडौंसम्म ल्याएर ओपन हर्ट सर्जरीलगायतका मुटुसम्बन्धी उपचार समेत भैसकेको छ । ‘भ्याए र सकेसम्म नेपालको हरेक मुटु रोगका बिरामीले उपचार पाओस्,’ यी युवा सर्जन भन्छन्, ‘मेरो सपना भनेकै यही हो, फोकस पनि त्यहीमा छ ।’

डोल्पा, मुगु, कालिकोटजस्ता विकट पहाडी जिल्लामा पुग्दा अवस्थामा कस्तोसम्म देखियो भने मान्छेहरुलाई मुटु कता हुन्छ भन्ने पनि थाहा थिएन् । उनले साक्षात्कार गरेका धेरै बिरामीहरु आफ्नो मुटु भनेर पेट देखाइरहेका हुन्थे । हेल्थ क्याम्पसका क्रममा उनको टोलीले मुटु सम्बन्धी जनचेतना अभिवृद्धिमा गर्ने काम पनि गरिरहेको छ । ‘मुटु कता छ भन्ने थाहा नभएको मान्छेलाई मुटु रोगबारे कसरी थाहा हुन्छ ?’ उनले प्रश्न गरे, ‘हामीले हेरेका ७० प्रतिशत मानिसहरुलाई मलाई मुटु रोग छ भन्ने थाहै थिएन ।’ डेढ वर्षअघिसम्म काठमाडौंमा मात्रै मुटुको उपचार हुन्थ्यो, दुर्गमका भएका मुटु बिरामीलाई सकेसम्म काठमाडौं ल्याएर उपचार गर्ने कामको पहल पनि उनले लिए ।

सरकारले १५ वर्षभन्दामुनिका बालबालिकाको मुटु रोगको उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ । तर, डोल्पाका मान्छेलाई काठमाडौं पुग्नका लागि ४०—५० हजार बाटो खर्च नै लाग्छ, त्यो पैसा राज्य दिन्न र उनीहरु उपचारबाट बन्चित हुन्छन् । त्यस्ता बिरामी बालबालिकाका अभिभावकलाई काठमाडौं बस्ने खर्चको पनि व्यवस्था गर्नुपर्छ । बालबालिकाको उपचारमा १५ दिन अस्पतालमा खर्चिनुपर्छ, १५ दिन थप राख्नुपर्छ । त्यसको खर्च व्यवस्था गर्नु अर्को ठूलो चुनौती छ । ‘त्यो सबै खर्च कसले ब्यवहोर्ने त ?,’ डा. अनिलले ‘सेभ द हार्ट’ भन्ने संस्थामार्फत यी सबै काम गरिरहेका छन् । ‘सेभ द हार्ट’ले बिरामीको आउने जाने खर्चदेखि काठमाडौंमा बस्ने खर्चको समेत व्यवस्थापन गर्दै आएको छ ।

डा. अनिल भावुक हुँदैं भन्छन्, ‘ठूलो कुरा गरे मजा पनि आउँछ, धेरै ठूलो कुरा गर्न जरुरी पनि छैन । सानै कुरा नै गरे पनि काफी छ । कमसेकम नेपालका हरेक व्यक्तिले शरीरमा मुटु कता छ ? र आफूलाई मुटु रोग छ कि छैन भनेर थाहा पाउने उसको अधिकार हो । मुटु रोग छैन भने ढुक्क भयो । छ भने कसरी ठीक हुन्छ त्यो कुरा हरेक व्यक्तिले थाहा पाइदिए हुन्थ्यो । मिलेसम्म सबैको उपचार भैदिए हुन्थ्यो, मेरो चाहना त्यतिमात्रै हो ।’

टाई छुट्दैन, एक छाक मात्रै खाना 

डा. अनिलको डयुटी ९ बजेबाट सुरु हुन्छ । तर, उनी ८ः३० बजे नै मनमोहन पुगिसक्छन् । त्यसपछि राउण्ड लिन्छन् । शल्यक्रिया छ भने त्यहाँ जान्छन्, आइतबार, मंगलबार र बिहीबार शल्यक्रिया हुन्छ । अन्य दिन ओपीडीमा बिरामी हेर्छन् । त्यसबाहेक पढाइ लेखाइका कामहरु गर्छन् । सामान्यतयाः ५ बजे ड्युटी सकिन्छ । तर, कहिलेकाही उनी घर फर्किदा बेलुका ८—९ नै बजिसक्छ ।

फुर्सदको समयमा डा. अनिल फिटनेशमा विशेष ध्यान दिन्छन् । पहिले उनी जिम नै जान्थे । अहिले भने उनी घरमै टे«डमिल, डम्बल उठाउने र पुसअपलगायतका एक्ससाइज गर्छन् । त्यसबाहेकको अलिकति समय परिवारलाई दिन्छन् भने कहिलेकाही लेखहरु पनि लेख्छन् । उनलाई घुम्न एकदमै मन पर्छ । प्रायजसो आफ्नै गाडी लिएर घुम्न निस्कन्छन् । उनी बढीजसो पोखरा, नगरकोट र उपत्यका वरपरका डाँडाकाडामा टहलिन रुचाउँछन् ।

टिपटप बनेर हिड्ने रुचाउने उनी धेरैजसो सर्ट र पाइन्टमा हुन्छन् । जुत्ताप्रति पनि उनको विशेष सौख छ । युरोपमा अध्ययनका क्रममा धेरै समय बिताएकाले हुनुपर्छ, उनी प्राय टाइ छुटाउदैनन् । ‘मेडिकल अफिसर भएर पहिले जागिर गर्दा पनि म टाइ लगाउने एक्लोजस्तै हुन्थे,’ उनले मुस्कुराउँदैं सुनाए, ‘तर, खै किन हो छोड्न सकिएन ।’

खानामा पनि उनको साधारण छ । दिनमा एक छाक मात्रै खाना खान्छन् । विहान कहिलेकाही २ पिस पाउरोटी र चिया त कहिलेकाही विस्कुट र चिया खाएर निस्कन्छन् । साढे १२ बजेतिर एक समोसा, एक रोटी अथवा कहिलेकाही थोरै चिउरा, दही र चिया लिन्छन् । बेलुका ५०—१०० ग्रामजति भात, तरकारी कहिलेकाही चिकेन पनि खान्छन् । कहिलेकाही दिउँसो साथीहरुसँग खाजाका रुपमा मःम पनि लिन्छन् ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार