×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलडा. कोजु करिष्मा

डा. कोजु करिष्मा


धुलिखेल अस्पतालका संस्थापकमध्येका एक । बरिष्ठ कार्डियोलोजिष्ट । काठमाडौं युनिभर्सिटीका प्रा.डा. । केयुकै स्कुल अफ मेडिकल साइन्सका डिन । प्रा. डा. राजेन्द्र कोजुको परिचयका लागि यतिनै काफी छ । वि.सं. २०२५ साल बैशाखमा धुलिखेल शिखलापुरमा जन्मिएका डा. कोजु ६ दिदीभाइहरुमध्ये कान्छा हुन् । उनकी सबैभन्दा जेठी दिदी सानैमा बितिन्, डा. कोजुले चिन्न समेत पाएनन् । त्यसपछि उनका थप दुई जना दाजु र दुई जना दिदी छन् ।

बुवा हरिप्रसाद कोजु र आमा देवकुमारी कोजु दुवैले सबै सन्तानलाई समान रुपमा हुर्काए । अझ डा. कोजु कान्छा भएकाले आमाबुवाको अलि बढी नै माया पाए । उनका बुवा ५ कक्षा पढेका थिए । बुवा कामको खोजीमा धरानतिर झरे । त्यो बेलामा पहाडका मानिसहरु कामको खोजीमा तराईतिर वा भारततिर जाने चलन थियो । डा. कोजुले आफ्नो बाल्यकालको अधिकांश समय आमा, हजुरआमा र दाइदिदीहरुसँग बिताए । डा. कोज जब ७—८ कक्षामा पढ्थे, उनका बुवा घर फर्किए । बुवा अलि—अलि ठेक्कापट्टाको काम गर्ने गरेको उनी सम्झन्छन् ।

डा. कोजुको प्रारम्भिक शिक्षा आफ्नै टोलमा रहेको पूर्ण सञ्जीवनी माविबाट सुरु भएको हो । त्यहाँ उनले ३ कक्षासम्म पढे । त्यसपछि उनले सञ्जीवनी हाइस्कुलबाट वि.सं. २०३९ सालमा फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरे । डा. कोजुले स्कुलका टप गरेका हुन् । ‘शिक्षामन्त्रीबाट मेडल नै थापें,’ उनले भने । सञ्जीवनी स्कुल ग्रामीण क्षेत्रमा भएपनि काभ्रेमा नाम कहलिएको माविमा पथ्र्यो । उनीभन्दा सिनियर धुलिखेल अस्पताल निर्माणका अगुवा तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ माकजु पनि त्यही स्कुल पढेका हुन् ।

‘हामीले त्यतिबेला ९ वटा विषय पढ्नुपथ्र्यो,’ डा. कोजु आफ्नो स्कुले जीवनका अनुभूतिहरु साटे, ‘९ मध्ये ८ वटा विषय नेपालीमा पढ्थ्यौं । त्यही भएर हाम्रो नेपाली यति राम्रो छ । एउटा विषय चाहिँ अंग्रेजी हुन्थ्यो । अब आजभोलिका केटाकेटीले ८ वटा विषय अंग्रेजीमा पढ्छन् । नेपाली बोल्नै धौ—धौं पर्छ ।’

डा. कोजु बाल्यकालमा सबैभन्दा बढी गुच्चा खेल्न रुचाउँथे । लामो हाँसो हाँसिसकेपछि उनी गुच्चा खेलको किस्सा सुनाउन थाले, ‘प्रायः त्यो बेलाको खेल्ने भनेकै गुच्चा थियो, अहिलेको जस्तो थिएन् । घरबाट निस्किने, साथीहरु जम्मा हुने गुच्चा खेल्ने गथ्र्यौ ।’ त्यसबाहेक एकखुट्टे, लुकीडुमलगायतका खेलहरुमा पनि उनले बाल्यकाल रमायो ।

डा. कोजुलाई आमाले घरायसी काममा भने लगाइनन्, कान्छो छोरा हुनुको फाइदा उनलाई प्राप्त भयो । ‘दिदीहरु दुई जना हुनुहुन्थ्यो, घरायसी काम र बारीका कामहरु दिदीहरु नै बढी क्रियाशील हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘आफ्नै रुचीले कहिलेकाही आमासँग बारीमा जान्थे, खुर्सानी बोक्न, रायोको साग रोप्ने, मकै रोप्नेलगायतका सानातिना घरायसी काम मलाई आउँछ ।’

एसएलसी पास गर्दासम्म पनि डा. कोजुले आफू कहिल्यै स्वास्थ्य क्षेत्रमा आउँला र चिकित्सक बनुला भन्ने सोचेका थिएनन् । त्यतिबेला विद्यालयस्तरमा राम्रो पढेको मान्छे उच्च शिक्षामा कि त इन्जिनियर कि त डाक्टर पढ्ने चलन थियो । ‘बुवा बिरामी पनि हुनुहुन्थ्यो, दुःख गरेर भएपनि बच्चाहरुलाई पढाउनुपर्छ भन्ने उहाँमा थियो,’ उनले आफ्नो जीवनको टर्निङ प्वाइन्टको किस्सा खोल्न सुरु गरे, ‘ठूल्दाइलाई ओभसियर पढ्नुभयो, माइली दिदी आर्टस पढ्नुभयो, माइला दाइले कमर्श पढ्नुभयो, मलाई चाहिँ हेल्थ असिस्टेन्ट पढ् भनेर एकदमै प्रेसर गर्नुभयो ।’

बुवाको सुझावको फेरो समात्दैं डा. कोजु काठमाडौं आए । त्यतिबेला हेल्थ असिस्टेन्टको पढाइ महाराजगन्जमा मात्रै हुन्थ्यो । त्यो वर्ष हेल्थ असिस्टेन्टमा भर्ना नै खुलेन् । उनलाई के गर्ने भन्ने भयो । उनी बायोलोजी लिएर साइन्स पढ्न अमृत साइन्स क्याम्पस गए । त्यहाँ एक वर्ष मात्र के पढेका थिए । उनका बुवा विरामी हुन थाले, उनलाई वीर अस्पतालमा भर्ना गरियो । ‘उहाँलाई रगत चढाइराख्नुपर्ने अवस्था थियो,’ उनले त्यो बेलाको चिकित्सा सम्झिए, ‘त्यतिबेला डाइलसिसको सुविधा पनि थिएन, किड्नी ट्रान्सप्लान्ट त टाढाको कुरा भयो ।’

वीरमा बुवालाई राखेर उपचार गर्दा डा. कोजु निरन्तरजसो भेट्न गैरहन्थे । त्यही बेला पुनः बुवाले उनलाई भन्थे, ‘बाबु तिमी हेल्थ असिस्टेन्ट पढ ।’ कता—कता डा. कोजुका बुवालाई भित्रैबाट कान्छो छोरा कसरी आफ्नै खुट्टामा उभिन्छ भन्ने चिन्ता रहेछ । किनभने, डा. कोजुको पैतृक ब्यवसाय केही पनि थिएन । उनका बुवालाई म भएन भने यसले के गर्छ भन्ने चिन्ता थियो । त्यो चिन्ता स्वभाविक पनि थियो, किनभने आफू नभएपछि श्रीमतीले गर्न सक्ने खासै केही थिएन । त्यसकारण हेल्थ असिस्टेन्ट भए, केही नभएपनि औषधी बेचेर जीवन गुजारा गर्छ भन्ने सोचाइ उनका बुवाको थियो ।

यतिकै उनका बुवाको निधन भयो । त्यतिबेला बुवालाई के रोग लागेको थियो भन्ने कुरा पनि आफूहरुलाई थाहा नभएको डा. कोजु बताउँछन् । ‘अहिले बल्ल थाहा पाए, बुवाको त किड्नी फेल भएको रहेछ,’ उनले भने । बुवा बितेपछि त्यसले डाक्टर कोजुलाई निकै ठूलो आघात पुग्न गयो । तर, उनले साहस जुटाए र बुवाले देखाएको मार्गमा हिड्न तत्पर भए ।

एक वर्ष अमृत साइन्समा पढेपछि डा. कोजुले पुनः हेल्थ असिस्टेन्टका लागि महारागञ्जमा इन्ट्रान्स दिए । त्यो बेला साढे दुई वर्षको हेल्थ असिस्टेन्ट कोर्स हुन्थ्यो । फष्ट डिभिजन ल्याएका र राम्रो पढ्ने विद्यार्थी भएको उनको नाम नस्किने कुरै थिएन् ।

हेल्थ असिस्टेन्टको पढाइदेखि पहिलो जागिरसम्म

तस्वीरः डा. कोजुको फेसबुकबाट

महाराजगन्जमा हेल्थ असिस्टेन्टमा नाम निकालेपछि सुरु हुन्छ—डा. कोजु बन्ने यात्रा । साढे दुई वर्षमा हेल्थ असिस्टेन्टको पढाइसकेपछि डा. कोजुलाई अब केही काम गर्नुपर्छ भन्ने लाग्न थाल्यो, उनी त्यतिबेला १८ वर्षका थिए । उनको करिअरले उनलाई डो¥याउँदैं बाग्लुङ पु¥यायो । २०४४ सालको पुसमा उनी पहिलो जागिर खान ट्वीनअटरमा उडेर बाग्लुङ पुगे । बाग्लुङको बलेवाबाट उनी झण्डै तीन घण्टा कालीगण्डकीको किनारै—किनार हिडेर आफ्नो जागिर गर्ने ठाउँ सदरमुकाम बाग्लुङ पुगे । ‘एकदम राम्रो ठाउँमा जागिर पाएको जस्तो भयो । किनभने, विहान १० बजेदेखि ४ बजेसम्म हामी बच्चाहरु रोग निदान गरेर उपचार गथ्र्यौ’, उनी पहिलो जागिरको अनुभव बाँडन थाले, ‘औषधि निःशुल्क दिन्थ्यौं, ल्याबको पनि सुविधा थियो, एक्सरे थिएन, हामीले धेरै राम्रो गरेका थियौं ।’ के त्यो हेल्थ पोष्टजस्तै थियो ? डा. कोजु थप्छन्, ‘सेद द चिल्ड्रेन (यूके)बाट सञ्चालित मातृ तथा शिशु केन्द्र भनिन्थ्यो ।’

डा. कोजु स्मरण गर्छन्, त्यतिबेला हेल्थ एसिस्टेन्ट बन्नका लागि पढ्ने हेल्थ एजुकेशन पनि राम्रो थियो । ‘हामी एकदम गहन—गहन रोगहरुको पनि निदान गर्न सक्थ्यौं,’ उनी भन्छन्, ‘किड्नी सफा गर्ने, हड्डी भाँचिएको निको पार्ने, पेटका रोगहरु निर्मुल पार्ने । गम्भीर प्रकारको शल्यचिकित्सा भने हामी गर्न सक्दैन्थ्यौं । अरु कुराहरु भने धेरै गथ्र्यौ ।’ त्यहाँ रहँदा दुई वर्षको दौरानमा उनले निकै बिरामी हेरे । तीन हप्ता बिरामी हेरेपछि एक हप्ता गाउँको सरकारी सब—हेल्थ पोष्टमा जानुपथ्र्यो, त्यहाँ पनि सिएमए र अहेबहरुलाई तालिम दिनुपथ्र्यो । रोग कसरी रोकथाम गर्न सकिन्छ, जीवनजल कसरी तयार गर्ने, परिवार नियोजनका साधन के हुन्, खोप के हो, प्राथमिक उपचार के हो ? भनेर सिकाउथेँ ।

दुई वर्ष त्यहाँ बसेर काम गर्दा देश दर्शन भएको डा. कोजु बताउँछन् । ‘वस्तुस्थिती थाहा पाइयो, स्वास्थ्यस्थिती थाहा पाइयो,’ उनी थप्छन्, ‘देशलाई के गर्नुपर्छ भन्ने पनि सायद त्यतिबेलै मनमा पस्यो होलाजस्तो लाग्छ ।’ अहिले फर्केर हेर्दा उनलाई तिनै दुई वर्षको कामले चिकित्सक बनाएको र धुलिखेल अस्पताल स्थापनाका लागि प्रेरित गरेजस्तो लाग्छ ।

एमबीबीएस, लोकसेवा हुँदै डा. माकजुसँग भेट


दुई वर्ष बाग्लुङमा बसेर काम गरेपछि डा. कोजु २०४६ सालमा महाराजगन्जमा एमबीबीएसका लागि प्रवेश परीक्षा दिन आए । त्यो बेला देशभरमा केवल महारागन्जमा मात्रै एमबीबीएस पढाइ हुन्थ्यो । त्यो पनि ३० सिट मात्र । जसमध्ये १५ सिट आइएस्सीबाट आउनेलाई छुट्याइएको थियो भने १५ सिट हेल्थ असिस्टेन्टबाट आउनेका लागि हुन्थ्यो । उनले एमबीबीएसको त्यो बेलाको प्रतिस्पर्धात्मक इन्ट्रान्सको स्मरण गर्दै भने, ‘बाग्लुङमा दुई वर्षको काम गराइ इन्ट्रान्सका लागि काम लाग्यो, ७ नम्बरमा नाम निस्किएको मलाई अहिले पनि याद छ ।’

एमबीबीएसको क्लास सुरु नहुँदै २०४६ सालको जनआन्दोलन सुरु हुँदै थियो । साढे चार वर्ष एमबीबीएस र एक वर्ष इन्टर्नसीप गरेपछि उनी २०५१ मा एमबीबीएस चिकित्सक भए । त्यसपछि उनले सुर्खेत, बाग्लुङ र पोखरा गएर सेवा दिए । ती तीन ठाउँमा गएर अस्पतालको म्यानेजमेण्ट फिल्ड भिजिट गर्नमै उनले झण्डै साढे पाँच वर्ष बिताए । त्यहाँबाट फर्केर पुनः त्रिवि शिक्षण अस्पतालमा काम गर्न थाले ।

उनका अधिकांश साथीहरु विदेश जाने चक्करमा थिए । डा. कोजुलाई पनि साथीहरुले विदेशका लागि तयारी गर्न भनिरहन्थे । तर, उनलाई थाहा छैन्, त्यतिबेला के नमिलेर उनले तयारी गरेनन् । बरु, लगतै उनको लोकसेवामा पनि नाम निस्कियो । ‘सायद ०५१ सालतिर होला, लोकसेवा दिएर हेरौं, न भन्ने भयो, नाम पनि निस्कियो,’ डा.कोजुले भन्छन्, ‘लोकसेवाबाट मेरो रुकुममा पोष्टिङ भयो ।’ तर, मानिसको भाग्यमा जे लेखिएको हुन्छ, त्यही हुँदोरहेछ । डा. कोजुको भेट त्यतिबेला अष्ट्रियाको भियनाबाट फर्केर धुलिखेलमा अस्पताल स्थापना गर्न जुटेका प्रा.डा. रामकण्ठ माकजुसँग भयो ।

त्यतिबेला डा. माकजु निरन्तर रुपमा अस्पताल स्थापनामा तल्लीन थिए । घर आउने जाने क्रममा डा. कोजुको भेट डा. माकजुसँग भैरहन्थ्यो । त्यही बेला डा. कोजुले धुलिखेलमा आँखा शिविर आयोजना गरे, उनले डा. माकजुलाई पनि त्यसमा निम्त्याए । ‘उहाँ भियनाबाट फर्केर यहाँ अस्पताल बनाउन आउनुभएको,’ डा. कोजु डा. माकजुसँगका सुरुवाती दिनहरु स्मरण गर्छन्, ‘म काठमाडौंबाट भर्खर पास गरेको डाक्टर तर हाम्रो साइज फरक भएपनि भित्रको लक्ष्य एउटैजस्तो भयो । आफ्नो गाउँमा स्वास्थ्य सेवा दिनुपर्छ भन्ने ।’ त्यही साझा लक्ष्यले नै स्वप्नदर्शी डा. माकजुसँग डा. कोजुको संयोजन गराइदियो ।

२०५१ सालको एकदिन डा. माकजुले उनलाई प्रस्ताव गरे, ‘मसँग काम गर्ने हो ?’

डा. कोजुले केही नसोचीकनै भनिदिए, ‘हुन्छ काम गर्छु ।’ केमेष्ट्री मिलेपछि सबै कुरा सहज हुँदोरहेछ । डा. कोजुले डा. माकजुको पहिलो प्रस्तावमै त्रिवि शिक्षण अस्पताल र लोकसेवा आयोगको जागिर छाडिदिए । २०५२ सालमै उनी धुलिखेल अस्पताल बनाउने डा. माकजुको काँधमा काँध थाप्न पुगे । त्यही वर्ष उनले विवाह पनि गरे । त्यो भन्दा पनि बढी उनमा धुलिखेल अस्पताल स्थापनामा डा. माकजुसँगै लाग्न प्रेरणा भर्ने काम आमाले गरिन् । ‘धुलिखेलमा आफ्नै घरमा बसेर आमाले पकाएको खान पाए, त्यो भन्दा बढी मलाई के चाहियो र ?,’ डा. कोजुले प्रश्न गरे । अहिले त्यो सम्झँदा पनि उनी भावुक हुन्छन् ।

धुलिखेल अस्पतालसँगको नाता

२०५२ सालमा डा. कोजु डा. माकजुसँग काँध—काँध मिलाउन आइपुग्दा भर्खर धुलिखेल अस्पतालको जग हालिएको थियो । पहिलो दुई तल्लाको पनि काम सकिएको थिएन । त्यतिबेला अस्पतालमा काम गर्ने दुई जनामात्रै थिए । गेट थिएन, बाँसको सामान्य टहरामात्रै थियो, हिलैहिलोले भरिएको ठाउँ थियो । बनमाराको झ्याङै—झ्याङबाट आउनुपथ्र्यो । दुवै जना विहान ६ बजे आउँथे । के किन्ने, के गर्ने, कुन कोठामा के राख्ने, कति बजेदेखि के गर्नेजस्ता योजना बनाउथे । बाँकी रहेको समय काठमाडौंमा बैठकमा बिताउँथे ।

६—७ महिना यसैगरी बित्यो । डा. कोजुले एकदिन डा. माकजुलाई भने, ‘यसरी भएन डा.साब, अस्पताल हो, अब बिरामी पनि हेर्नुपर्छ ।’
डा. माकजुले सोधे, ‘कसरी हेर्ने त ? केही पनि छैन्, कोठा पनि कन्फर्म भैसकेको छैन् ।’

त्यसपछि दुई वटा कोठा सफा गरियो । पहिलो दिन ५—६ जना बिरामी आएको डा. कोजुको दिमागमा ताजै छ । सुरुका दिनहरुमा कन्स्ट्रक्सनमा काम गर्ने रामगोपाल भन्ने दाइले सानो चिटमा नाम लेखेर बिरामी पठाएका थिए । त्यसमा दुई वटा टेबल राखियो, एउटा कोठामा बसेर सिनियर सर्जन डा. माकजु बिरामी चेक गर्न थाले । अर्कोमा डा. कोजु जर्मनबाट ल्याएका औषधि दिन थाले । बेलुका ३ बजेतिर एकजना पिलो भएका विरामी आए । त्यतिबेला पिलो चिर्नका लागि सामान्य ‘अटो क्लेभ’ पनि थिएन । एउटा भाडामा सामान उमाले, ग्लोब लगाए र पिलो चिरे । बिरामी खुशीले गदगद । त्यो खुशी अहिले पनि डा. कोजुको आँखामा नाच्छ र आनन्दित तुल्याउँछ । यस्तै स—साना कामबाट धुलिखेल अस्पतालले सेवा सुरु गरेको हो ।

त्यसपछि दुई जना नर्सिङ स्टाफ ल्याइयो । एकजना हेल्थ असिस्टेन्ट पनि भर्ना गरियो । रेडियोग्राफीमा पनि एक जना ल्याइए । यति स्टाफहरुलाई तलब खुवाउनका लागि डा. माकजुले थोरै पैसा जुटाएका थिए । त्यसमाथि धुलिखेल नगरपालिकाले पनि सहयोग गरेको थियो । स्वास्थ्य सेवा संघले पनि अलिकति जुटाएको थियो । सुरुमा तलब दिदा कसैलाई ५ हजार कसैलाई २ हजार तलब दिइएको थियो । डा. कोजु तलब नै पाँच हजार थियो । ‘सुरुको ६ महिना त पूर्ण स्वयंसेवा नै ग¥यौं,’ उनले भने, ‘पछि काम गर्दै जाँदा दालभात पनि खानुप¥यो भनेर थोरै पैसा लिएका थियौं ।’

२०५३ सालमा राजा वीरेन्द्रले औपचारिक रुपमा धुलिखेल अस्पतालको उद्घाटन गरे । राष्ट्रिय टेलिभिजनले डा. माकजुलाई अस्पतालका निर्देशक र डा. कोजुलाई अस्पतालका सहायक निर्देशक भन्दैं फुक्यो ।

जुन दिन अस्पतालको जग हालेका थिए । त्यही दिनदेखि नै डा. माकजुले अस्पताल समुदायकै नमुना बनाउने प्रयास सुरु गरेका थिए । डा. कोजुको पनि त्यसमा बलियो साथ थियो । समुदायले नै चलाउने अस्पतालका लागि आफै पैसा जुटाउनुपर्ने थियो । विदेशीको सहयोग पनि सधैं भैरहन्छ भन्ने थिएन, त्यसैले अस्पतालले बिरामीबाट पनि थोरै—थोरै पैसा लिन थाल्यो । जस्तो रजिष्ट्रेशनका लागि ५ रुपैयाँ, औषधि किनेर ल्याउँदा १३ प्रतिशत नाफा थियो । त्यसमा ५ प्रतिशत छुट दिएर ८ प्रतिशत नाफा अस्पताललाई राखेर बिरामीलाई बेचिन्थ्यो । दिसा परीक्षण गरेबापत पहिलो पटक ५ रुपैयाँ लिइएको पनि डा. कोजुलाई सम्झना छ । ‘५ रुपैयाँ त ल्याब टेष्ट पर्दैन नि, दिसा घोलेर माइक्रोस्कपमा हेर्दा केवल १ रुपैयाँ खर्च हुन्थ्यो,’ उनी आर्थिक संकलनको स्रोत जुटाउन गरिएका मसिना प्रयत्न केलाउँदैं भन्छन्, ‘त्यसबाट ४ रुपैयाँ आयो । माइक्रोस्कोप र अरु सामाग्री किन्नका लागि विस्तारै—विस्तारै अगाडि बढाइयो ।’

यस्तै, स—साना प्रयासहरुबाट सुरु भएको धुलिखेल अस्पताल २३ वर्षकै अवधिमा देशमै नमुना सामुदायिक अस्पताल बनेको छ । सुरुवातमा दुई जनाले थालेको अस्पतालमा अहिले झण्डै १२ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । त्यसबाहेक अस्पतालका २४ वटा आउटरिच छन्, जसमा कम्तिमा औसत ५ देखि ७ जना स्टाफ छन् । त्यसबाहेक अहिले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनको मुख्य अस्पताल पनि धुलिखेल अस्पताल नै हो । आखिर कसरी सम्भव भयो यो सफलता ? ‘सेवा हाम्रो आवश्यकता हो, सेवाभावलाई सबभन्दा अगाडि राख्यौं । यहाँ आएका बिरामीलाई अन्त्यसम्म सेवा दिइरह्यौं,’ उनी भन्छन्, ‘कुशल नेतृत्व हाम्रो सफलताको प्रमुख कारण हो ।’ सुरुमा धुलिखेल अस्पतालमा हड्डीको फ्याक्चरको उपचार हुँदैन्थ्यो । तर, त्यस्तो बिरामीलाई अर्को अस्पतासम्म पु¥याइदिनेदेखि निको नहुन्जेलसम्म अस्पतालले फोन गरेर अपडेट लिन्थ्यो । ‘त्यसो भएपछि बिरामीलाई ट्रष्ट भयो,’ डा. कोजुले थपे, ‘अप्रेसन भयो भने राति पनि हेर्न आउने, भोलि विहान पनि आउने निरन्तर रुपमा बिरामीको निगरानी गर्ने गथ्र्यौ ।’

धुलिखेल अस्पतालको सफलताका पछाडि अर्को कारण यो अस्पतालका सबैजसो स्टाफ यही अस्पतालमै मात्र काम गर्नु पनि हो । परिणाम नै मान्नुपर्छ, अहिले धुलिखेल नगरपालिकाभर एउटा पनि क्लिनिक छैन् । ब्यवस्थापनको मेहनत, स्थानीयको माया र सद्भाव, सरकार र विदेशीहरुको सहयोग पनि अस्पतालको सफलतासँग गाँसिएका छन् । ‘सबैभन्दा मुख्य कुरा त डा. माकजुको कुशल नेतृत्व नै हो,’ कोज भन्छन्, ‘त्यो बेलादेखि अहिलेसम्म उहाँ एकदिन पनि विहान ढिलो आउनुहुन्न । ८ बज्नुभन्दा १० मिनेट अगाडि ठ्याक्क आइपुग्नुहुन्छ ।’ नेतृत्व नै अनुशासित भएपछि अन्य स्टाफ त्यसै अनुशासित हुने भए । अनुशासनले एउटा रिजल्ट अवश्य निकाल्छ, त्यो रिजल्ट हो—धुलिखेल अस्पताल ।

धुलिखेल अस्पताल स्थापनाका तीन वर्षमा एउटा राम्रो टिम बन्यो । एमबीबीएसले नै पछिसम्म सेवा दिन गाह्रो हुने देखेपछि डा. कोजु सन् १९९९ मा एमडी गर्न बंगलादेश गए । सन् २००३ मा उनी त्यहाँबाट कार्डियोलोजीमा एमडी गरेर फर्किए । त्यसपछि उनले झण्डै तीन वटा फेलोसीप पनि गरे ।

डा. कोजु बंगलादेश जानुपूर्व धुलिखेल अस्पतालमा मेडिकल अफिसर थिए । त्यसपछि फर्केलगतै कार्डियोलोजिष्ट भए । क्याम्पस पनि भएकाले नर्सिङको टिचिङ असिस्टेन्टका रुपमा काम गरे । सन् २००७ देखि २०१७ सम्म उनी धुलिखेल अस्पतालको प्रशासन निर्देशक भए । २०१७ पछि काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको डिन छन् । डा. कोजुलाई अहिले लागिरन्छ, ‘बुवा हुनु भएको भए कति खुशी हुनुहुन्थ्यो होला ?’ डा. कोजु करिष्मा चिटिक्क परेको धुलिखेल अस्पतालदेखि केयुको डिनसम्म फैलिएको छ । यसमा कतै उनको पसिना, कतै उनको सोच त कतै उनको योजनाले काम गरेको छ ।

चिकित्सा, अध्यापनबाहेक डा. कोजुको मुख्य रुची चित्रकला र लेखन पनि हो । यसका साथै उनी गीत गाउन पनि मन पराउँछन् । छोराले गितार बजाउँदा उनी गीत गाउँछन् ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस