×
२०७७ कात्तिक ३, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलनेपालका एक्ला ब्लड ट्रान्सफ्युजन स्पेशलिष्ट डा. विपिन

नेपालका एक्ला ब्लड ट्रान्सफ्युजन स्पेशलिष्ट डा. विपिन


नेपालमा दुई जनामात्रैं ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ छन् । तीमध्ये नेपालमा भएका डा. विपिन नेपाल मात्रै हुन् । सन् २०१५ मा पाकिस्तानबाट डा. नेपालले ट्रान्सफ्युजन मेडिसिन एण्ड टिस्यु टाइपिङमा स्नातकोत्तर गरेका छन् । कोभिड—१९ का गम्भीर संक्रमितहरुलाई पहिलो पटक कन्भासेलेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिदा रगतबाट प्लाज्मा छुट्याउने काम डा. विपिनले नै गरेका हुन् ।

त्यसयता डा. विपिन र उनको टिमले कोभिड—१९ का गम्भीर संक्रमितहरुका लागि झण्डै ४५ वटा कन्भासेलेन्ट प्लाज्मा छुट्याउने काम गरिसकेका छन् । कन्भासेलेन्ट प्लाज्माबाट थेरापी गरिएका केही संक्रमित निको भएर डिस्चार्जसमेत भैसकेका छन् । कोभिड—१९ का गम्भीर बिरामीहरुलाई प्लाज्मा दिने विषयमा डा. विपिनले नै अग्रसरता लिएपछि प्रोटोकल बनेको हो । अहिले मुलुकका धेरै अस्पतालमा प्लाज्मा थेरापीबाट कोभिड—१९ का गम्भीर बिरामीहरुको उपचार भैरहेको छ । त्यसको सुरुवात भने त्रिवि शिक्षण अस्पतालले गरेको हो । त्यसका लागि प्लाज्मा छुट्याउने काम डा. विपिनले गरेका हुन् ।

सरल स्वभाव र सामान्य जीवनशैली भएका डा. विपिन वि.सं. २०३८ सालमा बुवा विजय शर्मा र आमा ज्ञानेश्वरीका सन्तानका रुपमा काठमाडौंको चाबहिलमा जन्मिएका हुन् । उनका हजुरवुवा स्व. वसन्तकुमार शर्मा नेपाल नेपालका चर्चित साहित्यकार हुन् । चाबहिलमै बाल्यकाल बिताएका डा. विपिन हजुरवुवाका कडा अनुशासनमा हुर्किए । त्यसैले बाल्यकालको अधिकांश समय पढाइमै बित्यो ।

‘खाली लेखपढ मात्रै टिभी पनि थिएन,’ उनी बाल्यकालको सम्झना सुनाउँछन्, ‘पढ्नेमा मात्रै ध्यान बढी भयो । हजुरबुवा नै पढ्ने भएपछि हाम्रो पनि ध्यान अरुतिर गएन ।’ उनका हजुरबुवाका मात्रै चार वटा माष्टर्स डिग्री थिए । परिवारका सबै पढेलेखेका । संयुक्त परिवार भएपनि साहित्यकार स्व. शर्माको अनुशासनको डोरीले डा. विपिनको बाल्यकाललाई पनि बाँधेर राख्यो ।

संयुक्त परिवारमा २०—२२ जना सदस्य थिए । ‘बाल्यकाल एकदमै रमाइलो तरिकाले बित्यो, केही गर्नै परेन,’ उनी संयुक्त परिवारमा बितेको आफ्नो बाल्यकाल सम्झन्छन्, ‘बाहिर खेल्न पनि जानुपरेन । दिदीबहिनी दाजुभाइ धेरै भएकाले सजिलो भयो ।’

डा. विपिनको प्रारम्भिक शिक्षादीक्षा शारदा माध्यमिक विद्यालय चाबहिलमै भएको हो । त्यहाँबाट कक्षा ५ सम्मको अध्ययन गरेपछि उनी माउण्ट भ्यू बोर्डिङ स्कुलमा पढ्न थाले । ‘हाजिर जवाफ, हिज्जेजस्ता प्रतिस्पर्धामा म खुबै भाग लिन्थे,’ उनी स्कुले जीवन स्मरण गर्छन्, ‘टेबलटेनिस खेल्न पनि मन पथ्र्यो ।’ माउण्ड भ्यूबाट उनले वि.सं. २०५५ मा एसएलसी फष्ट डिभिजनमा उत्तीर्ण गरेका हुन् ।

सानैदेखि उनको डाक्टर बन्ने सपना थियो । त्यसैले उच्च शिक्षाका लागि उनी ललितपुरस्थित युनाइटेड एकेडेमीमा गए । चिकित्सक बन्ने सपना बुनेर विज्ञान पढ्न थाले । तर, कक्षा १० सम्म उनी जुन लगनका साथ पढ्थे, कलेजको हावा लागेपछि त्यो लगनका साथ भने पढेनन् । ‘रमाइलो गर्दै पढियो,’ उनी कलेज किस्सा खोल्छन्, ‘एकदमै कुच्चिएर बसेको मान्छे एकदमै उठेजस्तो भइयो ।’ युनाइटेडबाट उनले वि.सं. २०५७ सालमा फष्ट डिभिजनमा प्लस टु उत्तीर्ण गरे ।

त्यसपछि एमबीबीएसका लागि एक डेढ वर्ष प्रयास गरे । त्रिवि चिकित्सा अध्ययन संस्थान, धरानलगायतका ठाउँमा नाम निस्केन । भारत सरकारले दिने छात्रवृत्तिमा नाम निस्केपनि पावरवालाहरुले त्यो अवसर फुत्काए । सन् २००३ मा उनी पाकिस्तान सरकारले दिने छात्रवृत्तिमा नाम निकालेपछि एमबीबीएस पढ्न पाकिस्तान गए ।

पाकिस्तानको पुरानो डाओ युनिभर्सिटीमा अफ हेल्थ साइन्समा एमबीबीएस अध्ययन गर्न थाले । किङ एडवर्डपछिको पूरानो युनिभर्सिटी हो—डाओ । साढे ६ वर्ष उनले एमबीबीएसका अध्ययनका क्रममा त्यहाँ बिताए । ‘त्यहाँ पाँच वर्षको एमबीबीएस र एक वर्ष इन्टर्न गर्नुपर्छ,’ उनले सुनाए, ‘सबै गरी झण्डै साढे ६ वर्ष त्यहाँ बिताए ।’ पाकिस्तानको एमबीबीएस डिग्री संसारमा बलियो डिग्री मानिन्छ ।

पाकिस्तानको एमबीबीएस एजुकेशनको के ब्युटी थियो, भन्छन्, ‘म एमबीबीएस पढ्दा ५ सय जना पढ्थे । म फाइनल एयरसम्म पुग्दा लगभग २८५ जना मात्रै थियौं ।’ उनी त्यहाँ पढ्दा सिंगो पाकिस्तान र अन्य विभिन्न देशहरुबाट छानिएर आएका ५० जना विद्यार्थीहरु थिए । त्यसैले त्यहाँ पढाइको माहोल नै विशेष खालको थियो । एमबीबीएसका साढे ६ वर्षमा उनको अधिकांश समय पढाइमा बित्यो, त्यो बाहेक बाँकी खेलकूद र साथीहरुसँगको अन्तक्रियामा बितेको अनुभव उनले सुनाए । ‘समग्रमा पाकिस्तानमा एकदमै रमाइलो भयो । विदेशीहरु धेरै थिए, विदेशीका लागि छुट्टै होस्टेलहरु थियो । विभिन्न देशका विद्यार्थीहरुसँग रमाइलो अन्तक्रिया गर्दै बित्यो,’ उनले भने । सन् २००८ मा एमबीबीएस सकेपछि उनले एक वर्ष इन्टर्न गरे । सन् २००९ मा इन्टर्न पनि सकिएपछि उनी नेपाल फर्किए ।

पाकिस्तानबाट फर्केपछि डा. विपिन एक वर्ष सरकारी सेवाका लागि तयारीमा लागे । ‘छात्रवृत्तिमा पढेको जसरी पनि सरकारी मै गर्ने हो भनेर लागे,’ उनले सुनाए, ‘तर, एक वर्षसम्म सरकारी चिकित्सकका लागि भ्याकेन्सी खुलेन ।’ सन् २०१० मा उनी करार सेवामा मेडिकल अधिकृतका रुपमा सरकारी सेवामा काम गर्न छानिए । उनलाई सुर्खेतस्थित माओवादी क्यान्टोनमेन्टमा चिकित्सकका रुपमा पठाइयो ।

‘क्यान्टोनमेन्टमा मात्रै अप्ठ्यारो हुन्छ’ भनेपछि उनलाई दशरथपुर पिएचसीको जिम्मेवारी पनि दिइयो । ‘त्यहाँ दुई वर्ष काम गरे,’ उनी भन्छन्, ‘लोकसेवा पढ्छु भनेर म राजधानीबाहिर करार सेवामा जागिर खान गएको थिए । तर, दुई वर्षसम्म लोकसेवा खुलेन ।’ लोकसेवामार्फत सरकारी जागिर खाने सपना पूरा नभएपछि उनले एमडी गर्ने सोच बनाए । त्यसका लागि अवसरहरु हेर्दै थिए । पाकिस्तानमा पहिलो पटक पढाइ सुरु हुन लागेको ‘ट्रान्सफ्युजन मेडिसिन एण्ड टिस्यु टाइपिङ’मा आवेदन माग गरेको थियो । स्कोप हेरे, कमाउने विषय रहनेछ भन्ने थाहा पाए । सोचे, ‘मलाई किन कमाउनुछ र । घर काठमाडौंमैं छ, छात्रवृत्तिमै एमबीबीएस पढेको र एमडी पनि छात्रवृत्तिमै पढ्न जान लागेको । खर्च धेरै नभएपछि जति जमाएपनि के भयो छ ?’ छात्रवृत्तिका लागि आवेदन दिए । छात्रवृत्तिमा छनोट भएपछि सन् २०१२ मा उनी एमडी गर्न पाकिस्तान पुगे । सन् २०१५ को नोभेम्बरमा उनले विशेषता हासिल गरे ।

डा. विपिन नयाँ विषयमा एमडी गरेर नेपाल फर्किए । तर, नेपालमा स्कोप नै थिएन । स्वास्थ्यमन्त्री, सचिव, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल सबैतिर तीन वर्ष लगातार धाए । उनले सबैसँग यो नयाँ विषयलाई माथि उठाउनुप¥यो, पढाउनुप¥यो भन्ने प्रस्ताव राखे । ‘सबैले एकदमैं राम्रो कुरा भन्नुभयो,’ डा. विपिन सुनाउँछन्, ‘तर, कसैले पनि उनलाई ठाउँ दिनुभएन ।’ कतिसम्म भने ५० वर्षदेखि देशको ब्लड बैंक हाँकिरहेको रेडक्रसमा अहिलेसम्म ट्रान्सफ्युजन मेडिसिन एक्पर्ट छैन । रेडक्रसमा गएर डा. विपिनले ब्लड बैंक राम्रो बनाउने प्रस्ताव नराखेका होइनन्, तर त्यहाँ पनि सुनुवाई भएन ।

अन्तमा सन् २०१६ को अप्रिलमा डा. विपिनले ग्राण्डी इन्टरनेशनल हस्पिटल ब्लड विभागको प्रमुखका रुपमा जागिर सुरु गरे । अहिले उनले ग्राण्डीको ब्लड विभागलाई निकै व्यवस्थित बनाएका छन् । ‘ब्लडमा हन्र्डेट पर्सेन्ट कम्पोनेन्ट बनाउने हामी मात्रै हो । पहिले सबैलाई होल ब्लड दिइन्थ्यो । हामीले नै प्लाज्मा चाहिनेलाई प्लाज्मा, पेलेट्लेस चाहिनेलाई पलेट्सलेटमात्र दिने कुरा सुरुवात ग¥यौं,’ उनले सुनाए, ‘अहिले रगतबाटै औषधि बनाउने प्रक्रिया पनि उनले अगाडि बढाएका छन् ।’ थुकबाट ब्लड ग्रुप छुट्याउने काम डा. विपिनले गर्छन् । देशभरिको ब्लड ग्रुपिङ, क्रस म्याच र ब्लड बैक सम्बन्धि समस्या भएको केसहरू पनि डा. विपिनले नै ह्याण्डल गर्छन्, फोनमार्फत वा प्रत्यक्ष ।

देशको ठूलोमध्ये एक अस्पतालमा काम गरिरहेका डा. विपिनलाई सरकारी राम्रो संस्थानमा रहेर काम गरेको भए देशलाई नै अलि धेरै योगदान दिन सक्थे कि जस्तो लाग्छ । ‘मलाई बरु आधा तबल देओस् तर मलाई सरकारी संस्थामा काम गर्ने अवसर दिइयोस,’ उनले भने,, ‘मलाई आधा तलब देओस् तर शिक्षणमा राखियोस् ।’ उनले राम्रो सरकारी संस्थामा अवसर दिए आफू आधा तलबमा हाँसी—हाँसी काम गर्ने तयार रहेको पनि उल्लेख गरे ।

डा. विपिन ब्लडको क्षेत्रमा हाम्रो देश २० वर्ष पछि परेको अनुभव सुनाउँछन् । उनको एकमात्रै सपना छ— २० वर्षपछि परेको यो क्षेत्रमा आफूले धेरै योगदान गर्न सकियोस् । ‘यो एकदमै अनटच फिल्ड हो,’ उनी भन्छन्, ‘मानिसलाई ब्लड ग्रुपबाहेक केही थाहैं छन् । ब्लड ग्रुप ५ सय टाइपको हुन्छ । त्यसमध्ये ६० वटा त एकदमै महत्वपूर्ण छन् ।’ अन्य सबै फिल्डमा अगाडि भएपनि ब्लडको क्षेत्रमा नेपाल पछि रहेको उनी बताउँन् ।

सादा जीवन, सरल शैली

डा. विपिनको जीवनशैली सादा छ । विहान साढे ७ बजेतिर ८ बजेसम्म उठिसक्छन् । त्यसपछि फ्रेस हुन्छन्, खाना खान्छन् र ९ बजे ग्राण्डी पुगिसक्छन् । ९ देखि ५ बजेसम्म डा. विपिन अस्पतालमै हुन्छन् । ‘लगभग व्यस्त नै हुन्छु,’ उनी भन्छन्, ‘तर, अझै व्यस्त हुनुपर्ने जति चाहिँ भएको छैन् जस्तो लाग्छ ।’

ग्राण्डीबाट साढे ६ बजे घर पुगिसक्छन् । घरमा छोराछोरी र सामाजिक सन्जालतिर बिताउँछन् । उनी १२ बजेतिर सुत्छन् ।

खानपिन उनी सकेसम्म घरमै पाकेको खान रुचाउँछन् । उनलाई चिया नभई हुँदैन् । ‘म चियाको एकदमै भोगी छु,’ उनले भने, ‘चिया भएन भने टाउको दुख्न थाल्छ ।’ अल्कोहल खादैनन्, पहिले शाकाहारी भएपनि अहिले भने उनी माशांहारी हुन् । पहिरनमा पनि उनी त्यति चुजी छैनन् । जे छ त्यही लगाउँछन् ।

फुर्सदमा यी ब्लड विशेषज्ञ ट्रेकिङ हिडिरहेका हुन्छन् । साथीभाइहरुसँग रमाइलो पनि गरिरहेका हुन्छन् । डा. विपिनको पिएचडी गर्ने मन छ । तर, अहिलेसम्म उनले त्यसका लागि तयारी भने अगाडि बढाउन सकेका छैनन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. विपिन नेपाल, #ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

ट्रेण्डिङ