×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलतीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी

तीन दशकदेखि न्युरो सर्जरीमा डा. गोपालरमण, १८ हजार बढी सर्जरी


डा. गोपालरमण शर्मा अहिलेका चर्चित एवं व्यस्त न्युरो सर्जन हुन् । २८ वर्षदेखि न्युरो सर्जरीमा सक्रिय उनले १८ हजार बढी शल्यक्रिया गरिसकेका छन् । उनको नाममा ठूला शल्यक्रियामात्रै १० हजार बढी छन् । २५ वर्ष वीर अस्पतालमा बिताएका डा. शर्माले त्यहाँ एक रातमा ७ वटा शल्यक्रिया गरेर रेकर्ड बनाएका छन् । दिउँसो ४ बजेबाट बिहान ६ बजेसम्ममा ७ वटा इमर्जेन्सी शल्यक्रिया गरेको उनको रेकर्ड अहिलेसम्म कसैले ब्रेक गर्न सकेको छैन ।

६२ वर्षीय शर्मा दैनिक १२ घण्टा बढी बिरामीको सेवामा खटिन्छन् । कहिलेकाहीँ सर्जरी गर्दागर्दै विहान उज्यालो भैसक्छ । ‘कहिले त रातभरी नै अस्पतालमै हुन्छु,’ डा. शर्मा भन्छन् । लामो समय वीर अस्पतालमा सेवा गरेका उनी तीन वर्षयता नेपाल मेडिसिटी अस्पतालको न्युरो साइन्स विभागका प्रमुख छन् । मेडिसिटीमा २ जना न्युरोलोजिस्ट, ४ जना न्युरो सर्जनसहित उनको टिम छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व प्रोफेसर समेत रहेका डा. शर्मा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका हुन् । चिकित्सासँगसँगै उनको रुचि समाजसेवामा पनि छ । मध्यवर्गीय परिवारदेखि चर्चित न्युरो सर्जनसम्मको उनको यात्रा रोचक छ ।

डा. शर्माको जन्म वि.सं. २०१५ सालमा गाइजात्राको दिन काठमाडौंको घट्टेकुलो डिल्लीबजारमा भएको हो । उनका बुवा स्व. कृष्णरमण उप्रेती र आमा राधिकादेवी उप्रेतीका चार सन्तानमध्ये उनी साइला हुन् । उनको पुर्ख्याैली घर भने काभ्रे भुम्लुटार हो । उनका बुवा मालअड्डामा सरकारी जागिरे थिए । वि.सं. २०२२ सालमा बुवाको मालअड्डाको जागिर सकिएपछि उनको परिवार मकवानपुरमा बसाइँ सरेको हो ।

सानैमा परिवार मकवानपुरमा बसाइँ सरेपछि उनको शिक्षादीक्षा पनि त्यही भएको हो । हेटौडाको भुटनदेवी हाइस्कुलबाट उनको प्रारम्भिक शिक्षा अगाडि बढ्यो । मध्यवर्गीय परिवारमा जन्मेकाले उनको बाल्यकाल संघर्षमय रह्यो । शिक्षा लिनकै लागि ४५ मिनेट बढी पैदल यात्रा गर्नुपर्थ्यो । उनको घर नवलपुर ठानाभर्‍याङबाट हेटौडा स्कुलसम्म पैदल यात्रा गर्नुबाहेक अर्को विकल्प थिएन । ‘त्यतिबेला अहिलेजस्तो सवारी साधनको व्यवस्था पनि थिएनन्,’ उनी सम्झन्छन्, ‘वर्षायाममा राप्तीखोलामा उर्लेर बाढी आउथ्यो । त्यो बेला अभिभावकहरुले नै स्कुलका लागि खोला तारी दिनुपर्थ्यो ।’

त्यसबाहेक खेतवारी र गाईवस्तुको रेखदेखमा पनि सघाउनुपर्थ्यो । ‘शनिबार छुट्टीको दिन गोठालो जानुपर्थ्यो ,’ डा. शर्मा बाल्यकालको स्मृति पल्टाउँछन्, ‘कहिले शनिबार नआओस्, कहिले छुट्टी नहोस्जस्तो हुने ।’ गाईवस्तु चराउँदैं परीक्षाको तयारी गर्नुपरेको स्मरण पनि उनीसँग ताजै छ ।

२०५८ सालमा भुटनदेवी हाइस्कुलका सहपाठीहरूसँग थानकोटमा पिकनिकका क्रममा । तस्वीरः डा. शर्माको फेसबुकबाट

आम बालकजस्तै उनको जीवनमा पनि कक्षा ८ मा अध्ययनरत छँदा एकजना आफन्तले गहन छाप छाडे । पहिलो पटक डा. शर्माले चिकित्सक बन्ने सपना त्यही बेला देखेका हुन् । उनका एकजना अंकल काठमाडौंमा चिकित्सक थिए । उनी बेला—बेलामा डा. शर्माको घरमा भेटघाटका लागि पुगिरहन्थे । ‘उहाँको बोली, उहाँले लगाएको ड्रेस, कुरा गर्ने स्टाइल देखेर निकै लोभिए,’ मनमा डाक्टरी सपनाको बिज उम्रेको प्रसंग कोट्याए, ‘बिरामीलाई यसो गरे, उसो गरे, बचाए भनेर सुनाउनुहुन्थ्यो । त्यो सबैबाट मलाई आकर्षण भयो ।’

त्यो बेला मकवानपुरमा दुई वटा मात्रै हाइस्कुल थिए । एउटा हेटौडाको भुटनदेवी अर्को भीमफेदीमा त्रिभुवन हाइस्कुल । वि.सं. २०१६ सालतिर स्थापना भएको भुटनदेवी हाइस्कुलमा पढाइ पनि एकदमै राम्रो हुन्थ्यो । त्यहीबाट उनले वि.सं. २०३३ सालमा एसएलसी उत्तीर्ण गरे । डा. शर्मा स्कुलका राम्रा विद्यार्थी थिए । एसएलसीपछि उच्च शिक्षाका लागि काठमाडौं आए ।

उनको स्कुलका हेडसर डेन्टीजंग साहले फोन गर्दै सोधे, ‘तिमी के पढ्न लाग्यौं ?’

डा. शर्माले भने, ‘थाहा छैन् सर अहिलेसम्म ।’

साहले सल्लाह दिए, ‘काठमाडौंमा दुई विषयको पढाइ राम्रो छ । महाराजगन्जमा हेल्थ असिस्टेन्ट (एचए) र पुल्चोकमा ओभरसियर । तिमी राम्रो पढ्ने खालका छौ । त्यसैमध्ये एक रोज ।’ त्यो बेला सबै विषयका लागि एउटै इन्ट्रान्स हुन्थ्यो । परीक्षार्थीले आफ्नो प्रायोरिटीको आधारमा विषयहरु छनोट गर्नुपर्थ्यो । डा. शर्माले एक नम्बरमा महाराजगन्जको एचए, दुई नम्बरमा पुल्चोकको ओभरसियर र तीन नम्बरमा अस्कलको साइन्स राखेर इन्ट्रान्सको फर्म भरे । उनले महाराजगन्ज क्याम्पसमा पहिलो नम्बरमा रोजेकै विषय अध्ययन गर्ने अवसर पाए ।

महाराजगन्ज एचए अध्ययनदेखि भोजपुरमा जागिरेसम्म

वि.सं. २०३३ सालमा डा. शर्मा एचए पढ्नका लागि महाराजगन्ज क्याम्पसमा भर्ना भए । देशमा राजनीतिक अस्थिरता थियो । हडताल, बन्दजस्ता कारण ३ वर्षे कोर्स भएपनि उनको एचए सकिन चार वर्ष लाग्यो । वि.सं. २०३७ सालमा उनले एचए उत्तीर्ण गरे । ‘पढ्नका लागि पनि एकदमैं गाह्रो थियो,’ उनी महाराजगन्ज क्याम्पसको अनुभव बाँडछन्, ‘आइएस्सी, वीएस्सी पास गरेका साथीहरु समेत एचए पढ्न महारागन्ज पुगेका थिए । तिनीहरु प्रतिस्पर्धा गर्न गाह्रो थियो ।’

उनी कतिदिन त रातभर नसुतेर पढेका थिए । कतिसम्म भने गौशालाबाट साइकलमा महाराजगन्ज क्याम्पसमा पढ्न जान्थे, साइकल अगाडि किताब राखेर पढ्दैं क्याम्पस पुग्थे । ‘त्यतिखेर रिङरोड खुल्ला थियो, साइकलको अगाडि किताब वा कापी राख्थे,’ उनी भन्छन्, ‘अनि मेमोराइज गर्नका लागि पढ्दैं जान्थेँ ।’ त्यो बेला पढाइ सकिने बितिकै जागिर तम्तयार अवस्थामा हुन्थ्यो । एचए पास गर्ने बितिकै पास हुनेहरुको लिष्ट स्वास्थ्य सेवा विभागमा जान्थ्यो । त्यतिबेला दुर्गमहरुमा हेल्थपोष्टहरु थिएनन् ।

डा. शर्माको पहिलो पोष्टिङ भोजपुरको कोट गाविसमा भयो । विभागले सामान र औजारसहित सँगै पठाएको भरिया लिएर उनी धरान चतरा हुँदैं भोजपुरका लागि हिडे । तीन दिनपछि जिल्ला जनस्वास्थ्य कार्यालय भोजपुरमा उनले आफू आइपुगेको जानकारी दिए । जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित टोली कोट गाविसमा हेल्थपोष्ट खोल्न हिड्यो । सदरमुकामबाट एकदिन हिडेपछि कोट गाविसमा पुगेर हेल्थ पोष्टको उद्घाटन भयो । करिब ६ महिना जति त्यस हेल्थपोष्टमा काम गरेपछि उनलाई त्यसै जिल्लाको अर्को मानेडाँडा भन्ने हेल्थपोष्टमा सरुवा गरियो । बाँकी समय त्यही बिताए ।

अहिले डा. शर्माले एचए भएर आफूले गरेका कामहरु सम्झँदा अचम्म मान्छन् । ‘त्यो बेला हेल्थ असिस्टेन्टको कार्यक्रम एकदमै राम्रो थियो । हामीलाई प्रसुति गृह, वीर अस्पतालदेखि सबैजसो अस्पतालमा लगेर ट्रेनिङ गराइन्थ्यो,’ उनी भन्छन्, ‘म यहाँबाट एचए भएर जाँदाखेरि डेलिभरी गराउने, साल निकाल्ने, फ्याक्चर प्लास्टर गर्ने, दाँत निकाल्ने सबै कुरा सिकाइएको थियो ।’ डा. शर्मा त्यहाँ गएपछि एक्सरे बिनै तानतुन पारेर गरिएका फ्रयाक्चरका शल्यक्रिया सम्झन्छन् । टिभीको लक्षणका आधारमा औषधी चलाएर निको भएको, दाँत निकालेको, घरमै पुगेर तीन चार दिनदेखि ननिस्केका सालहरु निकालेको कुराले अहिले पनि रोमाञ्चक अनुभूति गराउँछ । त्यतिखेर नेपालमा एमबीबीएस, एमडीको पढाइ सुरु भएको थिएन । एचएहरुलाई वरिष्ठ चिकित्सकहरु दिनेशनाथ डंगोल, मोइन शाह, अन्जनीकुमार शर्मा, दिव्यस्वरी मल्ल, ज्वालाराज पाँडे, रामकुमार पोखरेल, गोपाल आचार्य आदि ट्रेनिङ दिन्थे । त्यही कारण आफूहरुले एचए भएपछि राम्रो सेवा दिन सकेको उनी बताउँछन् ।

त्यही बेला नेपालका केही जिल्लामा ब्रिटेन नेपाल मेडिकल ट्रष्ट भन्ने संस्थाले टिबी (ट्युबर क्लोसिस) सम्बन्धी कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रम चलेका जिल्लामा एकजना बेलायती एमबीबीएस चिकित्सक नै बस्थे । डा. शर्मा काम गर्ने ठाउँमा पनि त्यो कार्यक्रम चलेको थियो । त्यहाँ कार्यरत बेलायती चिकित्सक सिमोन सिंक्लेयर ज्वरो आउँदा डा. शर्मालाई नै के एन्टीबायोटिक खाने भनेर सोध्थे । डा. शर्मा भन्थे, ‘युआर एमबीबीएस डक्टर । आइ एम जष्ट हेल्थ असिस्टेन्ट । हाउ क्यान आइ एडभाइस यु ?’

डा. सिमोन उत्तर दिन्थे, ‘नो युआर मोर द्यान ए डक्टर । आई नो वन्ली ट्युबर क्लोसिस । बट यु नो एभ्रिथिङ ।’ उनको कामबाट प्रभावित भएका ती बेलायती चिकित्सकले उनलाई बेलायत लगेर तीन महिना घुमाए । बेलायतमा पनि उनले शर्मालाई चिकित्सककै रुपमा परिचय गराए । तीन वर्ष भोजपुर बसेर फर्कने क्रममा माहोल यति भावनात्मक बन्यो कि डा. शर्माको आँखाबाट आँशु नै खसे । ४—५ सयको संख्या बिदाइ गर्न जम्मा भएका गाउँलेहरु उस्तै भावुक ।

भोजपुरमा काम गर्दा विदाको समय मिलाएर उनले भोजपुरका गाविसहरु भ्रमण गरे । धनकुटा र संखुवासभाका आधा भागजस्तो घुमेर भ्याएका उनी किमाथांका, ओलाङचुङगोलादेखि मकालु वेसक्याम्प पुगे ।

त्यो बेला सरकारी कोटाबाट एमबीबीएस पढ्न एचए भएर तीन वर्ष सरकारी जागिर गरेको हुनुपर्थ्यो । भोजपुरमा जागिर गर्न थालेको तीन वर्ष पुगेपछि वि.सं. २०४५ सालमा डा. शर्माले चिकित्साशास्त्र अध्ययन संस्थानमा एमबीबीएसका लागि इन्ट्रान्स दिए । त्यसअघि एमबीबीएस अध्ययन गर्ने ३० जनाको सिट सबैमा हेल्थ असिस्टेन्ट लिइन्थ्यो । डा. शर्माले इन्ट्रान्स दिंदा १५ सिट एचएबाट आउनेलाई र १५ सिट आइएस्सीबाट आउनेहरुलाई दिइएको थियो । यसले इन्ट्रान्स झनै प्रतिस्पर्धात्मक बनाएको थियो । तर, डा. शर्माले पहिलो प्रयासमै सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने लिष्टमा नाम निकाले ।

सुरुका वर्षहरुमा काठमाडौं बसेर बोर्डिङ पढेकाहरुसँग प्रतिस्पर्धा गर्न उनलाई गाह्रो भयो । ‘हामी सरकारी स्कुलमा पढेर आएकालाई दुई वर्ष गाह्रो भयो,’ उनले एमबीबीएस अनुभव बाँडे, ‘आइएस्सी पढेकाहरु सुरुका दुई वर्षमा अब्बल देखिए किनभने उनीहरु साइन्स पढेर आएका थिए । क्लिनिकलमा भने एचएहरुले टप्यौं ।’ त्यो बेला एमबीबीएसमा झण्डै ५० प्रतिशत विद्यार्थी फेल हुन्थे । उनको ब्याचमा जाँच दिएका ३० जनामध्ये ९ जनामात्रै पास भए । वि.सं. २०५० सालमा एमबीबीएस उत्तीर्ण गर्ने ९ जनामध्ये डा. शर्मा पनि एक थिए । ‘त्यो एमबीबीएस ब्याचमा हामीले राम्रो रिजल्ट दिन नसकेको भए सायद एमबीबीएसमा एचको कोटा नै बन्द हुन्थ्यो होला,’ उनी अडकल काँटछन् ।

कालिकोटको पहिलो डाक्टर

तस्वीरः नवराज वाग्ले/हेल्थआवाज

एमबीबीएस पास गरेपछि जाने ठाउँ कतै नभएपछि मन्त्रालयले डा. शर्मालाई रिजर्भ पुलमा राख्यो । हाजिर गर्ने, बस्ने । तर, उनलाई मन्त्रालयमै त्यतिकै बसिरहन ठीक लागेन । बेतलबीमा वीर अस्पतालमा काम गर्न निवेदन दिए । त्यो बेला वीर अस्पतालको निर्देशक डा. लोकविक्रम थापा थिए । उनले डा. शर्मालाई वीरमा मेडिकल अफिसरका रुपमा काम गर्न अनुमति दिए । ‘मन्त्रालयमा हाजिर गर्थे अनि गएर वीरमा कार्डियोथोर्‍यासिक काम गर्थे,’ उनी सुनाउँछन्, ‘नाइट ड्युटी पनि गर्थेँ ।’

त्यही बेला कालिकोटमा झाडापखालाको प्रकोप देखियो । डा. शर्मालाई त्यहाँ खटाइयो । त्यो बेला इपिडिमियोलोजीको प्रमुख डा. महेन्द्र विष्ट थिए । डा. विष्ट र डा. शर्मासहितको टोली सामान लिएर हेलिकप्टरमा कालिकोट उड्यो । कालिकोटमा पुगेपछि त्यहाँका सांसदहरुले ढिलो आएको भन्दैं डा. शर्मालाई सुरुमै हकारे । डा. विष्टले उनीहरुलाई थम्थम्याए ।

कालिकोट हेल्थ सेन्टरमा त्यसअघि एकजना अहेब र एकजना सिअहेब मात्र थिए । भौतिक संरचना पनि केही थिएन । पोष्टिङ भएर गएका डा. शर्मा कालिकोटकै पहिलो डाक्टर रहेछन् । लगतै, जिल्लामा सर्वपक्षीय बैठक बस्यो । बैठकले डा. शर्मालाई जिल्लामा बसेर आएका बिरामी हेर्ने र अन्य दुई टोली गाउँ गएर उपचार गर्ने तय गर्‍यो । ‘एक दुई दिनपछि त मान्छेको एकदमै ठूलो भिड लाग्यो,’ उनले कालिकोटको पहिलो डाक्टर बन्दाको स्मरण सुनाए, ‘डाक्टर हेर्न आएको भिड नियन्त्रण गर्न पुलिस नै राख्नुपर्‍यो ।’

कालिकोट हेल्थ सेन्टरमा पहिलो पटक पोष्टमार्टमको सुरुवात पनि डा. शर्माले नै गरेका थिए । त्यसअघि पोष्टमार्टम गर्नका लागि लाश सुर्खेत लग्ने गरिन्थ्यो । ‘हेल्थ सेन्टरमा जम्मा चार वटा कोठा थिए, पोष्टमार्टमका लागि ठाउँ र औजारहरु थिएनन्,’ उनी कालिकोटको पहिलो पोष्टमार्टम गर्दाको घटना भन्छन्, ‘लाश सुर्खेत लान तीन दिन लाग्थ्यो । मसँग सीप र ज्ञान थियो । तर, अस्पतालमा पूर्वाधार थिए ।’

समय र परिस्थतीअनुसार आफूले सकेको सेवा दिनुपर्छ भन्ने मान्यता राख्ने डा. शर्मा साना तिना बाधा अड्चनको प्रवाह गर्दैनन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं । उनले सिडियो र डिएसपीसँग कुरा गरेर भेटेनरी अस्पतालमा सम्पर्क गरे । त्यहाँबाट सर्जिकल इन्स्ट्रुमेन्टहरु ल्याइयो । त्यसपछि अस्पताल पछाडिको चौरमा आर्मी क्याम्पबाट टेन्ट मागेर चौरलाई घेरेर पोष्टमार्टम गरियो । पासो लगाएर मरेकी महिलाको कालिकोटमै भएको पहिलो पोष्टमार्टमको रिपोर्ट ४ घण्टामा तयार पारेको उनी बताउँछन् । सबैजनामा खुशी छायो, डा. शर्मा पनि गौरवान्वित भए । उनी झण्डै तीन महिना कालिकोट बसे ।

न्युरो सर्जरीमा लगावः पाकिस्तानमा अध्ययन

साथीहरूसँग डा. शर्मा

सन् १९९१ मा डा. शर्माको सरुवा वीर अस्पतालमा भयो । उनको सर्जरीमा रुचि थियो । त्यतिखेर वीरको निर्देशक डा. मनोहरलाल श्रेष्ठ थिए । सर्जरीमा खाली नभएपछि उनले भने, ‘अहिले न्युरो सर्जरीमा खाली छ, त्यहाँ गएर एक दुई महिना बसेपछि म यहाँ सर्जरीमा सार्छु ।’

त्यतिखेर वीरको न्युरो सर्जरी विभागमा काम गर्न कोही मान्दैन्थे । त्यसको कारण थियो—रातभर दिनभर काम गर्नुपर्ने, गाली पनि खाइने । न्युरो सर्जरी विभागमा डा. दिनेशनाथ गंगोल, डा. उपेन्द्र देवकोटा र जर्मन चिकित्सक माइक फ्रयांक तीन जना न्युरो सर्जन थिए । उनी दुई तीन महिनामा सर्जरी विभागमा फर्किने शर्तसहित न्युरोमा गए ।

शर्तसहित न्युरो सर्जरीमा पुगेका डा. शर्मालाई जीवन नै बन्ला भन्ने ख्याल पनि थिएन । जर्मन डा. माइकले उनलाई जानेबितिकै एकदमै धेरै माया गरे । बर होल गर्ने, टाउकोमा प्वाँल पार्ने, रगत जमेको कसरी निकाल्नेलगायतका कुराहरु सिकाउँदैं गए । डा. दिनेशनाथ विभागीय प्रमुख थिए, डा. उपेन्द्र देवकोटा त्यतिबेला हङकङ गएका थिए । न्युरो सर्जरीमा काम गर्दागर्दै डा. शर्मालाई मोहनी लाग्दैं गयो । डा. माइकले देवेकाटा फर्केपछि पढ्न पठाउने आश्वासन पनि दिए ।

एक वर्षपछि डा. देवकोटा फर्किए । नेपाल फर्केपछि उनले डा. शर्मालाई नजिकबाट हेरे । ‘उहाँले पनि मलाई मन पराउनुभयो,’ डा. शर्मा भन्छन्, ‘त्यसपछि मैले एनोरिजम क्लिपिङदेखि ट्युमर निकाल्नेसम्म सबै कामहरु उहाँले सिकाउनु हुन्थ्यो । म गर्दै जान्थे ।’ उनी यसलाई डा. देवकोटाकै देन मान्छन् । डा. देवकोटाले उनलाई आफ्नो सीप सबै इमान्दारितापूर्वक हस्तान्तरण गरेका थिए, जुन उनले आफ्नो जीवनमा अरु कसैलाई नगरेको डा. शर्मा बताउँछन् ।

तीन वर्षपछि उनले एमएस इन न्युरो सर्जरी पढ्नका लागि जर्मन, पाकिस्तान र भारतका कलेजहरुमा अप्लाइ गरे । सबैभन्दा पहिले पाकिस्तानको जिन्ना पोष्ट ग्राजुयट मेडिकल सेन्टरमा अवसर पाए । स्वास्थ्य मन्त्रालयसँग कुराकानी अगाडि बढ्यो, त्यतिबेला स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसी थिए । तीन हजार डलर शुल्क र त्यसबाहेक डा. शर्मालाई खानबस्नका लागि महिनाको थप ३ सय डलर उपलब्ध गराइदिने केसीले बचन दिए ।

सन् १९९६ मा डा. शर्मा एमएस इन न्युरो सर्जरी पढ्नका लागि पाकिस्तान उडे । जिन्ना पोष्ट ग्राजुयट मेडिकल सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा. रसिद जुमा डा. देवकोटाका साथी थिए । उनी पाकिस्तानका दोस्रो न्युरो सर्जन थिए, बेलायतबाट एफआरसीएस गरेका । जानेबितिकै रेजिडेन्ट र अन्य डाक्टरहरुले उनलाई गेटमै तर्साउन थाले । किनभने, त्यो बेला कराँचीमा धेरै चिकित्सकहरु थेसिस पास नभएर वर्षौसम्म त्यही हल्लिरहेका थिए । सबैको कुरा सुनेपछि डा. शर्मा खग्रङ परे । सबै कुरा एडजष्ट गर्न उनलाई ६ महिना लाग्यो ।

प्रोफेसरले पनि उनलाई नजिकबाट वाच गरिरहेका थिए, काम पनि लगाइरहेका हुन्थे । राम्रो काम गर्दै गएपछि ६ महिनापछि बल्ल प्रोफेसरले डा. शर्मालाई विश्वास गर्न थाले । डा. उपेन्द्र देवकोटा र वीरमा हासिल गरेको अनुभवले पाकिस्तानमा स्थापित हुन सहज भएको उनी बताउँछन् । ‘रेजिडेन्टहरुले इमर्जेन्सीमा एक्ट्राड्युरल हेमाटोमा निकाल्नुर्‍यो भने ४—५ घण्टासम्म लगाउँथे,’ डा. शर्मा पाकिस्तान बसाइँ सम्झन्छन्, ‘म ४५ मिनेटदेखि १ घण्टासम्म सक्थे ।’ छरितो र स्कीलफूल क्षमताले डा. शर्मालाई त्यहाँ न्युरो सर्जन रेजिडेन्ट, एनेस्थोसिष्ट र नर्सहरुमाझ प्रिय बनायो । उनीहरु भन्न थाले, ‘डा. शर्मा सिकने नही आया सिकाने आया है ।’

पाकिस्तानमा सबै कुरा उनले टाइममा सक्दैं गए । पाँच वर्षको कोर्स डा. शर्माले तीन वर्षमै सके । किनभने, उनले वीर अस्पतालमा तीन वर्ष काम गरेर हासिल गरेको अनुभवलाई युनिभर्सिटीले दुई वर्ष मान्यता दियो । सन् २००० मा उनले एमएस इन न्युरो सर्जरी सके । प्रोफेसर आफूसँग राखेर काम नगर्दासम्म फर्किन नदिने अड्डी कसे ।

६ महिना त्यहाँ बसेर काम गरेपछि सन् २००१ मा उनी नेपाल फर्किए । पाकिस्तान बसाइँमा उनले पाएको सबैभन्दा महत्वपूर्ण चिज के हो ? ‘पहिलो कुरा पाकिस्तानमा मैले राम्रो प्रोफेसर पाएँ । त्यस्तो एफआरसीएस गरेको प्रोफेसर हत्तपत्त पाइदैन्,’ उनी भन्छन्, ‘पाकिस्तान मेरा लागि दोस्रो कर्मभूमीजस्तो भयो । मैले यहाँ जति सिके, त्यहाँ गएर राम्रोसँग कार्यान्वयन गर्न सके । त्यसकारण म राम्रो न्युरो सर्जन बन्न सकेँ ।’ डा. शर्माले अमेरिकामा आईएफएएएनएस र एफआईसीएस फेलोसिप गरेका छन् । यस्तै, उनले फिनल्याण्डबाट न्युरो भास्कुलर ट्रेनिङ, जापानबाट न्युरो भास्कुलर फेलोसीप लिएका छन् ।

तस्वीरः नवराज वाग्ले/हेल्थआवाज

वीर अस्पतालमा न्युरो सर्जन, डा. देवकोटासँग दरार

नेपालमा फर्केपछि डा. देवकोटासँग वीरमा काम सुरु गरे । वीर अस्पतालमा हुँदा डा. देवकोटाले उनलाई एकदमै विश्वास गर्थे । ‘गोपाल यो केस सुरु गर्दै गर, म पछि ज्वाइन गर्छु भन्नुहुन्थ्यो,’ डा. शर्मा भन्छन्, ‘तर, उहाँ आउँदा मैले काम सकिसकेको हुन्थे ।’ डा. देवकोटाले उनलाई बाँसबारीमै लगेर एउटै सेन्टरमा काम गर्ने कुरा गरेका थिए । डा. शर्माले पनि सहमत थिए ।

तर, डा. देवकोटा विस्तारै टाढिदैं गए । बाँसबारी जाने बेलामा शर्मालाई सँगै काम गर्नका लागि प्रस्ताव राखे । डा. शर्माले भने, ‘सर म जान्छु । तर, मलाई त्यहाँ बेग्लै आइडेन्टिटी दिनुपर्छ । मेरो छुट्टै युनिट हुनुपर्छ । नसकेको कुरा हजुर मेरो गुरु हो, हजुरलाई सहयोग माग्छु । पहिले पनि सरसँग त्यत्रो समय काम गरें । पाकिस्तानबाट फर्किएपछि पनि ७ वर्ष भैसक्यो । त्यसैले मैले भनेको कुरा हुन्छ भने जान्छु नत्र जान्नँ ।’

डा. देवकोटाले सायद उनको यो कुरा रुचाएनन् । त्यसपछि डा. देवकोटा डा. शर्मासँग बोल्नै छाडे । सम्बन्धमा दरार नै आयो । जन्मदिने मातापिता र पढाउने/सिकाउने गुरुलाई सधैं आदर र सम्मान गर्ने डा. शर्माको स्वभाव छ । ‘डा. देवकोटाप्रतिको आदरभाव जस्तोसुकै परिस्थितीमा पनि मेरो मनमा कम भएन् । कहिले पनि उहाँप्रति नराम्रो भावना र वचन आएन्,’ उनी भन्छन्, ‘उहाँ बाचुन्जेल सदैव सम्मान र आदर गरे ।’ उनी बुवाआमा र गुरुको सम्मान नगर्ने व्यक्ति कहिल्यै सफल नहुने बताउँछन् ।

वि.सं. २०७२ सालको महाभूकम्प गएकै बेलुका र राति डा. शर्माले ब्रेनका चार वटा शल्यक्रिया गरे । ‘हस्पिटलको भवन बेला—बेलामा हल्लिरहेको हुन्थ्यो, स्थिती भयावह थियो,’ उनी भूकम्पमा फ्रन्टलाइनमा रहँदा अनुभव सुनाउँछन्, ‘तर, हामीहरु टाउको चोट लागेका बिरामीहरुको उपचारमा व्यस्त थियौं ।’ वीर अस्पतालमा काम गर्दा उनी अस्पतालाई मन्दिर, आफूलाई त्यसको पुजारी र त्यहाँ आउने बिरामीहरुलाई देउता सम्झन्थे । जीवनमा पैसालाई कहिल्यै महत्व नदिएको बताउने उनी राम्रो काम र सेवा गरेमा पैसा आफै प्राप्त हुनेमा विश्वास राख्छन् । वीरमा उनको ८० प्रतिशत समय बित्थ्यो, त्यसबाहेक १० प्रतिशत समय प्राइभेट प्याक्टिस र १० प्रतिशत समय घरपरिवासँग । डा. शर्मा भन्छन्, ‘प्राइभेट प्रयाक्टिस गर्नुपर्ने बाध्यता थियो । किनभने, सरकारी तलबले घर चलाउन र छोरीहरु पढाउन नै पुग्दैन्थ्यो ।’

वीर अस्पतालमा रहँदा डा. शर्मा बिरामीको उपचारमा मात्र सक्रिय रहेनन् । वीरका बरिष्ठ न्युरो सर्जनहरु डा. पवनकुमार सुल्तानिया र डा. प्रकाश विष्टसँग सहकार्य गरेर वीरको न्युरो सर्जरी विभागलाई उच्चस्तरको सेवा दिने विभागमा बनाउन भूमिका खेले । यसका साथै विभागले थुप्रै दक्ष न्युरो सर्जनहरु उत्पादन गरेको उनी बताउँछन् । विभागले उत्पादन गरेका न्युरो सर्जनहरु डा. याम रोक्का, डा. राजीव झा, डा. बालगोपाल कर्माचार्य विभिन्न ठाउँमा बसेर सेवा पुर्‍याइरहेका छन् ।

डा. शर्मा वीर अस्पताल र न्याम्समा न्युरो सर्जरीमा सक्रिय रहँदा कहिलेकाही बिहान ९ बजे अस्पताल जान्थें, फर्कदा बिहान ब्रेकफास्ट खाने समय भइसकेको हुन्थ्यो । डा. शर्माले २५ वर्ष वीर अस्पतालमा बिताए । उनी आफ्नो सरकारी जीवनमा धेरै समय आठौं तहमै रहे । लामो समयपछि सन् २०१५ मा उनले नवौं तहमा बढुवा पाए । त्यसको दुई वर्षपछि दशौं तहमा बढुवा भए । न्याम्समा भने उनको एकेडेमिक करिअर अगाडि बढिरह्यो । उनी एसिस्टेन्ट प्रोफेसर, एशोसियट प्रोफेसर हुँदैं प्रोफेसरसम्म भए । एक डेढ वर्षजति १० औं तहमा जागिर गरेपछि नेपाल मेडिसिटी अस्पतालबाट डा. शर्मालाई आकर्षक प्रस्ताव आयो । त्यसपछि उनले रिटायर्ड हुन केही समय बाँकी छदैं सन् २०१७ मा सरकारी जागिरबाट राजीनामा दिए । अहिले उनी मेडिसिटी अस्पतालमा पूर्णकालीन चिकित्सकका रुपमा कार्यरत छन् ।

यसका अलावा चाबहिलस्थित दिर्घायु गुरुमा पनि उनको लगानी छ । त्यहाँ १ सय ८० जना कर्मचारी छन् । अवस्था कस्तो छ भने डा. शर्मा त्यहाँ गए भने अस्पताल चल्छ कर्मचारी पालिन्छन्, उनी गएनन् भने अस्पताल कोल्याप्स हुने स्थिती छ । ‘त्यहाँ मैले आफ्ना साथीभाई, आफन्त, निमुखा, दुःखी, असहायहरुलाई सहयोग गर्न सक्छु,’ उनी भन्छन्, ‘त्यसैले यहाँबाट ५ बजे निस्किएपछि दिर्घायु जान्छु र त्यहाँबाट घर जाँदा ११, १२ बज्छ । जति दुःख गरेर पनि काम निरन्तर गरिरहेको छु ।’

जीवनको हरसमय बिरामीको उपचारमा खर्चेका डा. शर्मालाई सबैभन्दा खुसी के कुराले दिन्छ ? भन्छन्, ‘वीर अस्पतालबाट जब बिरामी निको बनाएर पठाउने समय हुन्थ्यो । बिरामी र उहाँहरुका आफन्तले दिएको सम्मान र आर्शिवाद गर्व र सुखानुभूति दिन्थ्यो ।’ डा. शर्मा प्राइभेट हस्पिटलमा काम गर्दा आफ्नो सीप र ज्ञान पैसासँग साटेको अनुभव हुने बताउँछन् । ‘तर, मबजुर थिए,’ उनी भन्छन् ।

डा. शर्माको सपना के छ त ? उनको अबको उद्देश्य अरु धेरै दक्ष न्युरो सर्जनहरुको उत्पादनमा सहयोग गर्ने हो । ‘आफूले हासिल गरेको स्कील, ज्ञान नयाँ युवा पिढीका न्युरो सर्जनमा हस्तान्तरण गर्ने उद्देश्य छ,’ उनी भन्छन्, ‘नेपालको जिल्लास्तरमा न्युरो सर्जरी सेवा उपलब्ध गराउने र न्युरो सर्जरी विधामा सबस्पेसियालिटी डिभिजन सुरु गराउने प्रयास गर्नेछु ।’

पारिवारिक जीवन

डा. शर्माले वि.सं. २०५२ सालमा गीता शर्मासँग विवाह गरेका हुन् । उनका दुई छोरी ऐश्वर्या र अपूर्वा छन् । दुवै जना अमेरिकामै बसेर अध्ययन गरिरहेका छन् । उनको परिवारका सबै सदस्यले नै ग्रीन कार्ड पाएका हुन् । तर, डा. शर्माले रिजेक्ट गरिदिए । छोरीहरुलाई अमेरिकामा सेटल गर्नुपर्ने भएपछि श्रीमती भने एक वर्ष अमेरिका बसेर फर्किइन् ।

सहरका व्यस्त न्युरो सर्जनको दैनिकी बिहान ६ बजेबाट सुरु हुन्छ । आधा घन्टा गीत सुन्दै एक्ससाइज गर्छन् । नुहाउँछन् । ब्रेकफास्ट लिन्छन् । ब्रेकफास्ट सन्तुलित छ । जसमा ब्रेड, फलफूल, अण्डा र चिया हुन्छ । ९ बजे उनी घरबाट अफिसका लागि निस्कन्छन् ।

११ बजेतिर केही फ्रुट लिन्छन् । त्यसपछि ३ बजेतिर श्रीमतीले घरबाटै बनाएर पठाइदिएको खाना खान्छन् । जसमा रोटी, तरकारी, सलाद र दही हुन्छ । डा. शर्माको खानामा दही कहिल्यै छुट्दैन् । ‘सन् २००५ यता नै मैले घरबाटै खाना ल्याउन थालेको हो,’ उनी भन्छन्, ‘त्यसयता म बिरामी नै भएको छैन ।’ त्यसबाहेक साथीहरुसँग कहिलेकाही चिया लिन्छन् ।

बेलुका रोटी, तरकारी, दाल र कहिलेकाहीँ फलफूल खान्छन् । बेलुकाको खाना खाइसकेपछि अध्ययन र लेखनलाई समय दिन्छन् । यो कोरोनाको अवधिमा उनले आधा दर्जन आर्टिकल लेखेर पब्लिकेसनमा दिएका छन् । कहिलेकाही सिनेमा हेर्छन् । उनी बेडमा जाँदा रातिको १२ बजिसक्छ ।

फुर्सदको समयमा उनी आफै गितार लिएर गीतहरु गुन्गुनाइरहेका हुन्छन् । ‘मलाई म्युजिकमा सौख छ,’ डा. शर्मा भन्छन् । उनी नेपाली, हिन्दी, अंग्रेजी गीत सुनिरहेका हुन्छन् । उनलाई सेन्टिमेन्टल गीत मन पर्छन् । त्यसबाहेक फूर्सदको समयमा किताब पढ्छन् । अटो बायोग्राफी, एड्भेन्चर, साइन्स फिक्सन उनलाई मन पर्छन् । कहिलेकाही सिनेमा हेर्नका लागि परिवारसँग हलसम्म पनि पुगिरहेका हुन्छन् ।

फुर्सदमा गितार बजाउँदैं डा. शर्मा

डा. शर्मा भ्रमण गर्न र हिड्न असाध्यै रुचाउँछन् । उनले अहिलेसम्म ४८ वटा देश घुमिसकेका छन् । ती देशहरुमा उनी २—४ घन्टा हिडेकै हुन्छन् । कहिलेकाही उनी ट्रेकिङ पनि निस्किरहेका हुन्छन् । हप्तामा एकदिन उनी रिङरोडमा ड्राइभिङमा निस्कन्छन् । ‘ड्राइभिङ गर्न बिर्सन्छु कि भनेर हप्तामा एक दिन रिङरोड घुम्ने गर्छु,’ उनी भन्छन् ।

अलि लामो बिदा हुँदा नगरकोट, धुलिखेल, पोखरा, चितवनतिरका रिसोर्टमा परिवारसहित गएर बस्छन् । डा. शर्मा पहिरनका पनि सौखिन छन् । उनलाई ब्रिटिस पहिरन शैली खुबै मन पर्छ । टाइ सुट उनको प्रिय पहिरन हो । डा. शर्मा आफ्नो सफल जीवनको श्रेय श्रीमती गीतालाई दिन्छन् । हुन पनि हो रात विरात अस्पतालबाट घर पुग्दा ढोका खोलिदिने उनी नै हुन्छिन् । छोराछोरीको हुर्काइ पढाइ, घरायसी व्यवस्थापन, डा. शर्माको खानपिनको बन्दोवस्त सबैं केही गुनासो नगरी गीताले नै निरन्तर गर्दै आएकी छन् । ‘१५ वर्षजति भयो मैले घरका लागि एउटा सियो पनि किनेर ल्याउनु परेको छैन्,’ डा. शर्मा भन्छन्, ‘यो मेरो अहोभाग्य हो ।’

डा. शर्माको दानधर्ममा पनि विश्वास छ । त्यसैले बेला—बेलामा सकेजति लायन्स क्लब, रोटरी क्लबलगायत अन्य सामाजिक संस्थाहरुलाई डोनेसन दिइरहेका हुन्छन् । भगवानप्रति आस्था भएको बताउने यी चिकित्सक कर्ममा विश्वास गर्छन् । सयौं मृत्युलाई नजिबाट देखेका र हजारौंलाई मृत्युको मुखबाट नयाँ जीवन दिएका यी चिकित्सकको मृत्युबारे धारणा के छ त ? जन्म र मृत्यु दुवै अपरिहार्य रहेको बताउदैं उनी यी दुवैलाई यथार्थ बिन्दु भएको ठान्छन् । डा. शर्मा जन्म र मृत्युबीचको जीवनको समयलाई सतकर्म गरेर सार्थक बनाउनुपर्नेमा जोड दिन्छन् । ‘मृत्युदेखि मलाई रत्तिभर डर लाग्दैंन्,’ उनी मृत्युबारेको धारणा सुनाउँछन्, ‘जीवनको यो अवधिमा ४—५ पटक मृत्यु मेरो निकटबाट ग्रुजेको छ । त्यसैले होला महाभूकम्प जाँदा पनि म आफ्नो कर्मभूमीमा सेवा दिइरहेको थिए । अहिले कोरोनामा महामारी पनि कर्मभूमीमै सेवारत छु ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #Dr.Gopal Raman Sharma, #NeuroSurgeon, #Neurosurgery, #डा. गोपालरमण शर्मा, #न्युरो सर्जरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार