×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलमोफसलमा रमाएका डा. रविन

मोफसलमा रमाएका डा. रविन


स्वास्थ्य सुचकांकमा सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालयको कमाण्ड सम्हाल्ने सौभाग्य डा. रविन खड्काले पाएका छन् । संयोग नै मान्नुपर्छ डा. खड्का कर्णालीका कुनाकुना पुगेर उपचार गर्ने चिकित्सकमा पर्छन् । त्यसैले कर्णालीको स्वास्थ्य अवस्थाबारे उनी नजिकबाट परिचित छन् ।

कर्णालीकै सबैभन्दा सुगम मानिने सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालदेखि सबैभन्दा दुर्गम हुम्लाको स्वास्थ्य प्रमुखसम्मको अनुभव उनीसँग छ । अब उनको जिम्मेवारीमा त्यो अनुभवलाई कर्णालीको स्वास्थ्य सुधारमा लागू गर्ने अवसर छ ।
वि.सं. २०६३ सालमा चिकित्सा पेसामा आवद्ध भएका हुन्—डा. खड्का । त्यसयता उनकोे अधिकांश समय दुर्गममा बितेको छ । सुगममा काम गर्ने अवसर नआएको होइन्, दुर्गममा काम गर्ने उनको रहर हो ।

दुईसाता अघिमात्र कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा नियुक्त भएका उनलाई ६ महिनाअघि नै वीर अस्पतालको डेपुटी निर्देशक बनाइएको थियो । तर, त्यसलाई उनले अस्वीकार गरिदिए । दुर्गमको मोहले नछोडेका कारण पुनः कर्णाली नै रोज्न पुगे । ‘मलाई कर्णाली जाने कि काठमाडौं बस्ने भन्ने दुई वटा अवसर थियो,’ हालैमात्र सरकारी चिकित्सक संघको अध्यक्षमा निर्वाचित भएका डा. खड्का भन्छन्, ‘मेरो दुर्गमप्रतिको मोहले जित्यो । वीर अस्पतालको डेपुटी निर्देशक पदलाई छोडेर कर्णाली जाने निर्णय लिएँ ।’

आखिर डा. खड्कालाई दुर्गमप्रतिको मोह यति धेरै किन ? भन्छन्, ‘स्वास्थ्य सेवा नपाएर छटपटाएका दुर्गमका जनताको सेवा गर्न पाउँदा आनन्द लाग्छ ।’ उनको जन्म पनि दुर्गममै भएको हो । त्यसैले दुर्गमका कथा व्यथा सुख दुःख उनले नजिकबाट भोगेका छन् । त्यही भोगाइले उनलाई दुर्गमका जनताका सेवामा खटिने प्रेरणा दिन्छ ।

अर्को कुरा डा. खड्काले दुर्गममा सेवा गर्नु र उनमा डाक्टर बन्ने चाहना सँगसँगै आउँछन् । उनी तीन हुँदा देब्रे खुट्टामा समस्या आयो । त्यतिबेला गाउँमा स्वास्थ्य चौकी त थियो तर तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव थियो। उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगियो । त्यहाँका स्वास्थ्यकर्मीले उनको मासुमा लगाउनुपर्ने सुई नसामा लगाइदिए । झन् समस्या बढेपछि उपचारका लागि काठमाडौं ल्याइयो तर उनको थप उपचार हुन सकेन । जुन समस्याबाट उनी अहिले पनि पीडित छन् ।

यहि पीडाबाट नै डाक्टर बन्ने चाहना र दुर्गमका जनताको सेवा गर्ने भाव पलाएको उनी बताउँछन् । यसपछिका विभिन्न घटनाक्रमले पनि उनलाई चिकित्सक बन्न घचघच्याउँछन् । त्यसैमध्येको एक हो सामान्य उपचार नपाएर साथीको आमाको मृत्यु हुनु । उनी एकदिन साथीको घरमा गएका थिए । त्यहाँ पुग्दा साथीको आमालाई उच्च रक्तस्राव भएर ढलेको देखे । उनी गएको केही समयमा साथीको आमाको मृत्यु भयो । सामान्य उपचार नपाएर साथीको आमाको ज्यान गएको घटनाले उनको मन पोल्यो । अनि जसरी पनि डाक्टर बन्ने निधो गरे ।

पढाइमा सधैं अब्बल

सानैदेखि डाक्टर बन्ने लक्ष्य बनाएका डा. खड्का पढाइमा अब्बल थिए । उनले गाउँकै त्रिभुवन माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन् । दैलेखमा जन्मिएका खड्काका लागि त्यतिबेला प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुनु चानचुने कुरा थिएन । गाउँमा एसएलसी दिएपछि उनी थप अध्ययनका लागि काठमाडौं आए ।

तर, कुन विषय पढ्ने भन्नेमा उनी दुविधामा थिए । त्यतिबेला उनका मामा काठमाडौंमै बस्थे । मामाले उनलाई अध्ययन अघि बढाउन निकै सहयोग गरे । उनी आइएसी अध्ययनका लागि अस्कल क्याम्पसमा भर्ना भए । आइएस्सीमा पनि प्रथम श्रेणीमै उत्तीर्ण भए । अस्कलमै बिएस्सी अध्ययन गरिरहेका थिए । साथै एमबीबीएस अध्ययन र छात्रवृत्तिका लागि विभिन्न ठाउँमा प्रवेश परीक्षा दिइरहेका थिए । बिएस्सी दोस्रो वर्षमा अध्ययन गर्ने क्रममा उनले एमबीबीएस अध्ययनका लागि सरकारी छात्रवृत्ति पाए ।

एमबीबीएसमा छात्रवृत्ति पाएपछि उनी अध्ययनका लागि मणिपाल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भए । पढाइमा सधैं अब्बल खड्काले एमबीबीएस पनि विशिष्ट श्रेणीमा उत्तीर्ण गरे । वि.सं. २०६२ सालमा एमबीबीएस अध्ययन पूरा गरेका उनले ०६३ सालबाट मणिपाल अस्पतालमै काम गर्न थाले । करिब १५ वर्षको चिकित्सा पेसामा आवद्ध रहेका उनले करिव २ लाख ५० हजारभन्दा बढी बिरामीको उपचार गरिसकेका छन् ।

मणिपाल अस्पतालको बालरोग विभागमा केही समय काम गरिसकेपछि उनले तनहुँमा रहेको गोरखा कम्युनिटी पोलिक्लिनिकमा एक वर्ष काम गरे । त्यसपछि बर्दिया जिल्ला अस्पताल र चितवनको माओवादी लडाकूको जनसैन्य अस्पतालमा डेढ वर्ष बिताए । यसका अलावा उनी लोकसेवाको पनि तयारी गरिरहेका थिए । त्यहीक्रममा लोकसेवा खुल्यो । परीक्षा दिए । नाम निकाल्न सफल भए ।

सरकारी जागिर यात्रा

वि.सं. २०६५ सालमा लोकसेवामा नाम निकालेपछि उनी आफ्नै गृह जिल्ला दैलेखमा सेवा गर्न पुगे । यो उनको ठूलो चाहना थियो । ‘आफ्नो माटोसँग बेग्लै प्रेम हुने रहेछ,’ ४१ वर्षीय डा. खड्का भन्छन्, ‘त्यसैले सरकारी जागिरको पहिलो पाइला आफ्नै गृहजिल्लाको अस्पतालबाट सुरु गरेँ ।’ दैलेख जिल्ला अस्पतालमा केही समय बिताएपछि उनी कालिकोट जिल्ला अस्पतालमा सरुवा भए ।

त्यसपछि हुम्ला जिल्ला अस्पतालमा काम गरे । हुम्ला जिल्ला अस्पतालमा १ वर्ष काम गरेपछि उनले तीन वर्ष न्याम्समा रेडियोलोजीमा एमडी अध्ययन गरे । एमडी अध्ययन सकेपछि उनले मध्यमाञ्चल क्षेत्रीय अस्पतालमा १ वर्ष काम गरे । त्यसपछि उनी चितवनस्थित भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरे। त्यहाँबाट फेरि उनी मध्यमाञ्चल क्षेत्रीय अस्पतालमा कन्सल्टेन्ट रेडियोलोजिस्टको रुपमा १ वर्ष काम गरे ।

अधिकांश जागिरे जीवन दुर्गममा बिताएका डा. खड्का लागि केही समयअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गोल्डेन चान्स दियो । त्यो हो– वीर अस्पतालको डेपुटी डाइरेक्टरमा नियुक्ति । तर, उनलाई दुर्गमको मोहले तानेका कारण उनले काठमाडौंमा बसेर काम नगर्ने जानकारी मन्त्रालयलाई गराए । त्यसपछि मन्त्रालयले उनलाई कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेवारी दिएको छ । ‘अघि स्वास्थ्यका कर्मचारी समायोजनमा पनि मैले कर्णाली नै रोजेको थिएँ,’ आफ्नो कर्णालीप्रतिको मोह सुनाउँदै उनी भन्छन्, ‘त्यतिबेला पनि मलाई सुगममा बसेर काम गर्ने अवसर आएका थिए । तर, मैले त्यसलाई इन्कार गरिदिएँ ।’

भनिन्छ, चिकित्सकहरुका लागि फूर्सद बिरलै हुन्छ । अझ दुर्गममा सेवा गर्ने चिकित्सकका लागि भने त्यहाँको वातावरणले नै फूर्सद हुन दिँदैन । त्यसैले कहिलेकाहीँ फूर्सद मिल्यो भने साहित्य सिर्जनामा लाग्छन् । उनको साहित्यप्रतिको रुची पहिलेकै हो । त्यो रुचीमा उनी हिजोआज पनि कलम चलाइरहेका हुन्छन् । उनको ‘छचल्किएका भावहरु’ गजलसंग्रह पनि सार्वजनिक भएका छन् । त्यसबाहेक उनका थुप्रै फुटकल रचनाहरु पनि छन् । सिर्जनाका अलावा उनी फूर्सदको समयमा पुस्तक पढ्ने, चलचित्र हेर्ने, परिवारसँग नयाँ—नयाँ ठाउँ घुम्न जान्छन् ।

तीन वर्षअघि डा. दिविका खड्कासँग वैवाहिक जीवनमा बाँधिएका डा. खड्काको एक छोरी छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस