×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलउत्तम डा. उत्तम कृष्ण

उत्तम डा. उत्तम कृष्ण


४ सय जना कर्मचारी । कोर ग्रुपमात्रै २ सय ५० हाराहारी । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तम कृष्ण श्रेष्ठका लागि त्यति ठूलो जनशक्तिको नेतृत्व र प्रशासनिक व्यवस्थापनका कामहरु त एकातिर छदैंछन् । त्यसबाहेक वि.सं. २०३५ सालको एसएलसीका बोर्ड फष्ट उनी कार्डियो भास्कुलर सर्जन पनि हुन् । २१ वर्षदेखि मुटु, फोक्सो र रगतका नसा सर्जनका रुपमा सक्रिय डा. उत्तम कृष्णको नाममा वार्षिक औसतमा ३ सय शल्यक्रिया राख्दा पनि ६ हजार ३ सय हुन जान्छ ।

धेरै एसएलसी बोर्ड फष्टहरु विदेशमा रमाइरहेका बेला स्वदेशमै रहेर काम गर्ने थोरै बोर्ड फष्टमध्ये उनी पनि एक हुन् । नेपालमै पढेबढे र यहीको माटोमा आफ्नो सीप तिखारीरहेका डा. उत्तम कृष्णको जन्म वि.सं. २०२० सालमा काभ्रेको नालामा भएको हो । बुवा रत्नकाजी श्रेष्ठ र आमा चिनीमैया श्रेष्ठका चौथो सन्तानका रुपमा जन्मिएका उनी अभिभावकसँगै ४—५ वर्षको हुँदा काठमाडौं आएका थिए । काठमाडौं आएपछि उनका बुवाले मखनमा व्यापार सुरु गरे, त्यही कारण डा. उत्तम कृष्ण र उनका दाजुभाइ न्ह्यौखामा हुर्किए ।

उनको परिवारको आर्थिक स्थिती राम्रै थियो । व्यापारमा संलग्न भएपनि उनका बुवा रत्नकाजी पढेलेखेका थिएनन् । त्यसैले उनले आफ्ना चारै छोरालाई सानैदेखि पढाइका लागि निकै प्रेरित गरे । त्यही कारण अन्य कामभन्दा पढाइ केन्द्रित बाल्यकाल बन्न पुगेको डा. उत्तम कृष्ण बताउँछन् । डा. उत्तम कृष्ण कीर्तिपुरको लेबोरेटरी माध्यमिक विद्यालयमा पढ्न थाले । घरबाट विहानै ८ बजे स्कुलका लागि निस्किसक्नुपथ्र्यो । साँझपख घर पुग्दा ६ बजिसक्थ्यो । गृहकार्य गर्दागर्दै राति भैसक्थ्यो । भोलिपल्ट विहानै पुनः स्कुलका लागि दौडनुपर्थ्यो ।

लेबोरेटरीमा पढाइका साथै अतिरिक्त क्रियाकलापको पनि उतिकै राम्रो प्रबन्ध थियो । अमेरिकनहरुले बनाइदिएकाले ठूलो एरिया, फुटबल, हक्की र बाँस्केटल ग्राउण्ड थियो । हरेक विद्यार्थीको अलग्गै चेयर र डेस्क । उनी टेबलटेनिस खेल्न बढी रुचाउँथे । तर, उनको खेलकूदभन्दा पनि मुख्य रुचि पढाइमै थियो ।

लेबोरेटरी स्कुल कीर्तिपुरबाटै डा. उत्तम कृष्णले वि.सं. २०३५ सालको एसएलसी बोर्ड फष्ट गरेका हुन् । संयोग नै मान्नुपर्छ त्यो भन्दा अघिल्लो वर्ष अर्थात २०३४ सालमा उनका माइला दाजु विजय प्रकाश श्रेष्ठले एसएलसी बोर्ड फष्ट गरेका थिए । नेपालको एसएलसीकै इतिहासमा सहोदर दाजुभाइले एसएलसी बोर्ड फष्ट गर्ने इतिहास पनि विजय प्रकाश र उत्तम कृष्णको नाममा छ । ‘हाम्रो ठूल्दाइ, माल्दाइ पनि राम्रै पढ्ने, म पनि राम्रै पढ्ने र भाइ पनि राम्रै पढ्ने,’ डा. उत्तम कृष्ण भन्छन्, ‘पढ्ने माहौल घरमा थियो, हामी मेहनत गरेर पढ्थ्यौं ।’

डा. उत्तम कृष्णका लागि खुसीको कारण बन्थ्यो, जब उनको हातमा वार्षिक परीक्षामा फष्ट गरेको रिजल्ट पथ्र्यो । ‘जहिल्यै पनि फष्ट भएपछि मज्जा आउथ्यो,’ हँसमुख भावमा उनी सुनिन्छन् । टप गर्ने फर्मुला के हो त ? ‘बोर्ड फष्ट भन्ने कुरा भाग्यको खेल पनि हो,’ उनी सुनाउँछन्, ‘सधैं फष्ट हुने फर्मुला भनेको लगाव र मेहनत नै हो ।’ स्कुल जीवनमा उनलाई गणितका हिसाबहरु सल्भ गर्न खुबै रमाइलो लाग्थ्यो ।

उनका दुवै दाइ इन्जिनियरिङतिर लागे । त्यही कारण एसएलसी बोर्ड फष्ट भएलगतै उनले गोरखापत्रलाई दिएको अन्तर्वार्तामा नै भनिदिए, ‘म त डाक्टर बन्छु ।’ त्यही डाक्टर बन्ने हुटहुटीले उनलाई अस्कल क्याम्पस पु¥यायो । राजनीतिक उथलपुथलका कारण अस्कलमा दुई वर्षमा सकिने आइएस्सी सक्न चार लागेको उनले सुनाए । ‘त्यो बेला साइन्स पढ्ने भनेपछि नम्वर वानमा अस्कल पथ्र्यो,’ उनी अस्कल छनोटबारे भन्छन्, ‘त्यही कारण नम्बर वानमै छिरियो ।’ अस्कलमा राजनीति हुन्थ्यो तर उत्तम कृष्ण पढाइमै केन्द्रित हुन्थे ।

त्यो समयमा महाराजगन्ज क्याम्पसमा एच ए (हेल्थ असिस्टेन्ट)बाट मात्रै एमबीबीएस अध्ययन गर्न पाइन्थ्यो । तर, सन् १९८४ मा आइओएमको छैठौ ब्याचका रुपमा डा. उत्तम कृष्णहरु भाग्यशाली बने । किनभने, आइएस्सीतर्फबाट एमबीबीएस पढ्न पाउने उनीहरु पहिलो ब्याच थिए । त्यतिबेला नेपालमा पढ्ने चिकित्सकहरु राम्रा हुँदैनन् भन्ने एक किसिमको धारणा व्याप्त थियो । डा. उत्तम कृष्णले पनि त्यही सुनेका थिए । तर, वास्तविकता उनले फरक पाए ।

‘वातावरण पनि राम्रो थियो,’ उनी एमबीबीएस पढ्दाको अनुभव साट्छन्, ‘इन्ट्री राम्रोको भयो भने त्यसको एक्जीट पनि राम्रो हुन्छ । इन्ट्रासमार्फत आइएस्सी पढ्ने १५ जनाले एमबीबीएस पढ्ने मौका पाएका थियौं । सबै पढाइमा राम्रा थिए, त्यसैले अहिले देशदेखि विदेशमा सबै राम्रै ठाउँमा छन् ।’ त्यो बेला महाराजगन्ज क्याम्पसमा एनोटोमी र फिजियोलोजी मात्रै विदेशी प्रोफेसरहरुले पढाउँथे, अरु सबै नेपालीले नै ।

डा. उत्तम कृष्णले सन् १९९१ मा एमबीबीएस उत्तीर्ण गरे । एमबीबीएस उत्तीर्ण गरेपछि उनले दुई वर्ष शिक्षणमै काम गरे । बरिष्ठ सर्जन डा. दिनेशमान गंगोलको अन्डरमा इन्टर्नसीप गरेका डा. उत्तम कृष्ण उनको सीप, स्कील सह्रानीय मान्छन् । अहिलेको बी एण्ड बी अस्पतालमा डा. अशोक बाँस्कोटा र डा. जगदीशलाल वैद्यसँग उनले अनुभव बटुल्न पाए । ‘डा. बाँस्कोटा अर्थोपेडिक सर्जरीमा एकदमै राम्रो, डा. वैद्य जनरल सर्जरीमा उस्तै राम्रो,’ उनले भने, ‘रिनाउन दुवै जनासँग काम गर्दा अनुभव संगाल्ने अवसर पाए ।’

सर्जनहरुसँग काम गर्दागर्दै उनको रुचि पनि सर्जरीमा गयो । त्यही कारण उनले त्रिवि चिकित्सा अध्ययन संस्थानमै माष्टर इन सर्जरी (एमएस) अध्ययन गर्न थाले । सन् १९९९ मा उनले त्यहीबाट जनरल सर्जरीमा एमएस सके । त्यसपछि उनले कार्डियो भास्कुलर (मुटु र फोक्सोको रगतको नशा) सर्जनका रुपमा काम गर्न थाले । सन् १९९९ अहिलेसम्म पनि उनी कार्डियो भास्कुलर सर्जरीमा रमाइरहेका छन् । यो क्रममा उनले मलेसियाको नेशनल हार्ट इन्स्टिच्युटबाट दुई वर्ष फेलोसीप गरे । इन्डो भास्कुलर सर्जरीको सर्टटर्म फेलोसीप इटलीबाट गरेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना भएको ११ वर्ष भएको छ । डा. उत्तम कृष्ण सेन्टर सुरु भएदेखि भास्कुलर सर्जरी (मुटुबाट पम्प गरेपछि रगत निस्कने नशाहरु) जुन टेक्नीकल्ली पनि डिमान्डीङ र गाह्रो शल्यक्रिया मानिन्छ, त्यसमा सक्रिय छन् । ६ हजार बढी शल्यक्रियामा संलग्न यी चिकित्सकलाई मानिसको मुटुको शल्यक्रिया गर्दा कस्तो अनुभव हुन्छ ? भन्छन्, ‘मुटुको शल्यक्रिया गाह्रै कुरा हो । प्रायजसो बन्द भएको मुटुसँग खेल्ने हो । नियमित काम भएकाले हाम्रा लागि खासै गाह्रो कुरा होइन्,’ उनी सहज रुपमा सुनाउँछन्, ‘तपाईलाई अन्तर्वार्ता लिन गाह्रो छ र ? हो त्यस्तै हो ।’ शल्यक्रिया नियमित काम बताएपनि यी सर्जन शरीरमा खेल्नु च्यालेजिङ काम भएको स्वीकार गर्छन् । उनी सन् २०१७ को फ्रेबुअरीमा स्थापना भएको भास्कुलर सोसाइटी अफ नेपालको संस्थापक अध्यक्ष समेत रहेका छन् ।

नमुना सेन्टर बनाउने लक्ष्य

डा. उत्तम कृष्ण आइओएममा सन् २००१ मा लेक्चररका रुपमा काम गर्न थालेका हुन् । उनी त्यसपछि एशोसियट प्रोफेसर, प्रोफेसर हुँदै सन् २०१५ मा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक नियुक्त भए ।

सेन्टरको कार्यकारी निर्देशकको कार्यकाल ४ वर्षको हो । तर, छोटो समयमै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गरेपछि उनले अर्को एक कार्यकाल पनि सेन्टरको नेतृत्व गर्ने जिम्मेवारी पाए । ‘राम्रो काम गर्नुभयो, अझ गर्नुप¥यो भन्ने अफर आयो,’ डा. उत्तम कृष्णले सुनाए, ‘मेरो स्वार्थ पनि सेन्टरलाई अझ राम्रो गर्ने भन्ने थियो ।’ उनको नेतृत्वमा सेन्टरमा थुप्रै राम्रा कामहरु भएका छन् । कार्डियाक, बाइपास, थोरासिक, भास्कुलर सर्जरीमा राम्रो काम गरेपछि सेन्टरले सबैतिरबाट माया पनि पाएको उनी बताउँछन् ।

युनिभर्सिटी हस्पिटल भएकाले सेन्टर त्रिविअन्तर्गतको हो । युनिभर्सिटी हस्पिटलले एमडी, डिएम, डिएम एमसीएच पढाउँछ । तर, स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले धेरैजसो काम स्वास्थ्य मन्त्रालयसँग हुन्छन् । स्वास्थ्यसँग जोडिएका धेरै काम मन्त्रालयले हेर्ने भएकाले मन्त्रालयसँग पनि उतिकै समन्वय गर्नुपर्छ । डा. उत्तम कृष्ण दुवैसँगको सम्बन्धलाई समधुर राखेर अगाडि बढिरहेका छन् । ‘सुरुमा एकले शिक्षाको भन्थ्यो, अर्कोले स्वास्थ्य मन्त्रालयको,’ उनी सुनाउँछन्, ‘अहिले राम्रो काम गरेपछि दुवैबाट उत्तिकै माया पाएका छौं ।’ उनलाई लाग्छ—यो सबै राम्रो कामले गर्दा सम्भव भएको हो ।

सेन्टरको नयाँ भवन

कोभिडलाई अलग राखेर हेर्ने हो भने सेन्टरले मुटु, फोक्सो र रगतका नसाहरुको वार्षिक २२—२३ सय शल्यक्रिया सम्पन्न गर्छ । यसबाहेक कार्डियोलोजीको अलग्गै हुन्छ, क्याथल्याबको प्रोसिडर सेन्टरले एक वर्षमै १६ सय वटा गरेको छ । ८० वटा वेड भएपनि कार्यक्रमका हिसाबले निकै धेरै बिरामीहरु सेन्टरको सेवाबाट लाभान्वित छन् ।

डा. उत्तम कृष्ण सेन्टरको प्रशासकीय पाटोसँगसँगै बिरामी हेर्ने, शल्यक्रिया गर्ने काम गर्छन् । ‘सेन्टरको कार्यकारी निर्देशक भएपनि म डाक्टर हुँ,’ उनी भन्छन्, ‘त्यही कारण बिरामीको सेवा गर्नु मेरो पहिलो धर्म हो ।’ कतिपय जटिल र ठूला—ठूला सर्जरीहरुमा उनी आफै संलग्न हुन्छन् । ‘कतिपय हामीले गर्ने चुनौतीपूर्ण शल्यक्रियाहरु नेपालका अन्य ठाउँमा हुँदैनन् । त्यसकारण हामी डेडिकेटेड छौं,’ उनी कारण खोल्छन् ।

कार्यकारी निर्देशक भएपछि सेन्टरका लागि राम्रो र सुविधासम्पन्न भवन बनाउने उनको सपना थियो । त्यो सपना लगभग पूरा भएको छ । सेन्टरले गत कात्तिकमा ४१ बेडको नयाँ सुविधासम्पन्न भवनको उद्घाटन गरिसकेको छ । ‘त्यो मेरो ठूलो ड्रिम प्रोजेक्ट थियो । अहिले त्यो सुरु पनि भएको छ,’ उनले भने । अहिले सेन्टरसँग क्याथल्याबमात्रै ३ वटा छन् । नयाँ भवनका लागि ‘हाइब्रिड अपरेटिङ थिएटर’ ल्याउने तयारी अगाडि बढिसकेको छ । साढे २१ करोडको पर्ने उक्त मेसिन नेपालको पहिलो ‘हाइब्रिड अपरेटिङ थिएटर’ हुनेछ ।

सेन्टरले गरिब तथा विपन्नका लागि स्वास्थ्य सेवा निःशुल्क पनि प्रदान गर्दै आएको छ । यसअघि झण्डै १५ करोड रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य सेवा सेन्टरले प्रदान गरिसकेको छ । ‘सरकारी अस्पताल आउने बिरामीले राम्रो वेडमा सुत्न पाउँदैन, एसीमा बस्न पाउनु हुँदैन भन्ने छैन्,’ डा. उत्तम कृष्ण भन्छन्, ‘त्यसकारण त्यो नयाँ हस्पिटल यसरी बनाएका छौं कि त्यहाँको जनरल बेडमा पनि सेन्ट्रल एसी छ । त्यहाँको ४१ वटा बेडमध्ये सबैमा मनिटर छ । त्यसकारण जनरल बेडमा बसेको मान्छेको पनि मुटुमा के भइरहेको छ सबै थाहा हुन्छ ।’

उक्त भवनमा नर्सिङ स्टेशनमा पनि सेन्ट्रल मनिटर राखिएको छ । कुनाको बेडको बिरामीको मुटुको चालमा गडबड भयो भने नर्सिङ स्टेशनको स्टाफले थाहा पाइहाल्छ । ‘यो सम्भवतः नेपालको पहिलो हस्पिटल होला, जहाँ सबै बेडमा मनिटर र त्यसको मनिटरिङ गर्न सेन्ट्रल मनिटर पनि छ,’ उनी भन्छन् । अस्पताल र त्यहाँका सबै उपकरण गरी यो प्रोजेक्टको लागत झण्डै १ अर्बको पुग्ने उनको अनुमान छ । यसमा नेपाल सरकारले निकै राम्रो सहयोग गरेकोमा उनले खुसी व्यक्त गरे । सेन्टरमा आएका बिरामीको रिफ्लेक्सन हेरेर सरकारले आफूहरुलाई कुनै पनि कुरा नाइनास्ति नगरेको उनी बताउँछन् । ‘ठीक काम गरेपछि सबैले पत्याउने रहेछन्,’ उनले भने ।

स्वदेशमा रमाएका बोर्ड फष्ट

नेपालका धेरैजसो एसएलसी बोर्ड फष्टहरु विदेशी भूमिमा छन् । डा. उत्तम कृष्णलाई विदेशमा जाने रहर लागेन ? भन्छन्, ‘विदेशमा भएका साथीहरु आएको बेला ग्यादरिङ हुन्छ, उनीहरु मैले गरेको काम, मेरो पोजिशन हेर्छन् । खुसी हुन्छन् । म पनि खुसी नै छु ।’

‘यो सबै नेमफेम स्वदेशले नै दिएको हो,’ उनी थप्छन्, ‘विदेशमा गएको भए पनि मैले पाउने यिनै कुराहरु त हुन् ।’ नेपालमै पैसा, बैक ब्यालेन्स, गाडी आफूसँग रहेको उल्लेख गर्दै स्वदेश नै आफ्नो रोजाइ रहेको सुनाए ।

जीवनशैली

डा. उत्तम कृष्णको जीवनशैली पनि सामान्य छ । उनी विहान ६ बजेतिर उठ्छन् । हप्तामा ५ घण्टाजति एक्ससाइज गर्छन् । जसमा दौड, पुसअप, ड्रम बेल उठाउनेजस्ता एक्साइज पर्छन् । ८ बजेतिर उनी लन्च लिएर अफिसका लागि निस्कन्छन् ।

९ बजे अस्पताल पुग्नुपर्ने समय हो । तर, उनी त्योभन्दा केही समय अगावै अस्पताल पुग्छन् । अफिसका नियमित प्रशासनिक काम, बिरामी हेर्ने, शल्यक्रियालगायतका जुट्छन् । साँझ ५ बजेसम्म अस्पतालको समय भएपनि उनी त्यसको केही बेरपछि मात्रै घर फर्किन्छन् । अफिसबाट घर फर्केपछि साँझपखको समय छोराछोरी र फ्यामिलीसँग बिताउँछन् ।

उनको परिवारमा श्रीमती सबेरा र दुई छोराछोरी उत्सवी र उत्कर्ष छन् । २ वर्षअघि पूर्ण हाउस वाइफका रुपमा काम गरिरहेकी उनकी श्रीमती अहिले ‘मैत्रेयबोधी’ भन्ने संस्था चलाउँछिन् । जसले बुढाबुढीको होम केयरका लागि नर्सिङ स्टाफहरु सप्लाई गर्ने काम गर्छ ।

घरपरिवार र अफिसबाहेक उनको अधिकांश समय अध्ययनमै बित्छ । ‘मेडिकल साइन्समा नयाँ—नयाँ कुराहरु विकास भइरहेकाले पढिरहनुपर्छ,’ डा. उत्तम कृष्ण भन्छन् । त्यसबाहेक फुर्सदको समयमा उनी घुम्न निस्कन्छन् । अहिलेसम्म १८—२० वटा देश घुमिसकेका छन् । प्रायजसो शनिबारको दिन उनी अन्य कामहरु राख्दैनन्, अस्पतालको इमर्जेन्सी केसबाहेक । त्यसबाहेक फिल्म हेर्ने गर्छन् । ‘खानपिन र घुमघाममा कप्रोमाइज गर्दैनौं,’ उनी भन्छन्, ‘विदेशमा पनि गर्ने त्यही हो ।’

डा. उत्तम कृष्णको खानपिनमा पनि कुनै रेस्ट्रीक्सन छैन । नेवार समुदायमा मासुको परिकारहरु टन्नै पाक्छन् । डा. उत्तम कृष्ण पनि त्यस्ता परिकारहरु रुचाउँछन् । ध्रुमपान भने गर्दैनन् । पहिरनमा पनि उनी चुजी छन् । ड्रेसअपमा उनी बढी पैसा खर्चन्छन् । क्याजुअल पहिरन उनलाई मन पर्छ । राम्रो काम गर्न सक्दा खुसी हुने उनी स्वदेशमै बसेर इमान्दारीपूर्वक काम गर्न सकेमा मुलुक समृद्ध हुन बेर नलाग्ने धारणा राख्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एसएलसी बोर्ड फष्ट, #डा. उत्तम कृष्ण श्रेष्ठ, #फोक्सो र रगत, #मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट, #मुटु

तपाईको प्रतिक्रिया दिनुहोस