×
२०७७ माघ २, शुक्रबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलअमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ

अमेरिका र बेलायतको पूर्ण छात्रवृत्ति त्यागेर नेपालमै रमाएका डा. विश्वनाथ


चावहिलस्थित ओम अस्पतालका मेडिकल को–अर्डिनेटर हुन्–कन्सल्टेन्ट फिजिसियन डा. विश्वनाथ कोइराला । उज्यालो अनुहार, सरल स्वभाव, बिरामीसँग स्पष्ट बोल्ने शैली यिनै गुणले भरिपूर्ण डा. कोइराला ओम अस्पतालको ब्राण्ड बनाउने एक खम्बा हुन् । १६ वर्षयता ओम अस्पतालमा कार्यरत उनले यो अवधिमा १ लाखभन्दा बढी बिरामीको उपचार गरिसकेका छन् । अहिले पनि उनको ओपीडी बिरामीले भरिभराउ हुन्छ । भीआईपीदेखि सर्वसाधारणसम्मको उपचार संलग्न डा. कोइरालाले दैनिक औसत ३० जनाभन्दा बढी बिरामी जाँच्छन् ।

बुबा गंगाप्रसाद कोइराला र आमा देवकुमारीको कोखबाट २०२७ सालमा सिन्धुलीको देउरालीटारमा जन्मिएका डा. कोइरालाले कक्षा ३ सम्मको पढाइ गाउँकै प्रभात प्राविबाट पूरा गरे । त्यसपछि कक्षा ४ अध्ययनका लागि ग्वाल्टार गए । कक्षा ४ मा अध्ययन गर्र्दैगर्दा काठमाडौंको बुढानिकण्ठ स्कुलबाट छात्रवृत्तिमा पढाउनका लागि विद्यार्थी छनोट गर्ने टोली पुग्यो । जसमा पूर्ण छात्रवृत्ति, आधा छात्रवृत्ति र तीन चौथाइ छात्रवृत्तिमा विद्यार्थी छानिन्थ्यो । जसका लागि लिखित र मौखिक दुवै परीक्षा दिनुपथ्र्यो । सिन्धुली जिल्लाबाट उक्त छनोट परीक्षामा डा. विश्वनाथ पनि सामेल भए । जसमा उनी पूर्ण छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा परे ।

बुढानिलकण्ठ स्कुलमा पूर्ण छात्रवृत्ति पाएपछि परिवारले पनि उनलाई काठमाडौं पठाउने अनुमति दियो । त्यससँगै ग्वाल्टारमा कक्षा ४ मा पढ्दै गरेको पढाइलाई बीचमै छोडेर उनी वि.सं. २०३६ सालमा बुढानिलकण्ठमा कक्षा ४ पढ्न सुरु गरे । बुढानिलकण्ठबाटै उनले विशिष्ट श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरे ।

एसएलसीपछि ओ लेभलका लागि बुढानिलकण्ठका ४५ जना विद्यार्थीलाई छानिन्थ्यो । त्यो ४५ जनाभित्र पनि डा. कोइराला परे । त्यसैले ओ लेभल पनि पूर्ण छात्रवृत्तिमा पढ्न पाए । ओ लेभल सकिएपछि ए लेभलका लागि त्यही ४५ जनाबाट २५ जनालाई छात्रवृत्तिका लागि छनोट गरिन्थ्यो । उक्त छनोटमा उनी पनि परे । यसरी ओ लेभलसम्म उनले पूर्ण छात्रवृत्तिमा अध्ययन गरे ।

दोधारमै डाक्टर

ए लेभल सकिएपछि अब के गर्ने भन्नेमा दोधारमा थिए । पढाइमा अब्बल विद्यार्थी भएकाले उनलाई पूर्ण छात्रवृत्तिमा अमेरिका, बेलायत गएर पढ्ने अफर पनि आएका थिए । त्यतिबेला उनलाई नेपालमा एमबीबीएस पढाइ हुन्छ भन्ने थाहा थिएन । त्यसैले बेलायत गएर जेनेटिक्स पढ्ने कि अमेरिका गएर इन्भारोमेन्टल साइन्स अध्ययन गर्ने भन्नेमै दोधारमा थिए ।

डा. कोइरालालाई बेलायतमा गएर अध्ययन गर्नका लागि शतप्रतिशत छात्रवृत्ति र अमेरिका लागि शिक्षा मन्त्रालयको ८५ प्रतिशत र अमेरिका नेपाल एजुकेशन फाउन्डेसनका तर्फबाट डा. उडले दिएको १५ प्रतिशत छात्रवृत्ति उपलब्ध थियो । तर, त्यही बेला उनलाई नेपालमा पनि एमबीबीएस पढाइ हुन्छ भन्ने थाहा भयो । त्यो बीचमा उनले महाराजगन्ज क्याम्पसमा गएर एमबीबीएसका लागि परीक्षा दिए । एमबीबीएसमा पनि उनको नाम निस्कियो । त्यसपछि नेपालमै बसेर डाक्टर पढ्ने वा बेलायत गएर जेनेटिक पढ्ने कि अमेरिका गएर इन्भारोमेन्टल साइन्स पढ्ने भनेर अर्को अलमलमा परे ।

आफैं निर्णय लिन नसकेपछि उनले परिवार, आफन्त, साथीभाइहरुसँग सल्लाह गरे । सबैले नेपालमै बसेर डाक्टरी पढ्न सल्लाह दिएपछि उनले बेलायत र अमेरिकाको पूर्ण छात्रवृत्तिलाई त्यागिदिए । त्यसपछि एमबीबीएस अध्ययनका लागि महाराजगन्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को महाराजगन्ज क्याम्पसमा भर्ना भए ।

नेपालमै बसेर डाक्टरी पढ्ने भएपछि उनले अमेरिकामा इन्भारोमेन्ट साइन्स अध्ययनका लागि १५ प्रतिशत छात्रवृत्ति दिन्छु भनेका डा. उडसँग भेटे । भेटमा उनले अब नेपालमै डाक्टर पढ्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले १५ प्रतिशत छात्रवृत्ति नेपालमै डाक्टर पढ्नका लागि दिनुस् भनेर अनुरोध गरे । उनको अनुरोधलाई स्वीकार्दै डा. उडले एमबीबीएस अध्ययनका लागि १५ प्रतिशत छात्रवृत्ति दिने भए । डा. उडले दिएको त्यही १५ प्रतिशत छात्रवृत्तिले एमबीबीएसको पढाइ सकिएको डा. कोइराला बताउँछन् । ‘त्यतिबेला मेडिकल शिक्षा अहिलेको जस्तो महंगो थिएन,’ उनले भने, ‘मैले एमबीबीएस पढ्दा होस्टल शुल्क मासिक ७ रुपैयाँ र कलेजमा मासिक १२ रुपैयाँ तिर्नु पथ्र्यो ।’

एमबीबीएस अध्ययन पूरा भएपछि एमडी अध्ययनका लागि ३ वर्ष काम गर्नुपथ्र्यो । त्यहीअनुसार उनले बौद्धको हिमालयन हिलिङ सेन्टर, बालुवाटारको विपी मेमोरियल हेल्थ फाउन्डेसन, स्याङ्जाको कालिगण्डकी हाइड्रो इलेक्ट्रोल प्रोजेक्ट, सोलुखुम्बुमा खरिखोला अस्पताल र दमकको आम्दा अस्पतालमा काम गरे । ३ वर्ष काम गरेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीका लागि परीक्षा दिए । एमडीका लागि नाम निस्किएपछि उनले त्यही काम गर्दै पढ्न थाले । एमडी अध्ययनका लागि त्यतिबेला मासिक १३ हजार रुपैयाँभन्दा बढी स्टाइपेन्ड दिइन्थ्यो । त्यसले उनलाई खान, बस्न र पढाइ खर्च पुग्थ्यो ।

उनले वि.सं. २०६१ सालमा एमडी पूरा गरेका हुन् । बुबाआमाको बिना लगानी आफूले कक्षा ४ देखि एमडीसम्मको अध्ययन पूरा गरेको डा. कोइराला बताउँछन् । ‘गाउँमा कक्षा ४ सम्म अध्ययन गर्दा खर्च लागेन त्यसपछि बुढानिलकण्ठ स्कुलमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरें,’ उनी भन्छन्, ‘कक्षा ४ देखि एमडी अध्ययन गर्दासम्म बुबाआमाको खर्च लगाइनँ ।’

एमडी सकिएपछि वि.सं. २०६१ सालमा काठमाडौं आएर ओम अस्पतालमा काम गर्न थाले । ओममा काम गर्न थालेको २—३ महिनामै उनले बिरामी र व्यवस्थापनको मन जिते । त्यसो त अस्पतालले तीन महिनामै उनलाई कन्सल्टेन्ट फिजिसियनको जिम्मेवारी दियो । स्पष्ट बोल्ने, बिरामीलाई प्रष्टसँग रोगबारे बताउन सक्ने क्षमता भएकाले उनलाई बिरामीहरुले पनि पछ्याउन थाले । अहिले उनीसँग १६ वर्ष अघि देखिका बिरामीहरु नियमित फ्लोअपमा छन् । अहिले पनि सोलुखुम्बु, स्याङ्जादेखिका बिरामीहरुले उनलाई नै सम्झन्छन् । ‘मैले एमडी गर्नुभन्दा पहिला जाँचेका बिरामीहरु पनि अहिले मेरो सम्पर्कमा हुनुहुन्छ,’ उनले भने, ‘यसरी बिरामीहरुले माया गरेको देख्दा साँच्चै काम गर्ने उर्जा थपिरहेको छ ।’

कमै फुर्सद, सामान्य खानपान

कुनैबेला निजी क्षेत्रको नम्बर वान अस्पताल रहेको ओम अस्पतालमा पछिल्लो समय विभिन्न घटनाक्रमले गर्दा बिरामीको चाप घटेको छ । यद्यपि डा. कोइरालाको ओपीडीमा भने अझै पनि बिरामी भरिभराउ नै हुन्छन् । त्यसो त यी व्यस्त डाक्टरलाई फुर्सदको समय निकाल्न निकै धौ–धौ पर्छ । शनिबार पनि उनी बिरामीको बेडमा पुग्छन् । बिरामीको राउन्ड गर्छन् । जसले गर्दा उनीसँग घुमफिर र रमाइलो गर्ने समय एकदमै कम छ । यदि कुनैदिन फुर्सदिलो भए भने आफन्त भेटेर, परिवारसँग घुमेर, पढ्न मन लागेका पुस्तक पढेर बिताउने गरेको उनी सुनाउँछन् ।

तस्विरः डा. विश्वनाथकाे फेसबुकबाट

डा. कोइरालाको खानपान निकै सामान्य छ । थोरै खाने तर पटक–पटक खाने उनको बानी छ । उनी विशेषरी फलफूलमा बढी जोड दिन्छन् । त्यसो त बिहान पाउरोटी, अण्डा र फलफूल खान्छन् ।

दिउँसोको खाना घरबाटै ल्याउँछन् । बाहिरका खाना भरसक खाँदैनन् । दिउँसो केही स्न्याक्स लिन्छन् । अहिले बेलुका भात खान छोडेका छन् । बेलुका प्रायः एक दुई वटा रोटी खान्छन् ।

५० वर्षीय डा. कोइराला फिटनेशमा पनि उत्तिकै ध्यान दिन्छन् । उनी हप्तामा ४—५ दिन एरोबिकका केही एक्सरसाइज र ध्यान गर्छन् । कहिलेकाहीँ फुर्सद भयो भने केही समय हिँड्छन् ।

 


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार