×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलनोबेल पुरस्कार विजेताको ल्याबका क्यान्सर वैज्ञानिक दिगविजय

नोबेल पुरस्कार विजेताको ल्याबका क्यान्सर वैज्ञानिक दिगविजय


अमेरिकाको बोस्टनमा प्रसिद्ध मासाचुसेट्स युनिभर्सिटी अफ टेक्नोलोजी (एमआईटी)का दर्जनौ भवनहरु छन् । एक भवनमा सेलिब्रेटी नोबेल पुरस्कार विजेता फिलिप ए सार्पको अनुसन्धान ल्याब छ । त्यही ल्याबमा ६ जनाको रिसर्च टिमको नेतृत्व गर्छन्, ३६ वर्षीय नेपाली युवा वैज्ञानिक दिगविजयराजा महत । उक्त ६ तले भवनको चौथो तलामा कहिले रातभर नै उनी काममा तल्लीन रहन्छन् । भन्छन्, ‘कहिले समय जान्छ पत्तै हुँदैन् ।’

विहान ९—१० बजे ल्याब पुगिसक्ने यी क्यान्सर वैज्ञानिकको रातिको १२ बजेसम्म ल्याबमा काम गर्नु त नियमितता नै हो । तर, कुनै दिन यस्ता हुन्छन् कि उनी सिरक र सिरानी बोकेरै ल्याब पुगेका हुन्छन् । अन्य सहकर्मीका कामहरु रेखदेख र निर्देशनमै धेरै समय बित्छ । अपरान्ह ४ बजेपछि बल्ल उनी आफ्नो काममा फोकस हुन पाउँछन् । त्यो क्रम धेरैजसो राति १०÷१२ बजेसम्म नियमित हुन्छ, कहिलेकाही त रात पनि त्यही बितिदिन्छ ।

एमआईटीको वैज्ञानिक कक्ष र प्रयोगशालाहरुमा कसैले प्रश्न उठाउँदैनन्, अनुसन्धान ल्याबमा वैज्ञानिकहरुका लागि अचम्मको स्वतन्त्रता उपलब्ध छ । ‘अनुसन्धानको मज्जा भनेकै यही हो,’ उनी भन्छन् । हप्ताको ८०—९० घण्टासम्म काममा बिताउँदा पनि कहिल्यै थाकेको अनुभूति हुँदैन् । रोचक त के भने अनुसन्धानमा उनी यति घोत्लिन्छन् कि कहिलेकाही त आफूले के खाइरहेको छु भन्ने पनि थाहा पाउँदैनन् । कहिलेकाही त उनकी श्रीमती रुपा लक्ष्मी शाह, जसलाई उनी आफ्नो वैज्ञानिक एवं व्यक्तिगत जीवनको आधार खम्बा मान्छन्, उनलाई ‘के खाइरहेका छौं ख्याल गर’ भन्दै सम्झाइरहेकी पनि हुन्छन् ।

४ वर्षदेखि नोबेल विजेताको ल्याबमा तल्लीन दिगविजय तनहुँको ढोरफिरदीमा वि.सं. २०४० सालमा जन्मिएका हुन् । बुवा रामराजा महत र आमा शान्ति महतका चार छोराछोरीमध्ये उनी जेठा छोरा हुन् । पढाइमा एकदमै राम्रो भएकाले उनका वुवाले जहिल्यै राम्रो विद्यालयमा उनको भर्ना गरिदिन्थे । परिणाम नर्सरीदेखि एसएलसीसम्म उनले ९ पटक स्कुल फेरे । छोरा एक स्कुलमा फष्ट आएपछि उनलाई लाग्थ्यो अब यहाँ प्रतिस्पर्धा हुँदैन्, उनी दिगविजयलाई अर्को स्कुलमा सारिहाल्थे ।

‘मेरो बाल्यकाल एकदमै एडभेन्चरस थियो,’ चर्चित गायक प्रेमराजा महतका भतिजा दिगविजय सुनाउँछन्, ‘पढाइका हिसाबले बुवा र काकाहरुको लगाव एकदमै थियो ।’ सबैको पढाइप्रति निकै अभिरुचि भएकाले उनलाई बाल्यकालदेखि नै होस्टेलमा राखियो । वि.सं. २०५६ सालमा उनले दीपेन्द्र प्रहरी स्कुल पोखराबाट फष्ट एसएलसी उत्तीर्ण गरे ।

माथिल्ला क्लासहरुमा भर्ना हुन नमिल्ने दीपेन्द्र प्रहरी स्कुलमा उनका माइला बुवा श्यामराजा महतले भनसुन गरेर दिगविजयलाई ९ कक्षामा भर्ना गरेका थिए । ९ पटक स्कुल फेरेका उनका लागि सबैभन्दा मन परेको स्कुल पनि त्यही दीपेन्द्र प्रहरी स्कुल नै हो । किन त ? भन्छन्, ‘९—१० कक्षा म त्यहाँ पढे, त्यो बेला रामेश्वर श्रेष्ठ प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँको भिजन अचम्मको थियो ।’ श्रेष्ठ पढाइसँगसँगै अतिरिक्त क्रियाकलापमा पनि निकै जोड दिन्थे । उनले नै स्कुलमा साइन्स एण्ड टेक्नोलोजी, लिटरेचर, स्पोर्ट, ड्रामा एण्ड म्युजिकजस्ता क्लब बनाइदिए ।

स्कुल पढ्दा दिगविजयलाई साहित्यप्रति गहिरो अभिरुचि थियो । त्यसैले उनी लिटरेचर क्लबका अध्यक्ष भए । उनको अगुवाईमा दीपेन्द्र स्कुलले ‘कोपिला’ त्रैमासिक पत्रिका निकाल्थ्यो । ‘९ कक्षामा पढ्दा त्यसको म प्रधानसम्पादक थिए,’ उनले सुनाए, ‘निबन्ध, कथा, कविता, चुटकिलाजस्ता रचनाहरु सम्पादन गरेर प्रकाशित गथ्र्यौ ।’ प्रिन्सिपल श्रेष्ठ विद्यार्थीको एक्स्पोजरका लागि प्रकाशनगृह, पत्रिकाका कार्यलयहरुमा लिएर जान्थे । त्यो एक्स्पोजरले धेरै अगाडि सोच्न सिकाएको उनले बताए ।

स्कुले जीवनमा उनलाई समर भ्याकेसन खुबै मन पथ्र्यो । दिगविजय कस्ता थिए भने विहान ब्रस गर्दागर्दै धाराबाटै वेपत्ता हुन्थे, साँझपखमात्रै घर फर्किन्थे । बाहिर साथीकै घरमा खाने, उनीहरुसँगै खेल्न जाने गर्थे । ‘शिकार खेल्न मन पथ्र्यो । ठूला दाइहरु दुम्सी मार्न, माछा मार्न र चराको शिकार गर्न जान्थे,’ उनी बाल्यकाल स्मरण गर्छन्, ‘यस्ता कुरामा मलाई एकदमै रुचि थियो । भेजिटेरियन भएपनि माछा मार्न खुबै रमाउथे ।’

एसएलसीपछि भरतपुरको अर्किड साइन्स क्याम्पसमा भर्ना भए । त्यो वर्ष अर्किड साइन्स स्कुलका विद्यार्थीले उच्च माध्यमिक शिक्षा परिषद् बोर्ड टप गरेका थिए । त्यसैले दिगविजयका बुवाले उनलाई अर्किडमा भर्ना गराएका थिए । तर, ११ कक्षाको बीचमै उनी नराम्रोसँग बिरामी भए । तीन महिनाको अस्पताल बसाइँपछि उनलाई फर्केर भरतपुर जान मन लागेन् । त्यो वर्ष त्यतिकै बित्यो ।

अर्को वर्ष उनी काठमाडौं विश्वविद्यालय (केयु)मा आइएस्सी अध्ययन गर्न थाले । उनका काका प्रेमराजाले म्युजिकमा प्रसिद्धी कमाएका थिए । दिगविजयमा पनि त्यो छाप पर्न गयो । उनी गाना लेख्थे, प्रकाश गुरुङ भन्ने उनका साथीसँग मिलेर कम्पोज गर्थे भने तिन्र साथी गाना गाउँथे । आइएस्सी पढ्दैं गर्दा उनी क्लास छोडेर गीतहरु रेकर्ड गराउन अनामनगरस्थित म्युजिक नेपाल पुग्न थाले । ‘शिरिष’ नामको उनको पहिलो एल्बम निस्कियो, त्यसमा ८ वटा गीत समावेस छन् । तर, त्यो नराम्रोसँग फ्लप भयो । बजारमा एउटै पनि एल्बम बिकेन । म्युजिकतर्फ चालेको पहिलो पाइलामै असफलताको स्वाद चाखेपछि उनी नचाहदा—नचाहदैं पढाइमा बढी केन्द्रित भए । सन् २००३ मा उनले केयुबाट आइएस्सी सके । आइएस्सी सकेपछि थप उच्च शिक्षा अध्ययनका लागि उनले अमेरिकाको तयारी गर्न थाले । सन् २००५ मा उनी अमेरिका उडे ।

अमेरिका विकट ठाउँमा पुग्दा

अमेरिकाले त्यो बेला विकट गाउँका कलेजहरुमा जानेहरुलाई सहजै भिसा दिन्थ्यो । वेस्ट भर्जिनियाको उनको कलेजको वातावरण पनि त्यति राम्रो थिएन । चाडपर्वमा एक्लै पर्छ भनेर उनका कान्छा काका बाल्टिमोरबाट ६—७ घण्टा ड्राइभ गरेर उनलाई लिन जान्थे । त्यहाँबाट उनी काकासँग बाल्टिमोर आउथे । काका र भाउजुले युनिभर्सिटी फर्किदा चामल र पकाउने भाडा दिएर पठाउँथे । कलेजका नेपाली साथीहरु नेपाली खाना खान पाएपछि औधि खुसी हुन्थे ।

एक वर्ष त्यहाँ पढेपछि उनका काका प्रेमराजाको घर बाल्टिमोर फर्किए । त्यहाँ महत परिवारका धेरै सदस्यको बसोबास बस्छ । ‘मेरो पढाइमा सम्पूर्ण परिवार र गाउँ नै लागेको हो,’ उनी भन्छन्, ‘फूपु, ठूलीआमा, काकाहरुको घरमा बसेर पढेँ, मेरा दाइहरु, काजी बाबु कार्की र मदन तण्डुकार अनि फुपाजु छत्रबहादुर कुँवरले मेरो पढाइमा सहयोग गर्नुभयो । काकाहरु र ठूलोमुआहरुले हुर्काउनुभयो । गाउँमा जग्गा एकदमै धेरै तर बुवाआमाले कहिल्यै पनि जागिर खानुभएन ।’ उनका हजुरबुवा महामुखिया, बुवा पनि महामुखिया हुँदैं प्रधानपञ्च समेत भएकाले जागिर खानै कुरै थिएन । त्यही कारण जे कामका लागि पनि जग्गा बेच्नुपथ्र्यो । कहिलेकाही परेको जग्गा बिक्री हुँदैन्थ्यो, त्यो बेला नगदको अभाव उनका आफन्तहरुले टार्थे । ‘म सबै परिवारको प्रडक्ट हुँजस्तो लाग्छ,’ उनले सुनाए, ‘अहिले यहाँ आइपुग्नुको श्रेय आफूलाई मात्र दिए भने न्याय हुँदैन ।’

बाल्टिमोरमा उनका काका प्रेमराजाको रेष्टुरेन्ट पनि थियो । दिगविजय त्यही रेष्टुरेन्टमा काम गर्दै टाउसन युनिभर्सिटीबाट मलिक्युलर बायोलोजी, बायोइन्फर्मेटिक्स र बायोकेमेष्ट्रीमा ग्राजुयसन सके । ‘गाह्रो थियो तर मलाई रहर लाग्यो तीन वटैमा गरिदिए,’ उनले सुनाए ।

त्यहाँका एक जना प्रोफेसरले उनलाई खुबै माया गर्थे । ‘म एकदमै भाग्यमानी नै छु,’ उनी सुनिए, ‘कही न कही कसैले न कसैले माया गरिहाल्ने ।’ एकदिन ती प्रोसेफरले कपी जाँच गर्दाखेरि पछाडि लेखेछन्, ‘मलाई अफिसमा भेट्न आउनु ।’ दिगविजय प्रोफेसरलाई भेट्न गए । अफिसमा प्रोफेसरले भने, ‘म सँग अनुसन्धान गर ।’ इकोलोजी एण्ड एभोलुसनका प्रोफेसरको त्यो अफरबाट उनी उत्साहित भए । तर, अमेरिकन नागरिक नभएकाले उनले त्यो अवसर पाउनबाट बन्चित हुनुप¥यो ।

त्यसपछि हरेक वर्ष समरमा उनी इन्टर्नसीपका लागि विभिन्न युनिभर्सिटीका ल्याबहरुमा अप्लाई गर्न थाले । तेस्रो वर्षमा उनले युनिभर्सिटी अफ मेरिल्याण्डमा अवसर पाए । त्यसपछि उनले त्यहाँ रिसर्च एसिस्टेन्ट भएर एक वर्ष काम गरे । त्यहाँ पनि धेरै काम गर्ने भएपछि उनले माया गर्ने अर्का प्रोफेसर भेटे । ‘राम्रो अंक ल्याएको र उनीहरुको सन्तान नभएकाले ती प्रोफेसरको श्रीमतीले उनकै घरमै बसेर पीएचडी गर भनेर अफर गर्नुभएको थियो,’ उनी भन्छन् । तर, उनले कर्नेल युनिभर्सिटीतिर आँखा डुलाए ।

कर्नेल युनिभर्सिटीदेखि एमआईटीका नोबेल विजेताको ल्याबसम्म

कर्नेल युनिभर्सिटीमा उनले एडमिसन पाए । कर्नेल युनिभर्सिटीमा उनले ६ वर्ष पिएचडीका लागि अनुसन्धान गरे । त्यहाँ उनले प्रतिष्ठित वैज्ञानिक प्रोफेसर जोन लिसको ल्याबमा बिताएका थिए । त्यो बेला उनले ५—६ वटा रिसर्च पेपर प्रकाशित गरे । कर्नेलमा पढ्दैं गर्दा उनलाई एमआईटीको एकजना प्राफेसर खुबै मन पर्थे । ती प्राध्यापक थिए—सुजन लिंङक्युइष्ट । सुजन प्रोफेसरको काम उनलाई निकै मन पथ्र्यो । पीएचडीपछि पोष्टडक्टको लागि उनले तिनैको ल्याबमा मात्रै अप्लाई गरे ।

अन्तर्वार्ता दिए, छानिए पनि । छानेकै ल्याब पाएपछि उनी झन खुसी थिए । ‘पोष्टडकमा ल्याब निकै महत्वपूर्ण हुन्छ,’ उनी भन्छन्, ‘छानेकै ल्याब पाएपछि झन खुसी भए ।’ पोष्टडकमा एमआईटीका छानेकै प्रोफेसरको ल्याबमा अवसर पाएपनि ती प्रोफेसरलाई त्यही बेला क्यान्सर देखियो र केही समयमै देहवासन भयो । त्यही कारण उनले त्यो अवसर गुमाए ।

त्यसपछि उनले ४—५ ठाउँमा अप्लाई गरे । तर, पहिलो प्राथमिकताको बोस्टनको एमआईटी नै थियो । त्यही क्रममा सन् २०१७ मा उनले सन् १९९३ का नोबेल पुरस्कार विजेता वैज्ञानिक फिलिप ए सार्पसँग उनको ल्याब कोक इन्टिच्युट अफ इन्टरग्रेटीभ क्यान्सर रिसर्च, एमआईटीमा काम गर्ने अवसर पाए । ‘अमेरिकाको पहिलो बायोटेक कम्पनीले उहाँले नै स्थापना गर्नुभएको हो,’ महत भन्छन्, ‘जुन अहिले १ सय ६० बिलियन डलरको कम्पनी छ । उहाँले आफूसँग काम गर्न मलाई बोलाउनुभयो ।’

एमआईटीको संस्कृति नै छ प्रायः त्यहाँका हरेकले आफ्नो कम्पनी नै स्थापना गर्छन् । आफूले गरेका अनुसन्धानलाई प्रडक्टमा रुपान्तरण गरेर आम मानिससँग लैजानका लागि पनि उनीहरुले यस्ता कम्पनीहरु स्थापना गर्ने गर्छन् । फिलिपको ल्याबमा काम गर्न पाउनुलाई उनी आफ्नो अहोभाग्य सम्झन्छन् ।

अहिले उनी नोबेल विजेता फिलिपको ल्याबको एक्लो पोष्टडक हुन् । ‘उहाँको म अन्तिम ट्रेनी हो, अब अरु ट्रेनी नलिने हुनुभएको छ,’ उनले भने, ‘उहाँले जे छोएपनि सुन हुन्छ भन्ने अवधारणा छ किनभने त्यो कुरा उहाँले प्रमाणित गरिसक्नुभएको छ ।’ महत मात्रै होइन्, त्यहाँका धेरै मानिसहरु फिलिपको अन्तिम विद्यार्थी भएकोमा महतलाई गर्व गर्न भनिरहेका हुन्छन् । अहिले उनी ल्याबका सबै प्रोजेक्टहरुको जिम्मेवारी सम्हाल्छन् ।

महतको नेतृत्वमा ६ जनाको रिसर्च टिम छ । त्यो टिमले गरेको रिसर्चको रिजल्ट उनी सोमबार र शुक्रबार विहान हेर्छन् । नतिजा हेर्छन् र थप निर्देशन दिन्छन् । ल्याबको पीआईको जस्तै भूमिकामा छन् उनी । जीएसके फेलोसीप पाएका उनले यसअघि लुडविग फेलोसिप पाएका थिए । एमआईटीमा फेलोसिपहरुको कमी नहुने उनी बताउँछन् । नोबेल पुरस्कार विजेताकै ल्याब भएकाले पैसाको कुनै समस्या छैन । ‘हामीसँग अनुसन्धान गर्ने बजेट यति छ कि हामी खर्च नै गर्नु सक्दैनौं,’ दिगविजय भन्छन्, ‘नयाँ प्रयोगशालाहरु गाह्रो हुन्छ ।’ वर्षमा २.५ मिलियन डलर फिलिपको ल्याबले रिसर्चमा खर्च गर्छ ।

एमआईटी अमेरिकाको थोरै प्रतिष्ठित संस्थामा पर्छ, जसमा धेरै वटा विद्याहरु एकै थलोमा छन् । एमआईटीलाई इन्जिनियरिङ र टेक्नोलोजीका लागि बढी बुझ्ने गरिएपनि क्यान्सरको अनुसन्धानमा पनि यो धेरै अगाडि छ । कोक इन्स्टिच्युटको भवनमा एकातिर जैविक विज्ञानका ल्याबहरु छन् भने अर्कोतर्फ इन्जिनियरिङका । त्यसमा साइनटिष्ट र इन्जिनियरहरु सँगै मिलेर नयाँ आविष्कार गर्न सक्छन् भन्ने अभिप्रायले काम गरेको छ । कोभिड—१९ को भ्याक्सिन बनाएको मोर्डनालाई स्थापना गर्ने पनि क्यान्सर वैज्ञानिक नै हुन्, जो महतकै भवनमा काम गर्छन् ।

स्वदेश फर्कने हुटहुटी

लामो समय अथक मेहनतपछि दिगविजयले अमेरिकामा एउटा पहिचान बनाउन सफल भएका छन् । मलिक्युलर बायोलोजी, बायो केमेष्ट्री र बायोइन्फर्मेटिक्समा पिएचडी गरेका उनका अगाडि अमेरिकामै राम्रो ठाउँमा सेटल हुने अनेकन अवसरहरु छन् । तर, यी युवा वैज्ञानिकको भने फरक रुचि छ । उनी अमेरिकामा सेलिब्रेटी नोबेल विजेतासँग हासिल गरेको अनुभव मातृभूमीमा लगाउन चाहन्छन् ।

अमेरिकाको प्रतिष्ठित संस्थामा हासिल गरेको ज्ञान लिएर उनलाई स्वदेश फर्कने मन छ । ‘मैले सिकेको ज्ञान नेपालमै लगाउने मन छ,’ उनले भने । जसमा उनका गुरु पनि सहमति छ । मानव स्वास्थ्यमा योगदान गर्ने कुरामा मात्रै फिलिपको ध्यान छ । ‘स्ट्यान्डअप टु क्यान्सर’को नेतृत्व गर्छन्, फिलिप जोसँग ठूलाठूला सेलिब्रेटीहरु पनि जोडिएका छन् । बाँचेका नोबेल पुरस्कार विजेतामध्ये पनि फिलिप सबैभन्दा ठूला सेलिब्रेटीमध्येमा पर्छन् ।

फिलिपसँग दिगविजयको हप्तामा दुई पटक मिटिङ हुन्छ । केही दिनअघिको मिटिङमा उनले नेपालकाबारेमा चाख दिएर सुने । महतलाई सोधे, ‘कोरोनाको नयाँ भेरियन्ट आएको छ । नेपालमा सिक्वेन्सिङ के भइरहेको छ ? तिमीले सहयोग ग¥यौं ?’ उनले नेपालमा भइरहेको प्रयासबारे जानकारी गराए । महत नेपालका ल्याबहरु कसरी राम्रा बनाउने भनेर सम्भावना पनि हेरिरहेका छन्, आफूले आर्जन गरेको ज्ञानलाई पनि बाँडिरहेका छन् ।

दिगविजय नेपालमा आएर यहाँ नभएका कुराहरुमा काम गर्ने रहर छ । उनी चाहन्छन्—क्यान्सरको डाइग्नोष्टिकका लागि बाहिर जान नपरोस्, सनकका भरमा बोर्डर सिल हुँदा मान्छे डाइग्नोसिस नपाएर मर्न नपरोस् । अहिले त बढी पैसामा परीक्षणका लागि विदेश पठाउने गरिन्छ । त्यो रोक्न सकिएमा पनि नेपालका लागि ठूलो काम हुने उनले सुनाए । कोभिड—१९ को मास टेष्टको लागि ‘क्रिसपर’ प्रविधी उनकै अगुवाईमा नेपालमा प्रयोगका लागि अगाडि बढेको छ । यो प्रविधीमार्फत हुने मास टेष्ट अमेरिका र नेपालमा एकैसाथ प्रचलनमा आउनेछ ।

अनुसन्धानमा मग्न रहन रुचाउने दिगविजयलाई के कुराले सबैभन्दा बढी खुसी दिन्छ ? तीन वर्षको प्रयासपछि उनको टिमले रगतबाट एउटा—एउटा कोष हेरेर सिक्वेसिङ गर्न सकिने प्रविधी आविष्कार ग¥यो । अहिले यसको प्याटेन्ट राइट पनि फाइल भइसकेको छ । ‘त्यो आविष्कार भएर जुन दिन प्याटेन्ट आयो, त्यो दिन मलाई सबैभन्दा सन्तुष्टि प्राप्त भयो,’ उनले सबैभन्दा खुसीको क्षणबारे भने, ‘क्यान्सरको क्षेत्रमा पत्ता लागेका कतिपय कुराहरु १०—२० वर्षपछि मात्र काम लाग्ने हुन सक्छ । कतिपय कुराहरु आफ्नो जीवनकालमा अनुभव नै गर्न पाइदैन् । तर, हाम्रो आविष्कार आउनेबितिकै कम्पनीहरुले रुचि राख्न थालेपछि मलाई आशा लागेको छ ।’ तर, दिगविजयले गरेको उक्त आविष्कार उनकै जीवनकालमा मान्छेले अनुभूति गर्न पाउने सम्भावनाले उनलाई खुसी बनाएको छ ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)