×
२०७७ फागुन २०, बिहीबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रोफाइलत्रिशुली अस्पतालले बदलेको नर्स दिपाको विदेश जाने सपना

त्रिशुली अस्पतालले बदलेको नर्स दिपाको विदेश जाने सपना


नुवाकोट त्रिशुली अस्पतालकी नर्स हुन्–दिपा तामाङ । उनी यो अस्पतालमा आवद्ध भएको ६ महिना नाघ्यो । यो अवधिमा उनले समाज, राष्ट्र र कर्मप्रतिको निष्ठालाई नजिकबाट नियाल्ने मौका पाएकी छिन् । उनी त्रिशुली अस्पतालमा आउँदा त्यतिबेला कोरोनाका बिरामीको चाप बाक्लै थियो । परिवारको असमझदारीका बाबजुद पनि उनी ती कोरोना बिरामीको पीडामा मल्हमपट्टी लगाउन अग्रमोर्चामा रहेर खटिरहिन् । त्यसो त यो अवधिमा उनले जिल्ला अस्पतालमा रहेर थुप्रै अनुभव लिइसकेकी छिन् । आइएलटीएस गरेर युरोप, अमेरिका जाने सपना बुनेकी दिपाले अहिले त्यो सपनालाई पूर्णविराम लगाइदिएकी छिन् ।

उनमा राष्ट्रभाव र आफ्नै समाजमा योगदान गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ ।धादिङको सेम्जोङमा जन्मिएकी तामाङको बाल्यकाल नुवाकोटको सदरमुकाम विदुरमा बित्यो । मध्यम वर्गीय परिवारमा बाबु चन्द्रबहादुर तामाङ र आमा मीना तामाङको कोखबाट जन्मिएकी दिपाले नर्सरीदेखि कक्षा ६ सम्म विदुरमा रहेको त्रिशुली सामुदायिक बोडिङ स्कुलबाट अध्ययन पूरा गरिन् । पढाइमा अब्बल रहेकी उनले कक्षा ७ देखि १० सम्मको पढाइ स्टार इङग्लिस बोर्डिङ स्कुलबाट पूरा गरिन् । वि.सं. २०७२ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनको कक्षा ९ मा पढ्दामा नै नर्स बन्ने इच्छा जागेको थियो ।

कक्षा ९ मा पढ्दै गर्दा उनको हजुरबुबा बिरामी भए । हजुरबुबालाई उपचारका लागि त्रिशुली अस्पतालमा ल्याइयो । उनी पनि सँगै आएकी थिइन् । त्यतिबेला उनले सेतो एप्रोनमा सजिएका नर्सहरुलाई देखिन् । एप्रोन लगाउन उनलाई ठूलो रहर लाग्यो । नर्स बनेपछि मात्र त्यो एप्रोन लगाउन पाइने रहेछ भन्ने थाहा पाएसँगै एसएलसीपछि नर्सिङ अध्ययन गर्ने निधो गरेको उनी बताउँछिन् । ‘हजुरबुबालाई उपचार गर्न अस्पताल जाँदा पहिलोपटक सेतो एप्रोनमा सजिएका नर्स दिदीहरुलाई देखेँ,’ उनी भन्छिन्, ‘त्यतिबेला नर्सिङ प्रोफेसनभन्दा पनि एप्रोन लगाउने रहरले नर्सिङ पढ्ने निधो गरेको थिएँ ।’

एसएलसी उत्तीर्ण भएपछि उनी पीसीएल नर्सिङ अध्ययनका लागि त्रिशुली मेडिकल कलेज नुवाकोटमा भर्ना भइन् । ३ वर्षको पीसीएल नर्सिङमा पनि राम्रो अंक ल्याएर उत्तीर्ण गरिन् । पीसीएल नर्सिङको पढाइ सकिएसँगै उनी लाइसेन्सको परीक्षा दिनका लागि काठमाडौं आइन् । त्यतिबेला उनलाई कतै लाइसेन्स ननिस्किने पो हो कि भन्ने ठूलो डर थियो । त्यही डरले तीन रात नसुतिकनै पढेर लाइसेन्सको परीक्षा दिएको उनी सुनाउँछिन् । परिणामस्वरुप उनको लाइसेन्समा नाम निस्कियो ।

नर्सिङ सकिएपछि साथीहरुको लहैलहैमा उनले युरोप, अमेरिका जाने सोच बनाएकी थिइन् । त्यसो त उनले काठमाडौं आएर आइएलटीएस कक्षा समेत लिइसकेकी थिइन् । त्यहिबीचमा नुवाकोट त्रिशुली अस्पतालमा नर्सिङ स्टाफका लागि विज्ञापन खुलेको थाहा पाइन् । उनले आवेदन दिइन् । त्यसमा नाम निस्कियो । कोभिड–१९ को महामारीका कारण उनका आमाबाबुले भने तत्कालै जागिर नखान दबाब दिएका थिए । ‘बुबाममीले मलाई कोभिडको बेलामा जागिर खानु पर्दैन भन्नुभएको थियो,’ उनले भनिन्, ‘तर, देश दुखेको बेला हामीजस्तो स्वास्थ्यकर्मी घरमा बस्नु हुँदैन भन्ने लागेर त्रिशुली अस्पतालमा जागिरका लागि आवेदन दिएको हुँ ।’ उनीसँगै पीसीएल नर्सिङ अध्ययन गरेका कतिपय साथीहरु विदेश गइसके भने कतिपय जाने तयारीमा छन् । तर, दिपाले भने अब विदेश नजाने सोच बनाइसकेकी छिन् । ६ महिनाको अवधिमा उनमा आफ्नै देशमा केही गरौं भन्ने भावना जागेको छ । काठमाडौं गएर समेत जागिर खाने उनको सोच पनि छैन । आफैं हुर्केको ठाउँको अस्पतालमै सेवा गर्छु भन्ने भावना पलाएको उनी बताउँछिन् ।

जागिर सुरु गर्नुभन्दा पहिला अध्ययनको सिलसिलामा प्राक्टिकलका लागि उनी यस अस्पतालमा काम गर्थिन् । त्यतिबेला ड्युटी रजिस्टरमा सिनियर नर्सहरुको नाम देख्दा उनलाई पनि आफ्नो यसैगरी नाम कहिले लेख्न पाइएला भन्ने लाग्थ्यो । अहिले उनको नाम पनि ड्युटी रजिष्टरमा दर्ता भएको छ । त्यसैमा उनी गर्व गर्छिन् । आमाबुबाले भने उनलाई डाक्टर बनेको हेर्न चाहेका थिए । तर, एप्रोन लगाउने रहरले उनलाई नर्स तर्फ तानिरह्यो ।  तैपनि, उनी नर्सिङ पेसामै रमाइरहेकी छिन् । बिरामीसँगको सामीप्यतामा उनी रमाउन थालेकी छिन् । ‘सायद म डाक्टर भएका भए यति धेरै बिरामीसँग नजिक हुँदैन थिएँ होला,’ उनी भन्छिन्, ‘जब म नर्स भएर बिरामीलाई जति केयर दिन सक्थें । डाक्टर भएर त्यति दिन सक्दिन थिएँ होला त्यसैले मलाई नर्सिङ पेसा निकै मनपर्छ ।’

अस्पतालमा सुरुमा उनको ड्युटी जर्नल वार्डमा तोकिएको थियो । केही समयपछि उनको ड्युटी इमर्जेन्सीमा सारियो । इमर्जेन्सीमा सारिएको दिन उनी निकै डराएकी थिइन् । जनरल वार्डमा गरिरहेको मान्छे इमर्जेन्सीमा जानुपर्दा बिरामी धेरै आउलान् राम्रो काम गर्न पो नसकिने हो कि भन्ने डर लागेको उनी बताउँछिन् । उनको इमर्जेन्सीमा ड्युटी परेको पहिलो दिन नै बिरामीको चाप निकै बढ्यो । तर, उनले आत्मविश्वास बढाएर काम गरिन् । उनी बिरामीलाई नम्र बोलीमा केयर गर्छिन् ।

त्यसैले उनलाई अस्पतालमा आएका बिरामीले माया गर्छन् । ‘म बिरामीलाई राम्रो व्यवहार गर्छु । त्यसैले उहाँहरुले पनि मलाई राम्रो व्यवहार गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘तिनै बिरामीले दिएको माया र आर्शिवादले मेरो विदेशिने मोह हट्यो ।’  २८ हजार रुपैयाँ पारिश्रमिकमा बिरामीको सेवामा खटिएकी नर्स दिपा आफ्नो पारिश्रमिकप्रति सन्तुष्ट÷खुशी छिन् । त्यो भन्दा बढी बिरामीले गरेको माया र आर्शिवादले उनमा देशप्रतिको प्रेमाभाव जागृत गराएको छ ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस