×
२०७८ वैशाख २३, बिहीबार
×
गृहपृष्ठप्रोफाइलनर्स सुष्माको स्वयंसेवीदेखि नर्सिङ इन्चार्जसम्मको यात्रा

नर्स सुष्माको स्वयंसेवीदेखि नर्सिङ इन्चार्जसम्मको यात्रा


त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालकी नर्सिङ इन्चार्ज हुन्– सुष्मा अधिकारी । विगत ६ वर्षदेखि यस अस्पतालमा आवद्ध अधिकारीले यो अवधिमा नर्सिङ पेसाका बारेमा पर्याप्त अनुभव हासिल गरिसकेकी छिन् । ७ वर्षकै उमेरदेखि नर्स बन्ने सपना बुनेकी अधिकारीले विभिन्न असफलताका बाबजुत पनि नर्स बन्न सफल भएकी छिन् ।

भक्तपुरको बालकोटमा जन्मिएकी अधिकारीले विद्यालय तहको शिक्षा दधिकोटस्थित शंकर इनटरनेशनल इङलिस बोर्डिङ स्कुलबाट पुरा गरेकी हुन् । २०६६ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेसँगै नर्सिङ पढ्ने उनको सोच थियो । सबै उनले सोचेजस्तो कहाँ हुन्थ्यो र ! महाराजगञ्जस्थित महाराजगञ्ज नर्सिङ क्याम्पसमा इन्ट्रान्स परीक्षा दिइन् । तर, नाम निस्किएन । त्यतिबेला कतै ७ वर्षदेखिको नर्सिङ बन्ने चाहना बिचैमा तुहिने पो हो कि भन्ने चिन्ताले सताउन थाल्यो ।

मनमा नर्सिङ पढ्ने इच्छा हुँदाहुँदै पनि नाम ननिस्किएपछि उनी होटल म्यानेजमेन्ट अध्ययनका लागि नयाँठिमीस्थित सी बर्ड इन्टरनेशनल कलेजमा भर्ना भइन् । होटल म्यानेजमेन्टमा भर्ना भएपनि उनको इच्छा भने नर्स बनेर सेतो एप्रोन लगाउने र बिरामीको सेवा गर्ने नै थियो । कक्षा ११ मा होटल म्यानेजमेन्ट अध्ययन पुरा गरेपछि १२ मा पढ्दै गर्दा उनले सिटीइभीटीअन्तर्गतको श्रद्धा कलेज अफ हेल्थ साइन्स नयाँ ठिमीमा नर्सिङका लागि प्रवेश परीक्षा दिइन् । त्यसमा उनको नाम निस्कियो । त्यो सफलताले उनमा खुशीको सीमा रहेन । ‘७ वर्षको उमेरदेखि नर्स बन्ने चाहना राखेको थिएँ तर नाम ननिस्किँदा निकै चिन्ता लागेको थियो,’ उनले भनिन्, ‘जब श्रद्धामा नर्सिङ अध्ययनका लागि नाम निस्कियो त्यतिबेला मेरो खुशीको सिमा रहेन ।’

सानैदेखि नर्स बन्ने अनि सेतो एप्रोनमा सजिएर बिरामीको सेवा गर्ने उनको चाहनामा परिवारले पनि साथ दियो । ७ वर्षको उमेरमा पहिलोपटक अस्पताल पुगेकी उनले त्यतिबेला देखि नै हो नर्सको सपना देखेको । जुनबेला उनी हजुरबुबासँग जिजुबुबाको उपचारका लागि छाउनी अस्पताल गएकी थिइन् । त्यहाँ सेता एप्रोनमा सजिएर नर्सहरुले आफ्नै बुबाआमालाई जस्तो सेवा गरेको देखिन् । ती दृश्यले नर्स बन्ने चाहना प्रस्फुटन भएको उनी बताउँछिन् । ‘जिजुबुबा बिरामी भएर छाउनी अस्पतलामा भर्ना गरिएको थियो त्यतिबेला हजुरबुबासँग म पनि छाउनी अस्पतला गएको थिएँ,’ २६ वर्षीया अधिकारी भन्छिन्, ‘त्यहाँ मैले डाक्टर तथा नर्सहरु सेता एप्रोनमा सजिएको देखें अनि उहाँहरुले त्यतिबेला बिरामीहरुलाई आफ्नै बाआमा जस्तै गरि केयरिङ गरेको देखेर मलाई पनि नर्स बनेर यस्तै सेवा गर्ने भाव पैदा भएको थियो ।’

यही सेवाभावले हुनुपर्छ उनले नर्सिङमा नाम निस्किएपछि पढ्दै गरेको होटल म्यानेजमेन्टलाई ब्रेक लगाएर नर्सिङलाई अघि बढाइन् । श्रद्धाबाट तीन वर्षको पीसीएल नर्सिङको अध्ययन पुरा गरेसँगै उनले त्यहिँबाट लाइसेन्स पनि निकालिन् । लाइसेन्स निकालिसकेपछि उनले विभिन्न निजी अस्पतालहरुमा जागिरका लागि बायोडाटा छोड्दै हिँडिन् । त्यतिबेला उनले नागरिक अस्पताल, मद्यपुर अस्पताल, ब्लु क्रस लगायतका अस्पतालमा आफ्नो वैयक्तिक विवरण छोडेकी थिइन् । तर, एक महिना बितिसक्दा कुनैपनि अस्पतालले जागिरका लागि बोलाएनन् । त्यतिबेला निकै तनाव भएको उनी बताउँछिन् ।

यहीबीचमा उनलाई डेढ महिनापछि ब्लु क्रस अस्पतालबाट अन्तर्वार्ताका लागि आउनु भन्दै फोन आयो । त्यसपछि २०७१ फागुन ३ गतेबाट उनी ब्लु क्रस अस्पतालमा आवद्ध भइन् । सुरुमा उनलाई अस्पतालले भोलेन्टियर अर्थात स्वयम्सेवकको रुपमा नियुक्त गरेको थियो । तैपनि उनी जागिर पाएकोमा निकै खुशी थिइन् । एकवर्षपछि उनी अस्पतालको स्थायी कर्मचारी भइन् । यो सँगै उनको सेवा सुविधा पनि वृद्धि भयो । ब्लु क्रसमा काम गरेको २ वर्ष पुरा भएपछि उनले कोटेश्वरमा रहेको नागरिक कलेज अफ हेल्थ साइन्समा ब्याचलर अफ नर्सिङका लागि भर्ना भइन् । उनी त्यहाँ पढ्ने भएपनि ब्लुक्रसमै काम गर्थिन् । उनको बिएन सकिएको केही महिनापछि नेपालमा कोरोना महामारी सुरु भयो । बिस्तारै ब्लुक्रसमा पनि कोरोनाका बिरामी आउन थाले । उनले कोेभिड वार्ड र इमर्जेन्सीमा फ्रन्टलाइनमा रहेर काम गरिन् । सुरु–सुरुमा कोभिडका बिरामी आउँदा भने उनलाई कतै आफू पनि संक्रमित भइने पो हो कि भन्ने डर लाग्थ्यो ।

डरलाई जित्दै कोरोना संक्रमितको हेरचाहमा खटिइन् । घरपरिवारले पनि महामारीको बेला काम नगर भन्दै उनलाई दबाब दिएका थिए । तर, घरमा बुबाआमालाई यस्तो बेलामा पनि हार मानेर घर बसियो भने यति धेरै दुःख गरेर नर्सिङ पढेको अर्थ हुँदैन भनेर सम्झाएको उनी बताउँछिन् । ‘मैले बिरामीहरुको सेवा गर्ने उद्धेश्यले नै नर्सिङ विषय पढेको हुँ,’ उनले भनिन्, ‘देशले कोभिड–१९ को युद्ध लडिरहेको बेलामा म जस्तो स्वास्थ्यकर्मी डराएर घरमा बस्नु हुँदैन भन्ने लाग्यो अनि निडर मन लिएर कोभिड संक्रमितको उपचारमा संलग्न भएँ ।’

कोभिड–१९ को महामारीकै बीचमा अस्पतालले उनको कामको मूल्यांकन गरेर उनलाई नर्सिङ इन्चार्जमा बढुवा ग¥यो । यसरी अस्पतालले कामको मूल्यांकन गरेर स्तर वृद्धि गर्दा काम गर्ने हौसला बढेको उनी बताउँछिन् । मध्यम वर्गिय परिवारमा जन्मिएकी अधिकारीका नर्सिङ पढ्दाका अधिकांश साथीहरु विदेश पलायन भैसकेका छन् । तर, उनले भने अहिलेसम्म विदेशिने सोच बनाएकी छैनन् । ‘नेपालमा नर्सिङको तलब खासै राम्रो छैन,’ उनी भन्छिन्, ‘यही अवस्थाले गर्दा अधिकांश नर्सहरु विदेशिन बाध्य हुन्छन् तर मलाई भने आफ्नै देशमा सेवा गर्ने धोको पुगेको छैन ।’

 


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)