×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलअमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर

अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर


करिब डेढ वर्षअघि । अमेरिकाको सियाटलस्थित फिलिप्स हेल्थकेयरमा काम गर्थे—नेपाली युवा इन्जिनियर दिवस सापकोटा । त्यही क्रममा एक बैठकमा सुनेको घटनाले उनको जीवनमा सदैव उर्जा थपिरहन्छ । वर्षको दुई तीन पटक फिलिप्सको टाउनहलमा बैठक बस्थ्यो । सदैव प्रेरणा दिइरहने यो प्रसंग पनि त्यही टाउनहल बैठक कक्षमा उनले सुनेका हुन् ।

टाउनहलमा भएको एक बैठकमा अमेरिकन आर्मीका केही रिटायर्ड अफिसरहरु पनि सहभागी थिए । उनीहरुले आ—आफ्ना कुराहरु सेयर गरिरहेका थिए । तिनैमध्येका एक जना रिटायर्ड आर्मीले आफ्नो कथा सुनाउन थाले । एकपटक उनी साथीहरुसँगै पहाडमा हाइकिङ गएका रहेछन् । पहाड चढ्नुपूर्व केही तलसम्म उनको टिम नै हेलिकप्टरमा लिएर पुगेको । हाइकिङका क्रममा अचानक ती व्यक्तिलाई हर्टअट्याक भयो । साथीहरुले उनलाई बोकेर हेली भएको ठाउँमा ल्याए । हेलीमा रहेको फिलिप्सको ‘एईडी डिभाइस’ सहायताबाट उनी बाँच्न सफल भए । हेलीमा एईडी डिभाइस नभएको भए उनको जीवनबारे केही भन्न सकिने अवस्था थिएन ।

आफूहरुले बनाएको डिभाइसका कारण जीवन बाँचेका व्यक्तिबाटै यो कुरा सुनेपछि त्यो बैठकमा सहभागी फिलिप्सका कर्मचारीहरु हर्षविभोर भए । यो त एउटा उदाहरण मात्रै हो । अहिलेको वैज्ञानिक युगमा मेडिकल डिभाइसअन्तर्गत सामान्य ह्याण्डीप्लास्टदेखि मुटु ट्रान्सप्लान्ट र पेसमेकरजस्ता जटिल प्रविधीहरु विकास भएका छन् । जसले दैनिक हजारौं मानिसहरुको जीवन बचाउन र सहज बनाउन सहयोगी भूमिका खेलिरहेको छन् । नेपाली युवा सीप पनि त्यस्ता मेडिकल डिभाइसहरु निर्माणमा खर्चिइरहेको छ । त्यसैका एक प्रतिनिधी उदाहरण हुन्—दिवस । अहिले उनी इन्टेग्रा लाइफसाइन्सेज मासाचुसेट्समा प्याकेजिङ इन्जिनियर (आरएण्डडी इन्जिनियर) काम गर्छन् । इन्टेग्रा क्रिटिकल मेडिकल डिभाइस बनाउने कम्पनी हो ।

नेपालदेखि अमेरिका र त्यहाँ पनि जिमर, फिलिप्स हुँदैं इन्टेग्रासम्मको बाटो दिवसले केवल २८ वर्षमै तय गरेका हुन् । वि.सं. २०४९ साल फागुनमा झापाको भद्रपुरमा जन्मिएका हुन्, उनी । मध्यमवर्गीय परिवारमा जन्मिएका उनका बुवा दामोदर सापकोटा मेची क्याम्पसका प्राध्यापन गर्थे । त्यसबाहेक उनी अभिवक्ता एवं चिया व्यवसायी पनि थिए । आमा देवी सापकोटा भने गृहणी । दामोदर र देवीका दुई सन्तानमध्ये दिवस जेठा हुन् ।

राम्रो पारिवारिक वातावरण भएका कारण उनको शिक्षादीक्षामा कुनै प्रकारको कमी परिवारले रहन दिएन । स्थानीय एमबर्ड एकेडेमीबाट उनले कक्षा ५ सम्म अध्ययन गरे । त्यसपछिको शिक्षादीक्षा उनको सिद्धार्थ शिशु सदनमा भयो । त्यहीबाट उनले सन् २००९ मा एसएलसी उत्तीर्ण गरे । ‘राम्रो पारिवारिक वातावरण थियो त्यही कारण राम्रो स्कुलमा पढेँ,’ दिवस भन्छन्, ‘मैले एसएलसी दिएको झापाको सिद्धार्थ शिशु सदन त्यहाँको राम्रो स्कुल नै हो ।’ स्कुले जीवनमा उनी क्रिकेट र फुटबल हेर्न खुबै रुचाउँथे । तर, उनलाई खेल्ने रुचि भने थिएन् । साथै, उनलाई अटोबायोग्राफीहरु खुबै मन पर्थे ।

गणित मन पराउने भएकाले बाल्यकालदेखि उनको फिजिक्सतिर बढी आकर्षण थियो । ‘बुवासँग दक्षिण भारत घुमेकाले मलाई मेकानिकल इन्जिनियर बन्न मन थियो,’ उनी बाल्यकालको कुरा सुनाउँछन् । एसएलसी सकेपछि उच्च शिक्षाका लागि काठमाडौं आएका दिवस त्यही कारण लैनचौरस्थित निष्ट कलेजमा फिजिक्स लिएर प्लस टु अध्ययन गर्न थाले । त्यहीबाट उनले प्लस टु सक्काए । प्लस टु पछि उनी मेकानिक इन्जिनियरिङ पढनका लागि भारत गए । कर्नाटकको विश्वेश्रया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१५ मा मेकानिकल इन्जिनियरिङमा बीई गरे । नेपाल फर्केर केही समय बसेपछि थप उच्च शिक्षाका लागि अमेरिका उडे ।

सन् २०१८ मा दिवसले अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिङमा एमएस गरे । त्यसमा पनि उनले मेडिकल डिभाइस म्यानिफ्याक्चरमा एमएस गरेका थिए । त्यसपछि उनले अमेरिकाकै युनिभर्सिटी अफ कम्बरल्याण्डसमा प्रोजेक्ट म्यानेजमेन्टमा एसएस गरिरहेका छन् । पढाइ सकिएको झण्डै ३—४ महिनापछि मात्रै जागिर सुरु गरेका हुन् ।

जिमर, फिलिप्स हुँदैं इन्टेग्रा लाइफ साइन्सेजसम्म

सन् २०१८ मा एबर्ट ल्याब्रोटोरिजले दिवसलाई जागिरका लागि अफर गर्‍यो । उनले अन्तर्वार्ता पनि दिए । तर, एबर्टले अमेरिकनलाई प्राथमिकता दियो । एबर्ट ल्याब्रोटोरिज एचआईभी एड्सको टेष्ट गर्न लाइसेन्स पाउने संसारकै पहिलो कम्पनी हो । यसले सन् १९८५ मा पहिलो पटक त्यो लाइसेन्स पाएको थियो ।

मेकानिकल इन्जिनियर बन्ने सपना पालेका दिवसलाई भाग्यले डोर्‍याउँदैं फेरि मेडिकल म्यानिफ्याक्चरिङतर्फ लग्यो । ‘भाग्यमा मेडिकल डिभाइसमा करिअर बनाउन लेखेको रहेछ,’ उनले करिअर किस्सा खोले, ‘सबैभन्दा पहिले जिमर बायो मेडिकलमा जागिर पाएँ ।’ यो कम्पनीले अर्थोसम्बन्धी इम्प्लान्टहरु निर्माण गथ्र्यो । जिमरमा उनले क्लालिटी कन्सल्ट्यान्टका रुपमा ६ महिना बिताए ।

‘मेडिकल डिभाइस विद्या एकदमै भास्ट कुरा हो,’ दिवस भन्छन्, ‘नेपालमा अहिलेसम्म पनि यस्ता डिभाइसहरुको नियमन नीति बनिसकेको छैन । त्यही कारण त्यहाँ धेरै आइडिया छैन् ।’ उनकाअनुसार संसारमा सबैभन्दा बढी कडा कानुन भएको र नियमन हुने क्षेत्रमा मेडिकल डिभाइस प्रडक्ट पनि पर्छ । हुन पनि हो, मेडिकल डिभाइस सिधैं बिरामीको शरीरसँग जोडिने भएकाले पनि यसको प्रभावकारी नियमन जरुरी हुने गर्छ । ‘बिरामीको हेल्थ, सेफ्टी, रिस्कमा आधारित उधोग हो,’ उनी प्रष्टयाउँछन्, ‘उधोगमा उत्पादन भएको प्रडक्ट सिधैं बिरामीको शरीरमा लाग्ने भएकाले पनि यो अति संवेदनशील उधोग हो ।’

६ महिना जिमरमा काम गरेपछि दिवसले फिलिप्स हेल्थकेयरमा सप्लायर्स क्वालिटी इन्जिनियरको जागिर गर्न गए । सियाटलस्थित फिलिप्स हेल्थकेयरमा अलग्गै प्रकारको वातावरण थियो । ‘फिलिप्स हेल्थकेयरमा मैले सबैभन्दा ठूलो एक्स्पोजर पाएँ,’ उनी भन्छन्, ‘फिलिप्समा मैले इलेक्ट्रोनिक्स एक्सटर्नल डिभिजनमा काम गरे । यो फिलिप्सको इलेक्ट्रोनिक्स डिभिजनपछिको सबैभन्दा ठूलो डिभिजन हो ।’

फिलिप्सको एक डिभिजनमा मात्रै ४—५ हजार कर्मचारी कार्यरत रहेको उनी बताउँछन् । दिवस काम गर्ने डिभिजनले नै लाइफ थ्रेटनिङ कम गर्ने एउटा पोर्टेबल इलेक्ट्रोनिक्स डिभाइस ‘एईडी’ बनाउँछ, जसले मुटुको धडकन रोकिएका बिरामीलाई कृत्रिम धड्कन दिएर ज्यान जोगाउन सहयोगी भूमिका खेल्छ । अमेरिकालगायतका धेरै देशहरुमा विभिन्न उधोग, कम्पनीहरुका भित्तामा यो डिभाइस झुन्डाइएको हुन्छ । १८ महिना फिलिप्समा काम गरेपछि उनले त्यहाँको जागिर छादिदिए ।

सन् २०२० को डिसेम्बरदेखि उनी इन्टेग्रा लाइफसाइन्सेज मासाचुसेट्समा प्याकेजिङ इन्जिनियर (आरएण्डडी इन्जिनियर) का रुपमा सक्रिय छन् । यो पनि हेल्थकेयरमा काम गर्ने कम्पनी नै हो । जिमर, फिलिप्सको तुलनामा नयाँ कम्पनी भएपछि यसले क्रिटिकल प्रडक्टहरुमा धेरै बनाउँछ । त्यही कारण उनको यो जागिर अझ संवेदनशील छ । अहिले उनी कम्पनीको रिसर्च एण्ड डेभलपमेन्टका कामहरु पनि हेर्छन् ।

मानिसको जीवन र स्वास्थ्यसँग सम्बन्धित यस्ता लाइफ डिभाइसहरु निकै संवेदनशील मानिन्छन् । त्यसैले यस्ता डिभाइस निर्माताहरुका लागि पनि कठोर नीति—नियमहरु तर्जुमा गरिएका हुन्छन् । यसको बेचबिखनका लागि पनि त्यही किसिमका पर्खालहरु खडा गरिएका हुन्छन्, जुन पर्खाल पार गर्दा ती प्रडक्टहरुको गुणस्तर सुनिश्चित गर्न सकिन्छ । मानिसका जीवनसँग सम्बन्ध यस्ता प्रडक्टहरु बनाउँदा विभिन्न चुनौतीहरु रहन्छन् ।

‘मानिसको शरीरमा राख्ने बेलासम्म कसरी गुणस्तरीयता कायम गर्ने, कसरी ब्याक्टेरिया फ्री बनाउनेजस्ता कुराहरु एकदमै महत्वपूर्ण हुन्छन्,’ दिवस भन्छन्, ‘जसलाई इन्जिनियरिङको भाषामा प्याकेजिङ भनिन्छ ।’ अमेरिकन कम्पनी इन्टेग्रा लाइफसाइन्सको यही प्याकेजिङ इन्जिनियरको संवेदनशील भूमिकामा छन्—दिवस ।

‘इन्टेग्राले जति पनि डिभाइस बनाउँछ, त्यो डिभाइस बिरामीको शरीर र डाक्टरको हातसम्म पुर्‍याउनका लागि हामीले एकदमै क्वालिटी मेन्टेन गर्नुपर्छ,’ हालैको एक विहान उनले हेल्थआवाजसँग सुनाए, ‘ब्याक्टेरिया फ्री, स्टेरिलाइजेसन गर्ने काम गर्दै दिन बित्छ ।’ यिनै कामहरुमा हप्ताको ४० घण्टा समय बिताउँछन्, उनी । चीन, युरोपजस्ता देशमा रहेका टिमसँग काम गर्दा कहिलेकाही रातभर पनि उनी काममै तल्लीन रहन्छन् ।

कोभिड—१९ को समयमा पनि संसारमा धेरै मानिसहरु कार्यलय बन्द गरेर छुट्टीमा बसे । तर, दिवसहरुको काम अझै धेरै बढ्यो । ‘कोभिड—१९ का बेला चिकित्सक र नर्सलाई मात्रै फ्रन्टलाइनर भनियो,’ उनले सुनाए, ‘तर, हामीले मेडिकल डिभाइसहरु बनाउन कहिल्यै रोकेनौं । यो समयमा झन बढी काम गर्‍यौं ।’ कोभिड सुरु भएदेखि उनले छुट्टी समेत पाएका छैनन् । तर, उनी आफूले गरिरहेको काम र पेशाप्रति सन्तुष्ट छन् । भन्छन्, ‘यो पेशाले एकदमै सन्तुष्टि दिन्छ ।’

पहिले विश्वको विकसित मुलुक अमेरिकामा मेडिकल डिभाइसमा काम गरिरहेका दिवसले अहिले नै भविष्यमा के गर्ने भनेर छुट्टै योजना बनाइसकेका छैनन् । तर, मुलुकका लागि पनि आफ्नो तर्फबाट सक्दो योगदान गर्न उनी तयार छन् । भन्छन्, ‘नेपालमा मेडिकल डिभाइसको नियमन गर्ने कानुन र नियमनकारी निकायको अभाव देख्छु ।’ उनी नेपाल सरकारले बिरामीको जीवनसँग जोडिएका यस्ता डिभाइसहरुको नियमन प्रभावकारी बनाउन समेत सुझाव दिन्छन् ।


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)