×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलकर्णालीका मानक डा. मंगल : जो दूरदराजमा विशेषज्ञ सेवा पुर्‍याउन चाहन्छन्

कर्णालीका मानक डा. मंगल : जो दूरदराजमा विशेषज्ञ सेवा पुर्‍याउन चाहन्छन्


दुर्गम कर्णालीका चिकित्सकमाझ दशकयता एक युवा चिकित्सकको नाम केन्द्रमा छ—डा. मंगल रावल । सोमबारमात्रै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)को कार्यबहाक भिसी भएका उनी उदाउँदा युवा नेतृत्व हुन् । ड्रिम कासको मुलमन्त्र लिएर कर्णालीको स्वास्थ्यमा आमूल परिवर्तन ल्याउने उनको लक्ष्य हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रेजिडेन्ट एशोसियसन अफ न्याम्स (र्‍यान)को अध्यक्ष हुँदैं काठमाडौंका युवा चिकित्सकमाझ चर्चामा आएका डा. मंगललाई धेरैले कर्णालीका दूरदराज वस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने म्याराथन दौडला भनेर कल्पनासम्म गरेका थिएनन् । तर, स्वास्थ्यको पहुँच नभएको कर्णालीको दुर्गम वस्तीमा तीन पटक आफ्नी आमा मृत्युसँग लडेको मर्मस्पर्शी दृश्य आफ्नै आँखाले देखेका डा. मंगल दशकअघि नै कर्णालीको त्यो स्वास्थ्य अवस्था फेर्ने योजना बुनिरहेका थिए ।

हुनत उनीसँगैका चिकित्सा शिक्षा अध्ययन गरेका एक दर्जन बढी सहपाठीहरु अहिले युएसएमएलई गरेर अमेरिकी संसारमा रमाइरहेका छन् । तर, कर्णालीमा स्वास्थ्य सेवालाई सहज बनाउने योजनामा तल्लीन ३७ वर्षीय डा. मंगल अहिले पनि कर्णालीका गाउँवस्ती धाइरहेका छन् । कहिले टुकीको उज्यालोमा बिरामी जाँच्न मुगुका विकट वस्ती पुग्छन्, कहिले पिठ्युमा सर्जरीका सामानहरु बोकेर हुम्लाका विकट वस्तीका नागरिकलाई स्कुलका चौरमा शल्यक्रिया गरिरहेका हुन्छन् । कुस्त कमाइ र विलासी जीवनशैली । यो सपनामा बाँचिरहेको अहिलेको पुस्तामाझ डा. मंगल साँच्चै मानक नै हुन् ।

हुम्लाका सर्केघाट गाउँपालिका—०४ मा वि.सं. २०४० सालमा जन्मिएका हुन्— डा. मंगल । बुवा जयरुप रावल र आमा धर्मकला रावलका पाँच सन्तानमध्ये उनी कान्छा हुन् । विकट हुम्ला जिल्लामा जन्मिएपनि उनका बुवा जयरुप स्थानीय राजनीति र समाजसेवामा संलग्न भएका । त्यही कारण जयरुपले शिक्षाको महत्व बुझेका थिए । ‘बुवाले सबै काम छोडेर पढ्नुपर्छ भन्ने गर्नुहुन्थ्यो,’ डा. मंगल सम्झन्छन्, ‘काठमाडौं पढाउने कुरा पनि भएको थियो । तर, पढाइ राम्रो भएकोले गाउँमै पढेँ ।’ उनका बुवा हरबखत आफू काममा सक्रिय भएर सन्तानलाई पढाइमा लाग्न प्रेरित गरिरहन्थे ।

त्यहीकारण डा. मंगल र उनका सबै दाजुहरुले शिक्षालाई महत्व दिए । डा. मंगलको प्रारम्भिक शिक्षादीक्षा स्थानीय हिमज्योती माध्यमिक विद्यालयमा भएको हो । उनी त्यो स्कुलमा ३ कक्षादेखि एसएलसीसम्म सधैँ प्रथम भएँ । वि.सं. २०५६ सालमा एसएलसी उत्तीर्ण गरेका उनी आफ्नो ब्याचका जिल्ला टपर हुन् । ‘स्कुल जान धेरै समय लाग्थ्यो । यातायातको सुविधा अहिले भर्खरै आउँदैछ,’ उनले सुनाए, ‘त्यस्ता समस्याका बाबजुद पनि सदरमुकाम बाहिरको स्कुलबाट टप गर्ने म पहिलो थिएँ ।’

एलएलसीपछि उच्च शिक्षाका लागि उनी काठमाडौं आए । काठमाडौं अस्कल क्याम्पसमा बायोलोजी लिएर आईएस्सी पढ्न थाले । वि.संं. २०५८ सालमा अस्कलबाट उनले आईएस्सी उत्तीर्ण गरे । आईएस्सी सकिएपछि उनले एमबीबीएसको छात्रवृत्तिका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्ट्रान्स दिए । इन्ट्रान्समा नाम निस्किएपछि एमबीबीएस पढ्न धरान गएँ । धरानमा पढ्दा पनि उनी सामाजिक कार्यमा त्यतिकै सक्रिय रहे । त्यहाँको सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नामक संस्थाको विद्यार्थी च्याप्टरको दोस्रो कार्यकालको अध्यक्ष भए । त्यही बेला झापामा उनीहरुले कम्युनिटी लाइव्रेरी बनाए, साउथ एसियनस्तरको मेडिकल विद्यार्थीको क्लाइमेट चेन्ज विषयमा सेमिनारलगायतका कार्यहरु सम्पन्न गरे । यतिमात्र होइन् उनी अध्यक्ष हुँदा त्यहाँको स्थानीय गणतन्त्र एफएममा एमबीबीएसका विद्यार्थीहरुले नै ‘हाम्रो स्वास्थ्य, हाम्रो सरोकार’ कार्यक्रम चलाउन सुरु गरे । धरानबाट साढे पाँच वर्षमा एमबीबीएस सकेपछि केही समय प्रतिष्ठानमै काम गरे ।

एमडीका लागि धरानमै इन्ट्रान्स दिए । छात्रवृत्तिमै एमडीमा गर्ने अवसर पनि पाए । त्यसैबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा छात्रवृत्ति खुल्यो । ‘प्रतिष्ठानले इन्ट्रान्स लियो र अर्थोपेडिक्सको इन्टरनल सेलेक्सनमा नाम निक्ल्यो,’ डा. मंगल भन्छन्, ‘न्याम्समा अर्को इन्ट्रान्स दिनुपर्ने भयो । त्यसमा पनि नाम निस्कियो ।’ त्यसपछि अर्थोपेडिकमा उनले न्याम्सबाट पिजी गरे । ‘न्याम्सको बसाइँ जुन मेरो लागि निकै विशेष छ,’ यी उर्जाशील चिकित्सक भन्छन्, ‘सन् २०१३ को कुरा हो । म त्यहाँ रेजिसडेन्ट एसोसिएसन अफ न्याम्सका ३—४ सय जनामा रेजिडेन्टबाट पहिलो निर्वाचित अध्यक्ष भएँ । त्यसअघि कहिल्यै निर्वाचित अध्यक्ष भएका थिएनन् ।’

न्याम्समा त्यसअघि जहिले पनि तेस्रो वर्षका विद्यार्थीले अध्यक्ष हुनुपर्ने मान्यता थियो । तर, डा. मंगलले त्यो परम्परा अन्त्य गर्दै दोस्रो वर्षमै अध्यक्ष निर्वाचित भएर नेतृत्व लिए । ‘तेस्रो वर्षमा निकै धसिएर पढ्नपर्छ, स्कील सिक्नुपर्छ । पढ्नेबाहेक अरुतिर दिने धेरै समय हुँदैन्,’ उनी कारण खोल्छन्, ‘तर, दोस्रो वर्षमा नेतृत्व गर्ने हो भने समय हुन्छ भन्ने मेरो धारणा थियो । त्यही धारणा लिएर साथीहरुमाझ जाँदा मैले चुनाव जिते ।’

अध्यक्ष भएपछि उनले न्याम्समा विविध सुधारका मागहरु अगाडि बढाए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बचाउ अभियान संचालन भयो । त्यो अभियानका क्रममा लगातार १८ दिनसम्म रेजिडेन्टले उनकै नेतृत्वमा संघर्ष गरे । नेपालको सबैभन्दा बढी फण्ड आउने प्रतिष्ठान भएपनि रेजिडेन्ट पढाइ हुने ठाउँमै भौतिक पूर्वाधार पर्याप्त थिएन । ‘मेसिनहरुको अभावले क्वालिटी एजुकेशन हुँदैन भन्नेजस्ता ५ वटा फरक मुद्दा उठायौं,’ डा. मंगल भन्छन्, ‘हामीलाई त्यो एजेन्डामा नेपालभरबाटै व्यापक सपोर्ट मिल्यो । हामीले सबै माग पूरा गरेर छाड्यौं ।’

न्याम्समा त्यो बेला सरकारको प्राथमिकतामा पनि नपरेको देखिन्थ्यो । किनभने, पदाधिकारी नियुक्त नै नभएको एक वर्ष भएको थियो । न्याम्सका रेजिडेन्टहरुले सम्बन्धित निकायमा पहल गरेर पदाधिकारी पनि नियुक्त गरायो । एमआरआई, डिजिटल एक्स–रे, सिटीस्क्यान र बीआरजस्ता अत्याधुनिक मेसिनको सुविधासहितको सेवा आरम्भ भयो । ‘आधुनिक वीर अस्पताल निर्माणको थालनी त्यही आन्दोलनबाट भयो,’ डा. मंगल आफ्नो भन्छन् ।

अध्ययनसँगसँगै कलेजको आन्तरिक क्रियाकलाप र समाजसेवामा सक्रिय भएपनि डा. मंगलले कहिल्यै पढाइमा कम्प्रोमाइज गरेनन् । वि.सं. २०१५ सालमा एमडीको अध्ययन सके लगत्तै उनी मेडिकल अफिसरको रुपमा जुम्ला गएँ । त्यतिबेला जुम्लामा ४/५ वटा विशेषज्ञ भएको सानो पूरानो अञ्चल अस्पताल थियो । वि.सं. २०६८ सालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास)स्थापना भएयताका उनी पहिलोमध्येका एक कर्मचारी हुन् । अहिले पनि त्यही कार्यरत छन् । कासमा लेक्चररका रुपमा सेवा थालनी गरेका उनी त्यहाँको अर्थोपेडिक्स विभागको पहिलो विभागीय प्रमुख पनि हुन् ।

तीन वर्ष उनी कर्णाली प्रतिष्ठानको सर्वोच्च ठाउँ सिनेटको सदस्य भएर पनि काम गरे । कर्णाली प्रदेश सरकारले कर्णालीको स्वास्थ्य नीति बनाउन गठन गरेको सल्लाहकार समितिका सदस्य भएर पनि सक्रिय रहे । डा. भगवान कोइरालाको नेतृत्वमा बनेको उक्त सल्लाहकार समितिले कर्णालीको स्वास्थ्यबारे त्यहाँको सरकारलाई स्वास्थ्य नीति र योजना तर्जुमा गर्न सहज हुने गरी सुझाव दियो । ‘अरु प्रदेशको दाँजोमा स्वास्थ्य क्षेत्रको विकासमा कर्णाली सबैभन्दा अगाडि छ,’ डा. मंगल भन्छन्, ‘प्रत्येक ठाउँमा अहिले विशेषज्ञ र सिजरियन सेक्सन छ । त्यसमा त्यो समितिको सुझावले पनि काम गरेको छ ।’

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–प्राध्यापक रहेका डा. मंगल प्रतिष्ठान अस्पतालको एक वर्षदेखि निर्देशकको भूमिकामा समेत छन् । रोचक त को भने ‘ड्रिम कास’लाई मनभित्र बोकेर हिडेका डा. मंगलले दुई पटक लोकसेवामार्फत सरकारी जागिर नाम निकाल्दा त्यसलाई पनि छाडिदिए । त्यसको एउटै कारण हो—ड्रिम कास । ‘हामीले कर्णालीमा एमबीबीएस कार्यक्रम संचालन गर्न सक्यौं भने यहाँका मानिसले ठूलो अवसर पाउनेछन्,’ डा. मंगल भन्छन्, ‘यो क्षेत्रको विकास पनि ठूलो टेवा पुग्नेछ । यो ठूलो अवसरको कूरा हो ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेशले दश वटै जिल्लामा विशेषज्ञ राखेको छ । जसले सबै घरधुरीलाई हेर्ने क्षमता राख्छ । कर्णालीले त्यो प्रदेशबाहेक अन्य प्रदेशका ३ जिल्लामा पनि स्वास्थ्य सेवामा प्रभाव पार्नेछ । ‘जहाँ चुनौती हुन्छ, त्यही सम्भावना हुन्छ,’ डा. मंगल आशावादी सुनिन्छन्, ‘कर्णालीको चुनौती भनेको भौगोलिक विकता हो । तर, पनि यहाँ धेरै सम्भावना छ ।’

कोभिड—१९ महामारी सुरु हुनुभन्दा केही समय अगाडि डा. मंगल आफै संयोजक बनेर १०—१५ जना विशेषज्ञको टोलीसहित कर्णालीका ८ वटा जिल्लामा ‘स्पेसलिस्ट हेल्थ क्याम्प’ आयोजना गरे । यसले मेडिकल क्याम्प गरेर औषधी बाँडेर मात्र काम छैन् भन्ने नयाँ धारणाको विकास भएको उनी बताउँछन् । ‘हामीले त्यस क्याम्पमा शल्यक्रिया शिविरहरु चलायौं,’ उनी सुनाउँछन्, ‘हामीले प्रत्येक गाउँमा गएर शल्यक्रिया शिविर संचालन गर्‍यौं ।’ डा. मंगल यो कामलाई निरन्तरता दिने सोचाइमा थिए । तर, कोभिड—१९ का कारण त्यो काममा निरन्तरता दिन सकिएन । ‘अब फेरि हामी गर्नेछौँ,’ उनले भने, ‘त्यो बेला हामी गाउँ—गाउँ पुगेर त्यहाँको प्राथमिक स्वास्थ्यबारे बुझ्ने मौका पनि पायौं ।’

दुई पटक सरकारी जागिर वाइवाइ

डा. मंगलले सरकारी चिकित्सकको आठौं तहमा पहिलो पटक नाम निकालेका थिए । कर्णालीमै काम गर्न खोजेको हो भनेर मन्त्रीलाई चिठी लेखे । तर, त्यहाँ सरुवा नदिएपछि उनले जागिर छाडे । अर्कोपटक नवौं तहमा नाम निस्क्यो । तर, उनी कास मोहकै कारण अन्तर्वार्ता दिन गएनन । ‘किनभने, कर्णाली मेरो सपना हो । त्यहाँको स्वास्थ्य अवस्था बागमती प्रदेशभन्दा माथि ल्याउन सकिन्छ कि भनेर म एकहोरो लागे,’ उनी भन्छन्, ‘मेरो १२ जना मिल्ने साथी अमेरिकामा छन् । म जान पनि सक्थे ।

तर, मलाई मेरो परिवार र सामाजिक परिवेशले जान दिएन ।’ डा. मंगलले दम रोगकी बिरामी आमालाई तीन पटक हेलिकप्टरबाट उद्धार गराउनु परेको तीतो यर्थाथ कर्णालीमा भोगेका छन् । स्रोत साधन हुनेहरुले त हेलिलिफ्ट गरेर उपचार गर्छन्, नहुनेका लागि कर्णालीमा उपचार बिना मृत्यु रोज्नुपर्ने बाध्यता उनले राम्ररी बुझेका छन् । ‘मेरो आमा सरहको आमाहरु कति समयमै उपचार हुन नपाएर अकालमै ज्यान गुमाएको देखेको छु,’ उनी भावुक सुनिए, ‘जसले गर्दा ममा आफ्नो ठाउँमै केही गर्नपर्छ भन्ने कुरा अन्तरआत्माबाट आएको भएर म यही बसे । मलाई आफ्नै ठाउँमा परिवर्तन ल्याउन पर्छ भन्ने भित्रैबाट हुटहुटी छ ।’

डा. मंगल कर्णालीको स्वास्थ्य अवस्था सुधार ल्याउन सकेमा देशकै विकास सुचांकमा पनि परिवर्तन आउने देख्छन् । ‘सबैभन्दा बढी पिछडिएको क्षेत्रमा स्वास्थ्य, शिक्षाको कमी भएर मानव सूचांक कम भएको हो,’ उनले भने, ‘जसले एचडीआई उठ्न सकेन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान यस्तो संस्था हो, जसले नेशनल एचडीआईलाई नै परिवर्तन गर्न सक्छ । यदि यहाँ राम्रो भयो भने नेशनल एचडीआईमा ठूलो मद्दत पुग्न सक्छ ।’ नेपाल सन् २०२६ मा अविकसित मुलुकबाट विकशील मुलुकतर्फ फड्को मार्दैछ । त्यसमा पनि कर्णालीका मानव विकास सुचांकमा महत्वपूर्ण स्वास्थ्य क्षेत्र उठाउन सकियो भने भने ठूलो योगदान पुग्न सक्ने उनले देखेका छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)