×
२०७८ वैशाख २३, बिहीबार
×
गृहपृष्ठप्रोफाइलहेल्थकेयर म्यानेजमेन्टमा जमेका डा. बच्चुकैलाश

हेल्थकेयर म्यानेजमेन्टमा जमेका डा. बच्चुकैलाश


पहिलो विश्वको उन्नत जीवनशैली । बेलायती हेल्थकेयरको उच्च म्यानेजमेन्ट तहमा जागिरे । युनिभर्सिटीको एशोसियट प्रोफेसर । राम्रो आम्दानी भएका थोरै नेपालीमध्ये एक । बेलायती राजनीतिमा उदाउँदो करिअर । यी सबै चटक्क छोडेर एक जना नेपाली यतिबेला स्वदेशको हेल्थकेयरमा बेलायती शैली भित्र्याउने योजनाका साथ काम गरिरहेका छन् ।

ती नेपाली हुन्—डा. बच्चुकैलाश कैनी । अध्यापनमा रुचि राख्ने उनी पेशाले हेल्थकेयर म्यानेजमेन्टमा दख्खल राख्छन् । बेलायतबाट फर्किएपछि गत पुस यता उनी ललितपुरको हसिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटलको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को भूमिकामा छन् । डा. कैनीको क्यान्सर उपचारलाई नेपालका सहर—सहरमा पु¥याउने लक्ष्य छ । झण्डै डेढ दशकअघि १० तहको सरकारी जागिर छोडेर बेलायत गएका उनी अहिले त्यहाँको समृद्ध जीवनशैलीलाई बाइबाइ गरेर नेपाल फर्किएका छन् । तनहुँदेखि बेलायतका प्रमुख अस्पतालहरु हुँदै नेपाल क्यान्सर हस्पिटलको सिईओसम्मको उनको यात्रा प्रेरणादायी छ ।

डा. बच्चुकैलाश तनहुँको ब्यास नगरपालिका—१२ कमलबारीमा जन्मिएका हुन् । बुवा मेघनाथ कैनी र आमा बोधकुमारी कैनीका ४ सन्तानमध्ये उनी कान्छा हुन् । मध्यवर्गीय परिवारमा जन्मिएकाले खान लाउनकै लागि समस्या त थिएन । तर, बुवा राजनीतिमा सक्रिय भएकाले धेरै समय भूमिगत बस्थे ।

७ कक्षासम्म उनी त्यहीको स्थानीय स्कुल सिद्धेश्वरीमा पढे । त्यसपछि थप शिक्षाका लागि सदरमुकाम दमौली गए । त्यहाँको निर्मल माविबाट एसएलसी दिए । वि.सं. २०४२ सालमा निर्मल माविबाट एसएलसी उत्तीर्ण गरे । एसएलसी सकिएपछि केही महिना उनले त्यही स्कुलमै पढाए । स्कुल पढाउँदा जम्मा भएको झण्डै ३ हजार रुपैयाँ बोकेर उनी रामपुर क्याम्पसमा पढ्नका लागि चितवन ओर्लिए ।

तर, तीन महिनामै त्यो पैसा सकिएपछि उनी पुनः गाउँ फर्किए । गाउँ फर्केर उनी आफूले पढेकै स्कुलमा पढाउन थाले । आर्थिक अभावका कारण उनले आइए प्राइभेट अध्ययन गरे । बुवा राजनीतिमा सक्रिय भएकै कारण उत्पन्न भएको नियमित आम्दानीको अभावले आईए प्राइभेट गर्नु परेको बाध्यता उनले सुनाए । प्राइभेटबाट आईए सकेपछि उनी काठमाडौं आए । वि.सं. २०४५ सालमा काठमाडौं सरस्वती क्याम्पसमा विकममा भर्ना भए । भारतीय नाकाबन्दीका कारण उनी पुनः गाउँ फर्किएर पढाउन सक्रिय भए ।

वि.सं. २०४६ सालमा कैनी पुनः काठमाडौं आए । काठमाडौं आएपछि नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्टमा भर्ना भए । बुवा र अंकलहरु राजनीतिमा भएका कारण तालिमकै क्रममा उनको जागिर गयो । वि.सं. २०४८ सालमा उनले सरस्वती क्याम्पसबाटै विकम उत्तीर्ण गरे । विकम उत्तीर्ण गरेको केही समयमै उनको नेपाल हृदयरोग निवारण केन्द्रमा कार्यक्रम अधिकृतको जागिर पाए । ‘पहिलो पटक स्वास्थ्य क्षेत्रसँग म वि.सं. २०४८ सालमा जोडिए,’ उनले भने, ‘खुला प्रतिस्पर्धाबाट हृदयरोग निवारण केन्द्रको कार्यक्रम अधिकृत भएँ ।’ त्यही वर्ष उनले यसोदा कैनीसँग विवाह पनि गरे ।

वि.सं. २०५२ सालसम्म हृदय रोग निवारण त्यहाँ काम गर्दै एमबीए पनि गरे । त्यो बेला नेपालमा मुटु रोग अस्पताल स्थापना हुनुपर्छ भनेर डा. मृगेन्द्रराज पाण्डे, डा. डिबी कार्की, डा. अरुण सायमी, डा. प्रकाशराज रेग्मीलगायतले अभियान चलाए, त्यो अभियानमा कैनी पनि थिए । पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा हुँदा मुटु अस्पताल स्थापनाका लागि यो टोली डेलिगेसन लिएर प्रधानमन्त्रीलाई भेट्न पुगेको थियो ।

त्यसपछि गंगालाल हृदयरोग केन्द्रको स्थापना प्रक्रिया अगाडि बढ्यो । कैनी हृदयरोग निवारण केन्द्रको जागिरे हुँदाहुँदै गंगालालमा पनि काम गर्न थाले । ‘मैले त्यहाँ भोलिन्टियर गरे,’ उनले सुनाए, ‘कुनै बेला म गंगालालको एक्लो कर्मचारी थिए ।’ गंगागाल स्थापनापछि प्रशासकीय अधिकृतमा रुपमा उनले त्यहाँ सेवा सुरु गरेका थिए । पछि उनी गंगागालको प्रशासन प्रमुखका रुपमा १० वर्ष काममा सक्रिय रहे । ‘वि.सं. ०५२ सालदेखि ०६२ सालसम्म म गंगालालको जागिरे थिएँ,’ उनले सुनाए, ‘बीचमा दुई वर्ष सन् २००० देखि २००२ सम्म भारतको जयपुर गएर सरकारी छात्रवृत्तिमा अस्पताल व्यवस्थापनमा माष्टर्स गरेँ ।’ भारतमा पढेर फर्केपछि उनले नेशनल ओपन कलेजमा पार्ट टाइम पढाए ।

बेलायतका प्रतिष्ठित अस्पतालको उच्च तहमा जागिर

वि.सं. २०६२ सालमा हाइस्कील्ड माइग्रेन कार्यक्रममा बेलायत उड्नुअघि उनी गंगालालकै प्रशासन प्रमुख थिए । त्यो बेला उनी १० औं तहका स्थायी सरकारी जागिरे पनि थिए । तर, त्यसलाई पनि छोडेर बेलायत गए । बेलायत गएको ६ हप्तामै उनको जागिर भइहाल्यो ।

विश्वकै प्रसिद्ध रोयल लन्डन हस्पिटलमा प्रशासकका रुपमा उनी जागिर गर्न थाले । बेलायतको सरकारी स्वास्थ्य प्रणाली नेशनल हेल्थ सर्विस (एनएचएस) अन्तर्गतको रोयल लन्डन हस्पिटलमा १५ वर्ष काम गर्दा उनले विल्कुलै फरक र नयाँ अनुभव भयो । उनले बेलायती सरकारी स्वास्थ्य प्रणालीमा खाना, ट्राभल, सिटामोलदेखि जटिल र गम्भीर शल्यक्रिया समेत नागरिकलाई कसरी निःशुल्क प्रदान गरिदो रहेछ भन्ने थाहा पाए ।

‘नेपालमा पनि मैले पब्लिक हस्पिटलमा काम गरेको, त्यहाँ पनि सरकारीमा,’ उनले बेलायती अनुभव साटें, ‘त्यहाँ र यहाँको हेल्थकेयरमा त आकाश जमिनको फरक छ ।’ एनएचएसको सिष्टम, काम गर्ने तरिका, प्रडक्टीभिटी, स्मार्टनेस, अस्पताल सञ्चालनको प्रक्रिया, हाइजिन सबै उत्कृष्ट पाए । रोयल लन्डन हस्पिटलमा उनले धेरै नवीन कुराहरु सिक्ने अवसर पनि पाए ।

रोयल लन्डनमा १५ वर्ष बिताएपछि बाल्र्टस, रोयल फ्री, गाइज, सेन्ट्रलदेखि क्वीन एलिजावेथ हस्पिटल गरी ७ हस्पिटलमा काम गरे । ‘ती सबै सरकारी अस्पतालहरु हुन्,’ उनले भने । एनएचएसमा १ देखि ९ तहसम्म सिष्टम छ, उनी नेपाल फर्किनुपूर्व एनएचएसको ८ औं तहका जागिरे थिए । सिनियर म्यानेजमेन्ट मानिने ८ औं तह मात्रै उनले सन् २००८ देखि सन् २०२० सम्म ११ वर्ष काम गरे ।

यही बेला उनले आफ्नो योग्यतालाई पनि धार दिए । सन् २०१५ मा उनले युनिभर्सिटी अफ ग्रीनवीचबाट हस्पिटल म्यानेजमेन्टमा पिएचडी उपाधि हासिल गरे । फुलटाइम काम गर्दागर्दै पार्टटाइम पिएचडी गरेका उनी ग्रीनवीच स्कुल अफ म्यानेजमेण्ट र आर्डेन युनिभर्सिटी सन् २०१६ देखि २०२० सम्म पार्टटाइम एशोसियट प्रोफेसर भएर अध्यापनमा पनि सक्रिय भए । नेपाल फर्किनुअघि उनी आर्डेनको एशोसियट प्रोफेसर थिए । ‘यहाँ आउनुअघि म क्वीन एलिजावेथ हस्पिटल र आर्डेनमा काम गरिरहेको थिए,’ उनले भने ।

बेलायत रहँदा पनि उनी बेला—बेलामा नेपाल आइरहन्थे । नेपाल आएका बेला बेलायतका अस्पतालमा हासिल गरेको अनुभव उनी बाँडिरहन्थे । अर्को कुरा बेलायत गएदेखि नै उनी कुनै दिन नेपाल फर्केर आफ्नो ज्ञान, सीप हस्तान्तरण गर्ने कुरामा स्पष्ट थिए । ‘म सर्टेन अवधि बसिकेपछि नेपाल फर्किनुपर्छ भन्नेमा क्लियर थिए । ज्ञान सीप सदुपयोग नेपाल फर्केर गर्नुपर्छ भन्ने मेरो मान्यता थियो,’ उनी भन्छन्, ‘यो भन्दा अगाडि पनि बेला बखतमा नेपाल यहाँका हस्पिटलमा आउँदा तालिम दिएर फर्किन्थे ।’ सन् २०२० मा पारिवारिक दायित्व, करिअर सबै हेरिसकेपछि नेपाल फर्किने निश्चित गरे ।

नेपाल फर्किएपछि नेपाल क्यान्सर हस्पिटलले प्रमुख कार्यकारी अधिकृतको अफर ग¥यो । उनले पनि त्यसलाई स्वीकारेपछि गत पुसदेखि उनी नेपाल क्यान्सर हस्पिटलको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् । ‘सन् २०१७ मा नेपाल क्यान्सर अस्पतालसँग एक तालिम दिएको थिए । त्यहीबेलादेखि सम्पर्कमा थिए,’ उनले सुनाए ।

नेपालको हेल्थकेयरमा उनले धेरै सम्भावनाहरु देखेका छन् । नेपाल क्यान्सर अस्पतालमा रहेर यसको सेवा विस्तार गर्ने सम्भावना हेरिरहेका छन् । ‘अरु सहरहरु र देशका विभिन्न भागमा सेवा विस्तार गर्ने सम्भावना मैले देखेको छु,’ उनले भने, ‘स्वास्थ्य सेवाका क्वालिटी इम्प्रुभ गर्ने, दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । उपकरण, स्रोतसाधन, दक्ष जनशक्ति पनि छ । तर, अझै उपचारका लागि विदेश जाने प्रवृत्ति छ, हाम्रो उद्देश्य उहाँहरुलाई यही उपचार हुन्छ भन्ने आत्मविश्वास दिलाउनु हो ।’ गुणस्तरीय सेवा दिएर नेपालीको क्यान्सर उपचार नेपालमै गराउने योजनाअनुसार उनले काम गरिरहेका छन् ।

बेलायतमा राजनीति

सन् २०१३ देखि सन् २०२० सम्म उनले बेलायतमा सक्रिय राजनीति पनि गरे । ४ वर्ष उनी स्टेट काउन्सिलर भएर काम गरे । सन् २०१७ को आम निर्वाचनमा उनी लेबर पार्टीको तर्फबाट सांसदको टिकट पाए ।

एउटा नेपालीले बेलायतमा सांसदको उम्मेदवार बनेर १८ हजार बढी भोट पाए । ‘चुनाव हारेपनि त्यो क्षेत्रमा मैले पाएको भोट धेरै हो,’ उनले भने । यसले बेलायतको पार्लियामेन्ट छिर्ने नेपाली सपना पूरा भएन ।

नेपालमा उत्पादकत्व बढाउनुपर्नेमा उनी जोड दिन्छन् । ‘हामी जुन काममा छौं, त्यो काम इमान्दारितापूर्वक नगरेसम्म हाम्रो ब्यक्तिगत, संस्थागत र देश विकास हुन सक्दैन्,’ उनले भने, ‘त्यसैले देश विकासका लागि उत्पादकत्व बढाउनुपर्छ ।’


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)