×
२०७८ वैशाख ४, शनिबार
×
गृहपृष्ठप्रोफाइलस्वदेशका रत्न डा. रत्नमणि

स्वदेशका रत्न डा. रत्नमणि


वरिष्ठ कार्डियोलोजिष्ट डा. रत्नमणि गजुरेल । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्डियोलोजी विभागका प्रमुख । त्रिविको पहिलो ब्याचका डिएम विद्यार्थी । यतिमात्र होइन्, स्वदेशमै सुपर स्पेशसियालिटी हासिल गरेर स्वदेशमै सीप खर्चिरहेका विशेषज्ञ चिकित्सक । उनी सेन्टरमा हुने इन्टरभेन्सनका लिडर पनि हुन् ।

सरल शैली भएका यी हेविबेट चिकित्सकले हजारौं बिरामीलाई मुटुको इन्टरभेन्सनमार्फत नयाँ जीवन दिएका छन् । बिरामी निको भएपछि उनको अनुहारमा अनौठो खुसी झल्किन्छन् । त्यही खुसीलाई उनी जीवनको आनन्ददायी क्षणका रुपमा लिन्छन्, उर्जाशील भएर रातविरात बिरामीको सेवामा तल्लीन रहन्छन् । सामान्यतयाः विहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म अस्पतालमा बिरामी हेर्ने, इन्टरभेन्सन गर्ने, पढाउने र प्रशासनिक काममा सक्रिय रहन्छन्, उनी ।

‘कुनै बेला इमर्जेन्सी केस आइपुग्यो भने राति पनि आउने गर्छौं,’ यी इन्टरभेन्सन कार्डियोलोजिष्ट भन्छन्, ‘हृदयघात भएर अस्पताल आउने बिरामीका लागि राति पनि अस्पताल आउनुपर्ने हुन्छ ।’ फुर्सद लिएर काठमाडौं बाहिर गएबाहेकको आपतकालीन अवस्थामा डा. रत्नमणि राति आफै अस्पताल आउँछन् । ‘म २४ औं घण्टा अभाइलेभल हुनुपर्ने जस्तै छ,’ उनी सुनाउँछन्, ‘कहिलेकाहीँ उपत्यका बाहिर हुँदा पनि जुनियर कलिगहरुसँग को—अर्डिनेट गरी नै रहेको हुन्छु ।’

काठमाडौंको मूलपानीमा जन्मिएका हुन्—डा. रत्नमणि । वि.सं. २०२९ सालमा उनी जन्मँदा मूलपानी  एक भ्याली किनारको गाउँजस्तै थियो, न्युरोड, डिल्लीबजार लगायतका क्षेत्र सहर । सहरभन्दा अलि पर भएकाले  मूलपानीबाट सामलतुमल गरेर अध्ययनकै लागि डिल्लीबजारमा कोठा लिएर बस्नुपर्थ्यो । बुवा मोहनप्रसाद गजुरेल र आमा भगवती गजुरेलका ८ वटा सन्तानध्ये उनी ७ औं हुन् ।

‘धेरै सन्तान भएपनि परिवारमा पहिलादेखि नै शिक्षादिक्षा दिनुपर्छ भन्ने मान्यता थियो । त्यही कारण हामी सबै डिल्लीबजार नै बसेर पढ्यौं,’ डा. रत्नमणि भन्छन्, ‘हामीले त्यस्तो कुनै अभाव झेल्नु परेन ।’ त्यो बेला काठबाट राजधानी सहरमा बसेर पढ्न पाएकाले उनी आफूलाई भाग्यमानी सम्झन्छन् । उनको काम पढ्ने मात्रै थियो, घरबाट पढाइका लागि न दबाब थियो न त अभाव नै ।

त्यो बेलाको समय अहिलेजस्तो डिजिटल थिएन् । मिडिया, सामाजिक संजाल, मोबाइलजस्ता प्रविधि एकादेशका कथाजस्तै थिए । सामाजिक दायरा साघुरो भएकाले सिमित साथीभाइ थिए । आफूभन्दा ठूला मान्यजनका कुरा सुनेर अघि बढ्ने ट्रेण्ड थियो । यही सामाजिक परिवेशमा डा. रत्नमणि हुर्किए ।

पद्यमोदय स्कुलबाट उनले वि.सं. २०४५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । काठमाडौंका त्यतिबेलाका राम्रा स्कुलमध्येमा पद्यमोदय गनिन्थ्यो । डा. रत्नमणिको पढाइमा लगनशीलता थियो, त्यही कारण उनी स्कुलका अब्बल विद्यार्थीमा पर्थे । तर, उनले स्कुल पढ्दा भविष्यका बारेमा कुनै स्पष्ट सपना बनाइसकेका थिएनन् ।

‘स्कुल पढ्दा म यो बन्छु भन्ने थिएन,’ उनी सम्झन्छन्, ‘तर, ९ कक्षामा आएपछि ऐच्छिक विषय छान्न पर्ने हुन्थ्यो ।’ उनले परिवार र शिक्षकको सल्लाहमा विज्ञान र अप्सनल म्याथ लिए । राम्रो पढ्ने भएकाले परिवार र शिक्षकबाट डा. रत्नमणिले हौसला पाइरहेका हुन्थे । त्यो समयमा चिकित्सक पेशाको एकदमै चार्म थियो । तर, उनलाई भित्री मनबाट भने विज्ञान पढ्न मन थिएन । किनभने, पद्यमोदय नजिक शंकरदेव क्याम्पस थियो । त्यो बेला विज्ञान पढ्नेहरु ठूलो ब्याग बोकेर हिडिरहेका हुन्थे । तर, कमर्स पढ्ने विद्यार्थी भने एउटा कपी बोकेर हिडिरहेका हुन्थे । उनको बाल मानसपटलमा यसैको छाप पर्यो । त्यही कारण एसएलसीपछि उनी आइकम पढ्न चाहन्थे ।

तर, परिवार र आफन्तलाई राम्रो पढ्ने विद्यार्थी भएकाले मेडिकल लाइनमा केही गरेको भए हुन्थ्यो भन्ने इच्छा थियो । परिवारका धेरैले त्यसअघि कोही डाक्टर नभएकाले ‘डाक्टर नै बन्नुपर्छ’ भन्ने सल्लाह दिइरहेका थिए । त्यहीबीच उनले महाराजगन्ज क्याम्पसमा हेल्थ असिस्टेन्टको पढाइ हुन्छ भन्ने सुने । बुझ्न गए । एचएको पढाइ सकेपछि एमबीबीएसमा जान पनि सजिलो बाटो हुने थाहा पाए । ‘त्यही कारण मैले एचए नै पढे,’ यी वरिष्ठ कार्डियोलोजिष्ट सुनिए, ‘वि.सं. २०४६ सालमा महाराजगन्ज क्याम्पसमा एचएमा भर्ना भएँ ।’ एसएलसीको प्राप्तांकका आधारमा भर्ना दिइने भएकाले उनले त्यहाँ सजिलै भर्ना पाए ।

डा. रत्नमणिलाई त्यसपछि बल्ल डाक्टर बन्छु भन्ने लाग्न थाल्यो । कलेज ज्वाइन हुने बित्तिकै वि.सं. २०४६ फागुनमा जनआन्दोलन सुरु भयो । जसकारण उनको ब्याचको पढाइ अवधि लम्बियो । जनआन्दोलनकै बेला निस्केको ब्याच भएकाले डा. रत्नमणिको ब्याचलाई ‘जनआन्दोलन ब्याच’ भनेर चिनिन्थ्यो । साढे ३ वर्षमा उनको एचए पढाइ सकियो ।

एचए उत्तीर्ण गरेपछि उनले त्रिवि शिक्षण अस्पतालकै अप्थामोलोजीको विभागमा काम गर्ने अवसर पाएँ । त्यहाँ चोटपटक लागेर आँखाको नानीमा हुने घाउ र अल्सर भएपछि भिजनमा कस्तो असर पर्छ भन्नेमा प्रोजेक्ट चलिरहेको थियो । उनी त्यसैमा काम गर्न थाले । त्यो बेला एचए सकेर एक वर्ष काम गरेपछि एमबीबीएसको इन्ट्रान्स दिन पाइन्थ्यो ।

विं.सं. २०५१ सालमा उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा एमबीबीएस पढ्ने अवसर पाए । त्योबेला अहिले जस्तो एमबीबीएसको अवसर पनि सहज प्राप्त हुँदैन्थ्यो । ‘निकै कठिन थियो । तर, म आफूलाई भाग्यमानी मान्छु,’ डा. रत्नमणि भन्छन्, ‘समय र मेहनतले मैले पढ्न पाएँ । त्यो समय एमबीबीएस पढ्ने कुरा गौरवको कुरा थियो ।’ उनका लागि स्कुल टाइमपछि गोल्डेन टाइम आइओएममा एमबीबीएस पढ्दाको समय हो । ‘सुरुको वर्ष एकदम रमाइलोसँग बित्यो किनभने डाक्टर हुने भए भन्ने थियो,’ उनी आफ्नो मनको कुरा खोल्छन्, ‘त्यो वर्षको खुसी म शब्दमा व्यक्त गर्न सक्दिनँ । आफूलाई विशेष महसुस हुन्थ्यो ।’ महाराजगन्ज क्याम्पसको १५ औं ब्याच उनी वि.सं. २०५६ सालमा एमबीबीएस उत्तीर्ण भए ।

एक वर्ष त्रिवि शिक्षण अस्पतालमा इन्टर्नसीप गरे । त्यसपछि काउन्सिलबाट डाक्टरको लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि उनको डाक्टर बन्ने सपना पूरा भयो । डाक्टर भएपछि उनीसँग दुई विकल्प थिए—देशभित्रै सेवा गर्ने कि विदेश जाने ? त्यतिबेला अहिलेजस्तो विदेश जाने ट्रेन्ड थिएन । त्यही कारण उनले देशभित्र नै काम गर्ने विकल्प छनोट गरे । एमबीबीएसपछि थप पढाइ अगाडि बढाउन सहज होस भनेर उनी शिक्षण अस्पतालको मेडिकल विभागमा मेडिकल अफिसरको रुपमा काम गर्न थाले । त्यहाँ एक वर्ष काम गरे ।

यतिकैमा स्वास्थ्य मन्त्रालयले मेडिकल अधिकृतको लागि लोकसेवा विज्ञापन खुलायो । वि.सं. २०५७ सालमा उनले लोकसेवामा राम्रै स्थानमा नाम निकाले । लोकसेवामा राम्रो स्थानमा नाम निकालेकाले उनलाई मन्त्रालय काम गर्नका लागि नारायणी, वीर र भक्तपुर अस्पतालमध्ये एक अस्पताल छान्ने अवसर दिइयो । उनले भक्तपुर अस्पताल छाने । त्यहाँ काम गर्दागर्दै आइओएममा एमडी-एमएसको इन्ट्रान्स खुल्यो । इन्ट्रान्स दिए, त्यसमा नाम निस्किहाल्यो । अब उनलाई परीक्षणकाल नै नसकिएको सरकारी जागिर के गर्ने भन्ने फसाद प¥यो । सबैसँग सल्लाह गरेपछि जागिर छाडेर उनी इन्टरनल मेडिसिनमा एमडी गर्न भर्ना भए । वि.सं. २०६४ सालमा उनले एमडीको अध्ययन पूरा गरे ।

जहाँ पढे त्यही जागिर

एमडीको अध्ययन सकेपछि अब जागिर कहाँ खाने भन्ने प्रश्न अगाडि खडा भयो । केही समयमै महाराजगन्ज क्याम्पसमा शिक्षकका लागि अवसर आयो । कलेजमा गएर कुरा गरे । डा. रत्नमणिलाई पनि आफूले पढाएकै कलेजमा पढाउन मन प¥यो । त्यहाँ उनले मेडिसिन संकायमा शिक्षण सहायकका रुपमा जागिर सुरु गरे । दुई वर्ष शिक्षण सहायकमा रुपमा काम गरेपछि अस्थायी करारमा उप—प्राध्यापक भए ।

केही साथीहरुले उनलाई अमेरिकातिर काम गर्नका सुझाव पनि दिए । उनले ‘युएसएमएलई’ पनि अप्लाई गरे । त्यसमा नाम निस्कियो । अमेरिका गएर काम पनि गरे । ‘त्यहाँ राम्रो नै थियो । नेपालमा पनि नराम्रो लागेन्,’ उनी भन्छन्, ‘अध्ययन र पारिवारिकजस्ता धेरै कुरा सोचेर नेपाल नै फर्किए ।’

नेपाल फर्केपछि उनले पुनः शिक्षण अस्पतालमा काम सुरु गरे । त्यसको चार वर्षपछि उनी बल्ल उप—प्राध्यापकमा स्थायी भए । वि.सं. २०६९/७० मा पहिलोपटक आइओएममा डिएम कार्डियोलोजी अध्ययन सुरु भयो । पहिलोपटक डिएम कार्डियोलोजीमा जम्मा दुई सिट थियो । डा. रत्नमणिले इन्ट्रान्स दिए, उनको नाम निस्कियो । त्रिविबाटै उनले कार्डियोलोजीमा ३ वर्षको सुपरस्पेस्यालिटी डिग्री हासिल गरे ।

‘कागजीरुपमा अध्ययन विदामा थिएँ,’ उनले भने, ‘डिएम सकिने बितिकै फेरि विद्यार्थीबाट फ्याकल्टीमा भएँ ।’ त्यही बेलादेखि उनी निरन्तर त्रिवि चिकित्सा अध्ययन संस्थानको जागिरमा छन् । कार्डियोलोजीमा आफ्नो सीप तिखार्नका लागि उनले अमेरिकामा फेलोसीप गरे । एनजीओग्राफी र एनजीओ प्लास्टिक सम्बन्धि फेलोसीप गर्न इटाली गए । इन्टरभेन्सन इन कार्डियोलोजीमा उनले सिंगापुरबाट एक वर्ष फेलोसीप सके । अहिले उनी आईओएमका कार्डियोलोजी विभागमा प्रमुख साथै प्रोफेसर पनि हुन् ।

उनकै नेतृत्वमा त्रिविको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा जटिल प्रकृतिका इन्टरभेन्सन हुन्छन् । ‘हामी शल्यक्रिया गर्ने डाक्टर होइन्, हामी इन्टरभेन्सन कार्डियोलोजी गर्ने डाक्टर हौं,’ डा. रत्नमणि भन्छन्, ‘यसमा बिना शल्यक्रिया बिरामीको मुटुको इन्टरभेन्सन गरेर उपचार गरिन्छ ।’ मनमोहन कार्डियोथोरासिकमा हुने यस्ता इन्टरभेन्सनको नेतृत्व डा. रत्नमणिले नै गर्छन् । उनी आफ्ना विद्यार्थी र जुनियरलाई पनि इन्टरभेन्सन प्रविधीमा ग्रुम गरिरहेका छन् ।

त्रिवि शिक्षणमा प्रवेश गरेको ३१ वर्षमध्ये उनले थोरै केही समय बाहेक आफ्नो सबै समय त्यही बिताएका छन् । १६ वर्षको ठिटोका रुपमा एचए अध्ययन गर्न पुगेका उनी अहिले कार्डियोलोजीमा डिएम गरेर प्राध्यापक भइसकेका छन् । अहिले त उनलाई त्रिवि शिक्षण अस्पताल, आइओएम र मनमोहन कार्डियोथोरासिक घरभन्दा बढी समय ब्यतीत गरेको ठाउँ भएको छ । ‘अहिले ३० औं वर्षसम्म यही ठाउँमा छु,’ उनी भन्छन्, ‘मलाई मेरो घरभन्दा पनि यो ठाउँ प्यारो लाग्छ ।’ उनलाई लाग्छ—आइओएमले नै साधारण व्यक्तिबाट आफूलाई एउटा प्राध्यापक, विभाग प्रमुखजस्तो ठाउँमा पु¥यायो, त्रिविको डिएमको पहिलो ब्याचमामा अध्ययन गर्ने अवसर दियो । त्यसैले त उनका लागि आइओएम केवल डिग्री र जागिर दिने आइओएम होइन्, यो उनको पुजा गर्ने मन्दिर हो ।

फिट राख्न ब्यायाम

डा. रत्नमणिको जीवनशैली पनि सामान्य छ । उनी आफू फिट रहनका लागि पहिले खेलहरु खेल्थे । तर, अहिले समय अभाव, थपिएका जिम्मेवारीलगायत यावत कारण घरमै ब्यायाम गर्छन् ।

वि.सं. २०५६ सालमा इन्जिनियर सुष्मा शर्मासँग विवाह बन्धनमा बाँधिएका उनका दुई सन्तान छन् । जेठा छोरा प्रतीक एमबीबीएस दोस्रो वर्षमा अध्ययन गर्दैछन् भने कान्छो छोरा प्रशान्तमणि स्कुल पढ्दैछन् । फुर्सदको समयमा उनी परिवारसँग काठमाडौं वरपरका डाँडाकाँडामा घुम्न निस्कन्छन् ।

खानामा उनको कुनै विशेष छनोट छैन । भेज, ननभेज दुवै खानेकुराहरु खान्छन् । मदिरापान गर्दैनन् । ‘स्वस्थ भेज नै भएपनि ननभेज पनि खान्छु,’ हँसमुख भावमा उनले सुनाए । उनलाई मनपर्ने पोशाक भने जिन्स र टिसर्ट हो । तर, अवस्था हेरेर फर्मल पोशाक पनि लगाउँछन् ।

बिरामीलाई मुटुको इन्टरभेन्सनमार्फत नयाँ जीवन दिने यी चिकित्सकलाई के कुराले खुसी दिलाउँछ ? भन्छन्, ‘मुटुका बिरामी आधा रातमा छट्पटाएर आएका हुन्छन् । एक्कासी उपचारपछि दुखाइ हराउँछ म बाँचे भनेर फ्रेस भएको अनुहार देख्दा मलाई सबैभन्दा खुसी लाग्छ ।’


क्याटेगोरी : प्रोफाइल


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)