×
२०७८ वैशाख २३, बिहीबार
×
गृहपृष्ठप्रोफाइलडा. लोचनः बोल्ड देखिने भावुक डाक्टर

डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर


डा. लोचन कार्की । पेशाले कन्सल्ट्यान्ट फिजिसियन हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसियट प्रोफेसर उनी मुलुककै सबैभन्दा पूरानो पेशागत संगठन नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्ष पनि हुन् । चिकित्सा पेशा र पेशागत आन्दोलनलाई सँगसँगै हाँकिरहेका ४२ वर्षीय डा. लोचन अहिलेका व्यस्त चिकित्सकमा पर्छन् ।

भोजपुरको प्याउलीमा वि.सं. २०३४ सालमा जन्मिएका हुन्, डा. कार्की । बुवा तोरण कार्की र आमा कमला कार्कीका ४ सन्तानमध्ये उनी कान्छा हुन् । भोजपुरमा जन्मिएपनि उनको घर पूर्वी तराईको औधोगिक नगरी विराटनरमा पनि थियो । ‘हामी गर्मी बिदा हुँदा भोजपुर जान्थ्यौं,’ डा. लोचन बाल्यकाल सम्झन्छन् ।

स्कुलको राम्रो प्रबन्ध भएकाले उनको अधिकांश समय विराटनगरमा बितेको हो । विराटनगरको सेन्ट जोशेफ स्कुलमा उनको शिक्षादीक्षा अगाडि बढ्यो । उनका बुवा तोरण कहलिएका राजनीतिज्ञ र समाजसेवी थिए । वि.सं. २०४६ सालअघिको समयमा प्रतिबन्धित नेपाली कांग्रेसमा आबद्ध थिए । ‘बुबा धेरै सक्रिय भएर राजनीति गर्नुहुथ्यो । त्यही भएर भएर बेला—बेला जेल परिरहनुहुन्थ्यो,’ डा. लोचन स्मरण गर्छन्, ‘कहिलेकाही भेटघाट गर्न जेल नै जानुपथ्र्यो ।’ राजनीतिमा सक्रिय भएकोले उनका बुवा बढी समय भोजपुरमा नै बस्थे ।

तर, लोचनको बाल्यकाल विराटनगरमा रमाइलोसँग बित्यो । घरमा बाक्लै हुने राजनीति भेटघाट र कुराकानीले उनको दिमागमा पनि सानैमा राजनीतिक चेतनाको बीज रोपियो । ‘बुबा कहिले कुन जेलमा कहिले कुन जेलमा भन्ने कुरा सुनिथ्यो,’ उनी भन्छन्, ‘बाल मस्तिष्कमा नराम्रो त लाग्थ्यो ।’ उनलाई कतिसम्म स्मरण छ भने कहिलेकाही उनी घरपरिवारसँग बुवालाई भेट्न जेल जान्थे । सानै भएकाले उनलाई जेलभित्र प्रवेश दिइन्थ्यो । उनी जेलभित्रै लेखिएका राजनीति स्लोगनहरु पनि सम्झन्छन् । उनका हजुरबुवा राजालाई भगवानकै रुपमा मान्थे तर बुवा विपीलाई त्यही कारण घरमा विवाद पनि भइरहन्थ्यो ।

बुवा फुलटाइम भूमिगत राजनीतिमा रहेकै कारण घरव्यवहारमा पनि गाह्रोसाह्रो परि नै रहन्थ्यो । ‘आधारभूत आवश्यकता पूरा गर्न पनि गाह्रो थियो,’ उनी भन्छन् । भोजपुरमा उनको दाना उत्पादन गर्ने फ्याक्ट्री थियो । बुवा पूर्णकालीन राजनीतिज्ञ भएकाले त्यो पनि राम्रो चल्न सकेन । कृषि उद्योग पञ्चायतले जलाइदियो । डा. लोचनसहित उनका ३ जना दिदीहरुको पालनपोषण गर्ने र हुर्काउने काममा बढी भूमिका उनकी आमाको रह्यो ।

तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज

वि.सं. २०४६ साल प्रजातन्त्र आउनुअघिको समय अहिले पनि उनको दिमागमा ताजै छ । २५ चैतको दिन थियो । उनका बुवा घरपरिवार भेट्न आएका थिए । त्यसको भोलिपल्ट विराटनगरमा संविधान जलाउने तयारी थियो । संविधान जलाउनु ठूलो अपराध थियो, त्यो जलाउने क्रममा जे पनि हुन सक्थ्यो । त्यो भेट नै अन्तिम पनि हुन सक्छ भनेर सबैजना रातिसम्म गफ गरेरै बसिरहेका थिए । त्यही रात १२ः४५ मा राजाले प्रजातन्त्रको घोषणा गरे । ‘बुवाले ठूलो परिवर्तन हुन्छ भन्ने ठान्नुभएको थियो । त्यो नभएको देख्दा बुबा विस्तारै राजनीतिबाट टाढा हुँदै जानु भयो,’ डा. लोचन भन्छन्, ‘०४८ सालपछि उहाँले राजनीतिमा विसंगति धेरै देख्नुभयो । राजनीतिबाट टाढा हुँदै जानु भयो । सामाजिक कार्यमा बढी क्रियाशील हुनुभयो ।’ जिल्ला सभापति पनि जितेका उनका बुवाले पछि राजनीति नै छाडिदिए ।

सेन्ट जोसेफबाटै डा. लोचनले वि.सं. २०५० सालमा एसएलसी उत्तीर्ण गरे । डा. लोचनको भाषणकला र राजनीति अभिरुचिबाट उनका बुवा र बुबाका साथी अनभिज्ञ थिएनन् । त्यही कारण उनीहरुलाई कतै बीचमै पढाइ छोडेर राजनीतिमा लाग्ला भन्ने चिन्ता थियो । त्यही कारण एसएलसी लगतै राम्रोसँग सम्झाएर उनलाई उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पठाइयो । काठमाडौं आएपछि उनले आइएस्सीका लागि काठमाडौं युनिभर्सिटीमा इन्ट्रान्स दिए । इन्ट्रान्समा नाम निस्केपछि उनी आइएस्सी पढ्न थाले । ‘त्यो बेला टंगालमा काठमाडौं युभिनर्सिटी थियो,’ उनी भन्छन्, ‘हामी पढ्न थालेको अर्को वर्ष मात्रै धुलिखेलमा सरेको हो ।’ काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्दा पनि उनी सामाजिक कार्यमा सक्रिय रहे । विश्वविद्यालयमा काउन्सिल गठन गर्नेमा डा. लोचनहरुकै हात रह्यो । वि.सं. २०५२ सालमा उनले आइएस्सी पास गरे ।

डा. लोचन सामाजिक काममा मात्रै अग्रसर थिएनन्, उनको पढाइ पनि अब्बल थियो । ‘म पढाइमा शीर्ष विद्यार्थीहरुमै पर्थे,’ उनी भन्छन् । पढाइमा पनि अब्बल भएकाले उनी आइएस्सीपछि चिकित्सक बन्न चाहे । किनभने, उनका ठूला बुवा चिकित्सक थिए । उनीबाटै आफूलाई चिकित्सक बन्ने प्रेरणा मिलेको डा. लोचन सुनाउँछन् । ‘मेरो ठूलो बुबा चुनाबहादुर कार्की डाक्टर हुनुहुन्थ्यो । उहाँ एमबीबीएस सकाएर पछि बेलायत जानुभयो,’ उनी भन्छन्, ‘उहाँ पढेर डाक्टर भएर गाउँमा उपचार गर्न आउनुहुन्थ्यो । गाउँभरिका मनिसहरुको भीड लाग्थ्यो । उहाँप्रति गाउँमा ठूलो सम्मान थियो । त्यही कारण डाक्टर बन्ने चाहना बढेको हो ।’ डा. लोचन इन्जिनियरिङ इन्ट्रान्स दिएर नाम निकालेपनि त्यसलाई छोडेर एमबीबीएस पढ्न बंगलादेश गए ।

सन् २००३ मा बंगलादेशबाट डाक्टरी सकेर स्वदेश फर्किए । त्यहाँबाट फर्किएर उनले परोपकार प्रसुती गृह, वीर अस्पताललगायतका धेरैवटा सरकारी अस्पतालमा इन्टर्नसीप गरे । त्यसले उनलाई नेपालको हेल्थ सिष्टम र काम गर्ने तौरतरिका सिक्न सहयोग पुग्यो । इन्टर्नसीप सकेपछि डा. लोचनले काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा मेडिकल अफिसरको रुपमा जागिर ज्वाइन गरे ।

सन् २००४ मा उनले बेलायत गएर एमडी गर्ने पनि नसोचेका होइनन् । ‘त्यो बेलामा ठूलो बुबा र दिदी बेलायतमै हुनहुन्थ्यो,’ उनी भन्छन्, ‘जान पनि मन थियो । तर, त्यही वर्ष बेलायतको डाक्टरलाई पहिलो प्राथमिकता, दोस्रोमा युरोपियनलाई र अरुलाई अन्य प्राथमिकतामा राख्ने भन्ने निर्णय भयो । जसले गर्दा म बेलायत गइन ।’ अहिले उनलाई आफूले त्यो बेला बेलायत नजाने निर्णय गर्नु सही थियो भन्ने लाग्छ । डा. लोचनको बेलायत नजाने निर्णयबाट सबैभन्दा खुसी उनका बुवा थिए । किनभने, उनलाई एक्लो छोरो विदेश गइहाल्छ कि भन्ने पीर थियो ।

काठमाडौं मेडिकल कलेजमा जागिर गरिरहेकै बेला डा. लोचन एमडी के मा गर्ने भनेर पनि सोचिरहेका थिए । एक समय उनले प्याथोलोजी पढ्नेबारे सोचे । पढेकाहरुसँग बुझ्दा राम्रै हुन्छ भन्ने सुझाव पाए । ‘डाक्टरको पनि डाक्टर हो प्याथोलोजी र आम्दानी पनि मनग्य हुने भन्ने कुरा सुने,’ उनी सम्झन्छन्, तर, मैले आफूलाई चित्त बुझान सकिन् ।’ किनभने, उनको अभिरुचि मेडिसिनमा बढी थियो । त्यही क्रममा उनले न्याम्समा एमडीका लागि इन्ट्रान्स दिए । दुई नम्बरमा नाम निस्कियो । डा. लोचनले आफूले चाहेकै विषय मेडिसिन लिएर एमडी अध्ययन गर्न थाले । सन् २०१० मा उनले न्याम्सबाट मेडिसिनमा एमडी सक्काए ।

एमडी दोस्रो वर्ष अध्ययन ताका नै उनको घरमा विवाह कुरा चल्यो । डा. लोचन भने एमडी नसकेसम्म विवाह नगर्ने योजनामा थिए । उनका फुपाजुले आफ्नो आफन्तको छोरी हेर्दै गर्दा हुन्छ भनेर कुरा गरेपछि उनी केटी हेर्नका लागि तयार भए । तर, विवाहका लागि उनका बुवाले भने कहिल्यै दबाब दिएनन् । आफ्ना लागि दुलही हेर्न जानुपूर्व उनले बुवालाई खबर गर्दै भने, ‘बुवा यस्तो केटीको कुरा आएको छ, म हेर्न जाँदैछु ।’

उनका बुवाले सहज प्रतिक्रिया दिए, ‘विवाह हुनेछ भने एकपटकको भेटमै थाहा पाउँछौं ।’ केही कौतुहलता बोक्दैं उनी केटी हेर्नका लागि गए । नभन्दै उनका बुवाले भनेझै डा. लोचनलाई पहिलो भेटमै डा. सुधा बस्नेत मन परिन् । ‘एकछिन भेट्न गएको हामी घण्टौ गफ गरेर बस्यौं,’ उनी भन्छन् । त्यो बेला डेन्टल सर्जन सुधाले बिडिएस सकिसकेकी थिइन् । एमबीबीएस पढेको नभएर डेन्टल पढेको विवाह गर्छु भन्नेमा डा. लोचन पहिलेदेखि नै क्लियर थिए । उनमा के थियो भने एमबीबीएस नै पढेका दुवै भयौं भने घरव्यवहार गाह्रो हुन्छ । आफूले सोचेअनुसार नै सबै कुरा भएपछि उनीहरु दुवै जना विवाहका लागि तयार भए । सन् २०१० मा एमडी सकिएको दुई महिनामै डा. लोचनले डा. सुधासँग लगनगाँठो कसे ।

एमडी सकेपछि उनी सिनामंगलस्थित नोबेल अस्पतालको निर्देशक भएँ । त्यसपछि आफै पढेको न्याम्समै जागिर गर्न थाले । ज्यालादारी, करार हुँदै अहिले अहिले उनी न्याम्सको एसोसियट प्रोफेसर छन् । नोवेलमा अस्पतालका सल्लाहकारका छन् । साँझपख ५ बजेपछिको समय भने हिमाल अस्पतालमा बिरामी हेर्छन् ।

एनएमएमा सदस्यदेखि अध्यक्षसम्म

डा. लोचनको चिकित्सकको पेशागत संगठन नेपाल चिकित्सक संघ (एनएमए)मा पनि क्रियाशील नै रहे । विद्यार्थीकालदेखि नै उनमा विकास भएको समाजसेवा र राजनीति चेतका कारण पनि उनी एनएममा संगठित भएर पेशागत सवालमा काम गर्न थाले । सबैसँग भिज्न सक्ने र नेतृत्वदायी क्षमताकै कारण एनएमएमा पनि उनको जिम्मेवारी बढ्दैं गयो ।

परिणाम नै मान्नुपर्छ, एनएमएको केन्द्रिय सदस्यमा अत्याधिक मत ल्याएर विजय भएका उनी । त्यसपछि सचिव हुँदै गत कार्यकालमा महासचिव चुनिए । एनएमएमा संगठित भएको १० औं वर्षमा उनी गत साल एनएमएको सर्वोच्च पद अध्यक्षमा निर्वाचित भए । ‘लगातार ११ वर्षदेखि म चिकित्सकका हकहितका पक्षमा काम गरिरहेको छु,’ उनी भन्छन्, ‘मेरो कुनै चिजमा लागेपछि पूरा इफोर्टका साथ त्यसलाई पूर्णता दिएर नै जानुपर्छ भन्ने सिद्धान्त छ ।’

डा. कार्कीले आफू १० वर्ष एनएमएमा रहँदा चिकित्सकका मुद्धाहरुसँग राम्रोसँग परिचित रहेको बताए । ‘म चिकित्सकका मुद्दा राम्रोसँग बुझ्छु,’ उनले भने, ‘कुन मुद्दा कहाँ पुगे भन्ने कुरा मलाई स्पष्ट थाहा छ ।’ ती मुद्धाहरु हल गर्नका लागि चुनौती रहेको पनि उनको भनाइ थियो । अहिलेको समयमा सरकार र जनताले चिकित्सकलाई हेर्ने नजर बदलिएको उनको अनुभव छ । ‘पहिला डाक्टरले क्यान्सरभन्दा क्यान्सर हुन्थ्यो,’ उनी भन्छन्, ‘तर, ‘आज प्रविधिको विकास र सामाजिक संजालले गर्दा चिकित्सकमाथि कुटपिट, आक्रमण हुने घटनाहरु बढिरहेका छन् ।’ चिकित्सक शारीरिक रुपमा मात्र नभए सामाजिक, बौद्धिक र आर्थिक रुपमा पनि निर्धक्क हुने वातावरण आफूहरुको चाहना भएको उनले बताए । तर, चिकित्सकका मुद्धा सम्बोधन गर्न छिटो—छिटो स्वास्थ्य मन्त्रालयको नेतृत्वमा हुने परिवर्तनले समस्या पारिरहेको उनले बताए ।

घुमघाम प्रेमी चिकित्सक

डा. लोचन बाहिरबाट हेर्दा बोल्ड देखिन्छन् भित्रबाट भने नरम स्वभावका छन् । उनको जीवनशैली पनि सामान्य छ । राति ढिला नै बेडमा पुग्ने भएकाले विहान पनि ढिला नै उठ्छन् । दैनिकीको सुरुवात घरपरिवारसँगको सरसल्लाहबाट हुन्छ । एकै समयमा मल्टीपल काम गर्ने उनको खुबी हो ।

शनिबार उनी कुनै काम गर्दैनन् । फुर्सदको समयमा सकेसम्म घरमा समय दिने कोशिस गर्छन् । तर, श्रीमतीले घरको सबै कुरा हेरिदिने भएकाले उनलाई निकै सजिलो छ । घरबाट अफिसका लागि निस्कँदा पनि उनी विहान बाटैमा एक दुई वटा बैठक भ्याइरहेका हुन्छन् ।

साँझपख सकेसम्म बिरामीलाई हेरेरै निस्कन्छन् । चाडो बिरामी हेरेर सकियो भने एक दुई वटा बैठकमा सहभागी हुन्छन् । जुन बैठक सक्दा ७—८ नै बज्छ । उनी साँझपख घरमा पुग्दा ९—१० बजिसकेको हुन्छ । उनका छोरा अग्रिम लोचन कार्की र छोरी आन्या रत्न कार्की छन् । घर पुगिसकेपछि केही समय छोराछोरीसँग खेल्छन् । ‘आफ्ना लागि समय चाहिँ राति १० देखि १२ बजेसम्म हो,’ उनी भन्छन्, ‘त्यो समय सिनेमा, समाचारहरु हेर्ने गर्छु । प्रायः म सिनेमा हेर्न रुचाउँछु ।’ डा. लोचन भोलि हुने कामका बारे पहिला नै होमवर्क गर्छन् । हरेक कामको पूर्व तयारी गर्ने उनको बानी छ । बेडमा पुग्दा भने रातिको १२ बजिसक्छ ।

उनी खानामा सौखिन छैनन् । सुरुमा उनको खानपिन त्यति राम्रो थिएन्, जहाँ जे भेट्यो त्यही नै खाने गर्थे । ‘पहिला भागदौड बढी नै हुन्थ्यो । तर, पछि मैले खाना टिफिनमा लगेर खान थाले,’ उनी भन्छन्, ‘पछिल्लो समय खानपिनमा ध्यान दिन थालेको छु । बिहान हेभी ब्रेकफास्ट गर्ने उनी लन्च टिफिनमा लिएर काममा निस्कने गर्छन् । उनलाई सबैभन्दा मनपर्ने खाना गुन्द्रुकको झोल, घ्यु र भात हो ।

पहिरनका भने उनी सौखिन छन् । ‘लुगा चिटिक्क र सफा हुनुपर्छ,’ उनी आफ्नो पहिरन शैली सुनाउँछन्, ‘दैनिक लुगा फेर्ने गर्छु ।’ राम्रो लुगाले व्यक्तित्व निखार ल्याउने विश्वास उनको छ । तर, सपिङ उनले अहिलेसम्म गरेका छैनन् । सपिङ उनलाई सबैभन्दा झर्को लाग्ने कुरा हो । डा. लोचनको पहिरनको अनौठो प्रसंग के भने उनको लुगा प्रायः बेलायतबाट आउने गर्छ । ‘ठूलो बुवाले स्कुल सक्ने समयसम्म ल्याइदिनु हुन्थ्यो,’ उनी भन्छन्, ‘पछि मेरो दिदी पनि बेलायतमा जानुभयो । उहाँले नै बेलायतबाट ल्याइदिनुहुन्छ ।’ उनकी दिदीलाई डा. लोचनको पहिरनशैलीबारे राम्रो ज्ञान छ ।

नयाँ ठाउँको यात्रा गर्न उनलाई टस बसेको छ । अहिलेसम्म उनले २० वटाभन्दा बढी देश घुमिसकेका छन् । उनलाई इतिहास बढी मन पर्छ । कुनै देश घुम्न जाँदा त्यहाँको पृष्ठभूमीदेखि इतिहाससम्म सबै कुरा अध्ययन गर्छन् । यात्राका क्रममा महत्वपूर्ण ठाउँहरु छुटाउँदैनन् । यात्रासँगसँगै उनी अध्ययन पनि गरिरहेका हुन्छन् । ‘मलाई लाग्छ किताब पढेर मात्र कोही विद्वान हुँदैन्,’ उनी भन्छन् ।

थुप्रै रोगका बिरामीलाई आफ्नो सीपले खुसी पार्ने यी चिकित्सकलाई के कुराले खुसी दिन्छ ? अरुको खुसीमा आफू रमाउने उनको स्वभाव छ । ‘मेरो कमजोरी भनेको परिवार हो, परिवार खुसी भएँ, म खुसी हुन्छु घरमा केही भयो भने दिन नै बिग्रिन्छ,’ उनी सुनाउँछन्, ‘म निकै भावुक खालको मान्छे हुँ । म सिनेमा हेर्दा पनि भावुक सिन आउँदा आँशु आइहाल्छ ।’ आफ्नो कारणले कोही दुःखी नहोस भन्नेमा उनी हमेशा सर्तक रहन्छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)