२०८२ असार १९, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?

डा. अस्मिता श्रेष्ठको सल्लाह : टाउको किन दुख्छ? के कारणले हुन्छ माइग्रेन?


२५ वर्षीया उर्मिला कार्की भिडभाडमा जाने बित्तिकै टाउकोको एक भाग दुख्ने र यो समस्या विगत चार महिनादेखि रहेको बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘एक पाटो मात्रै दुख्छ, सहनै सक्दिन अनि टाउको दुखेको बेलामा वाकवाकी पनि लाग्छ ।’

त्यस्तै २० वर्षीया रमा निरौलाको पनि समस्या उस्तै छ । उहाँको दुखाइ महिनावारी हुने समयतिर बढी हुने बताउनुहुन्छ । ‘दुखाइको बेलामा आँखा हेर्न नि गाह्रो हुन्छ,’ उहाँ आफ्नो पीडा सुनाउनुहुन्छ ।

माथि उल्लेखित समस्याहरु माइग्रेन (migraine) का उदाहरण हुन् । माइग्रेन एक प्रकारको टाउको दुख्ने रोग हो, जसलाई परापूर्वकालमा आधा कपाल दुखाइ पनि भन्ने गरिन्थ्यो । डाक्टरी भाषामा माइग्रेनलाई भास्कुलर हेड्याक (vascular headache) पनि भन्ने गरिन्छ ।

माइग्रेन जसलाई पनि हुन सक्छ । तर, यसको समस्या पुरुषभन्दा महिलामा ५ गुणा बढी देखिन्छ । जाँचहरू गर्दा कुनै समस्या नदेखिएपनि टाउको भने दुखिरहन्छ । कहिले वर्षमा १ पटक, कहिले महिनामा त कहिले दिनको चौबिसै घण्टा नै दुखिरहन्छ । एक पटक दुख्न सुरु भएपछि ४ देखि ७२ घन्टासम्म दुख्न सक्छ ।

बावुआमालाई माइग्रेनको समस्या छ भने ५० प्रतिशत छोराछोरीमा यो समस्या देखापर्ने हुन्छ । यसरी माइग्रेनलाई वंशाणुगत समस्याको रुपमा पनि हेरिन्छ भने कतिपय अवस्थामा महिलामा महिनावारी हुँदा पनि यो समस्या हुने गर्छ । सबैलाई एउटै कारणले हुन्छ भन्ने हुँदैन् । कसैलाई कारक बनेको कारण कसैलाई उपचार बन्न पनि सक्छ ।

के कारणले हुन्छ माइग्रेन?

  •  बढी मानसिक चिन्ता
  •  दूध चिया र कफीको अत्याधिक सेवन
  • थकान, अनिन्द्रा वा समयमा नसुत्दा
  • गुन्द्रुक, तामा, मिठाई, सिसिमा राखिएको अमिलो अचारको सेवन
  • भिडभाड, धेरै उज्यालो, हल्ला, कोलाहल
  • परिवार नियोजनको पिल्स चक्की अथवा हर्मोनको प्रयोग

महिनावारीको समयमा माथि उल्लेखितमध्ये कुनै न कुनै कारणले मस्तिष्कमा जैविक रसायनहरूका असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका रक्तनलीहरू सुन्निन्छन् । मस्तिष्कभित्र रगत सञ्चार गर्ने रक्तनली कुनै कारणले फुल्न थाल्छ तब टाउको दुखाइ अत्याधिक मात्रामा हुन्छ । जब अलिअलि गरी नली सामान्य अवस्थामा फर्किन थाल्छ त्यति बेला दुखाइ कम हुँदै जान्छ ।

माइग्रेनका लक्षणहरू

माइग्रेन लामो समयसम्म रहने रोग हो । यसको लक्षण बिरामीपिच्छे फरक–फरक हुन सक्छन् ।
तर, धेरै जसो बिरामीमा टाउकोको एक भागमा मात्र दुख्छ । कहिलेकाहिं निधार र घाँटीतिर पनि दुख्ने समस्या हुन सक्छ ।
यसबाहेक

  • वाकवाकी लाग्ने
  • वान्ता हुने
  • उज्यालो प्रकाश, हल्ला, भिडभाड सहन नसक्ने
  • हातखुट्टा दुख्ने आदि हुन सक्छ ।

टाउको दुखाइ बल्झिनुभन्दा अघि कसै—कसैमा चिड्चिडाहापन देखापर्ने, निन्द्रा लागेजस्तो हुने लगातार हाई–हाई आउने, थकाइ लागेजस्तो हुने हुन्छ । टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म बिरामीले थकान महसुस गर्छन् भने मन्द टाउको दुखाइ कायमै रहन्छ ।

माइग्रेन नै हो भनेर कसरी पत्ता लगाउने?

माथि भएका कारणहरूबाट माइग्रेनको अनुमान लगाउन सकिन्छ । माइग्रेनका लागि अन्य कुनै जाँचको आवश्यकता पर्दैन । यदि माथि दिइएका लक्षण बिरामीको टाउको दुखाइसँग मेल खाँदैनन् भने चिकित्सकसँग मस्तिष्क सम्बन्धी अन्य कुनै परीक्षण जस्तै एम.आर.आई (MRI), सिटी स्क्यान (CT Scan) आदि गर्न सकिन्छ ।

रोकथाम कसरी गर्ने?

माइग्रेनको कुनै निश्चित उपचार नभएपनि हामी स्वयंले केही उपाय अपनायौं भने पीडाबाट धेरै हदसम्म मुक्त रहन सक्छौं । जुन कारणले टाउको दुखेको महसुस हुन्छ, त्यसबाट टाढै बस्नुपर्छ ।

  • माइग्रेन क्याफिनले गर्दा बढ्ने भएकाले क्याफिन पाइने कुराहरू जस्तै चिया, कफी, ब्राउन चकलेट आदि कम मात्रामा खाने
  • एउटै समयमा सुत्ने बानी बसाउने
  • पुरानो अचार, गुन्द्रक, तामाजस्ता खानेकुरा नखाने
  • चिन्ता कम गर्ने
  • पिल्स आदिले भएको हो भने डाक्टरको परामर्श लिएर परिवर्तन गर्ने
  • अझिनो मोटो मिश्रित खानेकुरा नखाने
  • धेरै प्रकाश, भिडभाड, कोलाहलबाट टाढै बस्ने।

उपचार के छ त?

टाउको दुखाइको समयमा दुखाइ कम गर्न दुखाइ कम गर्ने औषधि (Pain killer) प्रयोग गर्न सकिन्छ । यसले दुखाइ कम गरेपनि निर्मुल भने हुँदैन । हप्तैपिच्छे वा अझ धेरै वा पेन किलरले दुखाइ कम भएन भने रोगनिरोधक औषधि डाक्टरको परामर्श लिएर सुरु गर्न सकिन्छ ।

(६ चैत २०७६ मा प्रकाशित यो सामाग्री पाठकहरुका लागि उपयोगी हुने ठानी पुनः प्रकाशन गरिएको हो । सं.)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ