२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारनेपालीको जीवनशैली बनिसकेको खोप

नेपालीको जीवनशैली बनिसकेको खोप


पूर्ण खोप लक्षित वर्ग (जन्मेदेखि १५ महिनासम्म बालबालिका)ले सबै खोप पाएको सुनिश्चित गर्नका लागि पूर्ण खोप सुनिश्चिता घोषणा गरिन्छ । बालबालिकाले जन्मेदेखि १५ महिनासम्म ९ वटा खोपका १८ वटा डोज लगाउनुपर्छ । बिसीजी खोप एकपटक लगाए पुग्छ भने पोलियो थोपा तीन पटक दिनुपर्छ । यसैगरी, पिसीभी तीन पटक, रोटा दुई पटक, दादुरा—रुबेला दूई पटक, जापानिज इन्सेफ्लाइटिस एक पटक, टाइफाइड एक पटक, एफआईपीभी दुई पटक, डिपीटी हेप—बी हिब तीन पटक दिनुपर्छ । सरकारले वार्षिक कार्यतालिका नै बनाएर खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारले गुणस्तरीय खोप ल्याएर निःशुल्क रुपमा बालबालिकालाई दिइरहेको छ । युरोप, अमेरिकाजस्ता विकसित देशहरुमा जुन खोप दिइन्छ, त्यही खोप नेपालले ल्याएको छ । कतिपय खोपमा गाभीको सहयोग छ । संविधानमा नै स्वास्थ्यको आधारभूत हक सुनिश्चित गरिएको छ भने खोप ऐनमा बालबालिकाको अधिकारको रुपमा नै खोपलाई ग्यारेण्टी गरिएको छ । खोप नपाएमा अभिभावक वा स्वास्थ्यकर्मी जसका कारण खोप नपाएको हो त्यसलाई कारवाही हुने बलियो व्यवस्था नेपालमा छ ।

सबै बालबालिकालाई पूर्ण डोज खोप दिइसकेको घोषणा गर्नका लागि हामीले पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने गरेका छौं । पूर्ण खोप सुनिश्चितता खुला दिशामुक्त क्षेत्र घोषणा गरिएजस्तो एक पटक घोषणा गरेर हुँदैन् । खोपमा एक महिना काम नगरेमा बच्चाहरु खोप पाउनबाट बञ्चित हुँदै जान्छन् । त्यसकारण पूर्ण खोप सुनिश्चितताका लागि निरन्तर रुपमा काम गरिरहनुपर्छ । यसले स्वास्थ्यकर्मीलाई चलायमान बनाइरहन्छ । खोपको वार्षिक योजना बनाएर काम हुँदैं आएको छ । खोप पुर्‍याउने, चिस्यान मेन्टेन गर्ने, जनशक्ति घर—घरमा खटाउनेजस्ता कामहरु निरन्तर गरिरहनुपर्छ ।

खोपको सबैभन्दा राम्रो पक्ष ताप्लेजुङमा जन्मिएको बालबालिका झापा, काठमाडौं वा कन्चनपुर जहाँ भएपनि खोप लगाउन पाउने गरी स्वतन्त्रता दिइएको छ । पहिलो डोज ताप्लेजुङ, दोस्रो डोज काठमाडौं र तेस्रो डोज कन्चनपुरमा लगाउन सकिन्छ । लजिष्टीक व्यवस्थापनका लागि खोप ताप्लेजुङ पुग्छ तर बच्चा काठमाडौं वा कन्चपुर पुगेको हुन्छ । त्यो अवस्थामा पनि खोप सर्वसुभल रुपमा पाउने व्यवस्था गरिएको छ साथै त्यो बच्चाले खोप पाएको कि पाएन भनेर पनि सुनिश्चित गरिन्छ ।

ताप्लेजुङको बच्चा काठमाडौं पुग्दा ताप्लेजुङमा खोप दिने लिष्टमा खाली देखिन्छ । त्यो खाली देखिएको बच्चाले खोप पाए नपाएको निश्चित गर्नका लागि घर—घर जाने व्यवस्था छ । महिला स्वास्थ्य स्वयंसेविका घर—घर पुगेर काठमाडौं वा कन्चनपुरमा खोप लगाएको विवरण ल्याउँछन् । त्यसरी खोप लगाएको—नलगाएको सुनिश्चित गरिन्छ । १८ वटा डोज लगाउनुपर्ने बच्चाले १७ वटा डोजमात्रै पाएको छ भने एक डोज छुटेको छ भने त्यो लगाउने अवसर पनि पूर्ण खोपले दिन्छ । चार महिनाको खोप प्रक्रिया हुन्छ, पहिलो महिनामा छुटेका बच्चाहरु फेला पारेर एक—दुई वटा मात्राहरु छुटेका छन् भने ती बच्चाहरुलाई ट्रयाकमा ल्याउने, स्वास्थ्य संस्थामा आउन आग्रह गर्ने गरेपछि बाँकी रहेका लगाउनुपर्ने मात्राहरु पनि सकिन्छन् । यसरी खोज्दा शुन्य अवस्थाका बालबालिका पनि पत्ता लाग्छ । घरदैलोमा गएर भेटेर पूर्ण खोप पूरा गरेपछि पूर्ण खोप सुनिश्चित गरिन्छ ।

ग्रासरुटमा घरधुरीमा महिला स्वास्थ्य स्वयंसेविकाहरु पुग्छन् । हेल्थ पोष्टमा भएका इञ्चार्ज, फोकल पर्सन वा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य स्वयंसेविका सबै घरदैलोमा पुगे—नपुगेको निश्चित गर्छन् । वडा तहमा वडाका बालबालिका सबैले खोप पाएको सुनिश्चित गरिसकेपछि पूर्ण खोप भए—नभएको पालिका तहले भेरिफाइ गर्छ । चेकलिष्टअनुसार वडाको पालिका भेरिफाइ गरेर पूर्ण खोप घोषणा गर्छ । त्यसैगरी, पालिकाको जिल्ला, जिल्लाको प्रदेश र प्रदेशको संघले भेरिफाइ गरेर पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । वडाले गरेको कामलाई सुनिश्चित गर्न यति धेरै ठाउँमा भेरिफाइ हुनुपर्छ । खोप सुनिश्चितता हुनका लागि विभिन्न तहमा क्रस चेक हुने सिष्टम हो ।

पहिलो पटक सबै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ भने सबै प्रदेश पूर्ण खोप सुनिश्चिता घोषणा हुँदैंछन् । वि.सं. २०६९ सालमा निर्देशिका बनेपछि त्यही वर्ष अछामको भागेश्वर गाविस पहिलो खोप सुनिश्चिता गाविस बन्यो । त्यसपछि पाल्पा जिल्ला पहिलो खोप सुनिश्चितता घोषणा गर्ने जिल्ला भयो । त्यसपछि यो ट्रेण्ड विस्तारै फैलिदै गयो ।

खोपमा एक महिना काम गर्न छोड्यो भने त्यहाँ खाली ठाउँ देखिहाल्छ । खोपले बालबालिकालाई महामारी, रोग र मृत्युबाट बचाउँछ । चार—पाँच महिना खोप दिइएन भने त्यहाँ मृत्यु देखिन्छ । एक पटक खोप दिएर वा एक वर्ष धुमधामका साथ घोषणा गरेर मात्रै खोपको दायित्व पूरा हुँदैन् । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता हुन आवश्यक हुन्छ । पहिलो वर्ष पूर्ण खोप घोषणा हुन्छ भने अर्को वर्षदेखि पूर्ण खोप सुनिश्तिता (कायम) घोषणा गरिन्छ । यसको वैज्ञानिक रुपले तथ्यांकसमेत राखिन्छ । कहिले कुन जिल्ला छुट्ने कहिले कुन जिल्ला पूरा गर्न नसक्ने अवस्था हुन्थ्यो, आर्थि वर्ष २०८१/०८२ मा हामी सबैको परिश्रमका कारण पहिलो पटक ७७ वटै जिल्ला एकै पटक पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भए । अब यो एक चक्रलाई अर्को वर्ष पनि कायमै राख्न सकिन्छ कि सकिदैंन भन्ने चुनौती खडा भएको छ ।

२४ असारमा मधेश प्रदेश र १६ साउनमा बागमती प्रदेश पूर्ण खोप सुनिश्चिता प्रदेश घोषणा भयो । अब सबै प्रदेशले खोप सुनिश्चितता प्रदेश घोषणा कार्यक्रम लगभग तय गरिसकेका छन् । सबै प्रदेश खोप सुनिश्चितता प्रदेश घोषणा भएपछि नेपाललाई नै खोप सुनिश्चितता देश घोषणा गर्ने योजना छ । पूर्ण खोपको अभियान चल्ने र निर्देशिका नै बनाएर पूर्ण खोप र पूर्ण खोप सुनिश्चिता घोषणा गर्ने नेपालमात्रै हो, अन्य देशहरुमा यो छैन । पूर्वजहरुले बनाइदिएको यो ट्रेण्ड संसारकै लागि युनिक हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र युनिसेफको रिपोर्टमा बालबालिकालाई खोप लगाउनेमा र छुटेका बालबालिकालाई खोप दिनेमा नेपालमा अग्रस्थानमा छ । नेपालको एकदमै सफल कार्यक्रम खोप हो ।

नेपाल खोपका सवालका अन्य देशका लागि समेत उदाहरण बन्न पुगेको छ । छलफलहरुमा जापानले गर्न नसकेको कुरा भनेर भन्ने गरिन्छ । जापानमा ३०—४० प्रतिशत खोप कभरेज भयो भने पार्टी गर्छन् । तर, हाम्रोमा त्यसो भएमा जनताले कारवाही गर्छन्, जनता त्यो किसिमले जागरुक छन् । नेपालका नागरिकहरुमा सचेतना छ र त्यो खालको सकारात्मकता, प्रतिवद्धता, पोलिटिकल कमिटमेन्ट, फाइनान्सियल कमिटमेन्ट छ । यसैगरी, खोप कार्यक्रम स्वास्थ्यकर्मी र कर्मचारीहरुका लागि पनि जीवनशैली भइसकेको छ । खोप अभियानलाई जीवनशैलीमा परिणत गर्नका लागि लामो समय लागेको हो ।

पहिलो पटक काम गर्दा सबै कुरा गाह्रो हुन्छ । प्रणालीको विकास गर्दागर्दै अहिले बालबालिकाको खोपका क्षेत्रमा यो अवस्थामा आएको हो । बालबालिकाको खोप कभरेजका हिसाबले अहिले नेपालमा संसारकै एक अग्रपंक्तिका पर्ने देश हो । इम्युनाइजेसन एजेण्डा, २०३० अन्तर्गत खोप नै नलगाएका बालबालिकालाई खोप लगाउने उद्देश्य हो । पूर्ण खोपको यो एजेण्डामा प्रसिद्ध ल्यान्सेन्ट जर्नलले प्रतिस्पर्धा गरायो, जसमा नेपाल साउथ इष्ट एसियामा प्रथम भयो । पूर्ण खोप अरु देशका लागि ठूलो कुरा होला तर नेपालको जीवनशैली नै बनिसकेको छ । ल्यान्सेटले नेपालले इम्युनाइजेसन एजेण्डा, २०३० लाई पूरा गर्‍यो भनेर लेख्यो । यसमा खुसी हुनुपर्ने कुरा छैन्, महामारी घटाउने र शुन्यमा झार्नेतर्फ हामीले नियमित काम गरिरहनुपर्छ । जीवनशैली बनिसकेको खोप कार्यक्रमलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्छ ।

(बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ