२०८२ साउन ४, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव

उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला व्यवस्थापिका संसदले नेपालको अन्तरिम संविधान, २०६३ ले ऐन पारित गरी स्थापना गरिएको स्वायत्त निकाय हो । यो ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८’ अनुसार स्थापना भएको हो । मूल रूपमा यो प्रतिष्ठान तत्कालीन कर्णाली अञ्चल अस्पताल, जुम्लालाई स्तरोन्नतीकरण गरी स्थापना गरिएको थियो । जसले दुर्गम र पिछडिएका जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने ऐन अनुसार हुम्ला, जुम्ला, कालिकोट, डोल्पा, मुगु, जाजरकोट, बाजुरा, बझाङ, अछाम र संघीय प्रणालीअनुसार सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान लगायत जिल्लामा सेवा उपलब्ध गराउने लक्ष्य लिई सेवा दिदैं आएको छ ।

प्रतिष्ठानको स्थापनापछिका करिब १३ वर्षमा जुम्लामा अहिले आकस्मिक, एक्स रे, प्रयोगशाला, प्रसूति सेवा, रक्त बैंक, टेलिमेडिसिन, विभिन्न विशेषज्ञ सेवाजस्ता अन्य थुप्रै सेवा तथा सुविधा उपलब्ध हुँदैं आएका छन् । हाल अस्पतालमा ३०० शय्या क्षमता पूरा सञ्चालनमा ल्याइएको छ । अहिले यस प्रतिष्ठानबाट विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत एमबीबीएस एमपीएच, फार्मेसी, जनस्वास्थ्य, मिडवाइफ्री, नर्सिङ, एमडी/एमएसजस्ता कार्यक्रम सञ्चालनमा आएका छन् । नेपालका विभिन्न ठाउँलगायत छिमेकी देश भारतबाट पनि विद्यार्थीहरू यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न आइपुगेका छन् । प्रक्रिया विस्तारै देश विदेशका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । प्रतिष्ठानले स्नातक र स्नातकोत्तर कार्यक्रमको पाठ्यक्रम तयार गरी क्रमसः थप विस्तार हुने अवस्थामा छ ।

दशकौं अघिसम्म जहाँ उपचारसमेत सम्भव थिएन, अहिले स्थानीय अस्पतालमै डाक्टर र विशेषज्ञले स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण बनेको छ । यस संस्थाले कर्णालीको स्वास्थ्य क्षेत्रमा दूरगामी परिवर्तन ल्याएको छ, भन्ने उच्च प्रशंसा पाउँदै आएको छ । यसको स्थापनाले दूरदराज, भौगोलिक रूपमै कठिनाइयुक्त कर्णाली क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको पहुँच प्रदान गरेको छ ।

यसले स्वास्थ्य सेवा प्रणालीको सुव्यवस्था र स्थानीय जनशक्ति विकास दुबैलाई ठूलो सशक्तीकरण गरेको छ, जसले गर्दा दुर्गम क्षेत्रका लागि वरदान सावित भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार, नेपालको सबैभन्दा बढी औसत जीवन आयु भएको कर्णाली प्रदेश हो । जहाँ औसत जीवन आयु ७२.५ वर्ष रहेको छ भने समग्रमा नेपालको राष्ट्रिय औसत जीवन आयु ७१.३ वर्ष रहेको छ । जसमा यस प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको छ ।

यद्यपि, दुर्गमा रहेको प्रतिष्ठानले दक्ष चिकित्सक तथा शिक्षकहरुको अभाव, आर्थिक स्रोतको अभाव, पूर्वाधारको कमी र राजनीतिक हस्तक्षेपजस्ता चुनौतीको सामना गर्नु परिरहेको छ । यी चुनौतीका बाबजुद पनि यो प्रतिष्ठानले दुर्गम क्षेत्रको स्वास्थ्य स्थिति सुधार गर्न र स्थानीयस्तरमा स्वास्थ्यकर्मी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

तर, बिडम्बना नै भन्नुपर्छ महिनौं बितिसक्दा पनि सरकारले यस प्रतिष्ठानलगायत अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि उपकुलपतिसहित पदाधिकारीको नियुक्ति ढिलाइ गरिरहेको छ । जसले प्रतिष्ठानको घोषित लक्ष्य तथा उद्देश्यहरु हासिल गर्न असहज परिस्थिति उत्पन्न भएको छ । आमनागरिक तथा सरोकारवालालाई निराशा पैदा भई अभिभावकत्वविहिन भएको अवस्था छ । लामो समयसम्म उपकुलपति नियुक्तिमा ढिलाइ हुनुले दुर्गम क्षेत्रका जनतालाई अझ बढी गम्भीर असर पर्दछ । किनकी ती क्षेत्रका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामहरु जीवनरेखा समान हुन्छन् । सहरी क्षेत्रमा वैकल्पिक स्वास्थ्य सेवाका धेरै विकल्पहरु रहेका हुन्छन् । तर, कर्णाली जस्तो दुर्गममा स्वास्थ्य सेवाका विकल्पहरु नहुँदा समस्या हुने गरेको छ ।

सरकारले देशमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये दुर्गम तथा पिछडिएको क्षेत्रमा रहेको यस प्रतिष्ठानको पदाधिकारी तथा विशेषगरी उपकुलपतिको नियुक्तिमा ढिलाइ गर्दा प्रतिष्ठानमा विभिन्न नकारात्मक प्रभावहरू पर्न जान्छन् । यस्ता ढिलाइले समग्र शैक्षिक र स्वास्थ्य सेवा प्रणालीमा असर पु¥याउँछ छ । यस ढिलाइले दुर्गमका जनतामाथि पर्ने मुख्य असरहरू र तत्काल नियुक्ति किन भन्ने विषयमा यहाँ केही महत्वपूर्ण विषय उल्लेख गरिएको छ ।

– निर्णय प्रक्रियामा ढिलाइ र प्रशासनिक शून्यता
– नीति तथा कार्यक्रम कार्यान्वयनमा जटिलता
– आर्थिक तथा पूर्वाधार विकासमा अवरोध
– शिक्षक तथा कर्मचारीको मनोबलमा ह्रास
– स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल प्रभाव
– शैक्षिक कार्यक्रममा असर
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा कमी
– दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीको उत्पादन र उपलब्धतामा संकट
– जनताको विश्वासमा कमी र थप निराशा
– स्वास्थ्य सेवाको चरम अभाव र संकट

संक्षेपमा भन्नुपर्दा, उपकुलपतिको नियुक्तिमा हुने ढिलाइले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रशासनिक, शैक्षिक, आर्थिक र सेवा प्रवाहका सबै क्षेत्रमा गम्भीर असर पार्छ, जसले अन्ततः समग्र स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा ह्रास ल्याउँछ । त्यसैले सरकारले कुनै पनि बहाना तथा राजनीतिक चलखेल नगरी छिटोभन्दा छिटो उपकुलपति नियुक्ति गर्नुपर्छ ।

उपकुलपति नियुक्तिमा भइरहेको ढिलाइले दुर्गम क्षेत्रका जनताको स्वास्थ्य अधिकार र जीवनमाथि प्रत्यक्ष असर परिरहेको छ । यस प्रतिष्ठान दुर्गम क्षेत्रको स्वास्थ्य प्रणालीको मेरुदण्ड भएकोले उपकुलपति जस्तो गरिमामय पद लामो समयसम्म खाली राख्नु भनेको ती क्षेत्रको समग्र स्वास्थ्य सेवा, शिक्षा र सेवाको गुणस्तरमा ह्रास ल्याई जनताको आधारभूत अधिकारबाट वञ्चित गराउनु हो ।

सरकारले राजनैतिक खिचातानीको झमेलामा नपरी स्वास्थ्य क्षेत्रको मेरुदण्ड जहाँ आधुनिक स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धान क्षेत्रमा खेलेको प्रतिष्ठानको अहम भूमिकालाई ध्यान दिदैं तत्काल योग्य, सक्षम, व्यवसायिक र अनुभवी उपकुलपतिको नियुक्ति गर्नुपर्छ । जसले प्रतिष्ठानको नियमित कार्यसम्पादनलाई सुचारु गरी दुर्गमका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँच सुनिश्चित गर्न मद्दत पुग्नेछ । यो केवल प्रशासनिक आवश्यकता मात्र नभएर दुर्गमका नागरिकको जीवनरक्षा र भविष्यसँग जोडिएको संवेदनशील विषय हो ।

(खड्का कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याव टेक्निसियन हुन् ।)


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ