काठमाडौं-नेपाल सरकारले प्रतिबन्ध लगाएको एन्टीबायोटिक औषधी ‘कोलस्टिन सलफेट’को कारोबार नेपाली बजारमा नरोकिएको पाइएको छ । औषधी सल्लाहकार समितिको ५० औं बैठकबाट नेपालमा बिक्री वितरण तथा आयात निर्यात गर्न प्रतिबन्ध लगाइएको उक्त औषधी अहिले पनि बजारमा बिक्री वितरण भइरहेको पाइएको हो ।
३ भदौं २०७६ मा बसेको समितिको ५० औं बैठकले उक्त फुड—एनिमल प्रडक्सन (एन्टीबायोटिक) नेपालमा उत्पादन तथा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि औषधी व्यवस्था विभागले सार्वजनिक सूचना नै जारी गरेर कच्चा पदार्थ ल्याइसकेको भए नेपालमा ६ महिनाभित्र उत्पादन तथा बिक्री वितरण गरिसक्नुपर्ने र विदेशी उत्पादन आयात गरिएको भए तीन महिनाभित्रमा स्टक क्लरेन्स गरिसक्न निर्देशन दिएको थियो ।
तर, हेल्थआवाजले विभिन्न भेटेनरीबाट प्राप्त सो एन्टीबायोटिकका दुई ब्राण्ड अहिले पनि कालोबजारीमार्फत विदेशबाट ल्याएर बिक्री वितरण भइरहेको पाइएको छ । हेल्थआवाजले प्राप्त उक्त दुई ब्राण्डमा कोलिभेट—४८०० र डेमोक्सन रहेका छन् । जसमा कोलिभेट—४८०० सन् २०१९ फ्रेबुअरीमा उत्पादन भएर सन् २०२२ मा फ्रेबुअरीमा एक्स्पायर हुने डेट राखिएको छ भने डेमोक्सन अप्रिल २०२१ मा उत्पादन भएर अप्रिल २०२४ मा एक्स्पायर हुने उल्लेख छ ।
डेमोक्सन हल्याण्डको उत्पादन हो भने कोलिभेट बेल्जियमबाट आयात गरिएको छ । कोलिभेट भाटभटेनी डिष्टीब्युटर्सले ल्याउने गर्छ भने डिमोक्सन कान्तिपुर भेट डिष्टिब्युटर्स नेपालको आधिकारिक बिक्रेता हो ।
यो एन्टीबायोटिक जनावरको चाडो वृद्धिका लागि प्रयोग गरिएतापनि मानिसमा लाग्ने रोगको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सञ्चित गर्न भारतलगायतका विभन्न देशहरुले बिक्री वितरणमा प्रतिबन्ध लगाएका छन् । यस्तै, जापान, मलेसिया, अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, भियतनाम, सिंगापुर, भारत र धेरै युरोपियन देशहरुले यसमा प्रतिबन्ध लगाएका छन् ।
औषधी विज्ञ बाबुराम हुमागाईकाअनुसार जीवनजन्तु र पशुपंक्षीको छिटो वृद्धि गराउन प्रयोग हुने यो एन्टीबायोटिक नेपालमा मिसयुज भइरहेको छ । ‘यसले किड्नीलाई पनि असर गर्छ, अरु कुनैले काम नगरेपछि अन्तिम विकल्पका रुपमा प्रयोग गर्नुपर्ने भनेर रिजर्भ राख्न डब्लुएचओले भनेको छ,’ उनले भने, ‘बिक्री वितरण दिने भएपनि कन्ट्रोल गरेर दिनुपर्ने हो । तर, नेपालमा मिसयुज भइरहेको छ । यो जनताको स्वास्थ्यमा खेलवाड गरेको हो ।’
औषधी व्यवस्था विभागका प्रवक्ता तथा बरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले यो एन्टीबायोटिकमा नेपाल सरकारले प्रतिबन्ध लगाएकाले कसैले पनि बिक्री वितरण गर्न नपाउने बताए । ‘कोलस्टिन सलफेट नेपाल सरकारले बिक्री वितरणमा रोक लगाएको छ,’ उनले भने, ‘यदि बिक्री वितरण भएको भए, त्यो कानुनविपरित हो ।’
कोलस्टिन सलफेट डेमोक्सनका नेपाली आधिकारिक बिक्रेता कान्तिपुर भेट डिष्टिब्युटर्सका सञ्चालक ऋषि बराल आफूहरुले कम्पनीलाई एक वर्षअघि नै उक्त एन्टीबायोटिक नेपाल सरकारले बन्देज लगाएको आयात नगर्ने जानकारी दिएको बताउँछन् । ‘नेपाल सरकारले प्रतिबन्ध लगाएपछि हामीले उक्त एन्टीबायोटिक ल्याएका छैनौं । तर, बजारमा पहिलेको स्टक होला,’ उनले भने, ‘त्यो प्रडक्ट हामीले छोडिसक्यौं, आधिकारिक बिक्रेता हामी नै हौं ।’ सन् २०२१ मा बनेको सो एन्टीबायोटिक कसरी नेपालमा आयो आफू पनि छक्क परेको उनको दावी थियो । तर, हेल्थआवाजले उक्त एन्टीबायोटिक विक्री गर्ने भेटनरी सञ्चालकहरुसँग कहाँबाट यो एन्टीबायोटिक ल्याउनुभयो भनेर सोध्दा उनीहरुले कान्तिपुर भेट डिष्टीब्युटर्सले नै उपलब्ध गराएको बताएका थिए ।
हेल्थआवाजले बरालसँग सन् २०२१ मा बनेको औषधी नेपालमा कसरी भित्रियो भन्ने जिज्ञाशा राख्दा उनले पहिले नै अनुमति पाइसकेको र त्यो २ वर्षसम्म लागु हुने हुँदा बजारमा नयाँ औषधी आएको हुन सक्ने बताए । ‘यो विषय मैले पनि बुझ्नुपर्छ । नेपालमा इम्पोर्ट प्रमिट हुनुन्जेल कहिलेकाही व्यापारीले ल्याइदिन सक्छन्,’ उनले भने, ‘तर, हामीले एक वर्षयता सामान बेचेका छैनौं, बिलिङ छैन ।’ उनले कहिलेकाही चीनबाट बंगलादेश हुँदैं भारत जाने क्रममा नेपाली बजारमा यो एन्टीबायोटिक आउन सक्ने दावी समेत गरे ।