२०८२ जेठ १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा

अदालतको फैसलापछि पनि जग्गा भोगचलन गर्न नपाएकी विपीकी स्त्री रोग विशेषज्ञको पीडा

मुद्धा सर्वोच्चमा छ, सर्वोच्चको फैसलालाई मान्छौं : डा. यादव


विराटनगर—मोरङको बुढीगंगा गाउँपालिका घर र सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका—३ माइती घर भएकी एक चिकित्सक महिलाले अदालती फैसलापछि पनि आफ्नो कानुनी हकको जग्गा भोगचलन गर्न नपाएको पीडा सार्वजनिक गरेकी छन् । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. निता यादवले आफ्ना ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार उपभोग गर्न नपाएको गुनासो गरेकी हुन् ।

डा. निताको विवाह २०६८ सालमा डा. सुशील यादवसँग भएको थियो । विवाहको केही समयमै श्रीमान् सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको तथ्य थाहा पाएपछि उनको दाम्पत्य जीवनमा समस्या सुरु भएको थियो । ‘श्रीमानको दीर्घकालीन मानसिक समस्या लुकाएर विवाह गरिएको रहेछ । विवाहपछि मात्र मलाई र माइती पक्षलाई यो थाहा भयो,’ डा. यादवले भनिन् ।

उनकाअनुसार श्रीमानका बुवा डा. शितल यादव विराटनगरका चर्चित चिकित्सक हुन् । डा. शितलले २०५८ सालमै आफ्नो छोरालाई करिब ४ बिगाहा जग्गा कानुनी रूपमा बाँडफाँट गरिदिएका थिए । उक्त जग्गा मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. १ र ३ मा विभिन्न कित्तामा छ ।

डा. निताले आफ्नो हक दावी माग गर्दै २ भदौं २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् । ३१ जेठ २०८१ मा उनको श्रीमानको मृत्यु भइसकेको छ । जिल्ला अदालतले १७ फागुन २०८० मा डा. निताको पक्षमा फैसला गर्दै श्रीमानको नाममा रहेको सम्पत्तिमा आधा भागको हक दिने आदेश गरेको थियो ।

त्यसपछि उच्च अदालत विराटनगरले १६ चैत्र २०८१ मा जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।

अदालतबाट अनुकूल फैसला आएपनि व्यवहारमा डा. निताले आफ्नो हकको जग्गा भोगचलन गर्न पाएकी छैनन् ।

‘फैसला लागू भएपनि बुढीगंगा गाउँपालिकाका कर्मचारीले ससुरा र देवरको दबाबमा परेर मलाई जग्गामा कुनै काम गर्न दिइरहेका छैनन् । न पानीको धारा जडान गर्न दिइएको छ, न बिजुली । खेतीपाती गर्न त परै जाओस्, मजदुरका लागि टहरा बनाउनेसम्म अनुमति छैन,’ पत्रकार सम्मेलनमा डा. निताले गुनासो पोख्दै भनिन्, ‘जग्गा भोगचलनको लागि जिल्ला प्रशासन कार्यालय धाए । कार्यालयबाट पनि शान्ति सुरक्षा व्यवस्था कायम गरिदिएको छ । तर, ससुरा र देवरले जग्गासम्म जान दिएको छैन । अदालतको आदेश कार्यन्वयन हुन दिएको छैन । म माथि अन्याय भएको छ । न्यायका लागि आज पत्रकार सम्मेलन गर्न बाध्य भएको छु ।’

डा. निताले हालसम्म उक्त जग्गामा एक इन्च पनि भोगचलन गर्न नपाएको बताउँदै यसले आफूलाई मानसिक तनावमा पारेको बताइन् । एक शिक्षित चिकित्सक हुँदाहुँदै पनि उनी न्यायिक प्रक्रियापछि पनि न्याय पाउनबाट वञ्चित भएकी छन् । ‘न्यायालयले दिएको हकसमेत प्रयोग गर्न नपाउनु महिला विरुद्धको गहिरो अन्याय हो,’ उनले भनिन् ।

अदालतको फैसला (बायाँ) पत्रकार सम्मेलनमा बाँडिएको विज्ञप्ती (दायाँ)

न्यायका लागि डा. निताको आग्रह

डा. यादवले स्थानीय प्रशासन, नागरिक समाज, महिला अधिकारकर्मी तथा सञ्चारमाध्यमहरूसँग आफूले न्याय पाउने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छिन् । उनकाअनुसार ससुरा डा. सितल यादव र देवर सुनिल यादव मिलेर उनको कानुनी अधिकारलाई निष्प्रभावी पार्न लगातार षड्यन्त्र गरिरहेका छन् ।

यो मामिला न्यायपालिकाले दिएको निर्णय कार्यान्वयनमा चुनौती भएको उनले बताइन् । ‘यसरी शिक्षित महिलाहरूले समेत कानुनी अधिकार प्राप्त गरिसकेपछि पनि त्यसको उपभोग गर्न नसक्दा महिला अधिकारको क्षेत्रमा थप चुनौतीहरू रहेको देखिन्छ,’ उनले भनिन्, ‘स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले यस्ता मामिलामा तत्काल हस्तक्षेप गरी न्यायिक निर्णयको कार्यान्वयन सुनिश्चित गर्नुपर्ने आवश्यक देखिएको छ । यसमा सबैलाई साथ सहयोगको लागि आग्रह गर्दछु ।’

डा. निताका ससुरा डा. शितलले भने मुद्धा सर्वोच्चमा पुगेकाले सर्वोच्चको फैसला मान्न आफूहरु तयार रहेको बताए । ‘यो मुद्धा सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्चको फैसलाको मान्न तयार छौं,’ उनले भने, ‘जिल्ला र उच्चको फैसलालाई सदर ग¥यो भने त्यो मान्न हामी तयार छौं । हामीले अंश दिदैंनौं भनेका छैनौं,’ डा. यादवले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ