काठमाडौं—पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको नासिकास्थान साँगास्थित सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व प्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध मुद्धा दायर गरेको हो ।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेर भ्रष्टाचार गरेको आरोप अख्तियारको छ । अख्तियारले नेपाल विरुद्ध दायर गरेको मुद्धामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
पतञ्जली योगपीठले अस्पताल, आयुर्वेद शिक्षालय, जडिबुटी खेती गर्नका लागि भन्दैं काभ्रेमा हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । १८ माघ २०६६ मा नेपाल नेतृत्वको सरकारले पतञ्जलीलाई ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न दिने निर्णय गरेको थियो ।
तर, जग्गा किनेको दुई महिना नबित्दैं २०६६ चैतमा पतञ्जलीले हदबन्दी छुटमा किनिएको बिक्री गर्न पाउने निर्णय नेपाल नेतृत्वको क्याबिनेटले ग¥यो ।
पतञ्जलीले २१ असार २०६७ मा उक्त हदबन्दी छुटमा किनिएकोमध्ये ३१४ रोपनी जग्गा बिक्री गरेको पाइएपछि अख्तियार छाविन गरेको थियो । हदबन्दी छुटको जग्गा किनबेच गर्न कानुनअनुसार पाइदैंन् । अख्तियारकाअनुसार उक्त जग्गामध्येबाट ३१४ रोपनी, १५ आना, २ पैसा १ दाम जग्गा बिक्री भएको छ । सोही जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जना विरुद्ध मुद्धा दायर गरिएको हो ।
मुद्धासँगै नेपालको सांसद पद निलम्बरमा परेको छ ।