काठमाडौं—नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेशनबीच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालिम दिई दक्ष जनशक्तिका रुपमा विकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दकाअनुसार समय, आर्थिक अभाव, भाषा र विदेश गएर तालिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम सञ्चालनका लागि यो परियोजना सञ्चालन गरिएको हो । भविष्यमा आवश्यकताअनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ, अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै सञ्चालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना सञ्चालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाइरेक्टर डा. ऋषिराज बोराहले भने ।
यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागीहरुले भौतिक रुपमा आफै उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यबस्थाप तालिमलगायतका अप्थाल्मीक विद्याहरुमा तालिममा सहभागी हुन सक्नेछन्, जसमा हाई टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ ।
अर्विसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा सञ्चालन हुने नेत्रज्योति संघले जनाएको छ । त्यस्तै, यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालमा रहेका सम्पूर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजी आँखा अस्पतालहरु, स्वास्थ्य सेवा प्रतिस्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागी हुन सक्नेछन् । उक्त तालिमहरुको सहजीकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषय विज्ञहरुद्वारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई सञ्चालन भएको छ भने विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा सावित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिने बताए ।
संघका कार्यक्रम व्यस्थापक रन्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ भने अर्को वर्षबाट देशबाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजनाअन्तर्गत सञ्चालन गरिने तालिमहरु प्रकृति हेरेर १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।