काठमाडौं—पछिल्लो एक हप्तामै १४७ जनालाई डेंगी संक्रमण भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार पछिल्ला ७ दिनमा १४७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
बुधबारसम्म नेपालका ७३ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । १ जनवरी २०२५ देखि २३ जुलाईसम्म २ हजार २३८ जनामा डेंगीको संक्रमण भइसकेको छ ।
१ जनवरीदेखि २३ जुलाईसम्म ३९१ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको इडिसिडीको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टअनुसार यो अवधिमा कोभिड—१९ बाट ३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ जनामा र पछिल्लो एक हप्तामा २८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।
४७ जिल्लामा कोभिड—१९ का केसहरु पुष्टि भएका छन् । पछिल्लो सात दिनमा मात्रै २८ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ ।
इडिसिडीको रिपोर्टअनुसार यो अवधिमा बागमती प्रदेशमा सबैभन्दा बढी २७२ कोभिड—१९ संक्रमित पुष्टि भएका छन् । बागमतीमा पछिलाले ७ दिनमा मात्रै १० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो ।
यसैगरी, १ जनवरी २०२५ देखि २३ जुलाईसम्म कोशी प्रदेशमा ३९ जनामा कोभिड—१९ संक्रमण देखिएको छ । यही अवधिमा सुदूरपश्चिममा २२, लुम्बिनीमा २१, गण्डकीमा १९, मधेशमा १५ जनामा कोभिड—१९ पुष्टि भएको छ । कर्णालीमा भने ३ जनामा मात्रै कोभिड—१९ देखिएको रिपोर्टमा उल्लेख छ ।