काठमाडौं—नेपालमा पहिलो पटक शहीद गंगालाल हृदय केन्द्रमा नन भाल्बुर एट्रियल फिब्रिलेसन (एएफ) भएका बिरामीमा ‘एलए एपेन्डेज अक्लुडर’ प्रयोग गरिएको छ । १६ भदौंमा अस्पतालमा मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वको टिमले ७४ वर्षीय एक पुरुषमा यो शल्यक्रिया गरेको हो ।
‘उहाँ (बिरामी)लाई नन भाल्बुलर एएफ थियो । नन भाल्बुलर एएफमा लेफ्ट एट्रियल एपेन्डेजमा रगत जम्न गई सो जमेको रगत उछिटिएर प्यारालाइसिस हुने खतरा हुन्छ । यो खतरालाई कम गर्न वारफारिन वा नोयाक्सबाट उपचार गर्नुपर्ने हुन्छ । उहाँ (बिरामी)मा वारफारिन र नोयाक्स प्रयोग गर्दा रक्तस्राव हुन गई वारफारिन र नोयाक्स प्रयोग गर्न सकिएको थिएन्,’ डा. अधिकारीले हेल्थआवाजसँगको टेलिफोन कुराकानीमा भने, ‘यसको विकल्पका रुपमा उपचार खोज्दैं बिरामी शहीद गंगालाल हृदय केन्द्रमा मलाई भेट्न आउनु भएको थियो र उपचारका विषयमा बिरामीका आफन्तहरुलाई सबै कुरा बताइए पश्चात यो विधीबाट नेपालमा पहिलो पटक उपचार गरिएको हो ।’
एएफमा मुटुको देब्रेपट्टीको माथिल्लो कोठा (लेफ्ट एट्रियम)मा रगत जम्न सक्छ । ‘नन भाल्बुलर एएफ भएकामध्ये ९० प्रतिशतमा लेफ्ट एट्रियम एपेन्डेजमा रगत जम्न सक्छ । लेफ्ट एट्रियम एपेन्डेज एक्लुडरको प्रयोगबाट लेफ्ट एट्रियम एपेन्डेजलाई बन्द गर्दा त्यहाँ रगत जम्न पाउँदैन् र जमेको रगत उछिटिएर गई स्ट्रोक हुन सक्ने सम्भावनालाई न्यून गर्न सकिन्छ,’ उनले भने ।
डा. चन्द्रमणि अधिकारी
डा. अधिकारीकाअनुसार यदि कोही मान्छेमा ‘नन भाल्बुर एएफ छ र वारफारिन वा नोयाक्स खान सक्दैनन् वा खाए पश्चात रक्तस्राव हुन्छ भने त्यस्ता बिरामीमा यो उपचार विधी निकै उपयोगी छ । ‘रगत पातलो गर्ने औषधि वारफारिन र नोयाक्स लिन नसक्ने बिरामीलाई यो उपचार उपयोगी छ,’ उनले थपे, ‘एलए एपेन्डेज अक्लुडर गरिएका बिरामीले त्यसपछि एस्पीरिन मात्रै खाए पुग्छ ।’ यो उपचारले एएफ भएका बिरामीलाई लाइफटाइम स्ट्रोकबाट सुरक्षित बनाउने उनले जानकारी दिए ।
के हो ‘एलए एपेन्डेज अक्लुडर’ ?
‘एलए एपेन्डेज अक्लुडर’ एट्रियल फिब्रिलेसन (एएफ) अर्थात मुटुको चालको गडबढी भएका बिरामीमा गरिने प्रोसिडियर हो । नन भाल्बुलर एएफमा लेफ्ट एट्रियल एपेन्डेजमा रगत जम्न सक्छ । त्यो जमेको रगत उछिटिएर गएर स्ट्रोक (प्यारालाइसिस) हुने जोखिम हुन्छ । अध्ययनअनुसार पाँच वटा स्ट्रोकमध्ये एउटा एएफको कारणले हुने हुन्छ ।
डा. अधिकारीकाअनुसार एएफ भएका मान्छेलाई स्ट्रोकको जोखिम पाँच गुणाले बढी हुन्छ । एएफ भएका बिरामीमध्ये ३५ प्रतिशत बिरामीलाई लाइफटाइम स्ट्रोक हुन सक्छ ।
एएफको भएका बिरामीलाई स्ट्रोकबाट बचाउने दुई वटा उपाय छन् । एउटा—ओरल एन्टीकोअगुलेन्ट थेरापी (वारफारिन वा नोयाक्स) प्रयोग गरिन्छ । वारफारिनको प्रयोग गर्दा मानिसअनुसार डोज फरक फरक हुन सक्छ र यसको डोज उचित भए नभएको सुनिश्चित गर्न हरेक महिना रगत जाँच गराउनुपर्छ । साथै, वारफारिनसँग विभिन्न खानेकुराको अन्तक्रिया पनि धेरै छ ।
वारफारिनको विकल्पमा नन भिटामिन के ओरल एन्टीकोआगुलेन्ट (नोयाक) प्रयोग गरिन्छ । यो उपायअन्तर्गत रगत पातलो बनाउने औषधि दिइने भएकाले रक्तस्राव हुने खतरा पनि हुन्छ । ‘वारफारिन खाएपछि रगत पातलो छ कि छैन भनेर प्रोथ्रोम्बिन समय (PT/INR) जाँच गर्छौ, त्यो दुई र तीनको बीचमा राख्नुपर्छ,’ उनले भने, ‘दुईभन्दा कम भयो भने प्यारालाइसिस हुने डर बढ्छ, तीनभन्दा बढी भयो भने स्ट्रोक अथवा रक्तस्राव हुने खतरा बढी हुन्छ । नेपालजस्तो देशमा पीटी/आईएनआर टेष्ट गर्ने ठाउँहरु टाढा टाढा भएकाले समय समयमा यो परीक्षण गाह्रो हुन्छ ।’
नेपालमा एएफका बिरामीहरुमा यो परीक्षणमा पहुँच कम देखिन्छ । अर्कोतर्फ, यसको खानपिनसँग पनि अन्तक्रिया हुने भएकाले हरियो सागपात खानेबितिकै रगत बाक्लो हुने डा. अधिकारीले बताए । यी कारणहरुले गर्दा नेपालमा धेरै मानिसहरुमा वारफारिनबाट उपचार गर्न गाह्रो भएको उनले सुनाए । नोयाक्समा रगत जचाउन नपर्ने भएपनि यसले रक्तस्राव गराउने खतरा हुन्छ ।
यी दुवै उपचारको विकल्पमा एलए एपेन्डेज अक्लुडर (एलए) गतिलो विकल्पमा रुपमा आएको हो ।