२०८२ कात्तिक १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका नर्सहरु आन्दोलित

निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका नर्सहरु आन्दोलित

सरकारले तोकेको पारिश्रमिक लागु नगरेसम्म आन्दोलन नरोकिने चेतावनी


विराटनगर—निजी स्वास्थ्य संस्थाहरुले नर्सहरुलाई तोकिएको न्यूनतम पारिश्रमिक नदिई श्रम शोषण गरेको भन्दै विराटनगरमा नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ संघको आव्हानमा सुरु भएको आन्दोलनमा विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।

नेपाल नर्सिङ संघ मोरङको अगुवाईमा कोशी अस्पतालका नर्सहरुले अस्पताल परिसरमा प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘नर्सको कामको सम्मान गरौँ, श्रम शोषण अन्त्य गरौँ’, ‘विदेश जाने वातावरण हटाऊ र श्रमको अवमूल्यन नगरौँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनले सरकारले तोकेको न्यूनतम पारिश्रमिक निजी अस्पतालहरुले अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताइन् । उनले जबसम्म राज्यले तोकेको पारिश्रमिक लागू हुँदैन, तबसम्म स्वास्थ्यकर्मीहरुको आन्दोलन नरोकिने चेतावनी दिइन् ।

केन्द्रीय सर्कुलरअनुसार कोशी अस्पतालका नर्सहरुले बुधबारदेखि हरेक दिन दुई घण्टा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको अध्यक्ष योन्जनले जानकारी दिइन् । उनीहरुले आफ्नो माग पूरा नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताएका छन् । यो आन्दोलनले निजी क्षेत्रमा कार्यरत नर्सहरुको दयनीय अवस्थालाई उजागर गरेको छ र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ