काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्माले निजी अस्पतालमा ठेक्का प्रथाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन)को ज्ञापनपत्र बुझ्दैं उनले ठेक्का प्रथा रोक्न तत्काल सूचना निकाल्ने प्रतिबद्धता जनाएकी हुन् ।
मन्त्री डा. शर्माले संघका मागहरूलाई गम्भीरतापूर्वक लिने बताउँदै मन्त्रालयले आवश्यक नीतिगत सुधारका पहल गर्ने र तत्कालै ठेक्का दिएका अस्पतालहरुमा अस्पतालले नै व्यवस्थापन गर्ने गरी सूचना निकाल्ने बताइन् ।
युनिफिनले स्वास्थ्यमन्त्री डा. शर्मालाई निजी अस्पताल र मेडिकल कलेजहरूमा बढ्दै गएको बेथितीबारेमा ज्ञापनपत्र बुझाएको थियो। संघका प्रतिनिधिहरूले स्वास्थ्य सेवा महंगो, मनपरी शुल्क असुल्ने, प्रशिक्षित जनशक्ति अभाव र निजी संस्थामा हुने श्रमिक शोषणलगायतका समस्याबारे मन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्रमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन कडा नियमन, स्वास्थ्यकर्मीको सुरक्षा, उचित तलब–सुविधा र निजी अस्पतालहरूमा पारदर्शिता सुनिश्चित गर्न माग गरिएको छ।
स्वास्थ्यमन्त्री डा. शर्मालाई देशभर संचालित अस्पतालहरुले गरेको श्रम शोषण , ठेक्का प्रथा, करार र ज्यालादारी समस्याको समाधानका लागि ज्ञापनपत्र बुझाइएको युनिफिनका अध्यक्ष कर्ण विश्वकर्माले जानकारी दिए ।
ज्ञापनपत्र बुझाउन अध्यक्ष विश्वकर्माको नेतृत्वमा संघका सह—अध्यक्ष दिनेश पोख्रेल ,युथ कमिटीका अध्यक्ष कर्ण विश्वकर्मा, कोषाध्यक्ष तेज कडायत र सदस्य नेत्र कुसुहवालगायतका स्वास्थ्यकर्मीहरू स्वास्थ्य मन्त्रालय पुगेका थिए ।