काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्र सर्ने भएको छ । बुधबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सिंहदरबारभित्र मन्त्रालयका लागि बनाइदिएको प्रिफ्याब भवन हस्तान्तरण गरेसँगै मन्त्रालय सिंहदरबाभित्र सर्ने निश्चित भएको हो ।
डब्लूएचओको आर्थिक सहयोगमा बनेका उक्त भवन स्वास्थ्यमन्त्री सुधा शर्मालाई हस्तान्तरण गरिएको हो । ‘सिंहदरबारमा बनेको प्रिफ्याब भवन आज ह्याण्डओभर भयो,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हेल्थआवाजसँग भने, ‘सम्भवतः आज साँझबाट सामान सार्न सुरु हुन्छ । सामान सारिसकेर आइतबारबाट पूर्णतयाः मन्त्रालय सिंहदरबारबाट सञ्चालनमा आउँछ होला ।’
डब्लूएचओले सिंहदरबारभित्र ६ वटा प्रिफ्याब भवन र एउटा ४ कोठाको प्रिफ्याबकै टहरा बनाइदिएको छ । यस्तै, नेपाली सेनाको नरसिंह दल गणका केही पुराना भवनहरु पनि मन्त्रालयको काम गर्ने ठाउँका रुपमा प्रयोग गर्ने तयारी छ ।
रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या र एचईओसी भने तत्काल सिंहदरबारमा सर्ने छैन् ।
जेन—जी आन्दोलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुख्य भवन पूर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यसपछि रामशाहपथस्थित मन्त्रालयको मुख्य भवनको पछाडितिर रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नवनिर्मित भवनबाट मन्त्रालय अस्थायी रुपमा सञ्चालनमा ल्याइएको थियो ।