धनगढी—सुदूरपश्चिम प्रदेश सरकारले विगत तीन आर्थिक वर्षदेखि स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित तालिमको क्षेत्रमा विनियोजन गर्दै आएको बजेट कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारले स्वास्थ्यकर्मीसँगै चिकित्सकलाई स्वास्थ्य अनुसन्धान सम्बन्धी तालिम र नसर्ने रोग सम्बन्धी अनुसन्धान शीर्षकमा बजेट विनियोजन भएपनि कार्यान्वयन हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धानतर्फ सरकारको बजेटबाट सेती प्रादेशिकमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सिकलसेल एनिमियाको क्षेत्रमा अनुसन्धान गरेका थिए । सोबाहेक प्रदेश सरकारले कुनै पनि क्षेत्रमा अनुसन्धान गर्न सकेका छैनन् ।
स्वास्थ्यतर्फको अनुसन्धान तथा अनुसन्धानमूलक तालिम प्रदान गर्न आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई अनुसन्धानमूलक तालिम २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर कार्यान्वयन भएन ।
त्यस्तै, आर्थिक बर्ष २०८०/०८१ मा प्रदेशभित्रका स्वास्थ्य तथा रोगहरु सम्बन्धी विभिन्न सर्वे, अनसन्धान र अध्ययन कार्यक्रममा ३० लाख रुपैयाँ र सोही आर्थिक वर्षमै नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा प्रदेश स्तरीय स्वास्थ्य अनुसन्धान इकाई गठन तथा अनुसन्धान कार्यका लागि २५ लाख रुपैयाँ विनियोजन भएपनि कार्यान्वयन भएन ।
त्यसैगरी, प्रदेशभित्रका स्वास्थ्य तथा रोगहरु सम्बन्धी विभिन्न सर्वेक्षण, अनुसन्धान र अध्ययन (मातृ तथा बाल स्वास्थ्य, आँखा, जडीबुडी)मा विनियोजन भएको ५ लाख रुपैयाँसमेत खर्च भएन् ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश स्वास्थ्य नीति, २०७८ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वय र सहकार्यमा प्रदेशमा स्वास्थ्य अनुसन्धान इकाई गठन गरी अध्ययन, अनुसन्धान र सर्वेक्षण गरिनेछ भनी उल्लेख छ । तर, हालसम्म नीतिमा उल्लेख गरिएका कुरा नै कार्यान्वयन भएका छैनन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य ऐन, २०७६ को परिच्छेद ११ मा स्वास्थ्य अध्ययन अनुसन्धान भनी ब्यवस्था गरिएको छ । मन्त्रालयले स्वास्थ्यको समग्र विकासका लागि अध्ययन तथा अनुस्न्धान गर्न गराउन प्रदेशस्तरीय स्वास्थ्य अनुसन्धान परिषद स्थापना गर्ने उल्लेख छ ।
जनस्वास्थ्य र चिकित्सा क्षेत्रमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रदेशमा स्वास्थ्य अनुसन्धानको क्रियाकलाप गर्न प्रदेशमा संयोजक समेत तोकेको छ । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य अनुसन्धान सम्बन्धी सहकार्यसँगै प्रदेशमा अनुसन्धान इकाई स्थापना गर्न नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका सचिव समेत रहेका डा. मिराज आलम अन्सारीलाई जिम्मेवारी दिइएको थियो ।
तर, कार्यालय संचालन तथा स्थापनासँगै स्वास्थ्य अनुसन्धानका कुनै कार्य हुन सकेका छैनन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशकले डा. खगेन्द्र बमले प्रदेशमा स्वास्थ्यको अनुसन्धान आवश्यक रहेको र अनुसन्धानको अनुमति लिन केन्द्रको कार्यलयनै धाउनुपर्ने अवस्था रहेको बताए ।
सामाजिक विकासमन्त्री मेघराज खड्काले स्वास्थ्य अनुसन्धान परिषदको इकाई स्थापनाका लागि प्रयासरत रहेको बताए ।