२०८२ पुस २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन

विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होमले स्वास्थ्य सेवालाई थप विस्तार गर्दै अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ । आइतबारबाट कार्डियाक, न्यूरो तथा भास्कुलर इन्टरभेनसनल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले ‘क्याथ ल्याब’ सेवा सुरु गरेको हो ।

सेवा शुभारम्भका अवसरमा बोल्दै इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयघात र स्ट्रोकजस्ता आपतकालीन अवस्थामा समयमै उपचार पाउनु निकै चुनौतीपूर्ण रहेको बताए । ‘हृदयघात वा मस्तिष्कघात हुँदा समयमै उपचार नपाए ज्यान जाने जोखिम उच्च हुन्छ । सोही जोखिम न्यूनीकरण गर्न हामीले यो अत्याधुनिक प्रविधि ल्याएका हौं,’ शर्माले भने, ‘यो सेवाले विराटनगरसहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई उन्नत उपचारका लागि अब टाढा गइरहनुपर्ने बाध्यता अन्त्य गर्नेछ ।’

विराट नर्सिङ होमले कोशी र मधेश प्रदेशमै पहिलो पटक एउटै छानामुनि कार्डियाक, न्यूरो र इन्टरभेनसनल रेडियोलोजी गरी तीनै वटा विशेषज्ञ सेवा उपलब्ध गराएको दाबी गरेको छ । अस्पतालकाअनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया पूरा गर्दछ ।

अस्पतालका सिईओ डा. निकिता कार्कीले नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेनसनल विशेषज्ञहरूबाट यहाँ २४ सै घण्टा सेवा उपलब्ध हुने जानकारी दिइन् । ‘हाम्रो आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शय्याको एडभान्स सीसीयूसहितको पूर्ण सुविधा रहेको छ,’ उनले भने । अस्पतालले मुटु रोग तथा अन्य आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन समेत आम नागरिकलाई आग्रह गरेको छ ।

क्याथ ल्याब उद्घाटनको अवसरमा अस्पतालले विशेष सहुलियतको घोषणा गरेको थियो । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा पहिलो दिन नै १९ जनाले सो सुविधा लिएको अस्पताल प्रशासनले जनाएको छ । यसका साथै अस्पतालले सीसीयू शुल्क तथा निदान सेवामा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।

अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिमार्फत विराटनगरमै यो स्तरको सेवा सुरु हुनुले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा नयाँ इट्टा थपिएको विश्वास गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ