काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब छ वर्षअघि टेकुस्थित हालको स्वास्थ्य सेवा विभागका संरचना हटाएर अत्याधुनिक हेल्थ प्लाजा निर्माण गर्ने योजना अघि सारेको थियो।
तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कार्यकालमा स्वास्थ्यसँग सम्बन्धित सबै नियामक निकाय, जनस्वास्थ्य निकाय, आयुर्वेद विभाग, सर्ने तथा नसर्ने रोग नियन्त्रण केन्द्रलगायतका संस्थाहरूलाई एउटै अत्याधुनिक भवनभित्र समेट्ने अवधारणासहित योजना तयार गरिएको थियो। सोहीअनुसार भवन निर्माण विभागले भवनको विस्तृत परियोजना प्रतिवेदन (DPR) समेत तयार गरेको थियो।
तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको कार्यकालमा तयार भएको उक्त परियोजनाको लागत करिब ८ अर्ब रुपैयाँ अनुमान गरिएको थियो।
‘स्वास्थ्यका सबै निकाय एउटै छानामुनि राख्ने उद्देश्यले यो परियोजना परिकल्पना गरिएको हो,’ पूर्व अतिरिक्त सचिव डा. सिंह भन्छन्, ‘यो एउटा ठूलो परियोजना हो, जहाँ सेन्टर फर डिजिज कन्ट्रोल, एफडिए, आयुर्वेद, जनस्वास्थ्य, प्रवर्द्धनात्मक र निवारक स्वास्थ्यसम्बन्धी सबै निकायहरू एउटै स्थानमा रहने व्यवस्था गरिएको छ।’

भवन निर्माण विभागले उक्त परियोजनाका लागि डीपीआर तयार गरी स्वास्थ्य मन्त्रालयलाई बुझाएको धेरै वर्ष भइसकेको छ। तर अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता हुन नसक्दा परियोजनाको काम अघि बढ्न नसकेको स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाबाट केही दिनअघि मात्र सरुवा भएका डा. कृष्ण पौडेलले जानकारी दिए।
‘यो योजना तीन–चार वर्षअघिदेखिकै हो,’ उनी भन्छन्, ‘तर बजेट सुनिश्चित नहुँदा कार्यान्वयनमा जान सकेको छैन।’
परियोजना तीन चरणमा सम्पन्न गर्ने गरी विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ। पहिलो चरणमा ९,२०२ वर्ग मिटर, दोस्रो चरणमा १०,७२८ वर्ग मिटर र तेस्रो चरणमा १२,१६२ वर्ग मिटर क्षेत्रफलमा भवन निर्माण गर्ने योजना छ। यसरी कुल ३२,०९३ वर्ग मिटर क्षेत्रफलको अत्याधुनिक हेल्थ प्लाजा निर्माण गर्ने तयारी गरिएको छ।