काठमाडौं—बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालयलाई एउटैमा गाभ्नुपर्ने सुझाव दिइएको छ । बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाँ बुझाइएको पूर्व सचिव विमल वाग्लेको संयोजकत्वमा गठित प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले तयार पारेको प्रतिवेदनमा हाल अलग्गै रहेका दुई वटा मन्त्रालयलाई एउटैका गाभ्न सुझाव दिएको हो ।
बागमती प्रदेशमा हाल स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय दुई मन्त्रालय छन् । समितिले स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालयलाई गाभेर ‘स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय’ कायम गर्न सुझाव दिइएको हो ।
अहिले बागमतीमा स्वास्थ्यमन्त्री किरण थापामगर छन् भने सामाजिक विकास मन्त्री कन्चन चन्द्र बाँदे छन् ।
केही प्रदेशमा स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय एउटै मन्त्रालयका रुपमा राखिएका छन् भने केही प्रदेशमा फरक—फरक मन्त्रालयका रुपमा छन् । बागमती प्रदेशमा पनि सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय अलग्गै मन्त्रालयका रुपमा छन् ।
समितिले मुख्यमन्त्री कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै आवश्यक रहेको निष्कर्षसहितको प्रतिवेदन बागमती सरकारलाई दिएको छ । हाल बागमती प्रदेशमा १३ वटा मन्त्रालय छन् ।