हेटौडा—मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवनको शिल्यान्यास भएको छ । प्रतिष्ठानका कुलपति समेत रहेका बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाँले सो भवनको शिलान्यास गरेका हुन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवालीका अनुसार शैक्षिक तथा अनुसन्धानात्मक गतिविधिलाई अगाडि बढाउन तीन वटा प्रिफ्याव भवन एकैसाथ निर्माण हुनेछन् । ८ करोड ६१ लाख १७ हजार ९ सय १ रुपैयाँ लागतमा बन्न लागेका ती भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हेटौडा उपमहानगरपालिका—१० टिसियन क्षेत्रमा निर्मण हुन लागेका ती भवन निर्माणपछि त्यसमा कक्षा कोठा, प्रशासनिक कक्ष, प्रयोगशालालगायत रहनेछन् ।
हाल प्रतिष्ठानको आफ्नै भवन नहुँदा शैक्षिक कार्यक्रमका लागि भाडामा लिइएका कोठाहरु प्रयोग गरिरहनु परेको छ ।
प्रतिष्ठानले हाल चिकित्सा विज्ञानतर्फ स्नातकोत्तर र स्नातक तहका कार्यक्रम सञ्चालन गरिरहेको छ । जसमा एमडी÷एमएस, एमबीबीएस, विएस्सी नर्सिङ, बीएन नर्सिङ र अन्य स्वास्थ्य विज्ञानका कार्यक्रम रहेका छन् ।
यसै वर्षदेखि प्रतिष्ठानले एमबीबीएस कक्षा पनि सञ्चालन गरिरहेको छ । बिहिवार शिलान्यास गरेका भवन सम्पन्न भएपछि प्रदेशको चिकित्सा विज्ञान शिक्षामा अर्को उचाइ थप्ने कुलपति समेत रहेका मुख्यमन्त्री बाँनियाले बताए । ‘स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठानको भूमिका महत्वपूर्ण रहेको छ,’ उनले भवन शिलान्यास गर्दै भने, ‘भवन निर्माणसँगै शैक्षिक कार्यक्रम थप व्यवस्थित र प्रभावकारी हुनेछ । यो प्रतिष्ठान प्रदेशकै स्वास्थ्य क्षेत्रको उच्च शिक्षाको केन्द्रको रुपमा विकास हुन्छ ।’
शिलान्यास कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, स्वास्थ्यमन्त्री किरण थापालगायतको उपस्थिती रहेको थियो ।