२०८२ जेठ ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यख्याल पुर्‍याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा

ख्याल पुर्‍याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा


मानसिक स्वास्थ्य भन्नाले मानसिक स्वास्थ्यको त्यस्तो अवस्था हो, जसले मानिसलाई जीवनका तनाव सामना गर्न, आफ्नो क्षमता महसुस गर्न, राम्रोसँग सिक्न, काम गर्न र आफ्नो समुदायमा योगदान दिन सक्षम बनाउँछ । मानसिक समस्या विभिन्न कारणले उत्पन्न हुन्छन् र जुनसुकै उमेर, समूह, जातजातिका मानिसमा देखिन सक्छ । त्यसमध्ये आजकाल किशोर—किशोरीहरु बढी मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका हुन्छन्, जसका बारेमा समाजमा त्यति सचेतना छैन ।

आजकाल प्रतिस्पर्धाको समय हो । किशोर—किशोरीहरुको जीवनको महत्वपूर्ण क्षण भएकाले पढाइको दबाब त हुन्छ नै सामाजिक सञ्जाल, समाजलगायतका कारण उत्कृष्ट र असल हुनुपर्छ भन्ने मानसिक दबाब परिरहेको हुन्छ । एकै पटक धेरै कुरामा अगाडि बढ्नुपर्छ भन्ने सोचाइका कारण मानसिक तनाव बढेको हुन्छ । जसका कारण एन्जाइटी तथा डिप्रेसन हुने, परिवारसँग अलग हुने, रातभरी पढ्ने, निद्राको समस्या आउने, खानपिनमा परिवर्तन आउने, धेरै कोठाभित्रै बसिरहँदा मोटोपना बढ्नेजस्ता समस्या देखा पर्छन् ।

यस्तो अवस्थामा किशोर—किशोरीमा भविष्यमा म राम्रो गर्न सक्दिनँ कि भन्ने आत्मविश्वास गुम्दै जान्छ । सामाजिक रुपमा एक्लिने हुँदै जाँदा दुर्व्यसनतिर लाग्ने पनि जोखिम हुन्छ । पढाइतिर मन जाँदैन । चिडचिडाहट हुने तथा मनमा निराशापन आउने, साथीभाइसँग समेत अलग हुनेजस्ता मानसिक समस्या देखा पर्छन् । मानसिकबाहेक टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता शारीरिक लक्षण देखिन्छन् । कसै–कसैले आफैंलाई हानी पुर्‍याउने अवस्थासम्म पुग्छन् । परीक्षामा सफल नहुने, प्रयासहरु सफल नहुनेजस्ता कारण कोही आफैंलाई हानी गरेर खुसी हुन खोज्छन् ।

कतिले आफ्ना पीडा परिवारलाई भन्दैनन् । भने पनि परिवारले बुझ्दैनन् भन्ने उनीहरुको सोचाइ हुन्छ । फेरि सामाजिक सञ्जाल, इन्टरनेटमा अरुका सफलता कुरा हेरिरहँदा त्यो कुरा आफूले गर्न पाइएन भन्ने सोचाइ आउँछ र असुरक्षित महसुस गर्छन् । जसले गर्दा आफूलाई हानी पुर्‍याउनेसम्मको अवस्था सिर्जना हुन्छ ।

अर्को कुरा, आजकाल ‘सोसल करेन्सी’को प्रवृत्ति देखा परेको छ । कुनै भिडियो, तस्बिर तथा सामग्री पोस्ट गरियो भने कति भ्युज, लाइक आयो भन्ने कुराको मापन गरिरहेका हुन्छौं । सामजिक सञ्जाल नराम्रो होइन तर यो कति र कसरी प्रयोग गरेका छौं भन्ने कुरा महत्वपूर्ण हो ।

यस्तै, आजकाल सञ्चारको शैली नै बदलिएको छ । हामी सँगै बस्दा पनि कुरा गर्दैनौं, आपसमा अन्तरक्रिया गर्दैनौं । तर, त्यही व्यक्तिसँग सामाजिक सञ्जालमार्फत् कुरा गरिरहेका हुन्छौं । सँगै बसेर कुरा गर्दा जति अपनत्व आउँछ, जति भावना साट्न सकिन्छ, सामाजिक सन्जालमार्फत् गर्दा त्यो सम्भव हुँदैन ।

अभिभावकको भूमिका

किशोर—किशोरीको स्वास्थ्यका लागि अभिभावकले पनि रोल मोडलको व्यवहार गर्नुपर्छ । अभिभावकले जे गर्छन्, बालबालिकाले पनि त्यही सिक्ने हो । उनीहरुका कुरा सुन्नुपर्छ, अन्तरक्रिया गर्नुपर्छ । नत्र भने हामी आफैं मोबाइल चलाएर बस्यौं भने बालबालिकाले पनि मोबाइल नै चलाउन खोज्छन् । पुस्तक पढेर बस्यौं भने उनीहरुले पनि त्यही सिक्छन् ।

यस्तै, घरमा बनाएको पोषणयुक्त खाना खान, शारीरिक व्यायाम तथा ध्यान गर्न र उनीहरुका उत्सुकता र प्रश्नलाई चित्तबुझ्दो जवाफ दिन प्रयासका गर्नुपर्छ । त्यसका अतिरिक्त उनीहरुमा सकारात्मक सोच र आत्मबल विकास गर्न उनीहरुका राम्रा कामका बारेमा खुलेर प्रशंसा गरिदिनुपर्छ ।

कस्तो अवस्थामा डाक्टर कहाँ लैजाने ?

किशोर—किशोरीमा टाउको दुख्ने समस्या छ, निद्रामा परिवर्तन भएको छ, निराशा देखिएको छ, एक्लै बस्ने गर्छन्, यस्तो समस्या एक–दुई दिनमात्र देखिएको छ भने अस्पताल लैजानु पर्दैन । तर, यस्तो असामान्य व्यवहार लम्बियो, आफैंलाई हानी गर्ने अवस्था छ भने चिकित्सककहाँ लैजानुपर्छ ।

(डा. चौधरी नर्भिक अस्पतालका कन्सल्ट्यान्ट साइकोलोजिस्ट हुन् ।)


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ