२०८२ साउन २८, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन

नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन

जो गुणस्तर सुनिश्चित गर्न प्रयोगशालालाई एक्रिडिटेसन, टोटल ल्याब अटोमेसन र डिजिटल इनफर्मेसन प्रणालीमा लैजानुपर्ने वकालत गर्दै आएका छन् ।


१६ वर्षदेखि अनवरत प्याथोलोजिष्टका रुपमा सेवा । मेडिकल कलेज ल्याब, कर्पोरेट ल्याबदेखि हस्पिटल ल्याबसम्म नेतृत्वको अनुभव । पूर्वदेखि पश्चिमसम्म नेपालका सबै क्षेत्रका बिरामीहरुको सेवा । हजारौं बिरामीहरुको रोग निदान । प्रयोगशाला प्रमुखका रुपमा कर्मचारी परिचालन, प्रयोगशाला व्यवस्थापन र प्रविधीमाथि गहिरो चाख । यी सबै ओम अस्पतालका प्रयोगशाला प्रमुख डा. रोजन घिमिरेको कर्मशील जीवनका हाइलाइट्सहरु हुन् । त्यसबाहेक उनी अहिले एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपालको महासचिव रुपमा विधालाई योगदान गरिरहेका छन् ।

प्याथोलोजिष्टहरुलाई स्वास्थ्य संस्थाहरुको भुइँतलामा बसेर रगत, पिसाबजस्ता सामान्य जाँच गर्ने स्वास्थ्यकर्मी मात्रै मान्ने अवस्थाबाट आजको दिनमा रोग निदान, च्वाइस अफ ट्रिटमेन्ट र मनिटरिङमा अपरिहार्य विशेषज्ञ डाक्टर भनेर स्वीकार हुन थालेकोसम्मको आफ्नै भोगाइ छ । म्यानुअल प्रविधीबाट सुरु भएको प्रयोगशाला प्रविधीमा मारेको फड्कोले अहिले ‘टोटल ल्याब अटोमेसन’तिर अगाडि बढिसकेको छ । कुनै समय रिपोर्टका लागि थुप्रै जनशक्ति आवश्यकता पर्ने अवस्थाबाट प्रयोगशाला डिजिटल युगतिर बढिसकेको छ । प्याथोलोजी क्षेत्रमा सेवारत रहँदा डा. रोजनले कर्मक्षेत्र देखिएका सबै परिवर्तनलाई समयानुकूल बोध गर्दै अगाडि बढेका छन् ।

यी वरिष्ठ प्याथोलोजिष्ट जन्म जनकपुरको किशोरीनगरमा वि.सं. २०३६ सालमा भएको हो । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन विभागका (हाल रिटायर्ड) प्रा.डा. गौरीराज शर्मा घिमिरे र राष्ट्रिय वाणिज्य बैंककी कर्मचारी आमा रेणु घिमिरेका दुई सन्तानमध्ये उनी जेठा हुन् । जनकपुरमा जन्मिएपनि उनको स्कुलिङ तत्कालीन समयमा शान्तभवनस्थित ज्ञानोदय बालबाटिका स्कुलबाट अगाडि बढेको हो ।

स्कुल जीवनमा डा. रोजनको पढाइमै बढी समय बित्थ्यो । पढाइबाहेक उनी अतिरिक्त क्रियाकलापमा रुचि राख्थे । तर, त्यो बेला अतिरिक्त क्रियाकलापमा त्यति पहुँच थिएन । किताबमा पनि सिमित पहुँच भएकाले प्रशस्त किताबहरु पनि उपलब्ध हुँदैन्थे । त्यही कारण उनको बढीजसो समय पाठ्यक्रमका किताबहरुसँगै बित्यो ।

वि.सं. २०५२ सालमा उनले ज्ञानोदय बालबाटिका स्कुलबाट एलएलसी उत्तीर्ण गरे । त्यसपछि उनी विज्ञानमा आईएस्सी अध्ययनका लागि सेन्ट जेभियर्स कलेज गए । ‘त्यहाँ स्कुल जीवनभन्दा भिन्न वातावरण थियो,’ उनी सम्झन्छन्, ‘कलेज निकै नयाँ र फरक थियो ।’ युनिफर्म थिएन, सिष्टम, शिक्षकदेखि सोचसम्म सबै नयाँ थियो । ‘मैले खेलकूद पनि त्यही सिक्न पाएको हुँ,’ उनले सुनाए ।

सेन्ट जेभियर्समा पढ्दा उनले अग्रज र आफन्तहरुको प्रभावबाट बायोलोजी छानेका थिए । ‘अहिले त धेरै कुरा पहिले नै थाहा हुन्छ,’ उनी भन्छन्, ‘त्यो बेला हामीलाई त धेरै कुरा थाहा नै हुँदैन्थ्यो । त्यही कारण विषय पनि मैले आफ्नो दिमागले छानेको होइन् ।’ सेन्ट जेभियर्स पढ्दा—पढ्दै उनले चिकित्सा शिक्षाका बारेमा बुझेका हुन् । त्यही कारण उनको डाक्टरी सपना हुर्किने मौका पनि सेन्ट जेभियर्समै जुरेको हो ।

आईएस्सी सकेपछि उनले शिक्षा मन्त्रालयको छात्रवृत्तिबाट एमबीबीएस पढ्नका लागि इन्ट्रान्स दिए । शिक्षा मन्त्रालयको छात्रवृत्ति परीक्षा पास भएपछि वि.सं. २०५५ मा उनी एमबीबीएस अध्ययनका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) भैरहवा गए । युसीएमएस त्रिविले सम्बन्ध दिएको पहिलो निजी मेडिकल कलेज थियो । त्यही कारण उनको ब्याच युसीएमएसको पहिलो ब्याच थियो ।

युसीएमएस स्थापना हुनुपूर्व बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालबाहेकका धेरै बिरामी लखनउ जान्थे । गुल्मी, अर्खाखाँचीलगायतका पहाडी जिल्लाका बिरामीहरु प्रशस्त आउँथे । युसीएमएसमा पनि बिरामीको चाप थियो । त्यही कारण एमबीबीएस पढ्दा नै डा. रोजनको ब्याचले राम्रो एक्स्पोजर पायो । ‘पहिलो ब्याच भएकाले छुट्टीमा पनि घर नआउने, घर आएपछि छुट्छ यही पढौं भन्ने लाग्थ्यो,’ उनले भने, ‘पहिलो ब्याच भएकाले शिक्षक, विद्यार्थी र व्यवस्थापन सबैले मेहनत गर्‍यौं ।’ कलेजलाई विश्वविद्यालय परीक्षा प्रणालीको पूर्वअनुभव थिएन्, त्यही कारण आफूहरु डटेर पढेको उनले बताए । दुःख गरेर पढेको ब्याच भएकाले परिणाम पनि राम्रो निस्कियो ।

वि.सं. २०६०—०६१ मा डा. रोजनले एमबीबीएस सके । एमबीबीएसको इन्टर्नसीप पनि उनले युसीएमएसमै गरे । युसीएमएसमा भारत र नेपालका लेक्चरहरु भएकाले पढाइ पनि राम्रो रहेको उनले बताए । इन्टर्न सकिएपछि उनले केही समय त्यही काम गरे । त्यही बेलामा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनले पोष्ट ग्राजुयसन (पिजी)को इन्ट्रान्स दिए । त्यहाँ उनले प्याथोलोजीमा एमडी गर्न छात्रवृत्ति पाए । डा. रोजनले आफ्ना प्राध्यापक र शिक्षकहरुलाई प्याथोलोजीका विषयमा सोधपुछ गरे । सबैबाट सकारात्मक प्रतिक्रिया पाएपछि उनी प्याथोलोजी पढ्नका लागि धरान गए ।

डा. रोजनले प्याथोलोजी पढ्न धरान जाने निर्णय गरेका बेला नेपालमा कममात्रै प्याथोलोजिष्टहरु थिए । सन् २००६ बाट उनको पोष्ट ग्राजुयसनको पढाइ अगाडि बढ्यो । सन् २००८ मा उनले प्याथोलोजीमा एमडी सके । सन् २००९ को सुरुदेखि उनी प्याथोलोजिष्ट रुपमा काम गर्न थाले । सुरुका दुई वर्ष उनले काठमाडौं मेडिकल कलेजमा सेवा गरे ।

त्यसपछि भारतको एसआरएलको ज्वाइन्ट भेन्चर्स एसआरएल नेपालमा काम गर्न थाले । एसआरएल नेपालमा उनले सुरुवाती चरणदेखि नै क्लिनिकल प्याथोलोजीको नेतृत्व गरे । त्यो बेला नेपालमा पर्याप्त परीक्षणहरु हुँदैन थियो । टेष्ट भ्यालिडेसन, क्युसी, क्यालिब्रेसनजस्ता गुणस्तरका कुरा जनमानसमा र चिकित्सकहरुमाझ बुझाउन नै दुई तीन वर्ष मेहनत गर्नु परेको थियो ।

तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज

‘त्यतिबेला प्याकेजिङ, ट्रान्सपोर्ट, ल्याबभित्रको स्याम्पल लेवलिङ, मल्टीपल स्टेपमा भ्यालिडेसन, उपकरणको भ्यालिडेसन ती सबै नौला थिए,’ उनले भने, ‘त्यहाँ एक्सपर्टहरुले उताबाट आएर सिकाएर सहयोग गरे ।’ केही अप्ठ्याराका बीच राम्रो सिक्ने अवसर पाए । एसआरएलबाहेक त्यो समय अन्य दुई तीन वटा ठूला प्रयोगशाला सञ्चालनमा थिए । एक वर्ष काम गरेपछि कारणबस उनी एसआरएल छाडेर नेपालगन्ज मेडिकल कलेज गए ।

सन् २०११ को अन्त्यतिरबाट नेपालगन्ज मेडिकल कलेज गएर पढाए, त्यहाँ प्रयोगशालाको नेतृत्व गरे । ‘नेपालको गरिबी कुन स्तरमा छ, गरिबीका कारण बिरामीको दुर्गति कस्तो छ भन्ने कुरा त्यही देख्न पाए,’ डा. रोजन नेपालगन्ज डायरी खोल्छन्, ‘नेपालमा धेरै ठाउँमा नदेखिने रोगहरु मैले त्यही देख्न पाएँ ।’ जेनेटिक डिसअर्डर जस्तैः सिकलसेल एनिमियाका केसहरु दैनिक परीक्षण गर्नुपर्थ्यो भने जिसिक्सपीडी डेफिसेन्सीले पीडित बालबालिका पनि देखिए । थालासेमिया, एचबीसी, एचबीईलगायतका हेमोग्लोबीनप्याथी रोगका बिरामीहरु पनि भेटिए । उपचार सहज पहुँच नभएका कारण हुन सक्छ अन्तिम स्टेजका क्यान्सरका बिरामीहरु पनि नेपालगन्जमा धेरै संख्यामा देखिए ।

दुई वर्षको नेपालगन्ज बसाइँमा उनले कयौं वर्षको अनुभव बटुले । ‘बिरामीहरुमा मैले धेरै राम्रोसँग काम गर्ने अवसर पाए,’ उनले भने, ‘पूर्वमा बसेर त पढे । त्यो बेला नगएको भए पश्चिमको बारेमा मैले बुझ्ने अवसर पाउँदैन्थे ।’ त्यहीबेला सेवा विस्तार हुने क्रममा रहेको एसआरएल नेपालले पुनः फर्कन आग्रह गर्‍यो । ‘एसआरएलले पुनः बोलाएपछि म काठमाडौं फर्किए,’ डा. रोजन भन्छन्, ‘त्यतिबेला पूर्ण प्याथोलोजी सेटअप भइसकेको थियो । पूर्ण रुपमा काम गर्ने वातावरण भएकाले मैले त्यही काम सुरु गरे ।’ एसआरएलमा हिस्टोप्याथोलोजी सेवा सुरु भयो भने आईएसओका लागि तयारी पनि अगाडि बढाए । सन् २०१८ को सुरुवातीसम्म उनले एसआरएल नेपालको प्रमुख भएर काम गरे ।

६ वर्ष एसआरएलमा काम गर्दा उनले धेरै कुरा सिक्ने अवसर पाए । भारतको चर्चित प्रयोगशालाको कोलाब्रेसनमा सञ्चालित भएकाले उनले एसआरएलमै व्यवसायिकता र कर्पोरेट कल्चरबारे बुझे । ‘सिष्टम के हो ? प्रोटोकल के हो ? डकुमेन्ट मेन्टेन गर्नुको महत्व के हो ? जस्ता कुराहरु मैले त्यहाँ सिके,’ डा. रोजन भन्छन् । १००० देखि १५०० करोडसम्मको टर्न ओभर भएको भारतीय कम्पनी एसआरएलबाट नेपालको एसआरएलको नेतृत्व गर्ने आउने सिईओहरुको सोच्ने तरिका अलग्गै थियो । विजनेशम्यानहरुले कसरी सोच्छन् भन्ने कुरा उनीहरुको बोली—व्यवहारमा झल्कन्थ्यो ।

भारतीय व्यापारीहरुको सहयोगमा हात बढाउने रुचि पनि उनले त्यही बेला खुट्याए । वि.सं. २०७२ सालको भूकम्प गएपछि एसआरएलको मुख्य नेतृत्वकर्ताले उनलाई भारतबाट फोन गरेर सबैको हालखबर बुझे । अर्को दिन एसआरएलको टिमले फोर्टिस अस्पतालसँगको सहकार्यकामा कम्पिलिट टिम लिएर ६ घण्टाभित्र सर्जरी गर्न सक्ने तयारीका साथ नेपाल आइपुग्यो । ‘टिम स्प्रीट र समस्या परेपछि दौडिहाल्ने उनीहरुबाट सिक्ने कुरा हुन्,’ डा. रोजन भन्छन्, ‘व्यापारबाहेक यस्ता कुराहरुमा पनि उनीहरु निकै अगाडि छन् ।’ एसआरएलमा रहँदा ३० जनाभन्दा बढी कर्मचारीको नेतृत्व गरेका उनले त्यहाँ आफूलाई ‘ग्रुम’ गर्ने पनि वातावरण पाएको उनले बताए । हब र छरिएको मोडलमा त्यो प्रयोगशाला चलिरहेको थियो । त्यहीबेला विराटनगरमा पनि एसआरएलले आफ्नो शाखा विस्तार गर्‍यो । त्यसमा पनि डा. रोजनले नेतृत्वदायी भूमिका खेले ।

सन् २०१८ को सुरुदेखि उनी चाबहिलस्थित ओम अस्पतालको प्रयोगशाला प्रमुखका रुपमा सेवारत छन् । अढाइ वर्षको कोभिड—१९ को समय त उनलाई गायबै भएको अनुभव छ । एसआरएलभन्दा ओम हस्पिटलको प्रयोगशाला अस्पतालको प्रयोगशाला भएकाले फरक छ । जसका कारण उनलाई अहिले पूर्ववत रुपमा काम गरेका तीन वटै प्रयोगशालाभन्दा ओममा फरक अनुभव भइरहेको छ । ‘यो हस्पिटल बेस प्रयोगशाला भएकाले प्रत्यक्ष रुपमा अझ बढी जिम्मेवारी हुनुपर्छ,’ उनी भन्छन्, ‘क्लिनिसियनसँग प्रत्यक्ष रुपमा मिलेर काम गर्नुपर्छ ।’

ओमको प्रयोगशालामा सामान्यतयाः औसतमा दैनिक २ सय ५० जना बिरामीको रिपोर्ट तयार हुन्छ । ‘२४ घण्टा सेवा दिने प्रयोगशाला हो,’ उनी भन्छन्, ‘त्यही कारण परीक्षण अलि बढी नै हुन्छ ।’ परीक्षण दैनिक १५ सय हाराहारीमा हुने गर्छ । तीमध्ये डा. रोजन प्याथोलोजिष्टका रुपमा केही आफै गर्छन् भने केहीमा प्रयोगशाला प्रमुखका रुपमा सुपरभाइज र गाइड गर्छन् । त्यसबाहेक प्रयोगशालाको व्यवस्थापनको जिम्मेवारी उनकै छ ।

प्रयोगशाला टोटल अटोमेसन र डिजिटलाइजेसन गर्ने जिम्मेवारी लिएर ओम आएका डा. रोजनले अहिले लगभग त्यो जिम्मेवारी टुंगोमा पुर्‍याइसकेका छन् । ‘हामी एक टार्गेट सेट गरेर यहाँ बस्छौं । विश्व त्योभन्दा अझै अघि पुगिसक्छ,’ उनी भन्छन्, ‘त्यसकारण अझै अघि बढ्नुपर्ने काम आइसक्छ ।’ पूर्णकालीन क्लिनिकल प्याथोलोजिष्टका रुपमा हजारौं बिरामीको रिपोर्ट तयार पारिसकेका डा. रोजन विहान ८ बजे नै अस्पताल पुग्छन् ।

१६ वर्षदेखि नेपाली प्याथोलोजी क्षेत्रमा रहेर सेवा दिइरहेका डा. रोजनका नयाँ—नयाँ अनुभव छन् । ‘समय बदलिदैं जाँदा अनुभव पनि फरक—फरक हुँदोरहेछ । सुरुवाती चरणमा दिशा—पिसाब जाँच्ने तँ के डाक्टर भन्ने पनि सुने,’ उनी भन्छन्, ‘दिशा—पिसाबको महत्व अहिले प्रविधीको फड्कोसँगै घुमीफिरी त्यही आइपुगेको छ, धेरैजसो रोगका आधारभूत परीक्षणहरु यिनैबाट गर्न सकिन्छ ।’ अहिले त विस्तारै प्याथोलोजिष्टको महत्व समाजले बुझ्न थालेको छ । काम पनि त त्यस्तै छ—क्यान्सर डाइग्नोस गर्ने, ठूला टिस्युहरु जाँच गर्नेजस्ता प्याथोलोजिष्टका जिम्मेवारीबारे मानिसहरुले बुझ्दैं गएका छन् ।

रुटिन चेकअपदेखि क्यान्सरजस्तो महत्वपूर्ण डाइग्नोसिससम्म प्याथोलोजिष्टको अहम भूमिका रहन्छ । त्यसबाहेक ‘यस्तो क्यान्सर देखिएको छ यो औषधि चलाउनुुपर्छ’ भनेर गाइड गरिदिनेसम्म भूमिका प्याथोलोजिष्टहरुले खेलिरहेका छन् । ‘अहिले यो औषधि चलाउनुपर्छ भन्नेसम्मको स्थितीमा प्रिसिजन मेडिसिनको आधार प्याथोलोजी पुगेको छ,’ उनी भन्छन् । तर, स्वास्थ्य संस्थाहरु र अस्पतालहरुले जनशक्ति विकास, अत्याधुनिक उपकरण, र पूर्वाधारका लगानी गर्न आनाकानी गर्ने कुराले भने उनलाई दुःखी तुल्याउँछन् । ‘जसरी पनि टेष्ट गरेर दिइहाल्छन् भनेर ब्याकएन्डमा राखिदिने सोचको अन्त्य गर्नुपर्छ,’ डा. रोजन भन्छन् ।

नेपालमा गुणस्तर बढाउनका लागि प्रयोगशालाहरुलाई बढीभन्दा बढी प्रयोगशालाहरुलाई अटोमेसनमा लैजानुपर्नेमा उनको जोड छ । ‘संसाभर हटिसकेको म्यानुअल प्रविधीलाई हटाउँदैं लैजानुपर्छ भन्ने बुझाउन गाह्रो भइरहेको छ,’ उनले थपे, ‘अझै पनि यो मेडिकल सेवाको मेरुदण्ड हो भन्ने बुझाउन मेहनत गर्नुपर्ने अवस्था छ ।’ प्रयोगशालाको बिरामी उपचारमा ६०—७० प्रतिशत प्रभाव हुने भएकाले अस्पतालका व्यवस्थापक र चिकित्सकहरुलाई आधुनिक उपकरण र पूर्वाधारको महत्व बुझाउनुपर्ने उनले देखेका छन् । उनी थप्छन्, ‘हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजीजस्ता क्यान्सर सम्बन्धि चिजमा महत्वका साथ हेरिएकोजस्तो लाग्छ, त्यही सँगसँगै आउने विशिष्टीकृत परीक्षणहरुलाई पनि त्यतिकै महत्वका साथ हेर्नुपर्छ ।’ प्रयोगशाला परीक्षणमा हुने सबै कुराको महत्व नबुझेसम्म स्वास्थ्य सेवा स्तरीय नहुने उनले बताए ।

प्रयोगशालामा विविध विधाका सेवा हुने भएकाले जनशक्ति पनि विविध विधाको संलग्न रहन्छ । ‘धेरै किसिमका प्रयोगशाला जनशक्तिमार्फत एक नासको स्तरीयता दिनका लागि धेरै मेहनत गर्नुपर्छ, जुन एक जना मुख्य लिडरसीपले मात्रै सम्भव हुन सक्दैन्,’ उनी भन्छन्, ‘मेरो प्रयास क्लिनिकल प्याथोलोजीमा स्तरीयता कायम गर्नु हो ।’ डकुमेन्ट मिलाउनेदेखि सिष्टम, म्यानपावर, पूर्वाधार र उपकरणसम्म एक रुपतामा लगेर स्तरीय सेवा दिन सकेमा मात्रै एक्सर्पटाइजका रुपमा विकास हुँदै जाने उनले बताए । प्रयोगशालामा धेरै युनिट र भेराइटीका कामहरु भएकाले त्यसलाई म्यानेज गर्ने व्यक्ति पनि तयार हुनुपर्ने उनी बताउँछन् ।

डा. रोजन आफूले सिकेको विषयमा भविष्यमा पनि उत्कृष्ट योगदान दिने सोचमा छन् । उत्कृष्ट दिनलाई सधैं अनुकूल समय हुँदैन भन्ने पनि उनले बुझेका छन् । उपलब्धि र प्रभावका हिसाबले माथि पुगेका बेला होस् वा तल झरेका बेला आफूले हासिल गरेको विज्ञतालाई आम मानिसहरुको हितमा लागु गर्नु नै मानव सेवा हो । ‘एउटा कुशल प्याथोलोजिष्टले अत्याधिक योगदान आफूले गर्न सक्ने ठाउँमा दिन्छ,’ उनी भन्छन् । डा. रोजन केही नयाँ गरौं भन्ने भावनाका साथ काम गरिरहेका छन् । उनीजस्तै प्याथोलोजिष्टहरुका लागि माहौल तयार गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता बनिसकेको छ ।

डा. रोजन एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपालका महासचिव छन् । उनले एशोसिएसनबाट पनि प्याथोलोजिष्टका लागि योगदान गरिरहेका छन् । अहिले एशोसिएनले प्याथोलोजिष्टको क्षमता अभिवृद्धिका लागि विविध कामहरु गरिरहेको छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #एशोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल, #एसआरएल नेपाल, #ओम अस्पताल, #ज्ञानोदय बालबाटिका स्कुल, #डा. रोजन घिमिरे, #त्रिभुवन विश्वविद्यालय, #नेपालगन्ज मेडिकल कलेज, #प्याथोलोजिष्ट, #राष्ट्रिय वाणिज्य बैंक, #विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #सेन्ट जेभियर्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ