विराटनगर -विश्व स्तनपान सप्ताहको अवसरमा विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्यकर्मीहरूले नवजात शिशुलाई जन्म दिएका आमाहरूलाई स्तनपानको महत्त्व र सही तरिकाबारे सिकाउँदै जनचेतना अभिवृद्धि गरेका छन् ।
अस्पतालमा कार्यरत नर्सहरुले आयोजना गरेको अगस्ट १ देखि ७ सम्म चलेको सप्ताहव्यापी कार्यक्रममा स्तनपानलाई प्राथमिकतामा राख्दै दिगो र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू संचालन गरिएको हो ।
नेपाल नर्सिङ संघ मोरङकी अध्यक्ष लजिता योन्जनका अनुसार, यस अभियानको मुख्य उद्देश्य स्थानीय समुदायमा स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धि गराउनु हो । ‘हामीले स्तनपानलाई प्राथमिकतामा राख्ने र यसका लागि दिगो तथा सहयोगी वातावरण सिर्जना गर्ने लक्ष्यका साथ यो जनचेतनामूलक कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भनिन् ।
कार्यक्रममा पूर्वप्रसूति, प्रसूति तथा स्तनपान गराइरहेका आमाहरू, सेवाग्राही र उनीहरूका परिवारका सदस्यहरूको उत्साहजनक सहभागिता रहेको योन्जनले जानकारी दिइन् ।
शिशुका लागि अमृत समान आमाको दूध
स्वास्थ्यकर्मीहरूले आमाको दूध शिशुका लागि अमृत समान भएको बताएका छन् । शिशु जन्मेको एक घण्टाभित्र खुवाइने पहिलो पहेँलो बिगौती दूधलाई शिशुको जीवनकै पहिलो खोप मानिन्छ ।
‘यस दूधमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने तत्वहरू प्रचुर मात्रामा पाइन्छन्, जसले शिशुलाई विभिन्न संक्रमणबाट जोगाउँछ,’ योन्जनले भनिन् । विश्व स्वास्थ्य संगठनका अनुसार ६ महिनासम्मका शिशुलाई आमाको दूध मात्र खुवाउनु उनीहरूको शारीरिक र मानसिक विकासका लागि अत्यावश्यक छ ।
आमाको दूधमा शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्व र पानीको मात्रासमेत हुने भएकाले छुट्टै पानी खुवाउनु पनि आवश्यक पर्दैन । नियमित स्तनपान गर्ने शिशुहरूको बौद्धिक क्षमता अन्यको तुलनामा तीक्ष्ण हुने विभिन्न अध्ययनहरूले देखाएका छन् ।
स्तनपान शिशुको लागि मात्र नभई आमाको स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ । अध्यक्ष योन्जनले स्तनपानको महत्वबारे प्रकाश पार्दै भनिन्, “स्तनपानले आमा र बच्चाबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउँछ । यसले सुत्केरी आमाको पाठेघरलाई खुम्च्याएर पुरानै अवस्थामा फर्काउन मद्दत गर्नुका साथै अत्यधिक रक्तश्रावको खतरालाई पनि कम गर्छ ।’