विराटनगर—पूर्वी नेपालको स्वास्थ्य सेवामा अग्रणी मानिएको विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ मनाउँदैंछ । बिहीबार रजत जयन्तीको अवसरमा अस्पतालले विगतका उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका लागि महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ ।
विगत २५ वर्षमा २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेको अस्पतालले अब आफ्नो सेवालाई विराटनगर बाहिर कोशी र मधेश प्रदेशका थप तीन स्थानमा विस्तार गर्ने घोषणा गरेको छ । जसले यसलाई ‘चेन अफ हस्पिटल’को रूपमा स्थापित गर्नेछ ।
बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले २५ वर्षे यात्राको सफलता र भविष्यको कार्ययोजनाबारे विस्तृत जानकारी दिए । ‘हामी हाम्रो सेवा विराटनगर बाहिर कोशी प्रदेश र मधेश प्रदेशका थप तीन ठाउँमा विस्तार गर्दैछौँ,’ भट्टराईले भने, ‘कोशीको पूर्वी सहर झापाको दमक र मधेश प्रदेशका दुई स्थानमा हाम्रो सेवा विस्तार हुनेछ । यो सबै हामीले आउँदो पाँच वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखेका छौँ ।’
हाल १५० शय्यामा सञ्चालित यस अस्पताललाई निकट भविष्यमै २५० शय्यामा स्तरोन्नती गर्ने योजना पनि अस्पतालको छ । यो विस्तारले न्यूरोलाई एक स्वास्थ्य संस्थाबाट क्षेत्रीय स्वास्थ्य सेवाको सञ्जालको रूपमा रूपान्तरण गर्नेछ ।
राजधानी बाहिरको न्यूरो अस्पताल
२५ वर्षअघि अस्पतालका संस्थापक डा. वीरेन्द्रकुमार बिष्टले बेलायतबाट आफ्नो अध्ययन पूरा गरेर फर्किएपछि एउटा सानो तर दूरगामी सोचका साथ यो यात्राको सुरुवात गरेका थिए । केही फरक गर्ने सोचका साथ वि.सं. २०५७ साल भदौ ८ गते ‘न्यूरो डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर’ को स्थापना भएको थियो । तत्कालीन बेलायती राजदूत रोनाल्ड पी नासद्वारा उद्घाटन गरिएको यो संस्था त्यतिबेला मोफसलको मात्र नभई नेपालकै पहिलो न्यूरोलोजीको ओपिडी तथा आईपिडी सेवा प्रदान गर्ने अस्पताल बन्यो । काठमाडौं बाहिर विशिष्टिकृत न्यूरो सेवाको अभावलाई पूर्ति गर्ने यो कदम आफैंमा एक क्रान्ति थियो ।
स्थापनाकालदेखि नै ‘फरकपन र नयाँपन’ लाई आफ्नो डीएनएमा बोकेको न्यूरोले स्वास्थ्य सेवामा निरन्तर नयाँ प्रविधि र सेवाहरू भित्र्याउँदै गयो । वि.सं. २०६२ मा संस्था ‘न्यूरो हस्पिटल’मा रूपान्तरण भयो र सोही वर्षको असोजमा तोसिबा सिटी स्क्यान मेसिन जडान गरियो । वि.सं. २०६३ मा स्त्री तथा प्रसूति सेवाको सुरुवात भयो, जसले अस्पताललाई बहु–सेवा प्रदायक बनायो ।
वि.सं. २०६७ मा अस्पतालले निजीस्तरबाट पूर्वाञ्चलकै पहिलो न्यूरो सर्जरी सेवा सुरु गर्यो, जसले जटिल शल्यक्रियाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यतालाई कम गर्यो । वि.सं. २०६८–६९ मा अस्पतालले पूर्वाञ्चलकै पहिलो अत्याधुनिक १६ स्लाइसको सिटी स्क्यान र त्यसपछि सिमेन्स कम्पनीको एमआरआई मेसिन जडान गर्यो । ‘त्यसबेला एउटा एमआरआई जाँच गर्न काठमाडौं वा छिमेकी राष्ट्र भारतका सहरहरू धाउनु पर्ने बाध्यता थियो,’ भट्टराईले भने, ‘यो प्रविधिले निदान र उपचारमा ठूलो फड्को मार्यो ।’
वि.सं. २०७० सालमा अस्पताल ‘न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल’ मा परिणत भयो । यससँगै जनरल सर्जरी, नाक, कान, घाँटी, आँखा, मानसिक रोग र जनरल मेडिसिनजस्ता विभागहरू थपिए ।
वि.सं. २०७१ सालमा पूर्वकै पहिलो क्याथल्याब सेवाको सुरुवात भयो, जो मुटु रोगका बिरामीहरूको उपचारमा कोशेढुंगा सावित भयो ।
वि.सं. २०७४ सालमा ‘तुलसा मदर एण्ड चाइल्ड हस्पिटल’ को स्थापनासँगै मातृ तथा शिशु स्वास्थ्य सेवालाई थप विशिष्टिकृत गरियो भने वि.सं. २०७७ मा विश्वव्यापी कोभिड महामारीका बेला अग्रपंक्तिमा रहेर ‘कोभिड हस्पिटल’ स्थापना गरी हजारौंको ज्यान बचाउन भूमिका खेल्यो ।
वि.सं. २०८१ मा विश्वविख्यात जनरल इलेक्ट्रिक (जीई) कम्पनीको नेपालकै पहिलो १२८ स्लाइस एपार्ड सिटी स्क्यान मेसिन जडान गरी निदान प्रविधिमा अर्को छलाङ मार्यो।
उपचारको आँकडा : विश्वासको प्रतिबिम्ब
२५ वर्षको अवधिमा अस्पतालले २५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिएको छ । यस अवधिमा ७ हजार ५ सयभन्दा बढी सफल न्यूरो सर्जरी, ५ हजारभन्दा बढी मुटुसम्बन्धी प्रोसिड्युर र ६ हजारभन्दा बढी हाडजोर्नीका शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न भएका छन् ।
‘यी सबै तथ्यांकहरूले स्वास्थ्य समाज निर्माणतर्फ बढेको हाम्रो कदमको प्रतिबिम्ब गर्दछ,’ भट्टराईले भने, ‘हामीले विभिन्न विशिष्टिकृत सेवाका लागि चिकित्सकहरू भित्र्याएर सेवाग्राहीलाई विशिष्ट श्रेणीको सेवा प्रदान गरिरहेका छौँ ।’
हाल न्यूरो अस्पताल नेपालका मात्र नभई सीमावर्ती भारतीय बिरामीहरूको पनि पहिलो रोजाइ बन्न पुगेको छ, जसले यसको गुणस्तर र विश्वसनीयतालाई प्रमाणित गर्दछ । अस्पतालले आफूलाई विराटनगर ‘मेडिकल हब’ को एक जिम्मेवार हिस्साको रूपमा स्थापित गरेको छ । यसैअनुरूप, रजत जयन्तीको अवसरमा सामाजिक कार्यहरूलाई व्यवस्थित गर्न ‘तुलसा देवी फाउण्डेसन’ को स्थापना गरिएको छ ।
फाउण्डेसनमार्फत प्रत्येक वर्ष कोशी प्रदेशका एक उत्कृष्ट नर्स र एक उत्कृष्ट मेडिकल अफिसरलाई ५१ हजार राशिको पुरस्कारसहित सम्मान गरिनेछ ।
यसबाहेक, अस्पतालले आफ्नो प्रांगणमा ब्लड बैंक स्थापना गर्ने, न्यूरो बंगलामूखी सोसाइटीसँगको सहकार्यमा सरसफाइ, वृक्षारोपण, सीसीटीभी तथा बत्ती जडानजस्ता सामुदायिक कार्यहरू गर्ने योजना बनाएको छ ।
रजत जयन्तीमा विशेष छुट र कार्यक्रम
रजत जयन्तीको अवसरमा अस्पतालले सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरेको छ, जसमा राधाकृष्ण रथयात्रामा हेल्थ डेस्क, मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, र २५६ पिन्ट रगत संकलन भएको वृहत रक्तदान कार्यक्रम समावेश छन् ।
सेवाग्राहीहरूलाई प्रत्यक्ष लाभ पु¥याउन भदौ ८ गतेदेखि १४ गतेसम्म २५ वटा विभिन्न स्वास्थ्य जाँचमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
हस्पिटलका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा। वीरेन्द्र कुमार विष्टको सानो पाइलाबाट सुरु भएको न्यूरो अस्पताल आज विराटनगर र समग्र पूर्वी नेपालको स्वास्थ्य सेवाको पर्याय बनेको छ । प्रविधि, विशेषज्ञता र सेवामा निरन्तर उत्कृष्टता हासिल गर्दै यो संस्थाले आफूलाई ‘बिरामीको पहिलो रोजाइ’ को रूपमा मात्र स्थापित गरेको छैन, बरु विराटनगरलाई एक ‘मेडिकल हब’ बनाउने अभियानको एक प्रमुख स्तम्भ बनेको छ ।
अब कोशी र मधेश प्रदेशमा आफ्नो सञ्जाल विस्तार गर्ने योजनाले न्यूरो अस्पतालले क्षेत्रीय स्वास्थ्य सेवामा एक नयाँ अध्याय सुरु गर्ने संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. विष्टले बताए ।