२०८२ असोज २, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा

न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा


विराटनगर—विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, कोशी प्रदेशमा आबद्ध सौन्दर्यकर्मीहरूलाई उपचारमा विशेष छुट उपलब्ध गराउने भएको छ । बिहीबार दुई संस्थाबीच भएको एक औपचारिक सम्झौतासँगै युनियनका सदस्यहरूले न्यूरो हस्पिटलका विभिन्न स्वास्थ्य सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।

यो सम्झौता बिहीबारबाटै कार्यान्वयनमा आएको छ । सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा.अनिशा विष्ट र राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशकी अध्यक्ष कला डाँगीले हस्ताक्षर गरेका छन् ।

डा. विष्टले सौन्दर्यकर्मीहरूसँग सहकार्य गरेर अगाडि बढ्न पाउँदा अस्पताल गौरवान्वित भएको बताइन् । उनले समाजका विभिन्न क्षेत्र र तप्कासँग सहकार्य गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालको लक्ष्यअनुसार यो सम्झौता गरिएको उल्लेख गरिन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियनकी अध्यक्ष कला डाँगीले विराटनगरको प्रतिष्ठित स्वास्थ्य संस्थासँग आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षाका लागि समन्वय गर्न पाउँदा सम्पूर्ण सौन्दर्यकर्मीहरू हर्षित भएको बताइन् । यो सम्झौताले सौन्दर्यकर्मीहरूलाई गुणस्तरीय उपचारमा पहुँच सहज बनाउने उनले बताइन् । डाँगीले आगामी दिनमा पनि यस्तै रचनात्मक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय सचिवालय सदस्य ममता प्रधान र प्रदेश सदस्य मदिरा भट्टराईलगायतको उपस्थिति थियो । उनीहरूले यस सम्झौताले युनियनका सदस्यहरूको मनोबल उच्च बनाउने र आफ्नो पेशामा थप ऊर्जाका साथ लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ