काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कानुन विपरित गरेको २४०० बढी ब्राण्डका औषधीको मुल्यवृद्धिलाई विषयान्तर गर्ने खालका अभिव्यक्ति दिन थालेकी छन् । हेल्थआवाजले प्रमाणसहित २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि गरेको समाचार सिलसिलेवार रुपमा प्रकाशित गरेपछि डा. शर्मामाथि औषधी व्यवस्था विभागका महानिर्देशकको भूमिकालाई लिएर चौतर्फी प्रश्न उठ्न थालेको छ ।
तर, डा. शर्माले औषधीको मुल्यवृद्धिको विषयलाई मिडियाबाजीको लेप लगाएर महानिर्देशक ढकालले गरेको कानुन विपरित कार्यलाई ओझेलमा पार्ने प्रयास गरिरहेकी छन् । यसअघि जेनजीहरुसँगका आन्तरिक कुराकानीमा औषधीमा ढकालले मुल्यवृद्धि नगरेको बताउने गरेकी उनले आइतबार विराटनगरमा सार्वजनिक स्थानमै त्यस्तै जवाफ फर्काएकी छन् ।
अख्तियारको अनुसन्धानमा रहेको र महालेखाले समेत १० देखि ३२ प्रतिशतसम्म औषधीमा मुल्यवृद्धि भएको भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पत्र नै लेखिसकेको गम्भीर विषयमा पूर्व सचिवसमेत रहेकी र कानुनका सबै पक्षहरुबारे जानकार मन्त्री यो टिप्पणी स्तब्ध बनाउने खालको छ । ‘उहाँ त सुशासनका म्याण्डेटसहित मन्त्रालयमा आउनुभएको हो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘एक विवादास्पद विषयमा उहाँलाई यो दुई जना ११ औं तहका अधिकारीहरुको झगडा हो भनेर कसले ब्रिफिङ गरिदिएछ । अहिले त्यही कुरा भन्दैं आउनुभएको छ । यो मन्त्रीलाई सफल हुन नदिने र विवादमा पार्ने ब्यूरोक्रेसीका केही मान्छेहरुको काम हो । मन्त्रीज्यू त केही फरक गर्ने सोचमा हुनुहुन्छ ।’
स्वास्थ्य मन्त्रालयका केही स्वार्थ समूहको गलत ब्रिफिङलाई आधार बनाउँदैं मन्त्री डा. शर्माले आइतबार विराटनगरमा औषधी व्यवस्था विभाग र मेडिकल ल्याब्रोटोरीका दुई जना ११ औं तहका मान्छेहरुको विषयमा खराब कुरा मिडिया लेखिदिने गरेको विवादास्पद अभिव्यक्ति दिइन् । हेल्थआवाजकर्मीले २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धिमा मुछिएका महानिर्देशकलाई साथ लिएर स्वास्थ्य क्षेत्र कसरी भ्रष्टाचारमुक्त बनाउनुहुन्छ ? भनेर गरेको प्रश्नमा मन्त्री डा. शर्माले उक्त जवाफ फर्काएकी थिइन् ।
‘औषधी व्यवस्था विभाग र मेडिकल ल्याब्रोटोरी गरेर दुई वटा निकायसँगै छन् । दुईटैमा ११ औं तहका दुई जना मान्छेहरु छन् । त्यसमा के हुँदोरहेछ भने कहिले उसको बारेमा कहिले उसको बारेमा मिडियामा खराब कुराहरु लेख्दीराख्ने गर्दा रै’छन्,’ डा. शर्माले भनिन् ।
डा. शर्माले मन्त्रालयको केही अधिकारीहरुको गलफ ब्रिफिङमा अभिव्यक्ति दिइरहेको प्रमाण हो उनले सोही बेला दिएको अर्को अभिव्यक्ति । जसमा मन्त्री डा. शर्माले औषधीको कानुन विपरितको मुल्यवृद्धिको विषयमा आफूले अध्ययन गरिरहेको बताइन् । ‘औषधीको भाउ वृद्धि भएकामा के कारणले वृद्धि भएको हो त्यो कारण खुलाएर पठाउनुहोस् भनेर मैले मगाको छु, त्यो मैले हेर्दैछु,’ उनले थपिन् । अब प्रश्न उठ्छ स्वास्थ्यमन्त्री डा. शर्माले अध्ययन नसक्दैं कसरी कानुन विपरितको औषधिको मुल्यवृद्धिलाई ११ औं तहका कर्मचारीका विषयमा खराब कुरा मिडियाले लेखिदिएको भनेर किटान गरिन् ।
कानुन विपरित काम गरेको पाइएमा कारवाही गरिने आश्वासन समेत दिन नसकेकी जेन—जी सरकारकी स्वास्थ्यमन्त्रीले बरु नयाँ ओएनएम गरेर दुई ११ औं तहका कर्मचारीको लडाइ सदाका लागि अन्त्य गरिदिने बताइन् । ‘तर, त्यो रोग जुन छ नि एउटाले अर्कोको खेदो खन्ने, अर्कोले अर्कोको गर्ने त्यसलाई सदाका लागि निर्मुल गर्नुपर्ने रहेछ भनेर मैले त्यहाँको टोटल रिफर्म गर्ने डिजाइन नै चेन्ज गर्दैछु । त्यसकारण आइन्दा यो झमेला नै खतम हुन्छ,’ उनले भनिन् ।
हेल्थआवाजकर्मीले प्रश्न थपे ?, ‘त्यो कसरी अन्त्य हुन्छ ?’ त्यसका लागि आफूले नयाँ ओएनएम गर्ने स्वीकृत क्याबिनेटबाट गराएको मन्त्री डा. शर्माको भनाइ थियो । ‘म हिड्ने अघिल्लो दिनमात्र क्याबिनेटबाट ओएनएम सर्वे गरेर नयाँ दरबन्दी सिर्जना गरेर त्यसको संरचना नै परिवर्तन गर्ने सोच राख्या छु,’ उनले भनिन्, ‘त्यो यो दुई तीन महिनामा जुन मसँग काम गर्ने समय बाँकी छ त्यसभित्र म गरिसक्छु ।’
यसबाट के प्रष्ट हुन्छ भने दर्जनौं किशोरहरुको सहादतपछि सुशासनको म्याण्डेटका लिएर बनेको जेन—जी सरकारकी मन्त्री कानुन विपरितका काम छानविनमा ल्याउनुको साटो कहिले रिफर्मका नाममा समिति त कहिले ओएनएनमार्फत थिती बसाल्ने योजनामै रुमल्लिने देखिन्छ ।