२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकालो ढुसीको औषधी बजारमा पाइनै छाड्यो, न टेण्डर रद्ध न खरिद आदेश !

कालो ढुसीको औषधी बजारमा पाइनै छाड्यो, न टेण्डर रद्ध न खरिद आदेश !


काठमाडौं – कोभिड–१९ का बिरामीहरुलाई संक्रमण गर्ने कालो ढुसी (म्यूकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधी बजारमा पाइनै छाडेको छ । स्वास्थ्य सेवा विभागले गत जेठ पहिलो साता औषधी खरिदका लागि टेण्डर आव्हान गरेको थियो ।

जसमा तीन कम्पनीले आवेदन भरेका थिए । जसअन्तर्गत प्राइम लाइफ इन्टरनेशनल, आयान हेल्थ केयर र एक अर्को निजी आयातकर्ता रहेका थिए । तर, आवेदन दिएको झण्डै दुई महिना बितिसक्दा पनि अहिलेसम्म औषधी आयात हुन सकेको छैन । जबकी हालसम्म कालो ढुसी संक्रमणबाट नेपालमा २० जनाभन्दा बढी बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्याकंले देखाउँछ ।

कोभिड–१९ संक्रमणमुक्त भएका केही व्यक्तिमा देखिएको कालो ढुसी संक्रमणको उपचारका लागि छुट्टै औषधी छैन । कालो ढुसी संक्रमण विरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधी ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा पीडितहरु मारमा परेका छन् ।

टेण्डरमा प्राइम लाइफ इन्टरनेशनल र आयानबीच प्रतिस्पर्धा थियो । तर, यी दुई कम्पनीको औषधि खरिद मुल्य दोब्बर फरक छ । प्राइम लाइफले प्रति भाइल १० हजार ६ सय ९४ रुपैंयाँ र आयानले २२ हजार रुपैंयाँ प्रति भाइल खरिद गर्ने गरी टेण्डर भरेका थिए । प्राइमले भारतबाट र आयानले बंगलादेशबाट औषधी खरिदका लागि प्रस्ताव हालेका थिए ।

भारत सरकारले हाल कालो ढुसीका लागि प्रयोग हुने औषधी खरिदमा रोक लगाएको छ । रोक लगाएको देशबाट औषधी ल्याउन सम्भव नभएपनि प्राइमले भारतबाट खरिद गर्न भन्दै टेण्डर हालेको थियो । प्राइम लाइफ भारतबाट कालो ढुसीको औषधी ल्याउन औषधी व्यवस्था विभागमा दर्ता भएको कम्पनी हो । भारतबाट १० हजार मात्रा प्राइमले ११ करोडमा र बंगलादेशबाट त्यति नै डोज आयानले २२ करोड रुपैयाँमा ल्याउने प्रस्ताव टेण्डरमा गरेका थिए ।

खरिद ऐनअनुसार कम मुल्य राख्ने प्राइमले टेण्डर पारेपनि उसले खरिद गर्न सक्ने अवस्था नभएको औषधी आयातकर्ताहरु बताउँछन् । अहिले सो औषधी भारतले निर्यातमा प्रतिबन्ध लगाएको छ ।

प्राइमका सञ्चालक रामचन्द्र भण्डारीले केही दिनमै भारतले आयात अनुमति दिने बताए । ‘भारत सरकारले जुन महिनामा आयात प्रतिबन्ध लगाएको हो । केही दिनमै भारत सरकारले प्रतिबन्ध खोल्ने भन्ने बुझेको छु,’ उनले भने, ‘त्यसपछि सहज होला ।’ उनले आफूले विगत आठ वर्षदेखि यो औषधी बेच्दै आएको र विगतमा ६ हजार पाँच सय प्रति भाइलमा बेच्ने गरेको बताए । उनले थने, ‘मैले औषधी खरिद गर्न पाउनैपर्छ भनेको पनि छैन । सरकारले जे निर्णय गर्छ त्यो मान्न तयार छु ।’

आयानले आफूलाई अनुमति दिए १५ दिनभित्र बंगलादेशबाट औषधी ल्याउने बताएको छ । औषधी आयातकर्ता संघका महासचिव पवन आचार्यले जनताको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नपाउने बताए । उनले भने, ‘टेण्डर होल्ड हुनु हुँदैन । जुनसुकै कम्पनीले ल्याएपनि यथाशीघ्र आयात हुनुपर्छ । पहिलो कुरा आम नागरिकको स्वास्थ्य हो ।’

आपूर्ति व्यवस्था महाशाखाको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले औषधी खरिद प्रक्रियामै रहेको जानकारी दिए ।

भारतको परिवार कल्याण मन्त्रालयका अनुसार ‘कालो ढुसी’ (म्यूकोरर्माइकोसिस) बाट भारतमा चार हजार जनाभन्दा बढीको मृत्यु भएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #कालो ढुसी, #कालो ढुसी औषधी अभाव, #म्यूकोरमाइकोसिस


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ