२०८१ वैशाख १८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशमेडिकल हब बन्दैं नेपालगन्ज, तीन वटा प्रदेश र भारतको सीमावर्ती क्षेत्रबाट पनि आउँछन् बिरामी

मेडिकल हब बन्दैं नेपालगन्ज, तीन वटा प्रदेश र भारतको सीमावर्ती क्षेत्रबाट पनि आउँछन् बिरामी


नेपालगन्ज–आर्थिक र ब्यापारिक केन्द्रको रुपमा रहेको नेपालगन्ज पछिल्ला दिनहरुमा पश्चिम नेपालको मेडिकल हबको रुपमा विकसित हुँदै गएको छ । नेपालगन्जमा भेरी अस्पताल र मेडिकल कलेज शिक्षण अस्पताललगायत ८ वटा अस्पताल, १३ वटा पोलिक्लिनिक, २० वटा डाइग्नोस्टिक सेन्टर र २० वटा प्रयोगशाला संचालनमा छन् । नेपालगन्जमै अत्याधुनिक सुविधासम्पन्न प्रयोगशालाहरु संचालनमा आएको बागेश्वरी डाइग्नोस्टिक सेन्टर नेपालगन्जका प्रबन्ध निर्देशक विमल बुढाथोकीले बताए ।

नेपालगन्ज र यसका छिमेकी गाउँपालिकाहरुका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पछिल्ला दिनहरुमा अत्याधुनिक उपकरण र विशेषज्ञ डाक्टरहरुको संख्या थपिदै गएसँगै उपचार सेवाको गुणस्तर पनि बढ्दै गएको नेपालगन्ज उप-महानगरपालिकाका स्वास्थ्य सल्लाहकार डा. प्रकाश नागले बताए । बिरामीहरुले सहज रुपमा मुटु, क्यान्सर, न्युरो, स्त्री तथा प्रसुती, हाडजोर्नी, नाक कान घाँटीलगायत जटिल किसिमका शल्यक्रियासहितको उपचार सेवा पाउन थालेका छन् ।

नेपालगन्ज क्षेत्रका अस्पतालहरुमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र भारतको सीमावर्ती क्षेत्रबाट समेत गरी दैनिक करिब २ हजार बिरामी उपचारका लागि आउने गरेका छन् । बुटबलदेखि पश्चिम नेपालमा नेपालगन्जको भेरी अस्पतालमा मात्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब सेवा उपलब्ध छ ।

भेरी अस्पतालको मुटुरोग विभागमा कार्यरत दुई जना डिएम कार्डियोलोजिष्टले मुटुरोगका बिरामीहरुको एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेशमेकर राखेर बिरामीहरुको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले बताए ।

नेपालगन्जबाट करिब ६ किलोमिटरको दूरीमा पर्ने खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विशेषज्ञ चिकित्सकसहित क्यान्सर रोगको पहिचान र शल्यक्रियासहित उपचार सेवा दिदैं आएको छ । क्यान्सर अस्पताल संचालनमा आएपछि पश्चिम नेपालका क्यान्सर रोगका बिरामीहरु लाभान्वित भइरहेको क्यान्सर अस्पताल खजुराका प्रमुख डा. कृष्णप्रसाद आचार्यले बताए । क्यान्सर अस्पतालमा मात्रै दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

पश्चिम नेपालमा सडक दुर्घटना र प्राकृतिक विपत्तिमा परेर ज्यानै जोखिममा परेका घाइतेहरुलाई उद्दार गरेर थप उपचारका लागि नेपालगन्जका अस्पतालहरुमा ल्याउने गरिएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालले नेपालगन्जमै अत्याधुनिक प्रविधी र दक्ष चिकित्सकहरुबाट सहज रुपमा गुणस्तरीय उपचार सेवा दिन थालेसँगै बिरामीहरु ऋण धन गरेर उपचारका लागि काठमाडौं वा भारतको लखनउ, दिल्ली जाने बाध्यता हट्दै गएको छ ।

नेपालगन्जमा उपलब्ध उपचार सेवाका बारेमा भरपर्दाे र व्यवस्थित सूचना लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आम सर्वसाधारणसम्म पु¥याउने लक्ष्यका साथ नेपालगन्ज उप-महानगरपालिकाले नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाल सरकार, नेपालगन्ज उप-महानगरपालिका र निजी क्षेत्रबीचको समन्वय र सहकार्यका कारण पछिल्ला दिनहरुमा नेपालगन्जले स्वास्थ्य उपचार सेवाको क्षेत्रमा फड्को मार्दै गएको छ ।

विशेषज्ञ चिकित्सक र अत्याधुनिक प्रविधी थपिने क्रम बढ्दै गएपनि नेपालगन्जमा न्युरो सर्जरी, मिर्गौला प्रत्यारोपण, मुटुको वाइपास सर्जरी, बर्न सेन्टरलगायतका उपचार सेवा अझै संचालनमा आउन सकेका छैनन् । मेडिकल हब बन्नका लागि उपचार सेवाको गुणस्तर बढाउनुपर्नेतर्फ अझै धेरै काम गर्नुपर्ने नेपालगन्ज मेडिकल कलेजका सह–प्राध्यापक डा. आशिम किदवाइले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ