नेपालगन्ज—नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस नेपालगन्जले मस्तिष्कघात (स्ट्रोक ) भएका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा सुरु गरेका छन् । मस्तिष्कघात भएर गम्भीर अवस्थामा अस्पतालमा आइपुगेका बिरामीको तत्कालै उपचार सुरु गर्नका लागि सुविधासम्पन्न कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर (विशिष्टिकृत उपचार कक्ष) सञ्चालन गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसका न्युरो सर्जन डा. निरज घिमिरेले बताए ।
मस्तिष्कघात भएका गम्भीर बिरामीको उपचार सञ्जिवनी कलेजमा रहेको कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर र शिक्षण अस्पताल कोहलपुरमा प्रारम्भिक मस्तिष्कघातको केयर सेन्टर सञ्चालन गरिएको हो । नेपालगन्ज मेडिकल कलेज र सञ्जिवनी कलेजका मुख्य सञ्चालक खुमा अर्याल समूह हो ।
नेपालगन्जमा रहेको कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टरमा क्याथ ल्याबसहित १६ शैय्याको छुट्टै आईसीयू वार्ड रहको छ । कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टरमा कन्सल्ट्यान्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपती, एमसीएच न्युरो सर्जन डा. निरज घिमिरे, एमडी/डिएम कार्डियोलोजिष्ट डा. कृष्णचन्द्र अधिकारी, कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. लेखनाथ बराललगायतका विशेषज्ञ चिकित्सकहरु कार्यरत छन् ।
कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टरका लागि न्युरो क्रिटिकल केयर, एनेस्थेसियोलोजिष्ट, इर्मेजेन्सी तथा न्युरो रिहाबिलिटेसनका लागि चिकित्सक र स्वास्थ्यकर्मीहरुको टिम बनाइएको छ । त्यसैगरी, शिक्षण अस्पताल कोहलपुरको प्राइमेरी स्ट्रोक केयर सेन्टरमा एमसीएच न्युरो सर्जन डा. सुबोध गौतम र डा. निरज घिमिरेसहितका चिकित्सक र स्वास्थ्यकर्मीको टिमले उपचार सेवा प्रदान गर्दै आएको छ ।
मस्तिष्कघातका कारण समयमै गुणस्तरीय उपचार सेवा नपाउँदा मानिसहरुको अकालमा मृत्यु हुने र आजीवन अपांगता भएर कष्टपूर्ण जीवन बाच्नुपर्ने अवस्थालाई ध्यानमा राखेर कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको सञ्जीवनी कलेजका प्रमुख कार्यकारी अधिकृत डा. नितेशकुमार कनोडियाले बताए । नेपालगन्जमा सुरु गरिएको कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर पश्चिम नेपालकै पहिलो भएको डा. कनोडियाले बताए ।
मस्तिष्कघातका बिरामीको उपचार हुने अस्पताल र त्यो अस्पतालमा भएको उपचार सेवाका बारेमा भरपर्दाे जानकारी नहुँदा बिरामी र उनका आफन्तहरुले अनेकौ कोसिस गर्दा पनि बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा धेरै बिरामीहरुको मृत्यु हुने, बाँचे पनि आजीवन अपाङ हुनेजस्ता समस्या देखिने गरेका छन् ।
मस्तिष्कघात भएका बिरामीको मृत्यु र आजीवन अपाङ्गता हुनुको मुख्य कारण ढिलो गरी अस्पताल पुग्नु र गुणस्तरीय उपचार सेवा नपाउनु हो । त्यही अवस्थामा सुधार ल्याउनका लागि कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर सञ्चालनमा ल्याइएको डा. कनोडियाले बताए । मस्तिष्कघात अर्थात स्ट्रोक हुन नदिनका लागि सचेतना अभिवृद्धि गर्ने, भई हालेको अवस्थामा तुरुन्तै कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर पु¥याउनुपर्छ भन्ने जानकारी गराउने र सेन्टरमा आइपुगेका बिरामीलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराएर मृत्यु र आजीवन अपाङ्गता हुनबाट जोगाउनका लागि टाइम इज ब्रेन भन्ने नाराका साथ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा न्युरो सर्जनसहितका चिकित्सकहरुको टिम पुगेर सचेतना अभियान संचालन गर्ने तयारी गरिरहेको न्युरो सर्जन डा. घिमिरेले जानकारी दिए ।
नेपालमा पछिल्ला वर्षहरूमा मस्तिष्कघात अर्थात स्ट्रोकका घटना उल्लेखनीय रूपमा बढ्दैं गएको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदैं आएका छन । मस्तिष्कघात अर्थात स्ट्रोकको जोखिमबाट बच्नका लागि सावधानी अपनाउने, भइहालेको अवस्थामा तत्कालै विशेषज्ञ चिकित्सक भएको अस्पतालमा पु¥याएर बिरामीको उपचार सुरु गर्नुपर्छ ।
कम्प्रिहेन्सीभ स्ट्रोक सेन्टर नेपालगन्जका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. मनिष कोलाक्षपतीका अनुसार नेपालमा एक लाख जनसंख्यामा २ हजार ३ सय ६८ जनामा स्ट्रोकको समस्या देखिएको छ । स्ट्रोकको समस्या देखिएकामध्ये ६३ प्रतिशत ७० वर्षभन्दा कम उमेरका छन् । नेपालमा स्ट्रोकको जोखिम पछिल्ला १७ वर्षमा करिब ५० प्रतिशतले वृद्धि भएको छ ।
मस्तिष्कघात अर्थात स्ट्रोक भनेको के हो ?
मस्तिष्कमा रगत प्रवाह अचानक अवरुद्ध हुँदा हुने एक आपत्कालीन स्वस्थ्य अवस्थालाई मस्तिष्कघात अर्थात स्ट्रोक भनिन्छ । रगतको प्रवाह रोकिँदा मस्तिष्कका कोषहरूलाई क्षति पुग्छ । जसका कारण शरीरका विभिन्न अङ्गहरू प्रभावित भई मानिस आजीवन अपाङ्गता हुने र मृत्यु हुने जोखिम उच्च हुन्छ । स्ट्रोक संसारमा धेरै मान्छेको मृत्यु हुने प्रमुख कारणमध्ये एक हो ।
स्ट्रोक भएका बिरामीमध्ये एक तिहाइको तत्कालै मृत्य हुने, एक तिहाइमा आजीवन कडा पक्षघात हुने तथा बाँकीमा सामान्य समस्या देखिने हुन्छ ।
स्ट्रोकका प्रकार
इस्केमिक स्ट्रोकः रक्तनलीमा अवरोध भई मस्तिष्कमा रगतको आपूर्ति बन्द हुँदा उत्पन्न हुने स्वास्थ्य समस्या । नेपालमा करिब ७०.९ प्रतिशतमा इस्केमिक स्ट्रोक हुने गरेको छ ।
हेमोरेजिक स्ट्रोकः मस्तिष्कमा रहेका रक्तनली चर्किएर÷फुटेर रगत बगेर उत्पन्न हुने स्वास्थ्य समस्या । नेपालमा करिब २६.८ प्रतिशतमा हेमोरेजिक स्ट्रोक हुने गरेको छ ।
यी दुवै प्रकारका स्ट्रोक घातक हुन सक्छन् र समयमा उपचार नपाए गम्भीर जटिलता उत्पन्न भई बिरामी आजीवन अपाङ्गता हुने र मृत्यु हुने जोखिम उच्च हुन्छ ।
स्ट्रोकका प्रमुख लक्षणहरू
- अनुहारको एक भाग राम्रोसँग नचल्नु वा टेढिनु
- हात वा खुट्टा एकतर्फ कमजोर हुनु
- बोली अस्पष्ट हुनु वा नबुझिने गरी बोल्नु
- अचानक टाउको दुखाइ, चक्कर लाग्नु वा सन्तुलन गुमाउनु
- एउटा वा दुवै आँखाले राम्रोसँग नदेख्नु
स्ट्रोक हुनुका मुख्य कारण
- अस्वस्थ जीवनशैली– फास्टफुड, प्रशोधित खानेकुरा, बढी नुन र बोसोयुक्त खाना सेवन गर्नु
- शारीरिक निष्क्रियता– शारीरिक श्रम र ब्यायममा कमी हुनु
- धूम्रपान र मदिरा सेवन– निकोटिन र मदिराका कारण रक्तनलीलाई क्षति पुग्नु
- मधुमेह
- उच्च रक्तचाप
- उच्च कोलेस्ट्रोल
- अत्याधिक तौल
- तनाव र अनिद्रा
स्ट्रोकबाट जोगिने उपायहरू
स्वस्थ खानपान– ताजा फलफूल, हरियो सागपात, कम नुन, कम बोसोयुक्त खाना सेवन गर्नु
नियमित व्यायाम– हप्तामा कम्तीमा ५ दिन ३० मिनेट शारीरिक गतिविधि गर्नु
रक्तचाप नियन्त्रण– नियमित रक्तचाप जाँच गर्नु र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नु
तनाव व्यवस्थापन– योग, ध्यान र पर्याप्त निद्रा लिने बानी बसाल्नु
धुम्रपान, मदिरा नियन्त्रण– निकोटिन र मदिराले रक्तनलीलाई क्षति गर्छ, त्यसैले धूम्रपान, मदिरा नियन्त्रण गर्नु
नियमित स्वास्थ्य परीक्षण – रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको जाँच गर्ने र चिकित्सकको सल्लाहअनुसार
औषधी सेवन , ब्यायाम र थेरापी गर्ने