२०८२ साउन २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशीका ४४ स्वास्थ्य संस्थाको नाम फेरिदैं : ‘जिल्ला’ शब्द हटाएर ‘प्रदेश’ नामाकरण गर्ने तयारी

कोशीका ४४ स्वास्थ्य संस्थाको नाम फेरिदैं : ‘जिल्ला’ शब्द हटाएर ‘प्रदेश’ नामाकरण गर्ने तयारी

स्वास्थ्य मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा लैजादैं


विराटनगर– कोशी प्रदेश सरकार मातहतका ४४ वटा स्वास्थ्यसंस्थाहरुको नाम परिवर्तन हुने भएको छ । १४ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, १६ वटा अस्पताल र १४ जिल्ला स्वास्थ्य कार्यालयसहित ४४ वटा स्वास्थ्य संस्थाहरूको नाम अब फेरिने भएको हो ।

प्रदेश सरकारले ती संस्थाहरूलाई ‘प्रदेश’को पहिचानसहितको नाम दिने गरी तयारी गरेको छ । यसका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले अन्तिम तयारी गरेर साउन महिना भित्रमा क्याबिनेट बैठकमा नाम परिवर्तनको प्रस्ताव लैजाने तयारी भएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रदेशभरका अस्पतालको नाम परिवर्तन गरेर त्यसमा ‘प्रदेश’ शब्द थप्ने कार्य अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग राय मागेको थियो । कानुन मन्त्रालयले एक महिनाअघि नै सकारात्मक राय दिएको हो भने आर्थिक मामिला मन्त्रालयले हालै मात्र केही फरक सुझावसहित राय दिएको छ ।

स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार अहिले मन्त्रालयले ओएनएम सर्वेक्षण गरिरहेको छ । त्यो प्रक्रिया पूरा भएलगत्तै नाम परिवर्तनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी छ ।

प्रदेश सरकारले तयार पारेको प्रारम्भिक सूचीअनुसार कोशी प्रदेशका १४ जिल्लामा रहेका १६ अस्पताल, १४ जिल्लाका आयुर्वेद उपचार केन्द्रहरु र जिल्ला स्वास्थ्य कार्यलयसहित ४४ वटा स्वास्थ्य संस्थाको नाम परिवर्तन गरिनेछ । यसमा एक प्रादेशिक आयुर्वेद अस्पताल (झापा), मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टर र विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रसमेतको नाम फेरिने तयारी मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अस्पतालहरूको नाममा ‘जिल्ला’ शब्द हटाएर ‘प्रदेश’ शब्द राख्ने नीतिअनुसार सबै अस्पतालको नाम परिवर्तन गरिनेछ । उदाहरणका लागि, ‘जिल्ला अस्पताल धनकुटा’ को नाम अब ‘प्रदेश अस्पताल धनकुटा’ हुनेछ । त्यस्तै, ‘स्वास्थ्य कार्यालय धनकुटा’ अब ‘प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटा’ बन्नेछ । मोरङको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’ अब ‘प्रदेश आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ’ बन्नेछ ।’

प्रदेशको पहिचानका लागि नामकरण : स्वास्थ्यमन्त्री

कोशी प्रदेशको स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश सरकार मातहतको अस्पतालको स्पष्ट पहिचान दिनका लागि नाम परिवर्तनको गरिने बताएका छन् । ‘जिल्ला र स्थानीय तहमा रहेका सेवा प्रदायक संस्थामा कुन सरकारको सेवा हो भन्ने कुरामा अन्योल हुने गथ्र्यो । अब ‘प्रदेश अस्पताल’ भनेर चिनिँदा नागरिकले सेवा दिने सरकार थाहा पाउने छन्,’ उनले भने, ‘अस्पतालहरूलाई प्रदेशको स्वामित्व र पहिचान दिनका लागि नामाकरण आवश्यक थियो । अब कानुन र योजना मन्त्रालयबाट राय आइसकेको छ । स्वास्थ्य मन्त्रालयको कानुनी शाखाले दुवै रायको विश्लेषण गरिरहेको छ । त्यसपछि क्याबिनेटमा लगेर निर्णय गरिनेछ ।’

यद्यपि, नाम परिवर्तनको सन्दर्भमा दुई मन्त्रालयको राय समान छैन । कानुन मन्त्रालयले नाम परिवर्तन सम्बन्धी सकारात्मक सुझाव दिएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले भने केही सर्त र फरक सुझावसहित राय दिएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आन्तरिक मामिला तथा योजना मन्त्रालयले राय दिँदै भनेको छ, ‘सर्वेक्षणको अन्तिम रिपोर्टको आधारमा सबै नाम एकैपटक परिवर्तन गरेर क्याबिनेटमा लैजानुपर्छ । हामीले त्यही अनुसार तयारी गरिरहेका छौं । कानुन मन्त्रालयको राय भने पहिले नै आएको थियो ।’

स्रोतहरूका अनुसार यो नाम परिवर्तन प्रक्रिया केवल प्राविधिक मात्र नभई राजनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ । प्रदेश सरकार गठन भएको पाँच वर्ष नाघिसकेको अवस्थामा संस्थागत पहिचान स्पष्ट पार्ने प्रयासअन्तर्गत नामाकरणको कदम अघि बढाइएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश सरकार मातहतका स्वास्थ्य संस्था अझै पनि पूराना नामकै भरमा चलिरहेका छन् । यसको असर संस्थाको पहिचान, जनमानसको बुझाइ र बजेट विनियोजनको स्पष्टतालाई परेको छ । यिनै कारणले मन्त्रालयले नामाकरणमा विशेष प्राथमिकता दिएको हो ।

नाम परिवर्तनले अस्पतालको कानुनी स्वामित्वमा खासै फरक नपरे पनि प्राविधिक, प्रशासनिक र सेवा प्रवाहमा केही स्पष्टता आउने मन्त्रालयको विश्वास छ । यसले नागरिकस्तरमा सेवा प्रवाह गर्ने सरकारको पहिचान बढाउनेछ ।

स्वास्थ्य मन्त्रालयले नामकरणपछि सबै प्रदेशस्तरीय अस्पताल, कार्यालय र केन्द्रमा साइन बोर्ड, लोगो, स्टाम्प र पत्राचार सबैमा नयाँ नामको प्रयोग अनिवार्य हुनेछ । नाम परिवर्तनपछि प्राविधिक रूपमा सबै विवरण अद्यावधिक हुनेछ ।

आगामी क्याबिनेट बैठकमा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रस्ताव लैजाने तयारी गरेका छन् । मन्त्रालयले सम्भावित नयाँ नामहरूको सूची पनि तयार गरिसकेको छ । स्रोतका अनुसार क्याबिनेटमा निर्णय भएपछि एकैपटक १६ अस्पताल, १५ आयुर्वेद केन्द्र, १४ जिल्ला स्वास्थ्य कार्यालयलगायत सबै संस्थाले नयाँ नाम पाउनेछन् । त्यसपछि कार्यान्वयन प्रक्रिया सुरु हुनेछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ