म कहिल्यै बुझ्दिनँ थिएँ, जब मानिसहरू भन्थे— ‘नेपाली पासपोर्ट कमजोर छ ।’
त्यो वाक्यको अर्थ मैले तब मात्र बुझें, जब म आफैंले त्यो पीडा गहिरो रूपमा भोगें—असहाय भएर, अपमानित भएर।
केही हप्ताअघि, म जर्मनीको बर्लिनमा हुने वर्ल्ड हेल्थ समिटमा सहभागी हुन जाँदै थिएँ। म अत्यन्त उत्साहित थिएँ — यो मेरो जीवनका सबैभन्दा ठूला क्षणहरूमध्ये एक थियो। म त्यहाँ मेरो देश र संस्थाको प्रतिनिधित्व गर्ने युवा प्रतिनिधिका रूपमा जाँदै थिएँ।
सबै तयारी पूरा थियो —
आमन्त्रण पत्र, प्रायोजन पत्र,
भिसा, पासपोर्ट,
कन्फर्म फ्लाइट र रिटर्न टिकट, आवास विवरण — सबै ठिकठाक।
तर, पनि दिल्ली विमानस्थलमा मलाई रोकियो।
मैले काठमाडौं–दिल्लीका लागि एयर इन्डिया रोजें र त्यहाँबाट कतार एयरवेज हुँदै बर्लिन पुग्ने योजना थियो।
यो मार्ग मेरो लागि सबैभन्दा सस्तो थियो किनकि टिकट खर्च म आफैंले बेहोर्दै थिएँ।
तर, मलाई थाहा नपाएको कुरा के रहेछ भने त्यो ‘सस्तो’ बाटोले मेरो शान्ति, आत्मसम्मान र सुरक्षाको अनुभूति खोस्ने रहेछ।
विमानस्थलमा अधिकारीहरूले मसँग सबै कुरा सोधे —
‘कसले बोलायो ?’
‘किन जाँदैछौ ?’
‘तिमी साँच्चै विद्यार्थी हौं ?’
‘तिमीसँग पर्याप्त पैसा छ ?’
‘कहाँ बस्ने ?’
‘तिमी जस्तो नेपालीले यस्तो सम्मेलनमा किन सहभागी हुनुपर्छ ?’
‘कस–कसका सत्रहरूमा भाग लिन्छौं ?’
सुरुमा म शान्त थिएँ।
सबै प्रमाण देखाएँ, सबै पेपर देखाए । सबै प्रश्नको जवाफ दिएँ।
तर, उनीहरू सन्तुष्ट भएनन्।
आधा घण्टा लामो सोधपुछपछि एउटा अज्ञात व्यक्ति फोनमार्फत मलाई क्रस–जाँच गर्दै थियो —मानौं म आफ्नै जीवनको बारेमा झुट बोल्दै थिएँ।
अन्त्यमा, अधिकारीले भने, ‘तिम्रो बसाइँको अवधि शंका लाग्दो छ।’
त्यो भन्दै, उनले मेरो बोर्डिङ पास मेरो आँखै अगाडि च्यातिदिए।
त्यत्तिकै।
मलाई आठ घण्टा विमानस्थलभित्रै थुनियो —पासपोर्ट बिना, ब्याग बिना, खाना, पानी, इन्टरनेट बिना नै। स्वतन्त्र रूपमा हिँड्न त परै जाओस्, शौचालय प्रयोग गर्न पनि दिएनन्।
मैले अपमानित महसुस गरें।
मैले अदृश्य जस्तो महसुस गरें।
मैले असहाय महसुस गरें।
अन्ततः, एउटा सहृदयी यात्रुमार्फत म नेपाली दूतावाससँग सम्पर्कमा पुगें। दूतावासले नेपाल एयरलाइन्ससँग कुरा गरे र मलाई फर्काउने प्रयास ग¥यो। तर, एयर इन्डियाले अन्य कुनै एयरलाइन्समा चढ्न दिएन, म विदेशी विमानस्थलमा ८ घण्टा फसेँ — अपराधीझैँ व्यवहार भोग्दै।
एक अधिकारीले त यसो समेत भने —‘अब तिम्रो प्रोफाइल सफा छैन, तिमी कुनै युरोपेली देशमा कहिल्यै पुग्न पाउने छैनौ।’
यो सुन्दा म टुटें, डराएँ र रोएँ।
म त केवल एक विद्यार्थी थिएँ — निमन्त्रणा पाएको सम्मेलनमा जान खोज्दै।
अन्ततः नेपाल एयरलाइन्सले हस्तक्षेप गर्यो र मलाई घर फर्काइयो।
भोलिपल्टै म कतार एयरवेज र जर्मन दूतावास गएँ —
के भयो, थाहा छ ?
कसैले एउटा प्रश्न पनि सोधेन।
कागजात हेरे, मुस्कुराए, र भने —
‘सब ठिक छ, तपाईंको यात्रामा कुनै आपत्ति छैन।’
कतार एयरवेजमार्फत दोहा हुँदै जब म बर्लिन पुगें,
जर्मन इमिग्रेशन अधिकारीले मुस्कुराउँदै भने —‘शुभ आगमन, सुश्री अधिकारी। सम्मेलनको लागि शुभकामना।’
त्यसपछि केही पनि होइन —
कुनै सोधपुछ होइन,
कुनै शंका होइन,
केवल सम्मान।
त्यही क्षण मलाई बोध भयो —
यो कहिल्यै मेरो कागजातको कुरा रहेनछ।
यो मेरो पासपोर्टको कुरा रहेछ।
किनभने, म नेपाली पासपोर्टधारी थिएँ, त्यसैले ममाथि शंका गरियो।
किनभने म सानो देशकी नागरिक थिएँ, त्यसैले मलाई सम्भावित जोखिमको रूपमा हेरियो । न त युवा प्रतिनिधि, न त विद्यार्थी, न त सपना देख्ने व्यक्ति।
अब घर फर्किसकेकी छु र आफैंलाई सोधिरहेकी छु —के यो मेरो गल्ती थियो कि मेरो परिवारले चाहन्थ्यो — म युरोपमा हुँदा अलिकति संसार हेरेर अनुभव प्राप्त गरौँ?
के देशको नाममा गौरवका साथ उभिन खोज्नु पाप थियो ? वा मेरो मात्र गल्ती — नेपाली पासपोर्ट बोक्नु हो, जसलाई संसार ‘कमजोर’ भन्छ ?
त्यो अनुभवले मेरो एक अंश भङ्ग गर्यो तर त्यसले मेरा आँखा पनि खोलिदियो।
हामी यात्रा गर्दा पासपोर्ट मात्रै बोकेर हिँड्दैनौं —हामी आफ्नो देशको प्रतिष्ठा, आफ्ना जनताको संघर्ष र संसारले हामीलाई कसरी हेर्छ भन्ने भार बोकेर हिँड्छौं।
र, कहिलेकाहीँ त्यो भार असह्य रूपमा भारी लाग्छ।
(विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमपीएच अध्ययनरत अधिकारीको फेसबुकमा प्रकाशित संस्मरणको भावानुवाद)