नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला दशकमा संरचनागत तथा प्राविधिक रूपमा धेरै सुधारहरू भएका छन् ।अस्पताल विस्तार, स्वास्थ्य बीमा कार्यक्रम, डिजिटल स्वास्थ्यको प्रयोग, र रोग नियन्त्रणका विभिन्न कार्यक्रमहरू पनि सञ्चालनमा आएका छन्।
तर, यति धेरै परियोजना र लगानीका बाबजुद पनि मूल प्रश्न भने उहीँ छ-के नेपालका नागरिकले गुणस्तरीय उपचार र दीर्घकालीन सुधारको अनुभव गरेका छन्?
यदि हामी इमान्दार भएर मूल्यांकन गर्छौँ भने उत्तर स्पष्ट छ: स्वास्थ्य प्रणाली अझै पनि भोल्युम—बेस्ड (Volume-Based) सेवा मोडेलमै अडिएको छ, जहाँ ‘कति बिरामी आयो?’ भन्ने नै अस्पतालका लागि सफलताको प्रमुख सूचक बनेको छ।
विश्व अहिले भ्यालु—बेस्ड (Value-Based) Care तर्फ तीव्र गतिमा अघि बढिरहेको बेला नेपाल बिस्तारैपछि परिरहेको अनुभव हुन्छ । यही कारणले अब नेपालले स्वास्थ्य प्रणालीको मूल संरचना परिवर्तन गरी भ्यालु केन्द्रित सेवातर्फ मोडिनु केवल विकल्प होइन, भविष्यको अपरिहार्य बाटो हो।
स्वास्थ्य सेवा किन अझै भोल्युम केन्द्रित छ?
नेपालमा सेवा प्रदान गर्ने अधिकांश अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अझै पनि ‘जति धेरै सेवा, त्यति धेरै आम्दानी’ भन्ने संस्कृतिको प्रभाव छ।
उदाहरणका लागि:
• अधिक परीक्षण (over-testing),अनावश्यक भर्ना, उच्च दाबी (claims), औषधि तथा प्रक्रिया दोहोरिने यी सबै प्रवृत्तिहरू भोल्युम आधारित मोडेलका परिणाम हुन्। यस्तो मोडेलमा स्वास्थ्यकर्मीको ध्यान रोगीको नतिजामा होइन, सेवा संख्या बढाउनेतर्फ जान्छ। यसले अति खर्चिलो तर कम प्रभावकारी स्वास्थ्य प्रणाली जन्माउँछ, जसको असर बिरामी, बीमा कार्यक्रम र सरकार सबैलाई पर्दछ।
भ्यालु—बेस्ड (Value-Based Care -VBC) को मूल सार सरल छ, उपचारको सफलता र बिरामीको समग्र सुधार हेरेर नै स्वास्थ्य सेवालाई मूल्याङ्कन गरिन्छ। यसमा मुख्य प्राथमिकता यस्तो हुन्छ:
• बिरामी कति निको भयो?
• उपचार कति प्रभावकारी रह्यो?
• दीर्घकालीन सुधार कत्तिको दिगो रह्यो?
• पुनःभर्ना दर घट्यो कि बढ्यो?
• रोग रोकथाममा कति योगदान भयो?
अर्थात्, सेवा संख्या होइन सेवाको मूल्य, गुणस्तर र नतिजा नै मापनको आधार बन्छ।
नेपालले किन अब भ्यालु—बेस्ड केयर अपनाउनैपर्छ?
१. वर्तमान प्रणाली खर्चिलो तर गैर-प्रभावकारी: बिरामी धेरै आयो भने अस्पतालको कमाइ धेरै-तर बिरामी स्वस्थ भयो कि भएन, उपचार टिकाउ भयो कि भएन-यसको मूल्यांकन हुँदैन । बीमा दाबी (claims) अनावश्यक रूपमा बढ्दा सरकार र बीमा कार्यक्रम दुवै अस्थिर बन्न थालेका छन्।
२. बिरामी अनुभव (patient journey) अझै कमजोर: लाइन, अस्पष्ट शुल्क, जनचेतनाको कमी र कम गुणस्तरीय सेवा नेपालको उपचार यात्रामा आम समस्या बनेका छन् । भ्यालु—बेस्ड मोडेलले बिरामी अनुभवलाई नै सेवाको केन्द्रीय सूचक बनाउँछ।
३. सरकारको स्रोत सिमित: नेपालमा स्वास्थ्य बजेट जीडीपीको ५% भन्दा कम छ । भ्यालु बेस्ड केयरले अनावश्यक खर्च कटौती र दीर्घकालीन रोग व्यवस्थापन दुवैमा ठूलो योगदान दिन्छ।
४. दीर्घरोगहरूको बढ्दो बोझ: मधुमेह, रक्तचाप, मुटु रोग, क्यान्सर -यी दीर्घरोगहरूको व्यवस्थापन बिना नतिजा केन्द्रित मोडेल सम्भव छैन।
नेपाल कसरी भोल्युम → भ्यालु बेस्ड केयरमा रूपान्तरण हुन सक्छ?
१. ‘गुणस्तर’ लाई सेवा मूल्यांकनको केन्द्रमा राख्ने
• अस्पतालहरूले बिरामी नतिजा (clinical outcome) सार्वजनिक गर्नुपर्ने
• संक्रमण दर, पुनःभर्ना दर, सर्जरी सफलता, मातृ–शिशु मृत्यु, औषधि दुरुपयोग जस्ता सूचकलाई अनिवार्य रिपोर्टिङमा ल्याउने
• ‘जति धेरै सेवा’ = ‘जति राम्रो’ भन्ने सोचलाई अन्त्य गर्ने
२. बीमा प्रणाली (HIB) लाई भ्यालु इन्सेन्टीभमोडेलमा परिवर्तन
नेपालको स्वास्थ्य बीमा बोर्ड (HIB) ले निम्न प्रोत्साहन अपनाउन सक्छ
• राम्रो नतिजा दिँदा अस्पताललाई अतिरिक्त भुक्तानी (Value Bonus)
• कम गुणस्तर, अत्यधिक दाबी, अनावश्यक परीक्षण भएमा दण्ड वा कम भुक्तानी
• दीर्घरोग (NCDs) मा आउटकम—बेस्ड प्याकेज (Outcome-based Package) प्रयोग
• बिरामीको सन्तुष्टि (Patient Satisfaction) र अनुगमन (follow-up) सफल भएमा अतिरिक्त सुविधा
३. डिजिटल स्वास्थ्य (openIMIS, EMR, HIMS) लाई नतिजा-केन्द्रित बनाउने
डिजिटल प्रणाली अहिले ‘डेटा भर्ने’ काममा बढी केन्द्रित छ।अब यसले:जोखिम भविष्यवाणी (risk prediction), उपचारको प्रभाव मापन, उच्च जोखिम समूह पहिचान, बिरामीको निरन्तर हेरचाह जस्ता काम गर्नुपर्छ।
भ्यालु बेस्ड केयर (Value-Based Care) लागू भए के परिवर्तन आउँछ?
• बिरामी छिटो निको हुन्छ
• अनावश्यक परीक्षण घट्छ
• बीमा दाबी दुरुपयोग कम हुन्छ
• अस्पतालको दक्षता वृद्धि हुन्छ
• सरकारको खर्च कम हुन्छ
• स्वास्थ्य प्रणाली दिगो बन्छ
सन् २०३० को युनिभर्सल केल्थ कभरेज (Universal Health Coverage-UHC) लक्ष्य नजिकिँदै गर्दा नेपालले अझै पुरानो भोल्युम (Volume) आधारित सोचमै अडिरहनु देशको हितमा छैन । यदि अब परिवर्तन सुरु गरिएन भने बीमा कार्यक्रम अस्थिर, खर्च बढ्दो र रोग नियन्त्रण कमजोर हुन्छ। नेपालले अब कति सेवा दिएको होइन सेवाले कति मूल्य सिर्जना गर्यो? बिरामी कति निको भयो? भन्ने दृष्टिकोणतर्फ मोडिनुपर्छ।
भ्यालु-बेस्ड केयर नै अब नेपालको स्वास्थ्य प्रणालीलाई दिगो, गुणस्तरीय र भविष्य–उन्मुख बनाउने सबैभन्दा प्रभावकारी बाटो हो।