२०८२ चैत्र २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प

हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प


जुम्ला—जिल्ला अस्पताल हुम्लामा प्यारासिटामोलको समेत अभाव भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख भीम बुढाका अनुसार सिमकोट बजारस्थित हेल्थ अंश मेडिकल सेन्टरबाट ५ सय ट्याब्लेट सापटी लिएर काम चलाइएको छ ।

‘सापटी लिएकोमध्ये अहिले करिब २ सय ट्याब्लेट मात्र बाँकी छ,’ उनले भने,‘सिटामोलको अभाव भएको छ ।’

यस्तै, अस्पतालमा एक सातादेखि एक्सरे सेवा प्रभावित भएको छ । एक्स—रे मेसिनको क्यासेट बिग्रिएपछि सेवा पूर्ण रूपमा ठप्प भएको हो । दैनिक रूपमा एक्स—रे सेवा लिन आउने सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन् ।

जिल्लाका सात वटै गाउँपालिकाबाट दुई–तीन दिनको यात्रा गरेर सदरमुकाम सिमकोट पुग्ने स्थानीयहरू अस्पतालमै सेवा नपाउँदा थप सास्ती भोग्नुपरेको छ ।
स्थानीय ऐटन रावलका अनुसार दैनिक १० देखि १५ जना सेवाग्राही एक्स—रे सेवा नपाई फर्किने गरेका छन् ।

एक्स—रे मात्र नभई प्रयोगशालामा पनि समस्या देखिएको छ । एक्स–रे मेसिनको क्यासेट बिग्रिएपछि सेवा अवरुद्ध भएको र मर्मतका लागि ३ देखि ४ लाख रुपियाँसम्म खर्च लाग्ने भएकाले ढिलाइ भएको निमित्त प्रमुख बुढाले बताए ।

‘उक्त मेसिन निक्स साइमन्स इन्स्टिच्युटमार्फत मर्मत गर्ने प्रक्रिया अघि बढेको र छिट्टै सेवा सुचारु हुने छ,’ उनले भने । रगत परीक्षणका लागि आवश्यक केमिकल अभाव हुँदा मिर्गौला, कलेजो लगायतका रोगको जाँचसमेत प्रभावित बनेको छ ।

औषधी आपूर्तिका लागि जिल्ला बाहिरबाट अर्डर गरिसकिएको पनि कार्यालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ