वीरेन्द्रनगर—मध्यपश्चिम यातायात सेवा प्रा.लि.ले सुर्खेतबाट उपचारका लागि नेपालगञ्ज चितवन र काठमाडौं रिफर भएका बिरामीलाई निःशुल्क यातायात सुविधा दिने भएको छ । मध्यपश्चिमले कर्णाली प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाट थप उपचारका लागि नेपालगञ्ज, चितवन र काठमाडौं रेफर गरिएका बिरामीलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको हो ।
मध्यपश्चिम यातायात सेवा प्रा.लि.ले हालै सञ्चालनमा ल्याएको ‘शुभ–कर्णाली’ रात्री बस सेवासँगै यो मानवीय सुविधा घोषणा गरेको छ । सेवाको शुभारम्भ गर्दै सुर्खेत— १ का सांसदसमेत रहेका प्रा.लि.का अध्यक्ष विष्णुबहादुर खड्काले उपचारका लागि बाहिर जानुपर्ने बिरामीलाई सहजता प्रदान गर्न यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
‘कर्णाली प्रदेश अस्पताल र मेहेलकुना अस्पतालबाट थप उपचारका लागि रेफर भएका बिरामीले यस सुविधाबाट लाभ लिन सक्नेछन्,’ उनले भने, ‘उपचारका क्रममा आर्थिक तथा यातायातको समस्या झेलिरहेका बिरामी र तिनका परिवारलाई केही राहत पुग्ने अपेक्षा छ ।’
अस्पतालबाट रेफर भएका बिरामीका निःशुल्क यातायात सुविधा लिन चाहनेले सम्बन्धित अस्पतालबाट जारी गरिएको रेफर पत्र अनिवार्य रूपमा देखाउनु पर्ने प्रा.लि.का इन्चार्ज पवन श्रेष्ठले बताए ।
‘सामान्यतयाः बिरामीका लागि उपचार खर्चसँगै लामो दूरीको यातायात खर्च पनि ठूलो चुनौती बन्ने गरेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा निजी यातायात क्षेत्रबाट सुरु गरिएको यो पहल केवल व्यावसायिक सेवा नभई सामाजिक उत्तरदायित्व हो ।