२०८३ साउन ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलत्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्

त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्


त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को एमबीबीएसतर्फ वि.सं. २०७९ को ब्याच । त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर टप गर्न सफल भइन्—डा. प्रार्थना सुवेदी । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट उनले ३३०० पूर्णांकमा २६०९ अंकसहित एमबीबीएस मात्रै टप गरिनन्, अन्य विषयमा पनि सर्वोत्कृष्ट भएर ६ वटा गोल्डमेडल हात पार्ने कीर्तिमानी सफलता हात पारिन् ।

एमबीबीएस टपसहित ६ वटा गोल्डमेडल पाएपछि डा. प्रार्थनाले एक वर्षअघि दिवंगत भएका आफ्ना बुवालाई सबैभन्दा बढी सम्झिइन् । ‘यो मेडलको श्रेय र वास्तविक प्राप्तकर्ता मेरो बुवा हो,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कुराकानी उनले भनिन्, ‘एमबीबीएस मात्रै होइन्, म जन्मेदेखि नै बुवाले मेरो पढाइमा दिनुभएको इन्भेष्टमेन्ट अतुलनीय छ ।’

डा. प्रार्थना पढिरहँदा सोफामा नसुतेर चार—पाँच घण्टा साथी बस्ने, हरेक दिन मेडिकल स्कुल ल्याउने—पुर्‍याउने, लामो मेडिकल एक्जामका बेला सेन्टर बाहिरै घण्टौ गाडीमा कुरेर सदैंव बलियो साथ दिए । ‘एक्जाम हलको ढोकाबाट निस्कँदा देख्ने फष्ट पर्सन मेरो बुवा हुनुहुन्थ्यो,’ डा. प्रार्थना भन्छिन्, ‘मेरो बुवाले मलाई एक सेकेण्ड पनि कुराउनुभएको छैन, उहाँको लगनशीलताले नै म यहाँ पुगेको हो ।’

काठमाडौं तीनकुनेकी २६ वर्षीया डा. प्रार्थनाले गोल्डमेडलिष्ट बन्छु भनेर कहिल्यै सोचेकै थिइनन् । ‘मैले मेडल पाउँछु भनेर त कहिल्यै पनि सोचेको थिइन्,’ उनी भन्छिन्, ‘आफूभन्दा पनि परिवारजनको आँखामा गर्व देख्दा निकै गौरवान्वित महसुस भएको छ ।’ नसोचेको यो अप्रत्यासित सफलतालाई उनले मेहनतको प्रतिफल र सम्मान स्वरुप लिएकी छन् ।

डा. प्रार्थनालाई कुन फर्मुलाले एमबीबीएस टपर बनायो त ? भन्छिन्, ‘नम्वर वान फर्मुला त मेहनत नै हो । मेहनतको कुनै अर्को अप्सन नै छैन ।’ उनी विद्यार्थीले टप गर्नलाई नभएर आफूले लिइरहेको शिक्षा उत्कृष्ट तरिकाले ग्रहण गर्न अथाह मेहनत गर्नुपर्नेमा जोड दिन्छन् । ‘शिक्षाले पछि मलाई काम गर्न इम्पावर गर्छ भन्ने हिसाबले अथाह मेहनत गर्ने हो भने रिजल्ट त्यसको वाइप्रडक्ट हो,’ उनी थप्छिन्, ‘पहिलो मेहनत र दोस्रो पढ्नलाई स्टाटेजी पनि चाहिन्छ होला ।’ उनले त्यसका लागि सक्रियताका साथ ‘कर्णेल नोट’ बनाएकी थिइन् । एमबीबीएसको पहिलो वर्षमै प्रा.डा. जयन्द्र बज्राचार्यले नोट कसरी बनाउने भनेर सिकाएको उनले सुनाइन् ।

एमबीबीएसजस्तो कठिन परीक्षामा ठूलो उपलब्धि हासिल गरेकी डा. प्रार्थना ५ चैत २०५५ मा काठमाडौंको तीनकुनेमा जन्मिएका हुन् । बुवा स्व. रामप्रसाद सुवेदी र आमा महेश्वरी बुढाथोकी सुवेदीको एक्ली सन्तान उनको बाल्यकाल तीनकुनेमै बितेको हो । लोकन्थलीस्थित उनका बुवाआमाले सञ्चालन गरिरहेको ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुलबाट उनले कखरा सिकेकी हुन् ।

‘मेरो बाल्यकाल एकदमै सुन्दर तवरमा बित्यो,’ उनी बाल्यकालतिर फर्किइन्, ‘बुवाआमाले आफ्नै स्कुल लैजानुहुन्थ्यो, साथीभाइसँग रमाइलो समय बित्थ्यो । म साथीहरुमध्येमा सबैभन्दा ठूली थिए ।’ शिक्षक—शिक्षिकाको सन्तान भएकै कारण डा. प्रार्थनाले उत्कृष्ट शैक्षिक तथा प्राज्ञिक वातावरण पाइन् ।

डा. प्रार्थना कक्षा १ पछि सेन्ट मेरिज जावलाखेलमा गइन् । ‘शिक्षाकै वरिपरी रहेकाले पनि ममा पढाइप्रतिको लगाव विकास भएको हो,’ उनी भन्छिन्, ‘म केही कुरा इन्जोय गर्छु भने त्यो पढाइ नै हो ।’ कमिक्स, डिक्सनरीजस्ता किताबहरु जुटाइदिएर ज्ञान लिने वातावरणमा सुरुमा उनकी आमा महेश्वरीले बनाइदिएकी थिइन् । पछि उनका बुवाले पुस्तकालयमा लगेर दुई घण्टा छोडिदिएर उनमा पढाइप्रतिको लगाव थप भर्न भूमिका खेले ।

स्कुल जीवनमा उनको अधिकतम रुचि साहित्यमा थियो । ‘अंग्रेजी साहित्य र शेक्यपियरका प्लेहरु खुबै मन पर्थ्यो ,’ उनी भन्छिन्, ‘पछि विस्तारै सोसल स्टडिज मन पर्न थाल्यो ।’ सुरुका वर्षहरुमा गणित विषय उनका लागि संघर्षपूर्ण बन्यो तर ७—८ कक्षाबाट भने उनले त्यसलाई पनि सुधार गर्दै गइन् । उनी कविता लेख्छिन् भने गायनमा पनि उनको रुचि छ । सिनेमा खासै नरुचाउने उनी थियटर र वादविवाद पनि मन पराउँछिन् । वि.सं. २०७० सालमा डा. प्रार्थनाले सेन्ट मेरिजबाटै विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिन् ।

एलएलसीपछिको उच्चशिक्षा पनि उनले सेन्ट मेरिजबाटै अगाडि बढाइन् । वि.सं. २०७२ सालमा उनले प्लस टु को अध्ययन पूरा गरिन् । कलेज जीवनसम्म आइपुग्दा उनको रुचिको विषयमा फिजिक्स थपियो । प्लस टु सकिएपछि उनी डाक्टर बन्ने सपनाका साथ इन्ट्रान्सको तयारीमा जुटिन् । त्यसो भए डाक्टरीप्रति उनको आकर्षण कसरी सुरु भएको थियो ? ‘बाल्यकालमा देखिएको अबोध रुचिसँगै मेरो परिवारजन स्वास्थ्य समस्याहरु देखिए । धेरै जना बित्नुभयो, मेरो ८, ९ र १० कक्षाको अधिकांश समय हस्पिटल वरिपरी, परिवारका सदस्यको उपचार वरिपरी र त्यहाँ हुने संवाद वरिपरी बित्यो,’ उनी कारण खोल्छिन्, ‘त्यो बेला डाक्टरले उपचार गरेको, औषधिको असर देख्दाखेरी यदि यो रोगको औषधि भएको भए धेरै राम्रो हुन्थ्योजस्तो लाग्थ्यो ।’

क्यान्सरले परिवारका सदस्य गुमाएको पीडा खेपेकी डा. प्रार्थनालाई क्यान्सर उपचार र औषधि आविष्कार गर्न पाए, अनुसन्धान गर्न पाए भन्ने सदैव खड्किरह्यो । परिवारिक स्वास्थ्य र हस्पिटलमा समय बिताउँदा उनको डाक्टर बन्ने सपना दृढ अठोटमा बदलियो । साहित्य अनुरागी भएपनि डा. प्रार्थनाले सधैं आफ्नो डाक्टर बन्ने सपनालाई पछ्याइन् ।

इन्ट्रान्स तयारीमा मेहनतका साथ लागेकी डा. प्रार्थनाले राम्रै र्‍याकिङमा नाम निकालिन् । वि.सं. २०७३ साल माघबाट उनी आफ्नो सपना र दृढ अठोटलाई पूरा गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस अध्ययन गर्न थालिन् । ‘एमबीबीएस जर्नी अहिले आएर सम्झँदा भेरी रिवार्डिङ तर अथाह मेहनत र च्यालेजले भरिएको यात्रा थियो,’ उनले भनिन् । एमबीबीएसमा विहान ४ बजेदेखि साँझ १२ बजेसम्म पढथिन्, उनी । ‘त्यो बेला म मर्निङ पर्सन थिए,’ उनी भन्छिन्, ‘साढे ३ देखि ४ बजेसम्म उठिसक्थे र साढे ४ बजेदेखि ५ बजेसम्म पढ्न बसिसक्थे ।’ ८ बजेदेखि चार बजेसम्म कलेज हुन्थ्यो । कलेज जाँदा र घर फर्किदा गाडीमा पनि पढ्ने गरेको उनले सुनाइन् । घर पुगेपछि एक घण्टा आफूलाई रुचि लाग्ने विषयसँग बिताउने उनी त्यसपछि त्यही दिन पढाएको विषयलाई रिभिजन गर्थिन् ।

डा. प्रार्थनाले वि.सं. २०७९ मा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएसको अध्ययन पूरा गरिन् । त्यसपछि उनले एक वर्ष निजामती कर्मचारी अस्पतालमा बिरामी सेवामा बिताइन् । त्यसपछिको एक वर्ष बेलायतको अक्सफोर्ड युनिभर्सिटीसँग आवद्ध भएर वीर अस्पतालमा ‘रिकभरी ट्रायल’ सम्बन्धि रिसर्चमा काम गर्ने मौका पाइन् । सन् २०२६ अप्रिलदेखि उनी बेलायतस्थित प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटीको क्लिनिक रिसर्च युनिटमा रिसर्च अफिसरका रुपमा सक्रिय छन् । त्यसबाहेक उनी सेन्ट जर्ज युनिभर्सिटी हस्पिटलमा न्यूरो सर्जरी अब्जरभरका रुपमा पनि क्रियाशील छन् । डा. प्रार्थना ग्लोबल सर्जरी सिमुलेसन नेटवर्कको कन्ट्री डाइरेक्टरका रुपमा पनि काम गरिरहेकी छन् ।

सेवालाई पहिलो प्राथमिकता बनाउने योजना बनाएकी यी टपर डाक्टर भविष्यमा न्यूरो सर्जरीमा विशेषज्ञता हासिल गर्न चाहन्छन् । ‘मलाई न्यूरो सर्जन बन्न मन छ,’ उनले भविष्यको योजना सुनाइन्, ‘म आफूलाई रिसर्च र एकेडेमिक करिअरतिर अगाडि बढिरहेको देख्छु । मलाई क्लिनिक साइटभन्दा पनि एकेडेमिक न्यूरो सर्जरी गर्न मन छ ।’

आफ्नो रुचि फेर समात्दैं अक्सफोर्ड पुगेकी उनी त्यहाँ चाहकै विषयमा काम गर्न पाउँदा खुसी छन् । ‘म मेरो च्वाइस नै त्यहाँ गएकी हुँ, मेरो रोजाइको विषय न्यूरो सर्जरीमा काम गर्न पाइराख्दा अत्यन्त खुसी लागेको छ,’ उनले भनिन्, ‘मैले त्यहाँ न्यूरो सर्जरीमै अनुसन्धान गर्न पाइरहेको छु ।’ तर, उनलाई देशको पारिवारिक माहौल र साथीसंगी भने हमेसा लण्डनमा मिस हुने गर्छ ।

अक्सफोर्ड विश्वविद्यालयमा गएर त्यहाँका सर्जनहरुसँग न्यूरो सर्जरी सिक्न पाउने भाग्यमानी डा. प्रार्थनालाई न्यूरो सर्जरीप्रतिको आकर्षण युनिभर्सले नै पोल्टामा हालिदिएजस्तो अनुभूति हुन्छ । ‘म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गर्थे,’ उनले सुनाइन्, ‘त्यही बेला न्यूरो सर्जरी कन्फ्रेन्स गर्ने भनेर एक जना अमेरिकन चिकित्सक इच्छा देखाउनुभयो । उहाँले नेपाल आएपछि वुमन इन न्यूरो सर्जरीलाई थिम बनाउनुभएको हो ।’ त्यो कन्फ्रेन्सको अर्गनाइजिङ प्यानलमा रहँदा र न्यूरो सर्जनहरुसँग काम गर्दागर्दै डा. प्रार्थनालाई न्यूरो सर्जरीप्रतिको रुचि विकास भएको हो । चिकित्सा विज्ञानमा सर्जरीलाई च्यालेजिङ मानिन्छ । अझ महिलाहरुका लागि भने बढी नै । त्यही कारण निकै कम महिला चिकित्सकहरुले मात्रै सर्जरी रोज्ने गर्छन् । तर, डा. प्रार्थनाले भने त्यही च्यालेन्जभित्र आफ्नो भविष्य देखेकी छन् ।

विद्यार्थीलाई गाज्ने दुई कुरा निन्द्रा र अल्छीपनमाथि कसरी विजय पाउन सकिन्छ ? ‘ट्यालेन्ट मान्छे कहिल्यै पनि सफल हुन्छ जस्तो लाग्दैन्,’ उनी भन्छिन्, ‘ट्यालेन्टसँगै अनुशासन र कडा मेहनत चाहिन्छ ।’ डा. प्रार्थनाले १४—१५ वर्षकै उमेरदेखि यो माइण्ड सेटमा आफूलाई ट्रेण्ड गरेकी थिइन् । उनले सुरुवाती चरणमा आफ्नो अल्छीपन हटाउन टाइमलाई १०, १५ र २० मिनेट ब्लकमा विभाजन गरेकी थिइन् । ‘ब्लकवाइज काम गरेपछि त्यो ह्याबिट नै हुँदोरहेछ,’ डा. प्रार्थना भन्छिन्, ‘पढ्न बानी नै ह्याबिट बन्न थालेपछि अटोमेटेड मोडमा मेहनत गर्ने बानी बस्छ । त्यसबाहेक आफ्नो संकल्पप्रति सच्चा भएर उभिनुपर्ने उनी बताउँछिन् ।

अहिलेका धेरै युवायुवतीको सपना एमबीबीएस पढ्ने हुन्छ । एमबीबीएस पढ्ने चाहनेहरुलाई डा. प्रार्थना एमबीबीएस किन पढ्ने भन्नेमा सबैभन्दा पहिले क्लियर हुन सुझाव दिन्छिन् । ‘किन भन्ने कुदा दह्रो छैन भने बीचमै थाक्ने, फस्र्टेसन हुनेजस्ता समस्या देखिन्छन्,’ उनी भन्छिन्, ‘त्यसकारण पहिले ‘किन’ भन्ने आइडेन्टीफाइ गर्नुपर्छ, त्यससँगै अथाह मेहनत चाहिन्छ, जिन्दगीभर पढ्छु भन्ने माइण्ड सेट बनाउनुपर्छ र चुनौतीलाई अंगाल्न सक्ने क्षमता विकास गर्नुपर्छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अक्सफोर्ड युनिभर्सिटी, #एमबीबीएस गोल्डमेडलिष्ट, #डा. प्रार्थना सुवेदी, #त्रिभुवन विश्वविद्यालय, #नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, #सेन्ट जर्ज युनिभर्सिटी हस्पिटल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ